२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

घट्दै विद्यार्थी

केन्द्रीकृत परीक्षा प्रणालीका कारण त्रिभुवन विश्वविद्यालयले रिजल्ट निकाल्न महिनौं लगाउने गरेको छ। विश्वविद्यालय क्यालेन्डर बनाउँछ, लागू गर्दैन। यहाँको शैक्षिक स्तर दिनदिनै खस्किरहेको गुनासो गर्ने विद्यार्थीको संख्या पनि कम छैन। यत्तिमात्रै होइन कैयौं समस्याका कारण आफूहरूले राम्रोसँग पढ्न नपाएको विद्यार्थी–गुनासो अहिलेको मात्रै होइन।यस्ता तमामा समस्याका बीच सुधारको बाटो खोज्न डिनमार्फत परीक्षा सञ्चालन गर्ने योजना बनाइरहेको बताउँछन्, रजिष्टार चन्द्रमणि पौडेल। परीक्षा प्रणाली विकेन्द्रित गर्ने, डिन कार्यालय र क्याम्पसलाई अधिकार दिएर चुस्त बनाउन लागिपरेको उनी दाबी गर्छन्। भन्छन्, 'क्षेत्रीय स्तरमा समेत अधिकार दिन लागिएको छ, यसबाट केही राम्रा काम हुनेछन्।'

त्रिभुवन विश्वविद्यालय धेरै विद्यार्थी उत्पादन गर्ने शैक्षिक कारखाना हो। नेपालका लागि निकै महŒवपूर्ण विषयहरू पढाइने विश्वविद्यालय अन्तर्गत देशभरका २ सय ४० आंगिक क्याम्पसमा विद्यार्थी अध्ययन गर्छन्। पौडेलले विद्यार्थी आकर्षित गर्न विभिन्न योजना ल्याउने बताइरहे पनि इतिहास, राजनीतिशास्त्र, संस्कृति, नेपाली, जनसंख्याजस्ता विषयमा विद्यार्थी घटेका घट्यै छन्। कतिपय विषयमा त विद्यार्थी र प्राध्यापकको संख्या लगभग बराबरी छ।

इतिहास पढ्ने विद्यार्थी घटे भन्दैमा विश्वविद्यालयले विषय हटाउन मिल्दैन। विद्यार्थीले लिन चाहने सबै विषयको पठनपाठन गर्ने जिम्मा विश्वविद्यालयको हो। एक जना विद्यार्थी भए पनि पढाउनै दायित्व हुन्छ।

इतिहास पढेर काम नपाएका कारण विद्यार्थीहरू प्राविधिक शिक्षातर्फ आकर्षण हुन थालेका छन्। रजिष्टार पौडेल विद्यार्थीले इतिहास, संस्कृतिजस्ता विषय नछान्नुमा देशको अर्थतन्त्रसँग जोडिएको विश्लेषण गर्छन्। 'विश्वविद्यालयले बेरोजगार उत्पादन गरिरहेको छ' भन्ने टिप्पणीमाथि उनी विश्वास गर्दैनन् । 'विश्वविद्यालयले रोजगारी दिने काम होइन। ज्ञानमात्रै दिन्छ,' उनी भन्छन्, 'रोजगारी दिने काम राज्यको हो। कुनै पनि विश्वविद्यालयले बजार निर्माण गदैैन।'

विश्वविद्यालयको अवस्था बिग्रँदै जाँदा यसतर्फको आकर्षण घटेको छ। कुनै समयमा १० हजारसम्म विद्यार्थी रहने गरेको यस विश्वविद्यालयमा अहिले तीन हजार हाराहारीमा विद्यार्थी अध्यनरत छन्। विश्वविद्यालयमा २० प्रतिशत विद्यार्थीले निःशुल्क छात्रवृत्तिमा पढ्न पाउने व्यवस्था छ। विकास बजेट कम हुँदा चाहेजस्तो बनाउन नसकिएको पौडेलले गुनासो गरे।

सुस्त अनुसन्धान केन्द्र

त्रिभुवन विश्वविद्यालयमा चार वटा अनुसन्धान केन्द्र छन्। तर, केन्द्र आफैं थलिएकाले केही काम गर्न सकेका छैनन्। बहुदलीय व्यवस्थापछि अनुसन्धान केन्द्रको काम स्वात्तै घटेको छ। अनुसन्धानको जिम्मेवारी विश्वविद्यालयको हो। दक्ष जनशक्ति, स्रोतसाधन हुँदाहुँदै पनि अनुसन्धानको काम सरकारले नै गैरसरकारी निकायलाई लगाउने गरेकाले विश्वविद्यालयले काम नपाएको कर्मचारी आरोप लगाउँछन्।

२०२६ सालमा स्थापना भएको आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास), २०३४ सालमा स्थापना भएको व्यावहारिक विज्ञान तथा प्राविधिक केन्द्र (रिकास्ट), २०३५ सालमा स्थापना गरिएको शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) का छुट्टाछुट्टै भवन छन्। ती केन्द्रमा पर्याप्त कर्मचारी पनि छन्। तर विश्वविद्यालयले काम दिन नसक्दा उनीहरू बेकम्मा बनेका छन्, केन्द्र सुस्ताएका छन्।

मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञानप्रविधिसँग सम्बन्धित अध्ययन–अनुसन्धानका लागि विभिन्न छुट्टाछुट्टै केन्द्र स्थापना गरिएको थियो। सरकारी कमजोर नीतिकै कारण अहिले केन्द्र सुनसान बन्दै गएको कर्मचारी बताउँछन्। कतिपय सरकारी कर्मचारी नै एनजिओको अनुसन्धानमा आबद्ध भएका छन्। एक कर्मचारीले भने, 'संस्थागत हुन नसकेकै कारण उनीहरूले दोहोरो तलब खाइरहेका छन्, सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ।'

झन्झटिलो काम

हिजोआज विद्यार्थीहरूको पहिलो छनोटको विषय मेडिसिन रहेको छ। त्यसपछि इन्जिनियरिङ, कृषि, वन विज्ञान, व्यवस्थापनमा उनीहरूको आकर्षण बढ्दो छ। शिक्षा संकायमा संख्यात्मक वृद्धि देखिए पनि प्रशासन त्यसलाई 'बाध्यात्मक अवस्था' भएको बताउँछ। अन्य विषयभन्दा शिक्षा संकाय पढेर शिक्षणमा रोजगारी पाइने हुँदा विद्यार्थीको संख्या बढेको हो।

गत वर्ष त्रिभुवन विश्वविद्यालयले ५३ हजार १ सय ७८ विद्यार्थी दीक्षित गरेको थियो। स्नातक, स्नातकोत्तर, पिएचडीसम्मका विद्यार्थी दीक्षान्तमा सहभागी थिए। ५२औं दीक्षान्त समारोहमा सबैभन्दा बढी शिक्षा संकायका मात्रै २० हजारभदा बढी दीक्षित भएका थिए।

यस वर्षको ५३औं दीक्षान्त समारोहमा ६१ हजार ७ सय १६ विद्यार्थी दीक्षित हुँदैछन्। परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक, स्नातकोत्तर र पिएचडीका उत्तीर्ण विद्यार्थी यसमा सहभागी हुन्छन्।

०७० मा २ लाख ८२ हजार १ सय ३० जना स्नातक मानविकी, व्यवस्थापन, शिक्षा संकाय पहिलो वर्षमा परीक्षा फाराम भरेका थिए। त्यसैगरी ०७१ मा स्नातकका लागि परीक्षा फाराम भर्ने विद्यार्थीको संख्या १ लाख ५६ हजार ९ सय ३० थियो। तीमध्ये सबैले पूर्ण परीक्षा लेख्दैनन्। आंशिक परीक्षा दिने भएकाले फाराम भर्नेहरूको अनुपातमा दीक्षित हुनेको संख्या कम हुन्छ।

परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्दा हातहातमा कागज समाएका विद्यार्थी झ्यालझ्याल चहारिरहेका थिए। एकबाट अर्को झ्याल चहार्दा हैरान परेका एक विद्यार्थीले भने, 'ट्रान्सक्रिप्ट निकाल्न आएको साह्रै झन्झट हुँदो रहेछ।'

भित्र ठूलाठूला पोका र ढड्डा पल्टाउँदै कर्मचारी काम गरिरहेका थिए। सञ्चारले फड्को मारिसक्दा अझै पनि पुरानै पद्धतिअनुसार काम हुने गरेको छ।

त्रिविले करिब भिन्नभिन्न संकायका २ हजार ७ सय विषयमा परीक्षा लिने गरेको छ। ५ वटा संस्थान अन्तर्गतका संकाय, ४ वटा संकाय रहेका छन्। ३८ वटा डिपार्टमेन्ट रहेका छन्।

विद्यार्थी भर्ना हुने र छोड्ने क्रम भएकाले एक वर्षमा कति विद्यार्थी उत्तीर्ण हुन्छन् भन्ने एकमुष्ठ तथ्यांक निकाल्न गाह्रो हुने त्रिवि परीक्षा नियन्त्रक केशवराज बास्तोला बताउँछन्। '२०५४ सालको सफ्टवेयरबाटै काम गर्नुपरेको छ,' उनले भने, 'काम गराइको पद्धति पुरानै भएकाले पनि केही समस्याचाहिँ भएकै हो।' नयाँ सफ्टवेयर आए पनि जनशक्तिको कमीले यहाँ समयमै विद्यार्थीले काम सकाउन पाउँदैनन्।

प्रकाशित: २९ श्रावण २०७२ २१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App