१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

धान थन्क्याउने चटारो (फोटोफिचर)

पोखराका विभिन्न फाँटमा पाकेको धान थन्क्याउने चटारोमा किसान। तस्बिरः उमेश पुन/नागरिक

कात्तिक सुरुवातको बेमौसमी बाढीले धेरैतिर धान खेतीमा क्षति गर्‍यो। प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलनामा गण्डकीमा क्षति कम छ। पाक्ने बेलाको धान बाढीमा डुब्दा धेरैतिरका किसानले मार खेप्नुपर्‍यो।  

धानविज्ञ बेनीबहादुर बस्नेतका अनुसार गण्डकी प्रदेशका धेरैजसो ठाउँमा स्थानीय जातको धान खेती हुन्छ, जुन अन्यत्र भन्दा ढिला पाक्छ। कात्तिक पहिलो साताको वर्षाले तराईतिर धमाधम धान डुबाउन थाल्दा पोखरा क्षेत्रमा भने धान पाकेको पनि थिएन। यहाँ बल्ल धान पाकेर भित्र्याउने चटारो सुरु भएको छ।  

पोखरा क्षेत्रमा कात्तिक अन्तिम सातापछि मात्र पाक्ने धानको खेती अधिक हुने गरेको र त्यो धान काट्ने काम बल्ल सुरु भएको छ। बस्नेतका अनुसार तराईतिर हाइब्रिड धान बढी रोपिन्छ। धान काटेपछिको बालीका लागि पनि तराईका किसानले हाइब्रिड धान रोप्छन। तीन बालि खेतीका लागि हाइब्रिड धानको खेती राम्रो हो। धान काटेपछि गहुँ, तोरी र तरकारी लगाउन हाइब्रिड खेती राम्रो हो। तर, गण्डकीका धेरै क्षेत्रमा हाइब्रिड धानको खेती कम हुन्छ।  

पोखराको शिशुवा, हेम्जा र पूर्वी नवलपुरका केही क्षेत्रमा हाइब्रिड धान खेती हुन्छ। तराई र पहाडी भेगमा एकैपटक जसो धान रोप्ने भएपनि पाक्ने बेलामा भौगोलिक वनोट अनुसार केहीदिनको अन्तर पर्ने उनले बताए।  

पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार गण्डकी प्रदेशमा हाइब्रिड धान रोप्ने चलन निकै नै कम छ। हावापानी चिसो हुने भएकोले यहाँ त्यही अनुसार धान खेती हुन्छ।  

तराई र यो भेगमा एकै समयमा रोपेको धान पनि फरक समयमा पाक्ने गरेको उनले बताए। यहाँको बिरौटा, फेवा, अर्मला, काहुँफाँट, लेखनाथ लगायतका फाँटमा बल्ल धान भित्र्याउने चटारो छ।  

कडरियाका अनुसार गण्डकी प्रदेशमा पनि पोखरा क्षेत्रमा रोपिनेमा अधिकांश स्थानीय जातको धान छ। पोखरा क्षेत्रका धेरैजसो फाँटमा जेठोबुढो, मनसुली, गुर्दी, पहेँले, अनदी, गुडुरा लगायतका जातको धान रोपिन्छ । जुन, हाइब्रिड भन्दा निकै नै ढिलागरि पाक्ने गर्छ।  

उनका अनुसार महानगरभित्र ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। महानगरभित्र हाइब्रिडले १५ प्रतिशत मात्र हिस्सा ओगट्छ। अरु सबै स्थानीय हुन्। जेठोबुढो ४० प्रतिशत र अन्य उन्नत ४५ प्रतिशत र बाँकी हाइब्रिडको खेती हुने गरेको छ। महानगरभित्र मात्र ३९ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ।  

गण्डकी प्रदेश कृषि निर्र्देशनालयका अनुसार प्रदेशमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । गण्डकी प्रदेशमा वर्षमा करिब साढे ३ लाख टन धान खेती हुन्छ। 

प्रकाशित: २५ कार्तिक २०७८ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App