सन् २०१२ जनवरी १३ मा इटालीको टायरेनियन सागरमा गिग्लियो टापुको तट नजिक इटालियन क्रूज जहाज कोस्टा कन्कोर्डिया चट्टानमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको थियो।
दुर्घटनापछि जहाजमा सवार करिब ४ हजार २०० यात्रु र चालक दलका सदस्यको उद्धार गरिएको थियो।
कार्निवल कर्पोरेशनको सहायक कम्पनी कोस्टा क्रोसिएरेको स्वामित्वमा रहेको उक्त जहाज जनवरी १३ मा सिभिटाभेचियाबाट प्रस्थान गरेको थियो। रिपोर्ट अनुसार प्रदर्शनका क्रममा टापुको नजिक ल्याइँदै गर्दा रातिको समयमा जहाज चट्टानमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनापछि जहाजका क्याप्टेन फ्रान्सेस्को शेटिनोसहित केही चालक दलका सदस्यविरुद्ध आपराधिक अभियोग समेत लागेको थियो। उक्त दुर्घटनाको प्रारम्भिक अनुसन्धानले प्राविधिक त्रुटिभन्दा पनि मानवीय लापरबाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको थियो।
किन की जहाज डुबिरहँदा र यात्रु अलपत्र परिरहेका बेला क्याप्टेन शेटिनोले उद्धारको प्रयास नगरी जहाज छोडेको आरोप लागेको थियो। पछि अदालतमा उनले आफू दुर्घटनावश लाइफबोटमा खसेको बताएका थिए।
सन् २००५ मा सञ्चालनमा आएको कोस्टा कन्कोर्डिया त्यस समय इटालीकै सबैभन्दा ठूलो क्रूज जहाज थियो। विलासी सुविधाका लागि परिचित यो जहाजको दुर्घटनालाई आधुनिक समुद्री इतिहासकै सबैभन्दा गम्भीर दुर्घटनाका रुपमा लिइन्छ। एजेन्सी
प्रकाशित: २९ पुस २०८२ ०९:१५ मंगलबार




