२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
अन्य

भारतको बिहारबाट सगरमाथा देखिएको दाबी, भाइरल भिडियोले तान्यो ध्यान

तस्बिर : सत्यम राजको एक्स भिडियोबाट

विश्वको सर्वोच्च शिखर सगरमाथा भारतको बिहार राज्यको मधुबनी जिल्लाको जयनगरबाट देखिएको दाबीसहितका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन्। हिउँले ढाकिएका हिमालयका चुचुराहरूको मनमोहक दृश्यले लाखौँको ध्यान खिचेको छ।

हालैको वर्षापछि आकाश सफा भएको र प्रदूषण कम भएकाले यस्तो दुर्लभ दृश्य सम्भव भएको स्थानीयको भनाइ छ। एक्स प्रयोगकर्ता सत्यम राजले जयनगरबाट खिचिएको भिडियो सेयर गर्दै क्याप्सनमा लेखे, ‘बिहारको मधुबनी, जयनगरबाट देखिएको राजसी हिमालयको दृश्य।’ उनको भिडियोले ३६ लाखभन्दा बढी भ्यूज, १५ हजारभन्दा धेरै लाइक र २५ सयभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको छ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यो दृश्यको खुलेर प्रशंसा गरेका छन्। धेरै प्रयोगकर्ताले हैरानी व्यक्त गरेका छन्। एक प्रयोगकर्ताले सुझाव दिँदै लेखेका छन्, ‘यहाँ होमस्टे बनाएर भारतवासीलाई यो दृश्यको मजा लिन प्रोत्साहन गर्नुपर्छ।’ अर्कोले टिप्पणी गरे, ‘यो दृश्य शानदार छ।’

यसअघि सन् २०२० को कोभिड–१९ लकडाउनका बेला पनि प्रदूषण कम हुँदा बिहारबाट यस्तै दृश्य देखिएको थियो। सीतामढीकी मुखिया रितु जयसवालले त्यतिबेला सगरमाथा देखिएको तस्बिर सेयर गरेकी थिइन्। भारतीय विदेश सेवाकी परवीन कासवानले पनि लेखिन्, ‘मुज्जफरपुरबाट सगरमाथा देखिएको छ।’ अन्य प्रयोगकर्ताहरूले यो दृश्यलाई ‘दुर्लभ’ र ‘बिहारबाट हिमालय देखिन्छ भन्ने थाहा थिएन’ भन्दै आश्चर्य व्यक्त गरेका छन्।

जयनगर, कमला नदीको किनारमा अवस्थित सांस्कृतिक सहर, नेपालको एकमात्र रेलवे लाइनको सुरुवाती बिन्दु पनि हो। त्यहाँबाट सूर्योदय र सूर्यास्तमा हिमालयका चुचुराहरूले रंग बदल्ने दृश्य निकै लोभलाग्दो देखिन्छ। वसन्त पञ्चमी, होली, दुर्गा पूजा र कार्तिक पूर्णिमाको समयमा सफा हावा र कुहिरोरहित आकाशले सगरमाथासहित हिमालयको दृश्य अझ स्पष्ट हुने स्थानीय बताउँछन्।

सूर्योदयमा तामा, सुन र चाँदीको रंगमा झलमलाउने हिमालयका चुचुराहरू सूर्यास्तमा चाँदी, सुन र काँसाको रंगमा बदलिन्छन्। साँझ पर्दै जाँदा यी चुचुराहरू क्रमश: हराउँदै जान्छन्। सफा मौसम र कम प्रदूषणले जयनगरका भवन र ब्यारेजबाट सगरमाथाको लुभावनी दृश्यले स्थानीय र पर्यटकलाई रोमाञ्चित बनाएको छ। एजेन्सी

प्रकाशित: २५ आश्विन २०८२ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App