coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

धावनमार्गको हिउँ पन्छ्याउँदै सुरक्षाकर्मी (फोटो फिचर)

जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन्। विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो। धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन्।

धावनमार्गमा झण्डै एक फिट हिउँ जमेको थियो। हिउँ पन्छ्याउनका लागि नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी बलका एसपी चित्राङगत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द, अनुसन्धान अधिकृत राजकुमार न्यौपानेले टोली लिएर बिहानै धावनमार्गमा पुगेका थिए।

गत वर्षहरुमा हिउँ परे पनि यो वर्षभन्दा बाक्लो हिउँ पर्थेन। धावनमार्गमा हिउँ पन्छ्याउनु परेको हुन्थेन। एकै दिनमा हिउँ बिलाएर धावनमार्ग सुक्थ्यो। खासै असर हुन्थेन। तर यो वर्षको हिउँ निकै बाक्लो परेको छ।

जुम्लामा लामो समयपछि ठूलो हिमपात भएको हो। हिउँ पन्छ्याउनको लागि चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल नगरपालिकामा रहेका सबै सवारीसाधन लिएर विमानस्थल पुगेकी थिइन्। उनले भनिन्, ‘लामो समयपछि बाक्लो हिउँ परेको छ। जसका कारण धावनमार्गको हिउँ तत्काल नपग्लने देखिएकोले हिउँ पन्छ्याउन थालिएको हो।’

हिउँ पन्छ्याउन नगरपालिकाले डोजर, जीप र ट्याक्टर लिएको थियो। नेपाली सेनाले ट्रक, भ्यान, सशस्त्र प्रहरीले भ्यान र जिल्ला प्रशासन कार्यालयको गाडी लिइएको थियो। पहिले सुरक्षाकर्मीले हिउँ पन्छ्याए त्यसपछि सवारीसाधन धावनमार्गमा हिउँ पन्छ्याउनका लागि चलाइएको थियो। धावनमार्गको सबै हिउँ हटाइसकिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए।

उनले भने, ‘हिउँ जमेर जहाज अवतरण गर्न नसक्ने भएकोले प्राथमिकताका साथ हिउँ पन्छ्याउन लागिएको हो। धावनमार्ग संगै कर्णाली राजमार्गमा जमेको हिउँ समेत सुरक्षाकर्मीले पन्छ्याउन सकेको छ।’ जमेको हिउँ पन्छ्याएपछि धावनमार्ग सुकिसकेको छ। यहाँ तारा, सीता, समिट एयरको जहाजले उडान भर्दै आइराखेका छन्। बिहीबारदेखि जुम्लामा हिउँ पर्न थालेको थियो। उच्च हिमाली क्षेत्रमा तीन फिटसम्म हिउँ परेको छ। सदरमुकाम खलंगा क्षेत्रमा एकदेखि डेढ फिट हिउँसम्म जमेको स्थानीय जयकृष्ण आचार्यले जानकारी दिए।

उनले झण्डै एक दशकपछि जुम्लामा बाक्लो हिमपात भएको जानकारी दिए। विमानस्थलमा जमेको हिउँ तत्काल पन्छ्याउन थालेपछि स्थानीय खुसी छन्। निरन्तर हिमपातका कारण तीन दिनदेखि जहाज आउन सकेको थिएन। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको बताउँछन्।

उनले भने, ‘हिउँ बाक्लो जमेकोले सडक यातायात ठप्प थियो। हवाइ यातायात समेत तीन दिनदेखि चलेको थिएन। प्रमुख जिल्ला अधिकारी प्रसाईको नेतृत्वमा सडक र विमानस्थलको हिउँ पन्छ्याउने कार्यले निकै राहत मिलेको छ।’ हिमपातले विद्युत सेवा ठप्प छ। धावनमार्गको हिउँ हटाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। स्थानीय र सरकारी उच्च अधिकारी समेत विमानस्थलमै पुगेका थिए।

हिउँ पन्छ्याएर विमानस्थल यथासिघ्र सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्नु निकै ठूलो उपलब्धि भएको नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए। हिमपातले भने कृषि क्षेत्रमा निकै ठूलो राहत मिलेको किसान बताउँछन्। समयमै हिउँ पन्छ्याएर धावनमार्ग सञ्चालनमा ल्याएपछि यात्रु निकै खुसी भएका छन्। उनीहरुले जहाज आउने आशामा रहेको बताएका छन्।

प्रकाशित: २२ माघ २०७८ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App