१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सुरुवाती चरणको मत परिणमले चर्चित नेता नै अप्ठ्यारोमा

प्रदेश नं. १ का जिल्लामा पनि मतगणनाको काम चलिरहेको छ। केही चर्चित र शिर्ष नेता तथा स्वतन्त्र उमेदवारका कारण झापा, मोरङ, सुनसरी जस्ता जिल्लामा बढी चाँसो देखिएको छ।

सुनसरीका चारवटा प्रतिनिधिसभामध्ये क्षेत्र नं. १ र ४ को मतगणना सुरु भएको छ। क्षेत्र नं. १ मा एमालेका बागी मनोज मेन्याङ्बोले सुरुवाती अग्रता लिएका छन्। ६०० मत गन्दा मनोजले अग्रता लिएका हुन्। क्षेत्र नं. १ मा यसपटक भने मुख्य प्रतिस्पर्धी एमाले र काँग्रेसले आफ्नो उमेदवारलाई टिकट नदिएर गठबन्धनबाट माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेदवारलाई टिकट दिएपछि दुवै पार्टीभित्र चर्को असन्तुष्टि रहेको थियो।

क्षेत्र नंं.१ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो र एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई उमेदवार छन्। एमालेका बागी मनोज र स्वतन्त्र उमेदवार कुमार कार्कीले उमेदवारी दर्तादेखि नै चुनावी माहोल बनाएका थिए। सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधीसभामा २० जना उम्मेदवारबीच प्रतितस्पर्धा हुँदैछ। यस्तै, प्रदेशसभा क्षेत्र नं. १ ‘क’ का लागि १४ जना र ‘ख’ बाट १३ जना उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ।

क्षेत्र नं.४ मा शुरुवाती ३०० मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अगाडि छन् र उनलाई एमालेका जगदीस कुसियतले पछ्याई रहेका छन्। क्षेत्र नं. ४ ‘क’ मा १३ जना र ‘ख’ मा पनि १३ जना उमेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ।

क्षेत्र नं. २ र ३ मा प्रतिनिधीसभाको केही मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि त्यही विषयको निर्णयका लागि निर्वाचन आयोगमा पत्रचार गरिएको थियो। क्षेत्र नं. २ मा सोमबार राति नै देखि गणना गर्ने सर्वदलीय बैठकबाट निर्णय भइसकेको छ। प्रतिनिधि सभाका लागि क्षेत्र नं.२ मा २७ जना उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै, सुनसरी क्षेत्र नं. २ प्रदेशतर्फ २ ‘क’ मा १८ जना उमेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।

क्षेत्र नं. ३ का पनि तत्काल गणना गर्ने सहमति बनेपनि गणना सुरु भइसकेको छैन्। सुनसरी क्षेत्र नं. ३ का लागि प्रतिनिधीसभमा नेपाली काँग्रेसका बिजयकुमार गच्छदार, एमालेकी भगवती चौधरीसहित २२ जना उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै, प्रदेश सभाका लागि सुनसरी क्षेत्र नं. ३ ‘क’ बाट १७ जना र क्षेत्र नं. ३ ‘ख’ बाट १० जनाबीच प्रतिस्पर्धा हुँदैछ।

झापाका चारवटा निर्वाचन क्षेत्रमा मत गणना जारी छ। झापा क्षेत्र नम्वर १ मा भने अझैं मत गणना सुरु हुन सकेको छैन। झापा १ मा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच प्रतिष्पर्धा छ।

झापा २ मा स्वतन्त्र उमेदवार भद्रप्रसाद नेपाल (स्वागत), झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, झापा ४ मा स्वतन्त्र पार्टीका सम्भू ढकाल ‘सुस्केरा’ ले अग्रता लिएका छन्।

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले अग्रता लिएका छन्। झापा–५ मा एमाले र राप्रपाबीच चुनावी तालमेल रहेको छ। २०६४ सालबाहेक २०४८ सालयता भएका हरेक निर्वाचनमा यो क्षेत्रमा ओली नै विजयी हुँदै आएका छन्।

मोरङ क्षेत्रका ६ वटा संघीय निर्वाचन क्षेत्र मध्ये चारवटामा मत गणना सुरु भइ सकेको छ। क्षेत्र नं. १ मा सत्ता पक्षीय गठबन्धनबाट काँग्रेस जिल्ला सभापति डिकबहादुर लिम्बु र एमाले–जसपा गठबन्धनबाट घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धी छन्। ७४ को निर्वाचनमा लिम्बुलाई हराएर खतिवडा विजयी भएका थिए।

काँग्रेसका तत्कालिन सभापति स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला क्षेत्र नम्बर २ बाट पटक पटक चुनाव जितेर प्रधानमन्त्री समेत बने। यसपटक उनकै छोरी सुजाता कोइराला सत्ता गठबन्धनबाट र एमाले–जसाप गठबन्धनबाट ऋषिकेस पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुँर्दैछ।

मोरङ क्षेत्र नं. ३ मा एमालेका भानुभक्त ढकाल, नेपाली काँग्रेसका सुनिल शर्मा र राप्रपाका तर्फबाट रेखा थापाबीच प्रतिस्पर्धा छ। अहिलेसम्मको प्रारिम्भक चरणको मत नतिजा अनुसार मोरङ क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदी अगाडि छन्। 

उनलाई एमालेका बिनोद ढकालले पछ्याइ रहेका छन्। क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन्। माओवादी केन्द्रका उमेदवार शिवकुमार मण्डलले योगेन्द्रलाई पछ्याइ रहेका छन्। यो क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएको छ र एमालेले जसपाका राजकुमार यादवलाई उमेदवारी छाडेको थियो। त्यसपछि एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उमेदवारी दिएका थिए।

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले अग्रता कायम राखेका छन्। उनलाई पछ्याइरहेका छन, नेकपा एमालेका लालबाबु पण्डितले। उदयपुरका दुईवटा क्षेत्रमध्ये क्षेत्र नं. १ मा मतगणना सुरु भएको छ। उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नारायण खड्काले अग्रता लिएका छन्। उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले पछ्याई रहेकी छन्।

इलामको दुईवटै निर्वाच क्षेत्रमा मतगणना जारी रहेको छ। इलाम क्षेत्र नम्बर १ को प्रारम्भिक मत परिणाम अनुसार एमालेका महेश बस्नेत (सूर्य) ले अग्रता ल्याएका छन्। एकीकृत समाजवादीका नेता झलनाथ खनालले महेषलाई पछ्याई रहेका छन्। क्षेत्र नं. २ मा पनि नाम चलेका नेता एमालेका सुभाषचन्द्र नेम्वाङ्लाई पछि पार्दै नेपाली काँग्रेसका डम्बर खड्काले अग्रता लिएका छन्।

धनकुटामा पनि मतगना जारी रहेको छ। धनकुटाको सुरुवाती मतको नतिजा अनुसार एमालेका राजेन्द्र राई अगाडि छन्। उनलाई नेपाली काँग्रेसका सुनिल थापाले पछ्याई रहेका छन्। 

प्रदेश नं. १ का अन्य पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, भोजपुर, सोलुखुम्बु, ओखलढुंगालगायतका जिल्लामा मतगणना सुरु भइ सकेको छैन्। मतगणना सुरु नभएका जिल्लामा सर्वदलीय बैठक बसेर गणनाको काम सुरु गर्ने सम्बन्धित जिल्लाका अधिकारीहरूले जानकारी दिएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App