६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

मिथिलामा जनक दर्शन

राजा जनकले हलो जोत्दा सीता भेटिएको कथा सानैमा पढेका थियौं हामीले। अनिकाल भएकाले राजाले हलो जोत्दा सहकाल आउने विश्वासले हलो जोतेका। राजा जनक र सीता माताको जन्मथलोमात्रै होइन जनकपुर, 'जनक दर्शन'को पवित्र भूमि पनि हो।बुझ्नुपर्ने के छ भने जनक नाउँ होइन, वंश हो। सीताका धर्मपिताको नाउँ शिरध्वज जनक। उनी जनक वंशका २१ औं राजा। उनलाई राजर्षि जनक भनिन्छ। कस्तो अचम्म, एउटै मान्छे, राजा पनि ऋषि पनि! कसरी भयो त्यस्तो? जनक दर्शनले आत्मज्ञान प्राप्त गर्न गृहस्थी त्यागेर बनवासी बन्नुपर्छ भन्दैन। केवल भोक्ता र कर्ता भाव त्यागे पुग्छ भन्छ।

सृष्टिक्रम, सूर्योदय, सूर्यास्त, ऋतु परिवर्तन, दैनिक व्यवहार र स्वयंलाई समेत कर्ता वा भोक्ता भावले होइन, साक्षी भावले हेर्नु, म शरीर होइन आत्मा हुँ भन्ने सम्झनु आत्मज्ञान हो। जनकले शरीरलाई होइन आत्मालाई महत्व दिए। जनक दर्शनले जीवनमा कर्म गर, भोग गर, त्याग गर तर लोभ नगर भन्छ।

संसारको क्षणभंगुर सुख पनि भोग गर्न सक्नु र मोक्ष लोकको स्थायी आनन्द पनि पाउनु बुद्धिमानी हुन्छ। साक्षीभावको साधनाद्वारा जनकले दुवै लोकका सुख अनुभव गरे। मोक्ष प्राप्त गरे।

त्यही पवित्र भूमि जनकपुर यात्रामा निस्कियौं हामी ५ भाइ (देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदीप पौडेल, पवन शाक्य र म)। काठमाडौंबाट ९ साउन ०७२ का दिन बिपी राजमार्गको बनेपा–बर्दिबास सडकमा हुइँकियौं हामी। हामीमध्ये पवनको जनकपुर यात्रा पहिलो।

एकताका वीर गोर्खालीले बेलायती फौजलाई हराएको इतिहास बोकेको सिन्धुलीगढी घुमेर साँझ नपर्दै जनकपुर पुग्यौं। रामानन्द चोकबाट सरासर जलेश्वरतिर सोझियौं। चोकबाट १६ किमि पर्तिर।

जनकपुरको चार दिशामा द्वारपालका रूपमा शिव मन्दिर छन्। पूर्वमा मिथिलेश्वर, पश्चिममा जलेश्वर, उत्तरमा छिरेश्वर र दक्षिणमा कल्याणेश्वर।

सडकमा खाल्डाखुल्डी थियो। महोत्तरीको सदरमुकाममा जलेश्वर महादेव मन्दिर छ। पानीमुनि भएकाले शिवलिंग दर्शन गर्न सकेनौं। महिनाको पहिलो सोमबार सेनाको सहयोगमा पानी फ्याँकिन्छ। त्यति बेला शिवलिंग दर्शन पाइन्छ।

साँझ जनकपुरको होटल मानकीमा बस्यौं। खानापछि घुम्न निस्कियौं। जानकी मन्दिरमा कीर्तन चल्दै थियो— सीताराम! सीताराम! सीताराम!

मन्दिरको फन्को मारेर फर्कियौं। जनकपुरमा लामखुट्टेले बाह्रैमास गीत गाउँछ। बेतोड पंखा घुमेकाले होला कानमा गुनगुनाउन आएनन् ती।

बिहान होटल बरन्डामा थिएँ, सुँगुरको हुल सडकमा देखेँ। जनकपुर सफा गर्नै बाँकी छ। 'सफाइमा ध्यान दिनुपर्छ जनकपुरले,' साथी सुदीपले भने, 'फोहोरमा पर्यटन हुँदैन।'

मौसमले साथ दियो। आकाश निलो बन्यो। प्रतिविम्ब धनुषसागरमा देखियो। निलो पानी। साथी नेत्र आचार्य र मैले ०६८ सालको छठमा धनुषसागरमै उदाउँदो सूर्यको स्वागत गरेका थियौं। तलाउ किनारभरि पूजासामान थियो। सूर्यको स्वागतमा घन्टौंदेखि बसेका थिए महिला।

तलाउको तस्बिर खिच्दै थिएँ, रञ्जन दाइले चिया खान बोलाए। धनुषसागरसँगै रहेछ, जयवीर रायको चिया दुकान। उनले चिया बेच्न थालेको २५ वर्ष भइसकेछ। उनी पत्रिका पनि राख्छन्, ग्राहकले चियाको चुस्की लिँदै पढून् भनेर। भित्तामा 'चिया दुकानको सुखी जिन्दगी' लेखिएको फ्लेक्समा उनको तस्बिर छ। नजिकै ओशोको पनि।

'देशमा जमिनको कमी छैन,' ५६ वर्षे 'तन्नेरी' जयवीर बोल्न थाले, 'मेहनत गर्नेको कमी छ।'

बिहान ५ देखि ११ र दिउँसो ३ देखि राति ९ बजेसम्म उनी चिया बेच्छन्। 'ह्याप्पी–ह्याप्पी' उनको थेगो भइसकेको छ, बरोबर भनिबस्छन्। दुई छोरा र एक छोरीका पिता जयवीरले चिया बेचेरै घर बनाए। छोराछोरी पढाए। 'नेपालमै अवसर छ,' उनले भने, 'स्वदेशमा परिवारसँगै बसेर काम गर्न सकिन्छ।'

स्याबास जयवीर!

त्यहाँबाट जानकी मन्दिर गयौं। निलो आकाशमुनि रंगीन दरबार। हेरिरहूँ लाग्ने। मुगल र राजपुतना शैलीमा बनेको। भित्र गर्भगृहमा मूर्ति। जानकी मन्दिर टिकमगढ (भारत) की महारानी भानु वृष कुँवरीले बनाउन लगाएकी। जानकीको भाकल गरेपछि उनले विसं १९५१ मा छोरा पाइछन्, त्यही भएर विशाल मन्दिर बनाइदिएकी।

विसं १९५२ मा मन्दिर शिल्यान्यास गरिएको थियो। विसं १९६७ मा मन्दिर पूरा भयो। विशाल मन्दिर बनेको एक सय २१ वर्ष भइसकेको छ। त्यसअघि भारतबाट आएका सन्तद्वय शुर किशोर दासले जानकी मन्दिर र चतुर्भूज गिरिले राम मन्दिर बनाएका थिए। पछि भानु कुँवरीले जानकी मन्दिर बनाइदिएझैं जनरल अमरसिंह थापाले ठूलो राम मन्दिर बनाए।

जानकी मन्दिरको शतवार्षिक २०५१ सालमा मनाइयो। मन्दिरका महन्थ रामतपेश्वर दासको कक्षमा सन्त तस्बिरको हारमा महारानी भानु कुँवरी पनि छन्। उनी छोरा लिएर प्रसन्न मुद्रामा बसेकी छन् भने साथमा राजा प्रताप सिंह।

मन्दिरमा बिहान ७ बजे र बेलुका ८ बजे आरती हुन्छ। दिउँसो १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खुल्दैन। त्यहाँ पुग्दा दर्शनार्थीको भिड थियो। हाम्रो साथमा फूल, अक्षता, धुप केही थिएन। मनफूल चढायौं। गर्भगृहपछाडि सांस्कृतिक संग्रहालय छ। त्यसले हलेश्वरी महायज्ञ भएर सीता फेला परेदेखि सीतारामको विवाह भएकोसम्म झल्काउँछ। भुइँतलामा पुराना गहना र भेषभूषा छन्।

हामीले मन्दिर फन्को लगाउँदा भजन सुन्यौं। वृद्धहरू सीताराम! सीताराम! गाइरहेका थिए। हार्मोनियममा रामकृष्णलाल, मादलमा माथवरदास र झ्यालीमा अशोक झा। अघिल्तिर भुइँमा थचक्क बसेका देवेन्द्र दाइले आँखा चिम्लेका थिए भने हत्केलाले घुँडा थप्थपाउँदै आनन्द लिइरहेका थिए।

अखण्ड भजन रहेछ। भजन संयोजक मानेश्वर चौधरीका अनुसार दिनरातै गाइन्छ। भजनेले तलब पाउँछन्। त्यहाँ सीता, उर्मिला, माण्डवी र सुकीर्तिका मूर्ति छन्। तिनैलाई सुनाउन २०१८ वैशाख १ गतेदेखि भजन गाउन थालिएको रे।

भजन जुनसुकै धर्मको होस्, सुन्दा नाचूँनाचूँ लाग्छ। एकचित्त भएर गाउँदा दुःख भुलिन्छ। केही बेर त्यहाँ रम्यौं हामी। कानमा भजन गुन्जिरहेकै थियो, त्यहाँबाट निस्केर विवाह मण्डप पस्यौं। रामसीताको स्वयंवरको झल्को दिन्छ मण्डपले।

हामीले तस्बिर खिच्यौं। मन्दिरको चौंडा तस्बिर लिन बजारको एउटा घरमा गर्यौंं, भुइँतलामा 'साह फर्निसिङ' कार्पेट पसलका कर्मचारी आनन्दकिशोर राउतले नहिच्किचाई छतमा पुर्यारए। पवनजी र मैले छतबाट झन् सुन्दर देख्यौं जानकी मन्दिर परिसर।

त्यसअघि हामीले रघुपति स्वीट्समा होटल व्यवसायी संघ धनुषाका अध्यक्ष दशरथ साहलाई भेटेका थियौं। उनले जनकपुरमा ६० वटा होटल/लज भएको बताए। केही धर्मशाला छन्। राम्रा होटलमा सीताशरण, मानकी, सीता प्यालेस, सिटिस्टार, वेलकम र रामा पर्छन्।

मधेस आन्दोलनबाट पहाडे लखेटिएपछि व्यापारमा मन्दी आएको रहेछ। मिश्रित समाज नै समुन्नत बन्छ भन्ने उनलाई लागेको छ। 'पहाडी समाजमा क्रयशक्ति राम्रो थियो,' साहले अनुभव सुनाए, 'उनीहरू नहुँदा व्यापार घट्यो।'

जनकपुरमा नेपालीभन्दा भारतीय बढी आउँछन्। जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र विवाह मण्डप घुमेर फर्कन्छन्। तीन–चार घन्टा बिताउँछन्। जबकि दुई रात सजिलै बसेर घुम्न घुमफिर प्याकेज बनाउन सकिन्छ। रामले धनुष तोडेको रंगभूमि मैदान, जानकी मन्दिर, विवाह भएको ठाउँ मणि मण्डप, धनुषको टुक्रा खसेको ठाउँ धनुषाधाम, तलाउ र जलेश्वर मन्दिरलगायत समेट्न सकिन्छ।

भारतीय सीमा जटही ११ किमि र भित्तामोड १९ किमि दुरीमा छ। सडक व्यवस्थित भए तीर्थालु बढ्छन्। विवाह पञ्चमीमा लाखौं भारतीय आउँछन्। त्यसबाहेक झुला महोत्सव, दसहरा, छठ र मिथिला परिक्रमाका बेला ठूलो मेला लाग्छ।

फागुन शुक्ल पूर्णिमाबाट परिक्रमा सुरु गरिन्छ। १५ दिने परिक्रमा पूरा गर्दा १३३ किमि हुन्छ। परिक्रमा मार्गमा हनुमान नगर, कल्याणेश्वर, गिरजास्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुव कुण्ड, कञ्चन वन, पर्वता, धनुषाधाम, सतोखोर, औरही, करुणा, बिसौल, जानकी मन्दिरमा बास बसिन्छ। तीमध्ये कल्याणेश्वर, गिर्जास्थान, करुणा र बीसौंले भारतमा पर्छन्। हजारौंले परिक्रमा गर्छन्।

साहलाई भेटेपछि जनक र राम मन्दिर दर्शन गर्यौं । त्यहाँबाट वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई भेट्न उनको कार्यालयमा गयौं। ७० वर्षे उमेरमा उनी उस्तै सक्रिय छन्। छलफल जनकपुर विकासमा केन्द्रित भयो। केन्द्रीय राजनीतिमा धेरै नेताले पकड जमाइसकेका छन्। तर, पर्यटन विकासमा कसैको भिजन छैन। बृहत्तर जनकपुर क्षेत्र विकास समिति राजनीतिक कार्यकर्ता भर्तीकेन्द्र बनेको छ।

मिथिला कला जनकपुरको आकर्षण। जनकपुर छाड्नुअघि हामी कुवा गाउँको जनकपुर नारी विकास केन्द्र पुग्यौं। त्यहाँ पाइन्छ मिथिला कला झल्कने सामान। छोराको लागि सुदीप र मैले टिसर्ट किन्यौं। पवनजीले ब्याग।

परम्परागत सिपलाई अमेरिकी महिला क्लियर बर्केटले व्यावसायीकरण गराएकी हुन्। उनले सन् १९८९ मा सुरु गरेको जनकपुर महिला कला परियोजनाले भुइँ र भित्ताबाट मिथिला कलालाई नेपाली कागज, कपडा र सेरामिक्सका भाँडावर्तनसम्म ल्याइपुर्याेयो। केन्द्रकी अध्यक्ष अन्जना पण्डितले अमेरिका, जर्मनी र भारतको माग धान्न भ्याइनभ्याई भएको सुनाइन्।

साउने बिहान छिप्पिँदै थियो तैपनि खपिनसक्नु गर्मी भएन। हामी कुवाबाट धनुषाधामतिर लाग्यौं। जनकपुरको रंगभूमि मैदानमा रामले धनुष उचाल्दा तीन टुक्रा भएको थियो। एक टुक्रा आकाशमा, एक टुक्रा पाताल र अर्को टुक्रा धनुषाधाममा खस्यो।

जनकपुरबाट १६ किमिमा धनुषाधाम। त्यहाँका पुजारी भरत दास हिन्दीमा वर्णन गर्दै थिए। धनुषको मध्यभाग पूर्वतिर बढ्दै गएको उनले देखाए। जमिनमा गाँठागुँठी छन्। 'एक दिनमा एक तील बराबर ती गाँठा बढ्छन,' उनले भने। हामी त्यहाँ रामसीता मन्दिर पनि घुम्यौं। जहाँ राम, सीता, लक्ष्मण, हनुमान, भरत र शत्रुघनका मूर्ति छन्।

पुजारी महिला रहिछन्, लक्ष्मीदेवी नेपाल। धनुषाधाममा खाने/बस्ने होटल नभएकाले पर्यटकलाई मर्का परेको उनले सुनाइन्। जनकपुरमै पनि राम्रा रेस्टुरेन्ट खुल्नुपर्छ। जनकपुरे माछा प्रख्यात छ। 'जनकपुरका माछा काठमाडौंसम्म पुग्छ,' सहकर्मी सुरेश यादव भन्छन्, 'जनकपुरमा भारतबाट पनि माछा आउँछ।'

जनकपुरमा थाई पर्यटक समेत भित्याउन सकिन्छ। थाई नरेश भूमिवल अदुल्यादेजका पूर्वज रामवंशी भएको मानिन्छ। नरेशले 'महाजनकको कथा' चित्र पुस्तक लेखेका छन्। भूमिबलले जनकपुरबाट आँपका बिरुवा मगाएर बगैंचामा रोपेको संस्कृतिविद् रामदयाल राकेशले पत्रिकामा लेखेका थिए। त्यसैले बैंकक, काठमाडौं, लुम्बिनी र जनकपुर जोड्ने पर्यटन प्याकेजको सम्भावना छ।

मिथिला कला अध्ययन गर्न कहिलेकाहीँ गोरा आइपुग्छन्। जनकपुरमा केही पथप्रदर्शक छन्। तिनले घुमाइदिन्छन्। टुरिस्ट गाइड एसोसियन अफ जनकपुर (टुर्गेज) का अध्यक्ष नुतनकुमार झाका अनुसार केही वर्षअघि ३३ जनाले गाइड तालिम लिएकामा ८ जना काम गर्दैछन्। 'नेपाली गाइड खोज्दैनन्,' उनले भने, 'कुनैकुनै इन्डियन ग्रुपमात्र खोज्छन्।'

जनकपुरको इतिहास गौरवपूर्ण छ। मिथिला सभ्यता ज्ञान र विज्ञानले भरिपूर्ण थियो। वैदिक चिन्तक मोदनाथ प्रश्रितका अनुसार त्रेता युगमै मिथिलामा बस्ती बसेको हो। प्राचीन मिथिला गणराज्यको राजधानी थियो जनकपुर।

यज्ञवल्क्यले लेखेको पुस्तक 'शतपथ ब्राह्मण'मा मिथिलाको इतिहास छ। तिनताका दिल्लीभन्दा उताको भूभागलाई ब्रह्मावर्त भनिन्थ्यो। त्यहाँ 'निमि' नाउँका राजाको राज्य थियो। निमिले कुल गुरु वशिष्ठसँग यज्ञ गराउन अनुरोध गरे। वशिष्ठले स्वर्गका राजा इन्द्रको यज्ञ सकेपछि मात्रै गराउँछु भने। र, इन्द्रको राजधानी अमरावती गए।

निमि बूढा भइसकेका थिए। 'जीवन र आयुको के भरोसा छ र' भनेर उनले युवा ऋषि गौतम रहुगणलाई पुरोहित बनाएर यज्ञ गराए। केही समयपछि वशिष्ठ आए। आफ्नो अनुपस्थितिमा यज्ञ भएको थाहा पाएपछि उनले निमिलाई 'विदेह' हुने श्राप दिए। मृत्युदण्ड बराबरको श्राप। गुरु वशिष्ठबाट श्राप पाएपछि युवराज मिथि र गौतम रहुगण सबै चिन्तित बने।

त्यहाँ नबस्ने नयाँ भूभाग खोजेर गणराज्य स्थापना गर्ने टुंगोमा पुगे उनीहरू। उनीहरू आगो बोकेर पूर्वतिर आए। जंगल फाँडेर बस्ती बसाले। मिथि नयाँ गणराज्यका राजा भए। नयाँ गणतन्त्रका संस्थापक अर्थात् पिता भएकाले उनलाई 'जनक' भनियो। मिथिले राज्य बसाएकाले मिथिला भनिएकोे। मिथिला क्षेत्रलाई उनीहरूले आर्यवर्तका रूपमा चिनाए।

मिथि नाउँसँगै जनक लेख्न थालियो। अर्थात् जनकवंश सुरु भयो। मिथिसहित जनक वंशका ५३ राजा भए। कसैकसैले निमिलाई समेत जोडेर ५४ राजा भनेर लेखेका छन्। प्रश्रितका अनुसार निमि मिथिलाका राजा बनेका थिएनन्। जनक वंशका अन्तिम राजा कराल व्यभिचारी निक्ले। जनविद्रोह भयो। बलात्कार आरोपमा उनको हत्या गरियो। जनक वंश सकियो।

हिमालदेखि तराईसम्म फैलिएको थियो मिथिला राज्य। प्रश्रितका अनुसार गणतन्त्र नेपालका राष्ट्रपति रामवरण यादवले जन्मथलो जनकपुरमा मिथिला संग्रहालय बनाउन चासो दिएका थिए। '१४ सन्तको प्रतिमा बनाएर संग्रहालयमा राख्ने सुझाव दिएको थिएँ,' प्रश्रितले भने, 'अढाइ वर्ष भयो प्रतिवेदन बुझाएको।'

कराल जनकभन्दा अघिका राजाहरू धर्मात्मा थिए। उनीहरू धर्मसभा गराउँथे। सीताका धर्मपिता शिरध्वज 'जनक दर्शन'का प्रणेता हुन्। उनी अष्टावक्र सहितका ऋषिबाट दीक्षित भए। खासमा जनक दर्शन जीवनशैली हो। शारीरिक आनन्द क्षणिक हुन्छ। आत्मज्ञानी अन्तरचेतनामा रमाउँछन्। अन्तरमनको यात्रामा सुख मिल्छ।

जनक दर्शनमा स्वामी रामानन्द गिरिले त्रिभुवन विश्वविद्यालयबाट २०३७ सालमा विद्यावारिधि गरेका छन्।

धनुषाधामबाट हेटौंडा फर्कंदा कानमा सीताराम! गुन्जिरहेकै थियो। मनमा जनक दर्शन। साथी नेत्र आचार्य भन्छन्, 'जनक दर्शन सिद्धान्त होइन, जीवन पद्धति हो। सिद्धान्त बौद्धिक प्रयासले बुझिन्छ तर जीवन पद्धति बुझ्न साधना चाहिन्छ।'

चिन्तक प्रश्रितका अनुसार जनक दर्शन शैव दर्शनमा आधारित छ। निष्काम भावले काम गर मृत्युपछि मोक्ष मिल्छ भन्ने सन्देश हो। 'त्यागसहित भोग गर तर कसैको धन सम्पत्तिमा लोभ नगर,' प्रश्रित भन्छन्, 'आत्मा मर्दैन कि त अर्कोमा सर्छ कि त मोक्ष हुन्छ। आत्मज्ञानीले मोक्ष पाउँछन्। बाँकी जन्म–मरणको चक्रमा पर्छन्।'

जनकपुर घुमेपछि लाग्यो, ऋषिमुनिहरूको सहरलाई 'जनक दर्शन' अध्ययन केन्द्रका रूपमा विकास गर्न ढिला भइसक्यो।


प्रकाशित: २९ श्रावण २०७२ २२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App