१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाँकेमा मतदाता शिक्षा नहुँदा मत बदरको चिन्ता

मतदातालाई मतदाता शिक्षा नदिइँदा भोलि हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बढी मत बदर हुने सम्भावना देखिएको छ। विशेष गरी नयाँ थपिएका मतदाता र अशिक्षित मतदाता कसरी मतदान गर्ने भन्ने विषयमा अन्योल छन्। सम्पन्न स्थानीय तहको चुनाव र भोलि हुने निर्वाचनमा निर्वाचन आयोगले प्रभावकारी रुपमा मतदाता शिक्षा कार्यक्रम गर्न नसक्दा उनीहरुको मत खेर जान सक्ने देखिन्छ।

पहिलोपटक मतदान गर्ने मतदातालाई कसरी आफ्नो मत खेर जान नदिन (बदर हुन नदिन) भन्ने अन्योल भएको नेपालगन्जका डिल्ली दाहालले बताए। ‘निर्वाचन आयोगले मतदाता शिक्षा जस्तो कार्यक्रमलाई महत्व दिएन,’ उनले भने, ‘मतदाताको मत नै बिग्रियो भने मतदान कार्यक्रममा सहभागी भएको के अर्थ।’ गएको स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखको ३३ प्रतिशतभन्दा बढी मत बदर भयो। उपप्रमुखको २० हजार पाँच सय ३२ मत बदर हुँदा उपप्रमुखका विजयी उम्मेदवार जनता समाजवादीका कमरुद्दीन राईको जम्मा प्राप्त मत मात्र १७ हजार नौ सय ५० थियो अनि राईका निकटतम प्रतिद्वन्द्वीसँगको मतको फरक मात्र सात हजार ३५ मात्र थियो। यो एउटा उदाहारण मात्रै हो।  

स्थानीय निर्वाचन २०७९ मा मतपत्र नै मतदाता झुक्किनेखालको थियो भने गठबन्धनका कारण पनि उम्मेदवार नै नरहेका चिन्हमा पनि मत खसालिँदा धेरैजसो मत बद हुने पुगे। निर्वाचन आयोगले यसपटक उक्त अवस्थालाई ध्यानमा राख्दै हरेक पदका लागि छुट्टै मतपत्र बनाएको छ। आगामी निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक सदस्यका लागि गरी चार पदका लागि मतदान गर्नुपर्ने छ। ती चारै मतका लागि चारवटा मतपत्र बनाइएको छ। यसले पनि आसन्न निर्वाचनमा मत कम बदर हुने अपेक्षा गर्न सकिन्छ। स्थानीय तहको निर्वाचनभन्दा यसपटक दुई हजार सात सय ५८ मतदाता थप भएका छन्।

तर यही कुरा पनि कतिपय मतदातालाई थाहा नभएको पाइएको छ। मतदाता शिक्षाको पहुँचका विषयमा नेपालगन्जमा भेटिएका केही व्यक्तिसँग जिज्ञाशा राख्दा अधिकांशले थाहा नभएको बताए। नेपालगन्ज–२ मा भेटिएका एक युवाले आफूले पहिलोपटक मतदान गर्न लागेको बताए। तर उनले कतिवटा मतपत्रमा छाप लगाउनुपर्ने हो थाहा नभएको बताए। उनले अहिलेसम्म कसैले आफूलाई मत हाल्ने तरिकाबारे जानकारी नपाएको बताए। नेपालगन्ज–४ मा एक पार्टीको चुनाव प्रचार कार्यालय रहेको घरको छिमेकी एक गृहणीले मतदान गर्ने तरिका कसैले नसिकाएको बताइन्। उनले पनि यसपटक चारवटा मतपत्र छन् भन्ने थाहा नभएको खुलाइन्।  

कतिपय ठाउँका मतदाताले भने महिला स्वयम्सेविका आएर मतदान गर्ने तरिका सिकाएको बताए। कतिपयले भने आफूले चासो राखेरै मतदान गर्ने तरिकाबारे थाहा पाएको बताए। अहिले विशेषगरी सामाजिक सञ्जालका माध्यमबाट धेरैले मत हाल्ने तरिका सिकेका पाइएको छ। त्यसमा टिकटक प्रभावकारी बनेको पाइयो। निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्त यसपटक मत बदर कम हुने अपेक्षा गरिएको बताउँछिन्।  

स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि निर्वाचन आयोगले मतपत्र पनि सुधार गरेको र मतदाता शिक्षाका लागि पनि विशेष व्यवस्था गरेको उनले बताइन्। १५ दिने मतदाता शिक्षा कार्याक्रमअन्तर्गत हरेक स्थानीय तहको एक स्थानमा एक दिनका दरले नमुना मतदान गराइएको छ। ती मतदानहरुमा घटीमा ८० जनादेखि बढीमा एक सय ५० जनासम्म सहभागी भएका पन्तको भनाइ छ। यसैगरी हरेक वडामा एसएलसी उत्तीर्ण एकजना महिला स्वयम्सेवकलाई मतदाता शिक्षा आवश्यक भएका व्यक्तिहरुलाई शिक्षाका लागि खटाइएको उनले बताइन्। मौन अवधि सुरु हुनुभन्दा अघिसम्म उनीहरु काममै खटिने पन्तको भनाइ छ।  

यसका साथै स्थानीय एफएम रेडियोहरुबाट मतदाता शिक्षामूलक सामग्रीहरु पनि प्रसारण गरिएको छ। निर्वाचन आयोगले केन्द्रबाट टेलिभिजन र पत्रपत्रिकामा पनि मतदाता शिक्षामूलक सामग्रीहरु प्रकाशन एवम् प्रसारण गराएको पन्तले बताइन्। उनले भनिन्, ‘पहिलेको भन्दा अहिले मतदाता सचेत भएको पाएका छौँ। हामी पुगेका ठाउँमा मतदाताहरुले धेरै कुरा जानिसकेको हामीले पाएका छौँ।’

जिल्लाका तीन निर्वाचन क्षेत्रमा तीन लाख ३२ हजार दुई सय ३१ मतदाताले निर्वाचनमा भाग लिन पाउने छन्। जसमध्ये एकलाख ६३ हजार तीन सय ६९ महिला, एक लाख ६८ हजार आठ सय ५३ पुरुष र नौजना अन्य मतदाता छन्। क्षेत्र नम्बर १ मा एक लाख २१ हजार एक सय, क्षेत्र नम्बर २ मा ९७ हजार आठ सय नौ र क्षेत्र नम्बर ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता छन्।  

प्रकाशित: ३ मंसिर २०७९ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App