९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

भोट खसाल्न गाउँ आइपुगे सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न गाउँ आइपुगेका छन्। सीमित सुरक्षाकर्मी सुरक्षा पहरामा उनी गृहगाउँ आइपुगेका थिए।  

चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिण्डे सभामुख सापकोटाको घर हो। उनी यहीँबाट मतदाता छन्। घरमै बसेर उनी परिवारका नजिकका नातागोता र आफन्त भेटघाटमा गरिरहेका छन्। सापकोटा गाउँ आएको खबरपछि आफन्तजन उनलाई भेटन् घरमै पुगिरहेका छन्।  

सापकोटाले आइतबार स्थानीय सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रबाट मतदान गर्दै छन्। उनले पहिलो मत खसाल्ने कार्यक्रम रहेको छ। माओवादी शान्ति प्रक्रियामा आएपछिका हरेक निर्वाचनमा सापकोटाले यो केन्द्रबाट उद्घाटन भोट खसाल्दै आएका छन्।

दुई संविधान सभासहित तीन प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर ह्याट्रिक जित निकालेका सापकोटा यस पटक चुनावी मैदानमा छैनन्। पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए। यो पटक उनी उम्मेदवार बनेनन्। उम्मेदवार बन्न पार्टीले सापकोटालाई प्रस्ताव र सिफारिस गरे पनि युवालाई अवसर दिनुपर्ने भन्दै उनले मैदान छोडिदिए।  

यस पटक यो क्षेत्रबाट उनका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बनेका छन्। उनी गठबन्धनको साझा उम्मेदवार छन्। भजित सुबोध उम्मेदवार रहे पनि कानुनी बन्धनका कारण सभामुख सापकोटाले कसैलाई भोट मागेका छैनन्।  

कानुनी बन्धनकै कारण उनी कुनै पनि चुनावी सभा र प्रचारको कार्यक्रममा सहभागी नभएर तटस्थ बसे। भोट खसालेपछि मात्र उनी काठमाडौँ फर्कँने सभामुख सापकोटाले बताए। ‘मताधिकार प्रयोग गर्न आएको हुँ,’ उनले नागरिकसँग भने।  

प्रकाशित: २ मंसिर २०७९ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App