कपिलवस्तुको तौलिहवा–जितपुर सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–११ निगालीकोट नजिक बिहीबार दिउँसो बस पल्टिँदा १९ जना घाइते भएका छन्।
तौलिहवाबाट जीतपुरतर्फ जाँदै गरेको लु १ ख ८७९४ नम्बरको बस करिब दिउँसो २ बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। दुर्घटनामा ११ पुरुष र ८ महिला घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र १३ जनाको अवस्था सामान्य रहेको छ। बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उद्धार गरी विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। केही घाइतेको जिल्ला अस्पताल तौलिहवा र केहीको युनाइटेड अस्पताल ठकुरापुरामा उपचार भइरहेको छ भने सामान्य उपचारपछि केहीलाई डिस्चार्जसमेत गरिएको छ।
घाइतेहरूको विवरणअनुसार अधिकांशलाई टाउको, हात, खुट्टा, कुम र ढाडमा चोट लागेको छ।
दुर्घटनापछि प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ। साथै, सडक दुर्घटना न्यूनीकरणका लागि सावधानीपूर्वक सवारी सञ्चालन गर्न ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेको छ।
प्रकाशित: १७ वैशाख २०८३ १७:५० बिहीबार




