१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुस्ताङ र मनाङमा ५० प्रतिशत भन्दा बढी मत खस्यो

हिमाली जिल्लामा ५० प्रतिशत हाराहारीमा मत खसेको त्यहाँका निर्वाचन अधिकारीले बताएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा ५१ प्रतिशत र अर्काे हिमाली जिल्ला मनाङमा ५५ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन अधिकारी बताएका छन ।

मुस्ताङका निर्वाचन अधिकारी मदन अर्यालले दिउँसो २ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए । मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाता थिए ।  त्यस्तै अर्काे हिमाली जिल्ला मनाङमा पनि ५५ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । मनाङमा सबैगरि ६ हजार ७ सय ७९ जना मतदाता छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मनाङमा ५० प्रतिशत मात्र मत खसेको थियो ।  

मनाङमा सबैभन्दा दुर्गममा माथिल्लो क्षेत्रको नार र फू गाउँ पर्छन । नार्पाभूमि गाउँपालिकाका ती गाउँबाट मतपेटिका सदरमुकाम ल्याउन हेलिकप्टर प्रयोग गर्नेबारे छलफल भईरहेको निर्वाचन कार्यालयले बताएको छ । दुइदिनसम्म पैदल हिडेर कर्मचारीहरु ती गाउँमा मतदान गराउन पुगेका थिए ।

‘नार र फूका लागि हेलिकप्टर मगाएका छौ । आज सम्भव नभए भोलिमात्र मतपेटिका तल झार्ने हो,’ निर्वाचन अधिकारी शर्माले भने, ‘५ बजेसम्म निर्वाचन समय हुने र त्यो बेलासम्म मौसमी समस्या आउने भएकोले पनि आजै मतपेटिका तल ल्याउन सकिने वा नसकिने यकिन भएको छैन ।’ कम्तिमा २ दिन लगाएर मात्र सदरमुकाम चामेसम्म हिडेर आउन सकिने भएकोले पनि मतपेटिका बोकेर ल्याउन सहज नभएको उनले बताए । ‘बोकेर ल्याउने सम्भावना छैन । पैदलमार्ग पनि अप्ठेरो छ । त्यसैले आज पर्खेर भएपनि भोलिसम्म हेलिकप्टरबाट ल्याउने हो,’ उनले भने ।  

मुस्ताङमा पनि सबैभन्दा टाढा लोमान्थाङ गाउँपालिका–२ सुम्जुङ गाउँ पर्छ । त्यहाँ साना गाडी मात्र जान्छन । सुम्जङबाट गाडीमा लोमान्थाङसम्म आउन पनि करिब दुइघण्टा लाग्छ । लोमान्थाङबाट सदरमुकाम जोमसोम झर्न थप पाँचघण्टा गाडीमा लाग्छ । ‘मध्यरातसम्म मतपेटिका सदरमुकाम जोमसोम ल्याउने योजना छ । हेलिकप्टरबारे कुरै भएको छैन,’ मुस्ताङका निर्वाचन अधिकारी अर्यालले भने ।  

प्रकाशित: ४ मंसिर २०७९ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App