एक चिनियाँ महिलाले महिलाहरूलाई वैवाहिक जीवनमा आकर्षण बढाउन आँखाको मोहक हेराइ, फ्लर्ट गर्ने तरिका र शरीरको आकर्षक चाल सिकाउने कोर्स बेचेर ठुलो रकम कमाएकी छिन्।
मध्य चीनको हुनान प्रान्त, चाङ्शा सहरकी ४० वर्षकी झोउ युआनले पहिले बैंकमा जागिर गर्थिन्। पछि बैंक छोडेर उनले ब्युटी सैलुन खोलिन्। अनि त्यसपछि ‘ब्ल्याक एण्ड ह्वाइट सेक्सुअल इन्टेलिजेन्स स्कुल’ (यौन बुद्धिमत्ता स्कुल) सुरु गरिन्। चीनमा उनलाई ‘यौन बुद्धिमत्ताकी गुरुआमा’ नामले पनि चिनिन्छ।
उनी यौन बुद्धिमत्ता भनेको यौन क्षमता, मनको बुझाई र व्यक्तिगत आकर्षणको मिश्रण हो भन्छिन्, जसले पुरुषलाई आफूतिर आकर्षण गर्न मद्दत गर्छ।
उनका कोर्सहरू सामाजिक सञ्जालमा निकै भाइरल भए। सोहीकारण सञ्जालमा उनका फलोअर्स दुई लाखभन्दा बढी भएका थिए।
एउटा भिडियोमा उनले आँखाको सम्पर्क सिकाउँदै भनिन्, ‘आफ्नो आँखा र शरीरले एक्स (X) आकार बनाउनुहोस्।’
उनी थप भन्छिन्, ‘कडा प्रतिक्रिया नरम देखिन सक्छ। टाउको स्थिर राख्नुहोस् र आँखा यताउता सार्नुहोस्; यसले नरम र आकर्षक प्रभाव दिन्छ।’
अर्को भिडियोमा फ्लर्ट गर्ने तरिका सिकाउँदै उनले सुझाव दिइन्, ‘आवाज नरम बनाउनुहोस् र हरेक शब्दको अन्त्यमा स्वर अलि माथि उठाउनुहोस्। श्रीमानसँग मद्दत माग्दा सधैँ उनको प्रशंसा गर्नुहोस्।’
उनले आकर्षक वाक्यहरू, शरीरको मुद्रा र फेसनबारे पनि सुझाव दिन्थिन्।
उनले अनलाइन र अफलाइन दुवै प्रकारका कोर्स बेच्थिन्। अनलाइन कोर्स ९.९ युआन (लगभग १.५ अमेरिकी डलर) बाट सुरु हुन्थ्यो भने विशेष अफलाइन कार्यशाला एउटामा ८८ हजार युआन (लगभग १३ हजार डलर) सम्म पर्थ्यो।
साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले कोर्सबाट २ करोड ४० लाख युआनभन्दा बढी (३५ लाख डलरभन्दा धेरै, नेपाली रुपैयाँमा ५१ करोड १४ लाखभन्दा धेरै) आम्दानी गरेकी थिइन्। दशौं हजार महिलाहरूले उनको कोर्स लिएका थिए।
उनले मनोवैज्ञानिक सल्लाहकार र प्रजनन स्वास्थ्यसम्बन्धी प्रमाणपत्र भएको दाबी गर्थिन्। तर आधिकारिक प्रमाण देखाइनन्।
उनको कम्पनीले वयस्क उत्पादन र सौन्दर्य सामग्री पनि बेच्थ्यो।
गत अगस्टमा सियामेनमा उनले दुई दिने ‘सेक्सी रेभेलेसन’ शिविर चलाएकी थिइन्। त्यहाँ सेक्सी अन्डरवेयर लगाएर ‘शरीरको आनन्दको विज्ञान’ सिकाइएको थियो।
उनकी एक पूर्व कर्मचारीले भनिन्, ‘यी सत्रहरू महिलाका लागि मात्र हुन्, तर सामग्री निकै साहसी थिए; मलाई लज्जित बनाउँथे।’
उनका धेरैजसो सहभागी सफल महिलाहरू थिए, जसले आफ्नो विवाह बचाउन खोजिरहेका थिए।
एक सहभागीले भनिन्, ‘झोउ निकै आकर्षक गुरु हुन्। उनको कोर्सले मेरो शरीरलाई अँगाल्न र आत्मविश्वास फिर्ता ल्याउन सिकायो। कामुकताले मेरो विवाहमा नयाँ जीवन ल्यायो।’
तर उनको चर्चासँगै आलोचना पनि बढ्यो। केहीले यसलाई ‘श्रीमती प्रशिक्षण’ भन्दै मजाक उडाए। अरूले महिलाको सम्मान घटाएर पुरुषलाई खुसी बनाउने तरिका सिकाएको आरोप लगाए।
झोउले आफ्ना कोर्स महिलालाई सशक्त बनाउनका लागि भएको दाबी गर्थिन्। उनले भन्थिन्, ‘यौन बुद्धिमत्ता बढाउनु भनेको घनिष्ठ सम्बन्धमा नियन्त्रण लिन सिक्नु हो।’
उनको लोकप्रियताले लैंगिक मूल्य, महिलाको सम्मान र पैसामा आत्म-सुधार कोर्सको नैतिकताबारे ठुलो बहस सुरु गर्यो।
एक पर्यवेक्षकले भने, ‘झोउले सफल महिलाको रोमान्टिक समस्या सम्बोधन गरिन्, तर उनको व्यवसाय पोर्नजस्तो क्षेत्रमा फस्न सक्छ।’
अर्कीले लेखिन्, ‘सशक्तिकरणको नाममा आत्म-अपमान बेचिन्, महिलालाई वस्तु बनाइन् र समाजको नैतिकता कमजोर बनाइन्।’
जनवरी २३, २०२६ मा उनको सामाजिक सञ्जाल खाता प्रतिबन्धित भयो र कोर्सहरू हटाइएका छन्। एजेन्सी
प्रकाशित: १८ माघ २०८२ ११:५८ आइतबार





