२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्य

विश्व इतिहासमा आज : विद्रोहदेखि मानवीय त्रासदीसम्म

राजनीतिक विद्रोह, संगठित अपराध, सिनेमा र आतंकवादसम्मका घटनाले डिसेम्बर १६ को दिनलाई ऐतिहासिक रूपमा स्मरणयोग्य बनाएका छन् ।  

अमेरिकी क्रान्तिको बीउ बनेको ‘बोस्टन चिया पार्टी’  

सन् १७७३ मा  अमेरिकाको बोस्टन बन्दरगाहमा ‘बोस्टन चिया पार्टी’ नामक ऐतिहासिक विरोध प्रदर्शन भएको थियो।  ब्रिटिश इस्ट इन्डिया कम्पनीले चियामा लगाएको करको विरोधमा  मोहक हेडड्रेस लगाएका पुरुषहरूको समूहले जहाजबाट ठूलो परिमाणमा चिया समुद्रमा फ्याँकेका थिए।  

हजारौँ मानिसले समर्थन गरेको उक्त घटनापछि बेलायतले चालेका दमनकारी कदमले अमेरिकी उपनिवेशहरूलाई स्वतन्त्रता आन्दोलनतर्फ लगेबो थियो ।  

जेन अस्टिनको जन्मदिनको पूर्वसन्ध्या

आज डिसेम्बर १६ अंग्रेजी साहित्यकी महान् उपन्यासकार जेन अस्टिनको जन्मदिनको पूर्वसन्ध्या हो। उनको जन्म डिसेम्बर १७, १७७५ मा इंग्ल्यान्डको स्टिभेन्टनमा भएको थियो। प्राइड एन्ड प्रिजुडिस र सेन्स एन्ड सेन्सिबिलिटी जस्ता कालजयी कृतिहरूकी लेखिका अस्टिनको निधन सन् १८१७ जुलाई १८ मा ४१ वर्षको उमेरमा भएको थियो। उनको साहित्यिक योगदान आज पनि विश्वभर प्रशंसित छ।  

न्यूयोर्कमा ठूलो परिवर्तन

सन् १९८५ को आजकै दिन न्यूयोर्क शहरमा अमेरिकी माफियाका पाँच परिवारका  ‘मालिकहरूको मालिक’ भनिएका पल कास्टेलानोको गोली हानी हत्या गरिएको थियो। यस हत्याको योजना बनाएको आरोपमा पछि कुख्यात माफिया नेता जोन गोटी दोषी ठहरिए। यस घटनाले अमेरिकी माफियाको शक्ति संरचना र नेतृत्वमा ठूलो परिवर्तन ल्याएको मानिन्छ।  

जेम्स क्यामरुनको ‘अवतार’ले इतिहास बनाएको

हलिउड निर्देशक जेम्स क्यामरुनको विज्ञान कथामा आधारित फिल्म अवतार सन् २००९ को आजकै दिन अन्तर्राष्ट्रिय रूपमा रिलिज भएको थियो। फिल्मले विश्वभर करिब २ दशमलव ७ बिलियन अमेरिकी डलरभन्दा बढी कमाई गर्दै बक्स अफिस इतिहासमा नयाँ कीर्तिमान बनाएको थियो । उक्त सफलतासँगै अवतार एक विश्वव्यापी फिल्म फ्रान्चाइजीका रूपमा स्थापित भयो।  

पेशावर विद्यालय आक्रमण 

सन् २०१४ डिसेम्बर १६ मा पाकिस्तानको पेशावरस्थित एक विद्यालयमा पाकिस्तानी तालिबानद्वारा गरिएको आतंकवादी आक्रमणले विश्वलाई स्तब्ध बनाएको थियो। उक्त आक्रमणमा १५० जनाको ज्यान गएको थियो। जसमा १३४ जना विद्यार्थी थिए। यो घटना पाकिस्तानको इतिहासकै सबैभन्दा घातक आतंकवादी हमलामध्ये एक मानिएको छ। एजेन्सी

प्रकाशित: १ पुस २०८२ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App