१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

मुस्कुराउँछ भक्तपुर

यो कुनै हर्षको समय हैन । तर भक्तपुर, सूर्यमढीका ७५ वर्षे हर्षलाल कुशीको अनुहारमा बिस्मातको अँध्यारो छैन । कोरोना महामारीका कारण अन्यले जस्तै उनले समस्या नभोगेका हैनन् । तर, लकडाउको सानो घेरामा खुम्चिनु परे पनि कोरोनाको त्रास उनको फराकिलो अनुहारमा पटक्कै देखिन्न ।  

‘अँध्यारो अनुहारले कोरोना भाग्ने हैन,’ उनले मुस्कुराउँदै भने, ‘त्यसैले हामीले हाँस्न छाडेका छैनौ ।’ लकडाउनका कारण अन्यले जस्तै उनले पनि विभिन्न समस्या भोगेका छन् । खेतीपातीदेखि बजार व्यवसाय सबै प्रभावित भएको छ ।  

लकडाउनको कारण लामो समयसम्म घरभित्रै खुम्चेका उनी दिउँसो केहीबेर भने आफ्ना  सहपाठीसँग नजिकैको पाटीमा केही दूरी कायम गरेर बस्ने गरेका छन् । अन्य समयमा बजारतिर डुल्ने उनी अहिले एकै ठाउँमा बसेको सुनाउँछन् ।  

‘नगरपालिका र सरकारले भनेका नियम पालना गर्दै होसियारी गर्ने गरेका छौ,’ उनले भने, ‘यही बीचमा साथीहरूसँग बसेर मुस्कुराउन छाडेका छैनौ ।’  

उनी मात्र हैन, कोरोना महामारीका माझ पनि सांस्कृतिक नगरी भक्तपुरको मुस्कान हराएको छैन । नाचगानको शहर भक्तपुर लकडाउनले केही थामिए जस्तो छ । पर्यटकको चलहपहलले गुल्जार हुने दरबार क्षेत्र सुनसान छ । जात्रा र पर्वले भरिभराउ हुने यहाँका गल्लीमा चहलपहल छैन । गीतसंगीत र भजनले गुञ्जायमान हुने पाटीहरू प्रायः रित्ता छन् । तर, भक्तपुर भित्रको भक्तपुरको मुस्कान हराएको छैन ।  

आँखीझ्यालबाट चियाउँदै गरेका महिला हुन् या पाटीमा बसेर बात मार्दे गरेका पुरुष । सबैको अनुहारमा  मुस्कान कायमै छ ।

उनीहरू भीडमा जान छाडेका छन् । तर एक झ्यालबाट अर्कोमा बसेर बात मार्न छाडेका छैनन् । तरकारी किन्न निस्कँदा सामाजिक दूरी कायम गर्छन तर परैबाट मुस्कुराएका उनीहरूको अनुहारले  एक आपसको मन राम्ररी जोडेको छ ।  

‘घरभित्रै बसेका छौं,’ गछेटोलकी दयालक्ष्मी श्रेष्ठले फलामे झ्यालबाट चियाउँदै भनिन्, ‘तर मुस्कुराउन छाडेका छैनौं ।’ भादगाउँले कालो टोपी बनाउँदै आएकी उनी लकडाउनका कारण व्यवसाय रोकिए पनि फेरि खुल्ने आशामा छिन् ।

‘बाँचियो भने बजार फेरि खुल्छ,’ उनले भनिन्, ‘अनि फेरि कमाउने छौ ।’

लकडाउनले यहाँको कला संस्कृतिसँगै व्यापार र दैनिक जीवनशैली प्रभावित छ । तर यही समस्याका बाबजुद भित्री गल्लीमा भेटिएका उनीहरूको जीवन्त मुस्कान हेर्न लायक छ ।

गछेटोलमा किराना पसल चलाउँदै आएकी गणेशकुमारी ज्ञानमरू जीवनमा थुप्रै समस्या  आए पनि मुस्कुराउन नछाडेको सुनाउँछिन् । थर ज्ञानमरू‐अज्ञान) भए पनि  जीवन जिउने कला उनले जानेकी छिन् । ‘हामी होसियार भएका छौं,’ उनले भनिन्, ‘तर डराएका छैनौ ।’  

उनले भनेजस्तै भक्तपुर होसियार भएको छ , तर डराएको छैन । यस काममा भक्तपुर नगरपालिका पनि उत्तिकै लागि परेको छ । सर्वसाधारणका  समस्या उनीहरूको घरदैलौमै पुगेर हल गरिदिने नगरपालिकाको प्रयासले पनि धेरैका अनुहारको खुसी खोसिएको छैन ।  

‘चाँडै सब ठीक हुन्छ भन्ने विश्वास छ,’ ८५ वर्षे भरत प्रजापतिले भने, ‘अनि हाम्रो सांस्कृतिक नगर पहिलेकै रुपमा फर्कने छ ।’  

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App