डिसेम्बर १८ का दिन विश्व इतिहासमा राजनीति, विज्ञान तथा मानव अधिकारका क्षेत्रमा महत्वपूर्ण घटनाहरु भएका छन्। जसलाई विश्व समुदायले आजपनि स्मरण गरिहेको छ।
विली ब्रान्डको जन्म
जर्मनीका प्रख्यात राजनीतिज्ञ विली ब्रान्डको जन्म आजकै दिन सन् १९१३ मा जर्मनीको लुबेक शहरमा भएको थियो। उनी सन् १९६४ देखि १९८७ सम्म जर्मनीको सामाजिक लोकतान्त्रिक पार्टीका नेता थिए । सन् १९६९ देखि १९७४ सम्म पश्चिम जर्मनीका चान्सलरका रूपमा कार्यरत ब्रान्डले शीतयुद्धकालमा पूर्वी र पश्चिमी युरोपबीच सम्बन्ध सुधार गर्न खेलेको भूमिकाका लागि सन् १९७१ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए।
जर्मन चलचित्र उद्योगको सुरुआत
आजकै दिन जर्मनीका जनरल एरिक लुडेनडोर्फले देशका प्रमुख चलचित्र स्टुडियोहरूलाई एकीकृत गर्दै युनिभर्सम फिल्म अक्टियन गेसेलशाफ्ट स्थापना गर्ने आदेश दिएका थिए। यो संस्थाले मौन चलचित्र युगमा विश्वप्रसिद्ध तथा ऐतिहासिक चलचित्रहरू निर्माण गरी जर्मन चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको थियो ।
हलिउडका हस्ती स्टीवन स्पिलबर्ग
विश्वप्रसिद्ध अमेरिकी चलचित्र निर्देशक स्टीवन स्पिलबर्गको जन्म सन् १९४६ मा आजकै दिन ओहायो राज्यको सिनसिनाटीमा भएको थियो। जज ई टी द एक्स्ट्रा–टेरेस्ट्रियल, शिन्डलर्स लिस्ट, सेभिङ प्राइभेट रायन र द फेबेलम्यान्स जस्ता चलचित्रमार्फत उनले विश्वभर आलोचनात्मक तथा व्यावसायिक दुवै सफलता हासिल गरेका छन्।
डोनाल्ड ट्रम्पमाथि महाभियोग
राजनीतिक इतिहासमा सन् २०१९ मा आजकै दिन अमेरिकी प्रतिनिधि सभाले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो। उनी महाभियोग सामना गर्ने अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । उनीमाथि शक्तिको दुरुपयोग र कांग्रेसको काममा अवरोध पुर्याएको आरोप लागेको थियो । यद्यपि फेब्रुअरी २०२० मा अमेरिकी सिनेटले उनलाई निर्दोष ठहर गरेको थियो।
विज्ञान जगतको ठूलो ठगी
सन् १९१२ मा आजकै दिन बेलायती संग्रहालयका जीवाश्मविद्हरूले इंग्ल्यान्डमा फेला परेका अवशेषलाई नयाँ मानव प्रजाति भन्दै घोषणा गरेका थिए। ‘पिल्टडाउन मानिस’ नाम दिइएको ती अवशेषलाई मानव विकासक्रमको
‘हराएको कडी’ मानिएको थियो। तर करिब ४० वर्षपछि सन् १९५० को दशकमा ती अवशेष नियोजित जालसाजी भएको प्रमाणित भएको थियो । जसले वैज्ञानिक जगतमा ठूलो हलचल मच्चाएको थियो। एजेन्सी
प्रकाशित: ३ पुस २०८२ ०७:५८ बिहीबार





