७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

कोरोनापछिको भव्य ‘बिस्का’

तस्बीरः उपेन्द्र/नागरिक

नौ दिन आठ रात लामो भक्तपुरको बिस्का (बिस्केट) जात्रा आइतबारबाट सुरु भएको छ। कोरोना कहर खुकुलो भएसंगै सर्वसाधरणको उल्लेख्य सहभागितामा सुरु भएको यो जात्राले नगरमा रौनक छरेको छ। प्यागोडा शैलीमा बनाइएको तीनतले काठै काठको करिब ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिरबाट डोरीले  तानेसंगै जात्रा सुरु भएको हो।

लिच्छविकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि परम्परागत रूपमा तान्त्रिक विधि अनुसार भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ।

प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथलाई पाँचतले मन्दिर प्रांगणबाट ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा लैजान सर्वसाधारणले डोरी तानातान गरेर जात्रा सुरु गरे। युवायुवतीदेखि बालबालिकासम्म सहभागी जात्रालाई बुढापाकाले उत्साहका साथ नियाले।

दुवैतर्फका जात्रालुले रथलाई आफ्नोतर्फ तान्ने प्रयास गर्दा माहोल रमाइलो बनेको छ। रथलाई तानेर जुन टोलमा लैजान सकिन्छ, त्यसको विजय भएको मानिन्छ। रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो।

बिक्रम संवतअनुसार सौरमासको आधारमा चल्ने बिस्केट जात्रा बिःसीत (नागनागिन मर्‍यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ।

पहिलो दिन तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्रका क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, इनाचो र दत्तात्रय पुर्‍याई रथ फर्काउने चलन छ। जात्राको पहिलो दिनलाई द्यो क्वहाँ विजाइगु (देवता तल आउने) भनिन्छ। रथ तान्दा झै–झगडा नहोस् भनेर समुचित सुरक्षा व्यवस्था गरिएको भक्तपुरका प्रहरीले जनाएको छ।

 

प्रकाशित: २७ चैत्र २०७८ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App