विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ मनाइँदैछ। नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रका विभिन्न सरोकारवाला निकायहरूको संयुक्त आयोजनामा आज बिहान राजधानीमा विशेष प्रभातफेरी निकालिएको छ।
कर्मचारी सञ्चय कोषको परिसरबाट सुरु भएको प्रभातफेरी जमलस्थित नाचघरमा पुगेर औपचारिक सभामा परिणत भएको थियो। दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी संघसंस्था र स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण केन्द्रित विभिन्न कार्यक्रम गरिरहेका छन्।
सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका पर्वतारोही सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक सफलताको स्मरण गर्दै नेपालले हरेक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ।
तस्बिर : दिपेश दर्शनधारी/नागरिक










प्रकाशित: १५ जेष्ठ २०८३ ११:३५ शुक्रबार





