
नेपालगन्जमा स्वास्थ्यका लागि वाकाथन (फोटो फिचर)


नेपालगन्जमा शनिबार बिहान प्रातःकालीन हिँडाइ (वाकाथन) आयोजना गरिएको छ। नेपाल चिकित्सक सङ्घ भेरी शाखाले स्वास्थ्य प्रवर्द्धनका लागि गरेको यो वाकाथनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल पनि सहभागी भए।
गणेशमान चोकबाट सुरु भएको वाकाथन वीपी चोक, वीरेन्द्र (धम्बोझी) चोक हुँदै पुनः गणेशमान चोकमा पुगेर समापन भयो। उद्घाटन गर्दै मन्त्री पौडेलले दैनिक हिँडाइ स्वास्थ्यका लागि फाइदाजनक रहेको बताए।
वाकाथनमा सांसद, सुरक्षा निकायका प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, धर्मगुरु, खेलाडी, पत्रकार, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। नेपाल चिकित्सक सङ्घ भेरी शाखाका अध्यक्ष डा. रुपानन्द अधिकारीले शरीर तन्दुरुस्त राख्न दैनिक हिँड्नुपर्ने भएकाले यो कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रम संयोजक तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीले स्वास्थ्य सचेतना फैलाउने, नेपालगन्जका पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने र नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यले ‘स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ’ नारासहित वाकाथन गरिएको बताए। ‘यो खोपजस्तै अभियान हो। हिँड्यौँ भने जिन्दगीभर स्वस्थ रहने आधार बन्छ,’ उनले भने। डा. खत्रीको संयोजनमा यसअघि दाङमा पनि वाकाथन भएको थियो।





