भारतको ‘सिलिकन सिटी’ ले चर्चित बेंगलुरुमा ब्रुहत बेंगलुरु महानगरपालिका (बीबीएमपी) ले सहरका पाँच हजार बढी छाडा कुकुरलाई हरेक दिन बिरयानी वा ‘चिकेन राइस’ (कुखुराको मासु र भात) खुवाउने अनौठो योजना सुरु गरेको छ।
यस योजनाको नाम ‘चिकेन राइस भाग्य योजना’ हो। दैनिक भास्करका अनुसार उक्त योजनाका लागि बीबीएमपीले झण्डै तीन करोड भारतीय रुपैयाँ विनियोजक गरेको छ। यसमार्फत सहरका ८ क्षेत्रमा छाडा कुकुरले स्वस्थ खाना पाउनेछ।
यो योजना किन सुरु गरियो?
यो योजना महत्त्वपूर्ण छ किनभने बेंगलुरुमा पछिल्लो छ महिनामा १३ हजार ७४८ कुकुरले टोकेका घटना सार्वजनिक भएका थिए। विज्ञहरू भन्छन् कि भोकका कारण कुकुरमा आक्रामकता बढ्छ। त्यसैले बीबीएमपीले पशु कल्याण र स्वास्थ्य विभागअन्तर्गत सहरमा झण्डै तीन लाख छाडा कुकुरको हेरचाह गर्न यो नयाँ पहल सुरु गरेको हो।
यो योजनाले कुकुरको स्वास्थ्यमा सुधार गर्नुका साथै उनीहरूको शान्त स्वभावले समुदायको सुरक्षा पनि बढाउने अपेक्षा गरिएको छ। प्रत्येक कुकुरलाई दैनिक ३६७ ग्राम ‘चिकेन राइस’ दिइनेछ, प्रति कुकुरको लागत २२ रुपैयाँ हुनेछ। यो योजना ‘कुकर तिहार अभियान’ को एक हिस्सा हो, जुन गत वर्ष १७ अक्टोबर २०२४ मा सुरु गरिएको थियो। एजेन्सी
प्रकाशित: २८ असार २०८२ ०९:२७ शनिबार



-600x400.jpg)

