माछा मार्न सौखिन उनी त्यसपछि चारपटक मलेखुसम्म धाए, कारण थियो— नयाँ गीत सिर्जना गर्नु। 'तरुनी आमा' उनको दिमागमा रन्थनिइरहेको थियो। बेलुकी गाउँलेहरू जम्मा गरे र दोहोरी गीतमा झुमाउन थाले। उनको स्वार्थ थियो- गाउँले भाका र त्यहाँका ठेट शब्द टिप्नु। दोहोरीका टुक्का उनले निकै ध्यान दिएर सुने। आफूलाई चाहिने अरू शब्दबारे पनि सोधीखोजी गरे, भाका टिपे र काठमाडौं फर्किए। यसरी तीन वर्षको मेहनतपछि मात्रै बन्यो उनको चर्चित लोकभाका-
छोरीभन्दा आमा तरुनी
लिबिस्टिक पाउडरले
लान्छ क्यारे घुमाउन
झिल्के डाइबरले।
म्युजिक नेपालले २५ वर्षअघि रेकर्ड गरेको यो गीतले तरंगमात्रै ल्याएन, विवाद पनि खडा गर्यो ।
सुर्खेतको रेडियोबाट यो गीत बज्दा महिलाहरूले रेडियो स्टेसन घेरेका थिए। कतिपय महिलाले उनलाई गालीसमेत गरे। 'यो गीत बन्द गर्नका लागि निवेदनसमेत परेको थियो,' उनी सम्झन्छन्, 'तर, मैले कसैलाई लक्षित गरेर गाएको थिइनँ। विशुद्ध लोकभाका थियो।'
त्यो बेलाको समाजमा विवाह वा अन्य सामूहिक कार्यमा थुप्रै महिला–पुरुष भेला हुन्थे। गाउँथे, नाच्थे, रमाउँथे। यही माहोल नै गीतको पृष्ठभूमि रहेको उनी बताउँछन्। 'गाउँ–समाजमा हुने ठट्यौली शैलीलाई गीतमा प्रस्तुत गरेको हुँ,' आफूले महिलालाई सधैं सम्मान गर्ने भन्दै उनले भने, 'मेरा पनि दिदीबहिनी, छोरी छन्। महिलाको अधिकारका विषयमा बोल्छु। यही गीतका कारण उनीहरूमाथि अपमान भएको म मान्दिनँ।'
महिलालाई सम्बोधन गरिएका शब्दविना विशुद्ध लोकगीत अपूरो लाग्छ, उनलाई। ठट्यौलो पाराका बस्नेतका अधिकांश गीतमा 'तरुनी' शब्द मिसिएकै हुन्छन्।
गाउँले जनजीवनमा भिजेर ठेट शब्दलाई टिप्न खप्पिस छन्, उनी। गीत गाएर नाम, दाम कमाउने उनको सोख छैन अब, तर यसलाई बिट मारिहालेका छैनन्। गाउँले भाका खोज्दै गाउँगाउँ पुग्छन्, उनी। अहिले नयाँ एल्बमको तयारीमा छन्। 'छ वटा गीत समेटिएको एल्बम एक महिनाभित्र आउँदैछ,' उनले भने, 'गाउँले भाका अब हराउँदै गए। म तिनै लोप हुन लागेका भाकालाई गीतमा उन्दैछु।'
'तिम्रो बाउलाई सलाम छ आमालाई नमस्ते,' 'लैबरी लै लैबरी लै', 'कलियुगको बेलैमा जोसमा हुन्न होस' जस्ता गीत उनका सदाबहार लोकप्रिय हुन्। यस्तैयस्तै 'झिल्के गीत' गाउन रुचाउने उनलाई कतिपयले स्वभावप्रति पनि शंका गर्दा रहेछन्। 'गीत भनेको मनोरन्जनका लागि हो। यसले रमाइलो गराओस् भन्नेमा म सचेत छु,' उनी प्रस्ट पार्छन्, 'आफूलाई इमानदार राख्दै देशको इज्जतका लागि मैले इमान बेचेको छैन।' ०१८/१९ सालतिर त्रिचन्द्र कलेज पढ्दा उनका डेढ सय सहपाठीमध्ये केटीको संख्या तीन जनामात्र थियो। 'त्यो बेला पनि छोरीहरूलाई कलेजसम्म पढाउन बाउआमाहरू हिचकिचाउँथे,' उनी भन्छन्, 'अहिले त्यस्तो छैन। महिलाहरू पनि निकै अगाडि आएका छन्, पहिलेजस्तो बन्धन छैन।'
बस्नेत गीत गाउनेमात्र होइन नृत्यमा पनि उत्तिकै सिपालु थिए। दोहोरी गाउँदै नाच्नुमा खुब आनन्द मान्थे उनी। 'हेभी डिस्को डान्सर हुँ,' उनी पुराना दिनतिर फर्कन्छन्, 'जापान र हङकङ पुग्नासाथ कति बेला त्यहाँका नाइट क्लबमा गीत गाउन पाइएला भन्ने हतारो भइहाल्थ्यो।'
अन्य देशको तुलनामा नेपाली कलाकारको स्तर तलै रहेको उनको विश्लेषण छ। यहाँ गीत जताततै बज्छन्, तर रोयल्टी दिन कोही तयार छैन। प्रतिलिपि अधिकार ऐन २०५९ ले कसैलाई छोएको छैन। 'हाम्रो मानवअधिकारको हनन भएको छ,' उनी गुनासो गर्छन्, 'ऐन त छ, तर लागू गराउने कसले? यसबाट हामीजस्ता कैयन् कलाकार मर्कामा परेका छन्।' कलाकारको सम्मान नहुने र रोयल्टीबारे कडिकडाइ नगर्ने देशमा संगीत फस्टाउन नसक्ने उनी बताउँछन्।
पुरानो संस्कृति हराउला भन्ने चिन्ता हुनु एक कलाकर्मीका लागि स्वाभाविक हो। त्यो चिन्ता उनमा पनि छ। गीतसंगीतबाटै नेपाली समाजको पहिचानका लागि निरन्तर लागिरहेका बस्नेतको चिन्ताचाहिँ नेपाली संस्कृतिमा विकृति बढेकोप्रति हो। हिन्दी र पश्चिमा फिल्मका दृश्यले नेपाली समाजलाई असर गरेको टिप्पणी गर्छन् उनी, 'घरका परिवार एकै ठाउँमा बसेर हेर्न नसकिने खालका लोकगीत पनि यहीँ बनिरहेका छन्।'
विभिन्न स्वाद र शैलीका लोकभाका र दोहोरी सिर्जना गर्ने युवाहरूप्रति उनी खुसी छन्। ती युवा मेहनतका साथ छायांकन गर्छन् र भिडियोसमेत तयार पार्छन्। बस्नेतको सुभेच्छा यत्ति हो, 'साधना गर, लगानी गर तर आफ्नोपनलाई नबिर्स।'
उनको लोकगीत 'लैबरी लै लैबरी लै' युट्युबमा हेर्न पाइन्छ। यसको रिमिक्स भर्सनमा कालो ह्याटमा सजिएका उनी घुम्ने कुर्सीमाथि चुरोट तान्दै किशोरीबीच नाचिरहेको दृश्य छ। यति बेला पुराना लोकभाकालाई रिमिक्स गरेर गाउने चलन बढेको छ। कतिपय यसलाई मौलिक गायन मेटेको भन्दै चिन्ता गर्नेहरू पनि छन्। उनी भने यसलाई 'समयको माग' भन्छन्। थुप्रै रिमिक्स गीत गाउँदा उनलाई आलोचना गर्नेहरू धेरै थिए।
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला लगायतबाट उनले थुप्रै सम्मान पाइसकेका उनका डेढ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। सञ्चयकोषको सरकारी जागिरे हुँदाहुँदै पनि उनले निकै गाउँ घुम्न भ्याए। ३९ वर्षे जागिरे जीवनबाट रिटायर्ड भएकै २३ वर्ष बितिसकेको छ। गीतप्रति उनको जोसजाँगर कत्ति पनि घटेको छैन।
अझै पनि उनी घुम्न रुचाउँछन्। 'मेची–महाकाली घुम्छु। पहाडको अप्ठ्यारासँग परिचित छु,' भन्छन् उनी। जसले त्यहाँका ग्रामीण भाका टिप्न सघाएको छ। पोखरा पुग्दा उनले माछापुच्छ्रेको गीत बनाए– 'रुम्जाटार पुग्दा गुरुङ्नी, थाकखोलाकी शेर्पिनी, सिन्धुपाल्चोक तामाङ्नी...।'
पुर्ख्यौली थलो दोलखाको चरिकोट भन्ने उनी त्यहाँको चौंरीगोठ, भेडीगोठमा रहँदाका थुप्रै अनुभव सुनाउँछन्। जन्मिनलाई उनी काठमाडौंको कमलपोखरीमा जन्मिए। तर, भीर–पखेरासँग मित लगाए। कुनै गाउँ पुग्दा उनी त्यहाँको रहनसहन र जीवनशैलीसँग छिट्टै घुलमिल भइहाल्छन्। भान्सेसँग मिसिएर भान्से नै भइदिन्छन्। भरियासँग भरिया, गोठालोसँग गोठालो। 'स्थानीयसँग घुलमिल गर्न जान्ने हो भने हरेक ठाउँबाट नयाँ शब्द र भाका निकाल्न सकिन्छ,' त्यही चलाखीले नै हो कुमार बस्नेत सदाबहार लोकभाकामा बाँचिराखेका छन्।
प्रकाशित: ४ भाद्र २०७२ २२:४३ शुक्रबार



-600x400.jpg)

