नेपालमा स्याङ्जाको सिरुबारीबाट होमस्टे पर्यटन सुरु भएको हो। भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको अगुवाइमा ०५४ असोजमा सिरुबारीलाई होमस्टे सुविधासहित देशकै पहिलो पर्यटन गाउँ घोषणा गरियो।
होटल/रेस्टुरेन्टबाट थोरैले फाइदा पाउँछन्। पाहुनालाई बाँडेर गाउँका घरघरमा राख्दा धेरैलाई फाइदा पुग्छ। होमस्टे पर्यटनका परिकल्पनाकार एवं अभियन्ता क्याप्टेन रुद्रमानलाई धन्यवाद! आज सयौं गाउँहरूले सिरुबारीको सिको गरिसकेका छन्।
त्यस्तै एउटा सुन्दर गाउँ हो, खिलुङ।
इतिहास, प्रकृति र संस्कृतिको त्रिवेणीधाम। चारैतिर डाँडाले घेरिएको खिलुङ कचौरा (बावल) आकारको छ। हरिया डाँडा, निलो आकाश र निश्छल गाउँले मायाले मोहनी लगाउँछ।
माहुरी गाउँका रूपमा खिलुङले ख्याति कमाएको छ। घरघरमा मुढे र आधुनिक घार छन्। स्याङ्जाको खिलुङ देउराली गाविस–६ मा ६५ घर छन्। गुरुङ, मगर र क्षेत्रीका। २५ घरमा होमस्टे सुविधा छ। पाहुनालाई उनीहरू कोदोको ढिँडो, साग, गुन्द्रुक, लोकल कुखुरा, नारे पा (कोदोको रक्सी) खुवाउँछन्।
चिसोमा फलाइएको अर्गानिक तरकारी त्यसै मिठो हुन्छ। त्यसमाथि पोल्टाभरिको माया पस्किन्छन्, उनीहरू। ब्रेकफास्टमा कोदाको रोटी, गुन्द्रुकको अचार र कचौरीमा मह खुवाउँछन्। रोटीमा मह दल्दैखेरि जिब्रो रसाउँछ। गुलियो मन पर्दैन भने घ्घुसँग खान पाइन्छ।
साँझ गाउँले सालैजो, चुड्का र कौरा नाच्छन्। खिलुङमा सजिलै दुई रात बिताउन सकिन्छ। सहरी भेकमा हुर्केका युवाका लागि खेतीपाती गरेको, गाईबस्तु दुहेको दृश्य रोचक हुन्छ। वरपर हिँडेर जुन डाँडा चढे पनि हिमालको लर्कन देखिन्छ। धौलागिरि, अन्नपूर्ण, माछापुच्छे्र, लमजुङदेखि गोरखाको मनास्लु हिमालसम्म। असोजदेखि हिमाल खुल्छन्। बर्खामासमा भुइँकुहिरोले ढपक्कै ढाक्छ।
गाउँ सफा छ। घरघरै चर्पी छन्। युवा बिदेसिएका छन्। केही लाहुरे वा गाउँमै छन्। बहादुर गुरुङ हुन् या आशबहादुर, ती रसिला छन्। उनीहरू जस्तै शिक्षकहरू लोकबहादुर केसी, वीरबहादुर गुरुङ र पूर्ण गुरुङले गाउँ चम्काउन कम्मर कसेका छन्। प्यारी गुरुङको अध्यक्षतामा सक्रिय आमा समूहको काम त्यस्तै अनुकरणीय छ।
ऐतिहासिक हिसाबले पनि खिलुङको महŒव छ। गाउँको सिरानमा भीरकोट छ। भीरकोट चौबिसी राज्यकालको राजधानी। डाँडामा कालिका मन्दिर छ। मन्दिरभित्र विसं १५४४ लोकबहादुर लेखिएको घन्ट र ढाल (हतियार) छ।
कलात्मक मन्दिर बनाउन ०७१ माघमा महायज्ञ लगाइएको थियो। त्यसबाट ६५ लाख रुपैयाँ उठेको छ। करोड रुपैयाँमा भक्तपुरे शैलीको तीनतले कालिका मन्दिर बनाउने गाउँलेको योजना छ।
मन्दिर नजिकै दरबारका भग्नावशेष छन्। विडम्बना! पुरातŒव विभागले भीरकोट उत्खननमा माखो मारेको छैन।
विभागको मुखपत्र 'प्राचीन नेपाल', ०५९ फागुन अंकमा डा. राजाराम सुवेदीले 'स्याङ्जास्थित चौबिसी राज्यहरूको इतिहास' शीर्षकमा लेखेका छन्।
लेखअनुसार भारतको उज्जैनबाट राजा भुपाल विसं १४९५ मा नेपाल प्रवेश गरे। उनका जेठा छोरा खाँचा खान रैतिसहित आएर खिलुङमा बस्ती बसाले। पछि शीतल हावा बहने भीरकोटमा दरबार बनाए। खाँचाका भाइ मिचा खानचाहिँ स्याङ्जाकै नुवाकोटका राजा भए। त्यसैले विसं १५०० मा भीरकोट राज्य स्थापना भएको अनुमान छ। तिनै खानका सन्ततिले पछि शाह थर लेख्न थाले।
भीरकोट (१,८०० मिटर) वरपर अरू १५ कोट छन्। भीरकोट मुख्य हो। कोटको कालिका मन्दिरमा चैतेदसैं र बडादसैंमा मेला लाग्छ। बलि चढाइन्छ। ताकेको पूरा हुने जनविश्वास छ। पर्यटन अभियन्ता दीपक रोकाहाका अनुसार त्यहाँ काली अलप भएकी थिइन्। अहिले भएको मूर्ति पछि स्थापना गरिएको हो।
सडकबाट कोटसम्म पुग्न सिँढी र कोटको तल्लो छेउमा भ्यु–प्वाइन्ट बनाइएको छ। जहाँबाट आँधीखोला उपत्यका छ्याङ्गै देखिन्छ। स्याङ्जा बजार र बयरघारीको दृश्य हेरिरहूँ लाग्छ। सिद्धार्थ राजगमार्गसँगै नागबेली बगेकी आँधीखोलाको दृश्यले लठ्याउँछ। बर्खामासमा त्यहाँ पुग्दा छिनछिनमै भुइँकुहिरोले छपक्कै ढाक्छ।
साँझ खिलुङ बसेर ०७२ भदौ ५ गते बिहानै हामी भीरकोट पुग्यौं। साथमा थिए, पर्यटन बोर्डका वरिष्ठ अधिकृतद्वय लेखनाथ भुसाल तथा खड्गविक्रम शाह र कर्मचारी चन्द्र उप्रेती। तेस्रोपटक खिलुङ आइपुगेका शाहले डाँडामा टेक्नेबित्तिकै उत्तरतिर औंल्याए, 'मौसम खुलेको भए यहाँबाट हिमालको लामो रेन्ज नै देखिन्थ्यो।'
हिमाल कुहिरो ओढेर बसे पनि खल्लो महसुस भएन। किनकि हामीले हरिया डाँडा र फाँटमा आँखा डुलायौं। मन डुलायौं। अनि रमायौं।
बोर्डकै सहयोगमा बनेकाले होला गाउँलेले दिउँसो अधिकृतद्वयकै हातबाट भ्यु–प्वाइन्ट उद्घाटन गराए। हामीले परर्र ताली बजायौं। त्यसभन्दा अघि गाउँको छेउमा बनाइएको पर्यटन भवनको स्याङ्जाका एलडिओ पुण्यविक्रम पौडेलले उद्घाटन गरेका थिए। गाउँलेले राम्रो भवन गरेछन्। राम्रो यसर्थ कि त्यसलाई संग्रहालय रूप दिइएको छ।
त्यहाँ गुरुङ जीवनशैली झल्कने सामग्री छन्। चर्खे पिङ, बाँसबाट बनेका घर, ढिकी, जाँतो, स्याखु, हलो, जुवा, चरेसका भाँडावर्तन, मदानी, मादल, घ्यु राख्ने हर्पे, थुन्से, माटाका भाँडा, खुर्पेटा, ओदान, ताउलो, खुकुरी, झोला, डोका र गुरुङ–गुरुङसेनीका डमी छन्।
संग्रहालय उद्घाटनपछि एक हुल युवाले गाउँको थुम्कोबाट प्याराग्लाइडिङ उडाए। सगरमाथाबाट प्याराग्लाइडिङ उडाएर संसारभर ख्याति कमाएका नेपाली पाइलट सानोबाबु सुनुवारको समूहले ग्लाइडर उडायो। परीक्षण उडान गर्नुका साथै व्यावसायिक रूपमा खिलुङलाई प्याराग्लाइडिङ गन्तव्यका रुपमा चम्काउने श्रेय तिनै बाबुलाई जान्छ।
असोजदेखि जेठसम्म विदेशी पाइलट खिलुङ आउँछन्। एक रात बसेर प्याराग्लाइडिङमा 'क्रस कन्ट्री' उडान भरेर पोखरा झर्छन्। छिटो उड्नेलाई डेढ घन्टा लाग्छ भने बाँकीलाई तीन घन्टा।
त्यो दिन दिउँसो बाबुले पौडेललाई उडाएर तल हेलु बजारसम्म ओराले। जीवनमा पहिलोपटक प्याराग्लाइडिङमा उडेका एलडिओसाबको अनुहार धपक्कै बलेको थियो।
गाउँ आउने पर्यटक भनेका प्याराग्लाइडिङ पाइलट नै हुन्। थोरै नेपालीलाई मात्र खिलुङबारे जानकारी छ। जबकि आन्तरिक पर्यटक रमाउने प्रशस्तै चिज छन्, गाउँमा। 'हामी आन्तरिक पर्यटक स्वागत गर्न तयार छौं,' खिलुङ कालिका पर्यटन विकास एवं व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर गुरुङ भन्छन्, 'आउनुस् न्यानो माया दिन्छौं।'
गाउँलेले 'ग्रामीण गरिबी निवारणका लागि पर्यटन' नाराका साथ ०६६ मा समिति दर्ता गरेका हुन्। त्यसयता पूर्वाधार विकासमा जुटेका छन्। उनीहरूको होस्टेमा पर्यटन कार्यालय, पर्यटन बोर्ड, सभासद्, जिविस र गाविसलगायत हैंसे गर्दैछन्। तिनबाट २५ लाख ४६ हजार रुपैयाँ अनुदान प्राप्त भइसकेको छ। गाउँलेले त्यो रकमबाट प्याराग्लाइडिङस्थल जाने सिँढी निर्माण, पर्यटन भवन, खिलुङ कालिका मन्दिर हातामा ढुंगा चिन्ने, भ्यु–प्वाइन्ट, पदमार्ग निर्माणलगायत काम गरेका छन्।
धेरै काम गर्न बाँकी छ। डिलबहादुरको नेतृत्वमा गाउँमा काम भइरहेको छ भने राजधानीमा बसेर रोकाहा सरोकारवालासँग समन्वय गरिरहेका छन्। गाउँमा पर्यटनको बिरुवा हुर्कंदो छ। विदेशीको चहलपहल बढ्दै छ।
हाम्रा स्थापित होमस्टे भिलेजका ९९ प्रतिशत ग्राहक नेपाली हुन्। गाउँ पर्यटनमा रुचि राख्ने विद्यार्थी, आउटिङमा रमाउन चाहने कामकाजी र परिवार सबैका लागि खिलुङ उपयुक्त छ।
राम्रो के छ भने सिद्धार्थ राजमार्गको हेलु बजारबाट हिँडेर खिलुङ हुँदै कोलेडाँडा भएर बोटानिकल गार्डेनबाट बयरघारी निक्लन मिल्छ। यसरी यात्रा गर्दा पहिलो बास खिलुङ र दोस्रो कोले डाँडामा। चरा अवलोकनमा रुचि भएकाहरूलाई पनि यो रुट राम्रो छ।
गाउँमा मोटरबाटो पुगिसकेको छ। डाउनहिल साइक्लिङ गर्न सकिन्छ। हेलुदेखि खिलुङसम्म मोटरबाटो कालोपत्रे गर्न सके पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ। बुद्धि पुर्यागएर मार्केटिङ गर्न सके खिलुङ चाँडै चम्कन सक्छ।
आफ्नो ठाउँको मार्केटिङ अरूले गरिदिन्नन्, आफैं गर्नुपर्छ। बयरघारीका तन्नेरीद्वय मनोज र सूर्य अधिकारी तम्सेका छन्। फाल्कन नेपाल टुर एन्ड ट्रेकमार्फत उनीहरू खिलुङ र सेरोफेरोका गाउँका प्याकेज बनाउँदै छन्। गाउँको मार्केटिङमा पर्यटन संस्था हान, टान, नाटो, नाटा र पर्यटन बोर्डले गाउँलेसँग हातेमालो गर्नैपर्छ।
गाउँ पस्ने ठाउँ हेलु बजारमा आँधीखोलाको माछा पाइन्छ। बजारको थकाली भान्छाघरमा माछामात्रै होइन, स्वादिलो दालभात पनि पाक्छ। खिलुङ छाड्ने मन नहुँदा नहुँदै एक रात बसेर हामी फर्कियौं। गाउँलेको आत्मीयता सँगाल्न, हिमाल हेर्न र आँधीखोलाको माछा चाख्न हामी फेरि खिलुङ पुग्नेछौं, दसैंको छेको पारेर।
कसरी पुग्ने : काठमाडौं–पोखरा २ सय किमि। पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै हेलु बजार ४८ किमि। हेलुबाट आँधीखोला तरेर ८ किमिमा खिलुङ। मोटरबाइक र जीप गाउँसम्मै पुग्छन्। हेलुबाट हिँडेर जाँदा अढाइ घन्टा लाग्छ।
खिलुङका चम्किला तारा
कतै घुम्न जाँदा कोसेली ल्याउने बानी बसाउनुपर्छ। चाहे त्यो खानेकुरा होस् या सजाउने। खिलुङको कोसेली मह र घ्यु। मह स्वादिलोमात्रै होइन, गुनिलो चिज पनि हो। पर्यटन गन्तव्यका रूपमा स्थापित हुन खोजिरहेको खिलुङमा हस्तकला उत्पादनको सम्भावना प्रशस्तै छ। गाउँको पर्यटन भवनमा स्थानीय मीनबहादुर आलेले बाँसबाट बनाएका घर सजाइएको छ। घुमाउने घर र तीनतले घर लोभलाग्दो छ।
बाँस, फेबिकोल र सुपरग्लुको प्रयोगबाट घर बनाएका। पर्यटन भवनमा झैं गाउँको स्कुलमा पनि उनले बाँसका घर उपहार दिएका छन्। उनले तालिम लिएका होइनन्, आफ्नै आइडियाले घर बनाएका। साउदी अरबमा २ वर्ष बसेर ११ महिनाअघि गाउँ फर्केका हुन्।
कक्षा ६ सम्म पढेका आलेमा प्रशस्तै सम्भावना छ। तर, यी २८ वर्षे तन्नेरी फेरि बिदेसिने मुडमा छन्। स–साना घुमाउने घर बनाएर मात्र पर्यटकलाई बेच्न सके उनले फेरि अरब भौंतारिनुपर्नेछैन। त्यसका लागि उनलाई हौसलाका साथै हस्तकला उत्पादन तालिम दिनुपर्छ।
पर्यटन भवनबाहिर लालीगुराँस, डाँफे, नेपालको झन्डालगायत चित्र बनाइएको छ। बाहिरका कलाकारले बनाइदिएको होइन, गाउँकै बालकृष्ण भण्डारीले बनाएका। उनी स्थापित कलाकार हुन्। पानी रङ, तैल रङ र एक्रेलिक रङबाट राम्राराम्रा चित्र बनाउँछन्।
काठमाडौंमा बसेर ब्यानर लेखन र चित्रकारिता गर्दै आएका भण्डारी पारिवारिक समस्या भएपछि ०६४ सालमा गाउँ फर्केका रहेछन्। गाउँमै बसेर अचेल उनी स्याङ्जा र पोखरासम्म पुगेर ब्यानर, भित्तेलेखन लगायत काम गर्छन्। माहुरीपालन र सुन्तला खेतीमा रमेका छन्। फुर्सदमा चित्र कोर्छन्। मौका मिलाएर काठमाडौं र पोखरामा ती चित्र प्रदर्शन गर्ने उनको योजना छ।
जवानीमा गोरखपुर पुगेका भण्डारी उचाइ नपुगेपछि सेनामा भर्ती हुन सकेनन्। त्यही बेला दिल्लीमा ६ महिना बसेर कला सिके। बुटवल फर्केर कला दुकान खोले। ०४१ सालदेखि काठमाडौंमा संघर्ष गरे। अहिले गाउँमा छन्। उनको सिप सदुपयोग गरेर खिलुङको संस्कृति झल्कने कार्ड बनाउन सके पर्यटकलाई राम्रो कोसेली बन्न सक्छ। उनलाई पनि प्रोत्साहन जरुरी छ।
घुमफिर प्याकेज
हनी बावल भिलेज टुरको एकराते प्याकेज मूल्य १ हजार रुपैयाँ। यति रकमले वेलकम ड्रिंक्स, ककटेल डिनर, बेड र ब्रेकफास्ट पाइन्छ। सम्पर्क : डिलबहादुर गुरुङ ९८४६०३६०६९ र दीपक रोकाहा ९८५१०२७४४६
पदमबहादुर केसी
अध्यक्ष, ग्रामीण पर्यटन विकास महासंघ
खिलुङ छोटो समयमै चम्किइसक्यो। भविष्य उज्यालो छ। पोखरा आउने पर्यटकलाई एक रात खिलुङमा तान्न सके ठूलो उपलब्धि हुन्छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटक बढ्नेछन्। त्यति बेला खिलुङजस्ता गाउँ पर्यटकले भरिभराउ हुनेछन्। सरोकारवालाले गाउँलेलाई सघाउनुपर्छ।
लेखनाथ भुसाल
वरिष्ठ अधिकृत, नेपाल पर्यटन बोर्ड
व्यस्त जीवनबाट ह्याङआउट हुन खिलुङ राम्रो गन्तव्य हो। पर्यटन पूर्वाधार विकासमा गाउँले जुटेका छन्। मार्केटिङ लिंकेज आवश्यक छ। त्यसका लागि गाउँलेले पोखरा, लुम्बिनी र काठमाडौंका पर्यटनकर्मी र टुर अपरेटरसँग सहकार्य गर्नुपर्छ। त्यसमा नेपाल पर्यटन बोर्डले सहयोग गर्नेछ।
खड्गविक्रम शाह
वरिष्ठ अधिकृत, नेपाल पर्यटन बोर्ड
गाउँलेको पर्यटन उत्साह प्रशंसनीय छ। हामी गाउँलेलाई होमस्टे व्यवस्थापन, अतिथि सत्कार लगायतका तालिम दिलाउनेछौं। खिलुङको प्रचार गर्न मिडिया र पर्यटन व्यवसायीलाई गाउँ भ्रमण गराउनेछौं। खिलुङको प्रचारात्मक सामग्री ब्रोसर, पोस्टर, बुकलेटलगायत सामग्री उत्पादन गर्न सघाउनेछौं।
डिलबहादुर गुरुङ
अध्यक्ष, पर्यटन विकास एवं व्यवस्थापन समिति
पर्यटनबाट आर्थिक समृद्धि सम्भव छ भनेर हामीले खिलुङलाई पर्यटन गाउँ बनाएका हौं। गाउँमा पर्यटकको चहलपहल बढाउन सके बसाइँसराइ रोकिन्थ्यो। युवाहरू वैदेशिक रोजगारीमा जाँदैनथे होला। हामी विदेशीलाई मात्र होइन, आन्तरिक पर्यटकलाई पनि स्वागत गर्न चाहन्छौं। आइदिनुस् है!
सानोबाबु सुनुवार
प्याराग्लाइडिङ प्रशिक्षक
एकथरी प्याराग्लाइडिङ पाइलट गाउँले जनजीवन र संस्कृति हेर्न चाहन्छन्। उनीहरू गाउँका घरबारी, खेतीपाती, चाडपर्व, रीतिथिति बु‰छन्। त्यस्ता कल्चरल प्याराग्लाइडिङ पाइलटका लागि खिलुङ उपयुक्त छ। उनीहरू गाउँमाथिको आकाशमा उड्नेमात्रै होइनन्, गाउँलेसँग आत्मीयता पनि गाँस्छन्।
दीपक रोकाहा
सदस्य, पर्यटन विकास एवं व्यवस्थापन समिति
नेपाल र स्याङ्जाको मध्यभागमा पर्छ, खिुलङ। लुम्बिनी र पोखराको बीचमा पर्ने भएकाले सूचना केन्द्र आवश्यक छ। गाउँका ६ वटै डाँडामा भ्यु–प्वाइन्ट बनाउन सके राम्रो हुन्छ। कोलेडाँडामा पनि होमस्टे तालिम जरुरी छ। पदमार्गमा प्रतीक्षालय बनाउनुपर्छ।
प्रकाशित: ११ भाद्र २०७२ २१:३८ शुक्रबार





