२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रमुख दललाई पछ्याउँदै नयाँ दल

टोखा नगरपालिका-५ को वडा कार्यालयमा सोमबार काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना गरिँदै । तस्बिर: प्रसन गुरुङ/नागरिक

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएदेखि नै नयाँ दलको उत्साहजनक उपस्थिति देखिएको छ। मतगणनाको प्रारम्भिक चरणमा हेर्दा प्रमुख राजनीतिक दललाई नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले पछ्याइरहेका छन्। सोमबार मतणना सुरु भएसँगै थोरै मतदाता भएका कतिपय स्थानमा मतपरिणाम आउन सुरु भएको छ। यो निर्वाचनमा पहिलो विजय नेपाली कांग्रेसले गरेको छ। कांग्रेस उम्मेदवारले मुस्ताङबाट संघ र प्रदेश दुवै तहका निर्वाचनमा जित हात पारेका छन्।

प्रारम्भिक मतगणना अनुसार स्थापित दलहरूले नै अग्रता लिएका छन्। नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा देखिएका छन्। नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ठुला दल भनिएका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई टक्कर दिएको छ भने मधेसवादी दलहरू जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पछि पारेको छ। मतगणनाको सुरुआती नतिजा अनुसार स्वतन्त्र पार्टीले सहरी क्षेत्रका निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ। मधेस आन्दोलनबाट स्थापित मधेस केन्द्रित जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि त्यसैगरी चुनौती दिइरहेका छन्। विशेषगरी पूर्वी तराईमा जनमत र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीको प्रभाव देखिएको छ।

मतगणनाको प्रारम्भिक चरणमा स्थापित दलका कतिपय नेताहरू पनि पछि परिरहेका छन्। नेकपा एसका तर्फबाट इलामबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरिरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई एमाले उम्मेदवारले पछि पारिरहेका छन्। सप्तरी २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतभन्दा पछि परेका छन्। बागलुङ १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारिरहेका छन्। काठमाडौं ५ बाट प्रतिस्पर्धा गरिरहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, इलाम २ बाट प्रतिस्पर्धा गरिरहेका सुवासचन्द्र नेम्वाङ, रूपन्देही २ बाट प्रतिस्पर्धा गरिरहेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल तथा चितवनबाट प्रतिस्पर्धा गरिरहेका एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डे पनि सुरुआती मतगणनामा पछि परिरहेका छन्। एमालेबाट राजीनामा गरेर रूपन्देही १ बाट स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरिरहेका घनश्याम भुसाल पनि पछि परेका छन्।

काठमाडौं १ बाट प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमानसिंहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले कडा टक्कर दिइरहेका छन्। त्यस्तै पूर्वमहामन्त्री कृष्ण सिटौलालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पछि पारिरहेका छन्। त्यस्तै लमजुङ १ मा माओवादीका महासचिव देव गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पछि पारेका छन्।

बहालवाला मन्त्री एवं उपपहासचिव पम्फा भुसाललाई स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की र एमाले उम्मेदवार अमृत खड्काले पालैपालो पछि पारिरहेका छन्। पूर्वसभामुख ओनसरी घर्ती पनि सुरुआती मतगणनामा काठमाडौं २ मा पछि परिरहेकी छन्।

यद्यपि चुनावी गणनाका क्रममा निकटतम प्रतिद्वन्द्वीहरू कहिले एउटा कहिले अर्कै अगस्थानमा स्थानमा परिरहेका छन्। चुनावको अन्तिम परिणाम नआउँदासम्म कसले जित्छ भनेर सजिलै आकलन गर्न सकिने अवस्था छैन।

नतिजा आइसक्न एक साता लाग्ने

निर्वाचन आयोगका अनुसार सयभन्दा बढी क्षेत्रमा मतगणना सुरु भएको छ। केही स्थानमा मतदाता झुक्किएर मतपत्र फरक-फरक मतपेटिकामा परेकाले गणनामा ढिलाइ भइरहेको आयोगको सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए। विवादका कारण १४ स्थानमा पुनः मतदान हुने भएको छ। आइतबार केही स्थानमा विवाद, झडप भएका कारण चुनाव रोकिएको थियो। गुल्मी–१ लगायत केही स्थानमा मंगलबार पुनः चुनाव हुँदैछ। बाजुरालगायत केही जिल्लामा चुनाव हुन समय लाग्ने देखिएको छ।

‘व्यवस्थापकीय कारणले मतगणनामा ढिलाइ भइरहेको छ। कतिपय ठाउँमा एउटा मतपेटिकाको सट्टा अर्को परेर छुट्याउनुपर्दा ढिलाइ भइरहेको छ,’ उनले भने, ‘मतपेटिकाबाट छुट्याउनुपर्ने भएकाले समय लाग्ने देखिएको छ।’

यसअघि निर्वाचन आयोगले तीन दिनभित्र प्रत्यक्षतर्फको मत परिणाम आउने बताएको थियो। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले तीनदिनभित्र प्रत्यक्षतर्फको चुनावी नतिजा आउने दाबी गरेका थिए। प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको एकैपटक मतगणना थालिएको छ। सबै गणना गर्दा ८-९ दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७९ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App