coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

उराठलाग्दो हिमाली भेग (फोटो फिचर)

हिमाली जिल्ला मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथबाट देखिएको आसपासका क्षेत्र। हिमपात र वर्षा नहुँदा अहिले हिमाली भेग उराठलाग्दो बनेको छ। तस्बिर सौजन्य/ विजय केसी

यो सिजनमा हिउँ परेन, पानी पनि परेन। अघिल्ला वर्ष हिउँ र पानी पर्दा उच्च हिमाली भेग केही रसिलो देखिन्थ्यो, उच्च हिमाली भेगको फेदीसँँम्म सेतै हिउँ जमेको हुन्थ्यो। तर, अहिले अवस्था फरक छ।  

उच्च हिमाली भेगको सबैतिर उराठ लाग्दो देखिन्छ। अरुबेला सेताम्य देखिने हिमाली चुचुरा पनि कालै देखिन्छन्। हरियाली कतै देखिन्न। सबैतिर फुस्रो मात्र देखिन्छ। उच्च भेगमा कालापत्थर मात्र देखिन्छ। हावा चलिरहदँ धुलो पनि उत्तिकै उडिरहेको छ। पर्यटन व्यवसायी विजय केसी यसअघि पुसको मध्यतिर पनि मुक्तिनाथ उक्लेका थिए। त्यो बेला अहिलेको तुलनामा हिमाली चुचुरामा पर्याप्त हिउँ उनले देखेका थिए। तर, अहिले त सबैतिर सुक्खा मात्र देखिएको उनी बताउँछन्। 

‘म बेलाबेला मुक्तिनाथ आइरहन्छु। तर, यो पटक मैले साह्रै नै उराठलाग्दो अवस्था अनुभव गरे,’ उनले भने, ‘कतैपनि हरियाली देखिन्न। सबैतिर सुक्खा मात्र छ। हावा चलिरहँदा धुलो उडिरहेको छ। हुन त यो बेला हरियालीको सिजन होईन, तर, केही न केही त हुन्थ्यो, अहिले सबैतिर फुुस्रो मात्र देखिन्छ। भएका बोटविरुवा पनि सुकेका छन।’

हुन त हिमाली भेग आफैमा पनि उत्तिसारो हरियाली हुने ठाउँ होईन, तर, यो पटक भएका झारपात पनि सुकेको उनले बताए। ‘भएका रुखबिरुवाको हरियाली पनि हराएको देखिन्छ। बोटविरुवा सुकिसकेका छन् यतिसम्मकी भूूँइको झारपात पनि सुकिसकेको छ,’ उनले भने, ‘कि त सेताम्य हिउँ कि केही हरियाली हुने ठाउँ हो। यत्तिको सुक्खा खासै देख्न पाइदैनथ्यो।  

मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ पनि यो बेला सुक्खा हुने समय भएपनि हिमपात र वर्षा हुँदा अघिल्ला वर्ष जमिन रसिलो हुने गरेको बताउँछन। तर, योपटक सबैतिर डढेलोले सखाप पारेजस्तो मात्र देखिएको उनले बताए। उनले भने, ‘पानी र हिउँ नपर्दा योपटक तापक्रम पनि बढेको छ। तातोका कारण भएको हिउँ पनि पग्लेको छ। हिमाली चुचुरा पनि कालै देखिन्छन् ।’

अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत अशोक सुवेदी यो पटक हिउँ र पानी नपर्दा कृषिमा असर पर्ने बताउँछन। ‘स्याउका लागि हिमपात अनिवार्य हो। हिउँ परेपछि बल्ल स्याउबारीमा सिंचाई हुन्छ। तर,यो पटक हिमपात भएन, स्याउको उत्पादन नै घट्ने चिन्ता किसानमा छ,’ सुवेदीले भने, ‘हिउँ नपरेपछि डढेलोको जोखिम पनि बढेको छ। सबैतिर सुक्खा लागेपछि डढेलो लाग्ने जोखिम हुन्छ। यो पटक जमिन भिज्नै पाएन।’  

त्यसबाहेक हिउँ नै नपरेपछि खोलामा पानीको वहाव घटिसकेको छ। किनकी हिमाली भेगका खोलाको पानीको श्रोत नै हिउँ हो। तर यो पटक हिउँ नै परेन। ‘माथिल्लो भेगका कतिपय बस्ती खानेपानीको संकटमा पर्ने जोखिममा छन। एकैवर्ष हिउँ नपर्दा सबै बिग्रने त होईन, तर, असर त परिहाल्छ,’ उनले भने, ‘हरियाली कतै छैन, तल्लो भेगका सल्लो र धुपीको वन बाहेक हरियो देख्न पाइँदैन।’  

उनका अनुसार पानी र हिउँ नपरेपछि उत्पादन घट्ने चिन्तामा किसान छ। ‘अहिले हिउँ परेको भए भूँइ चिसो हुन्थ्यो, माटो सिंचित हुन्थ्यो। तर, कतै परेन,’ उनले भने, ‘उराठलाग्दो बनेको छ। हावा मात्र चलिरहेको छ । हुन त यो बेला हरियाली देखिने सिजन होइन, तर, अहिले त उच्च चुचुरा पनि कालै देखिन्छन। रुखविरुवा देखि झारपात, बुट्यान सबै सुकेका छन्।’

प्रकाशित: ६ फाल्गुन २०७९ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App