२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

थारू समुदायमा साकाहारी अभियान

मजदुरी गएका श्रीमान् बेलुका फर्कंदा सधैं रक्सीले मातेकै हुन्थे। उनले दिनभर कमाएको ज्याला एक रुपैयाँ पनि घर भित्रन पाउँदैनथ्यो। सन्तोली चौधरी श्रीमान्को यो व्यवहारले दिक्क थिइन्। ऐलानी जमिनको बास। श्रीमान्को त्यो हालत।आफू एक्लैको मजदुरीले साँझ–बिहानको छाक जुटाउनै हम्मे पर्ने सन्तोलीको चित्त बुझोस् पनि कसरी? रक्सी नखान आग्रह गर्थिन्, श्रीमान् उल्टै कड्किन्थे। अनि दिनोरात झगडाको झगडा।

'रक्सी नखाऊ भन्दा कुट्लान् झैं गर्ने,' घोराही कपासी बगिया निवासी सन्तोलीले नागरिकसँग भनिन्, 'दिनदिनै झगडा परिरहन्थ्यो।'

समस्या सल्टेन। दिनरात पारिवारिक कचिंगल बढ्दै जान थाल्यो। बढ्दो महँगीले चेपेपछि छाक जुटाउन हम्मे पर्न थाल्यो। सन्तोलीको मनमा एउटा उपाय फुर्योब— साकाहारी बन्ने। सोही सोचअनुरूप उनी 'जय गुरुदेव' अभियानमा सामेल भइन्। १२ वर्षअघिको जयगुरुदेवसँगको सामीप्यताले सन्तोलीको परिवार अहिले शान्त बनेको छ। दिनहुँ कचिंगलमा फस्ने यो परिवारमा अहिले भविष्यका नयाँनयाँ योजना बुनिएका छन्। 'धेरै कमाउने र नम्मरी जमिनमा बसाइँ सर्ने,' सन्तोली भन्छिन्, 'यो सब जय गुरुदेवको कृपाले भएको हो।'

अहिले सन्तोली आफू माछामासु खाँदिनन्, न त श्रीमान् जाँडरक्सी नै सेवन गर्छन्। अहिले घरको झगडा साम्य भइसकेको छ। सन्तोली खुसी छिन्, 'माछामासु, जाँडरक्सी खानु त परै जाओस्, घरभित्र छिराउँदा पनि छिरान्नम्।'

झगडा सन्तोली परिवारमा मात्रै सीमित थिएन। यो बस्तीभरि दिनहुँ कचिंगल भइरहन्थ्यो। कारण उही थियो- मदिरा।

यही बस्तीका गणेश चौधरी पनि गाउँ फेरिएकोमा खुसी देखिन्छन्। थारू समुदायमात्रै रहेको यो बस्तीका हरेक नागरिक मदिरा सेवन गर्थे। मदिरा सेवनकै कारण बस्तीभित्र छिमेकी–छिमेकीबीच पनि झगडा हुन्थ्यो। बिस्तारै साकाहारी अभियान बस्तीभर। स्थानीयले मदिरा त्याग्दै गए, जसका कारण दिनहुँ झगडा भइरहने यो बस्ती अहिले शान्त छ। स्थानीयबीचमा एकता कायम छ।

'पहिले–पहिले त सबैजसोले रक्सी खाएपछि दिनदिनै झगडा भइरहन्थ्यो,' गणेशले सम्भि्कए, 'अहिले सबै मिलेर बस्छन्, झगडा परेकै सुनिन्न।' गणेश तीन वर्षदेखि साकाहारी बनेका हुन्। उनी पनि मदिरा पिउँथे। काठको मिस्त्री काम गर्ने उनको पनि आधा कमाइ जाँडरक्सीमै सिद्धिन्थ्यो। मदिराले खर्च बढ्दै गएपछि उनले पनि हार माने। अन्ततः उनि पनि साकाहारीकै बाटोमा आए। भन्छन्, 'कमाएको जति रक्सीमै सिद्धिन थाल्यो। घरव्यवहार चलाउन खर्च नपुग्ने भएपछि साकाहारी बनेको हुँ।'

थारू समुदायमा जाँडरक्सी, माछामासुले ठूलो महत्व राख्छ। कुनै पूजा होओस् वा ठूलो पर्व, यी चिज अनिवार्य मानिन्छन्। तर, पछिल्लो समय भने थारू समुदायमा मांसाहारी जीवनका बेफाइदा खोज्न थालिएको छ भने साकाहारी जीवनका फाइदाबारे प्रचारप्रसार। केही वर्षयता चाडपर्वको खुसीयालीका नाममा गरिने अनावश्यक विलासितादेखि थारू समुदाय सचेत बन्दै गएको देखिन्छ। मदिरा पिउनुलाई धार्मिक महत्व र पुर्खाले चलाएको 'रीत' ठान्ने यो समुदायका बूढापाका पनि अहिले खर्चालु रीतलाई नाजायज मान्न थालेका छन्। 'जीव प्राणीको हत्या गर्ने, रक्सी खाएर झगडा गर्ने राम्रो कुरा हैन,' कपासीकै ६० वर्षीया खिरटिया चौधरीले भनिन्, 'धर्म गर्ने भनेर पाप गर्नु पनि राम्रो होला त?' उनी आफंै मदिराकी भोगी हुन्। माछामासुको उत्तिकै सौखिन उत्तिकै। माघी पर्व आयो भने मदिरा सेवन गरेर गाउँ हिँड्ने महिला समूहकी नाइके नै हुन्थिन्, उनी। 'माघीमा त मैलेजति जाँड कसले खाँदो हो?' साकाहारी बनिसकेकी उनले भनिन्, 'त्यस्तरी खानु राम्रो हैन रहेछ भनेर पछिमात्रै थाहा भयो।' मदिरा सेवन उनलाई नराम्रो त्यति बेला लाग्या,े जति बेला उनको पेट नराम्ररी दुख्न थाल्यो। रक्सीकै कारण यस्तो भएको बुझेपछि उनी साकाहारी अभियानमा मिसिइन्। बस्तीमा गुरुदेव अभियान फैलँदै थियो।

कपासी गाउँमात्रै होइन, अहिले जिल्लाका अधिक थारू बस्तीमा साकाहारी बन्नेहरूको संख्या बढ्न थालेको छ। मुख्यतः देउखुरीका थारू बस्तीहरूमा 'जय गुरुदेव'को मन्त्र व्यापक घन्किन थालेको छ।

अभियानको जन्म

'जातैले दिएको' भन्दै मदिरा र मासुमा दत्तचित्त रहने थारू समुदायमा साकाहारी बन्ने क्रम सुरु भएको इतिहास त्यति लामो छैन। जिल्लामा २०५१ देखि थारू बस्तीबाट मदिरा र मासु त्याग्न थालिएको साकाहारी अभियानमा लागेका अगुवाहरू बताउँछन्।

दाङमा कसरी प्रवेश भयो त, साकाहारी अभियान 'जय गुरुदेव'?

एक अगुवा भन्छन्, 'यसको कारण थारू समुदायका एक जना बिमार हुनु हो।'

२०५१ सालअघिको कुरा। देउखुरी गढवाका मानबहादुर चौधरी बिमारले थलिए। भारतको तुलसीपुर पुगेर डा. मौर्यबाट उपचार लिए। उपचारसँगै ती डाक्टरले भनेछन्, 'तपार्इंलाई छनक्कै रोग निको पार्ने अर्का गुरु हुनुहुन्छ, उहाँसँग भेट्ने?' मानबहादुर आफ्नो रोगको निदान चाहन्थे। डाक्टरकै सल्लाहअनुसार उनी भारतको मध्य प्रदेशस्थित उज्जयन भन्ने स्थानमा पुगे। त्यहाँ उनको जय गुरुदेवका अभियन्ता तुलसीदाससँग भेट भयो। दास साकाहारी अभियानलाई राष्ट्रव्यापी पार्न चाहन्थे। मानबहादुरको रोगलाई उनले 'पापकर्म'को फल भनी टिप्पणी गरे। माछामासुका लागि पशुको हत्या गर्नु र जाँडरक्सी खानुलाई महापाप भनि व्याख्या पनि गरिदिए, उनले। आफूले गरेको 'महापाप'बाट मुक्ति चाहन्थे उनी। त्यसैले घर फर्किएर आफ्नै व्यवहारमा मात्र लागू गरेनन्, जय गुरुदेवको प्रचारप्रसारमै खटिए। जिल्लाका थारू समुदायमा उनले 'साकाहारी माहोल' बनाउँदै गए।

तिनै भारतीय गुरु तुलसीदास २०५१ मा दाङको देउखुरी आए। उनको प्रशिक्षणले धेरै थारू समुदायको मांसाहारी मन साकाहारीमा परिणत भयो। 'गुरुदेव दाङमा आएपछि एकाएक साकाहारी अभियान फैलियो,' अभियानका अगुवामध्येका एक रामबहादुर चौधरी भन्छन्, 'अहिले थारू समुदायमा साकाहारी बन्ने भावना असाध्यै बढ्दै गइरहेको छ।' मानबहादुर चौधरीले २०५१ सम्म एक्लै चलाएको यो अभियानबाट अहिलेसम्म दाङका झन्डै २० हजार थारू साकाहारी बनिसकेका छन्। जय धर्म गुरुदेव विकास संस्था दाङका अध्यक्षसमेत रहेका रामबहादुरले भने 'अहिले पनि बढ्ने क्रम उत्तिकै छ।' मासिक रूपमा यो अभियानअन्तर्गत विभिन्न प्रशिक्षणमूलक कार्यक्रम भइरहन्छन्। यस्ता कार्यक्रममा आउनेहरू धेरैजसा साकाहारी बन्ने सोच बनाएर फर्किन्छन्।

जयगुरुदेव शुद्ध साकाहारी अभियान हो। यो कुनै फरक धर्म भने हैन। सबै धर्मलाई उत्तिकै सम्मान गर्ने यो अभियानले सबैभन्दा ठूलो धर्म 'मानव धर्म'लाई मानेको छ। यसको भाषाअनुसार मानव धर्म भनेको पापबाट मुक्त हुनु हो। 'हामी यो वा त्यो धर्मलाई सही–गलत मान्दैनौं,' अध्यक्ष रामबहादुर भन्छन्, 'सबैभन्दा ठूलो धर्म भनेकै मानव धर्म हो।'

साकाहारी बनेका थारू समुदायका नागरिकहरुले पनि आफ्ना चाडपर्व उसैगरी मनाउँछन्। तर, देउतालाई मदिरा चढाउँदैनन्, न त बलि चढाएर हर्ष मनाउँछन्। देउताको पूजामा मात्रै सीमित उनीहरूले पूजा वा जतिसुकै ठूलो पर्वमा पनि साकाहारी परिकारले मुख मिठ्याउँछन्।

हरेक दुःख–बिमारलाई पापकर्मकै फलका रूपमा उल्लेख गर्ने यो अभियानले पशुबलि र जाँडरक्सी सेवनलाई मुख्य पापका रूपमा चिनाउँछ। यही मन्त्रले प्रभावित थारू समुदायले साकाहारी अभियान अँगालेको अभियन्ताहरू गर्वसाथ बताउँदै आएका छन्।

अभियानको धार्मिक महत्व एकातिर होला तर अभियानकै रूपमा यसरी सफल बन्दै जानुलाई समाज परिवर्तनको हिस्सा मान्नेहरू धेरै छन्।

घोराहीका रेबबहादुर चौधरी पेसाले कानुन व्यवसायी हुन्। दिनभर कामको व्यस्तताको थकान उनी रक्सीमासुकै सेवनबाट मेट्थे। चाडपर्वका बेला त उनी पिएकै चार सय रुपैयाँभन्दा बढी बील तिर्थे। १७ वर्षदेखि साकाहारी अभियान थालेयता उनको देनिकी फेरियो। दिनहुँ रक्सीमा हुने खर्च बचत गरिरहेका छन्, उनी। उनको स्वास्थ्य पनि तन्दुरुस्त बन्दै गएको छ। 'मदिरा पिउँदा शरीरका अंगको दुखाइ निकै कम भएझैं लाग्थ्यो,' उनी भन्छन्, 'अहिले अपिए पनि दुखाइ कतै छैन। मान्छे बूढो भए पनि झन् तन्नेरी बन्दै गा'छस् भनेर साथीहरू जिस्काउन थालेका छन्।'

रेबबहादुरको परिवार माछामासु र मदिरालाई छोइछिटोकै रूपमा लिन्छ। पाँचमध्ये चार सदस्य साकाहारी छन्। बुहारीमात्रै साकाहारी छैनन्। तर घरभित्र मासु भिœयाउन बन्देज गरिदिएका छन्, रेबबहादुरले। 'बुहारी साकाहारी बनेकी छैनन्,' उनले भने 'तर मेरो घरमा मासु पकाएर खान दिएको छैन। माइतीमा गएको बेला खान्छिन् भने अर्कै कुरा हो।'

घोराही कपासीकी खिरिटिया चौधरी आफू साकाहारी छिन्, तर छोरा मांसाहारी। मांसाहारी छोराले आफूखुसी घरमा मासु पकाएर खान पाउँदैनन्। 'मलाई छोइन्छ, यहाँ नपका भनेर पकाउन दिन्नँ,' उनी भन्छिन्, 'खान मन लाग्यो भनेर बाहिरै खाएर आउँछ।'

थारू समुदायमा अधिकांश निम्न र केही मध्यम वर्गका छन्। साहुको खेतीकिसानी गरेर वा मजदुरी गरेर जीवन निर्वाह गरेका अधिकांश थारूहरूलाई चाडपर्वको आयभार धेरै थोपरिन्थ्यो। धेरैजसो ऋण काढेरै चाडपर्व मनाउन बाध्य हुन्थे। मासु–मदिरा छोडेपछि निम्न आय भएकाहरूको आर्थिक भार धेरै कम भएको जानकारहरू बताउँछन्। 'चाडपर्वमा मासु किन्नकै लागि ऋण काढ्नुपर्थ्यो,' घोराही कपासी बगियाका अर्का सुकुम्बासी शिवप्रसाद चौधरीले भने, 'अहिले मासु खान छोडेपछि त्यो ऋण घटेको छ।' यो अभियानले आफ्नो परिवारमा खुसी छाएको महसुस गरेका छन्, उनले। 'केही दुःख पर्दा जय गुरुदेवको नाम लिन्छु,' उनले भने, 'उति बेलै आनन्दको महसुस हुन्छ।'

साकाहारी थारू समुदायका बस्तीमा कसैले पशुपंक्षीको हत्या गर्न खोज्यो भने 'हत्या महापाप' भनी सम्झाउँछम्। 'हाम्रो बस्तीमा गुलेलीले चरा मार्न आउनेहरुलाई हत्या नगरिदिनुस् भनेर फर्काउँछौं,'कपासी गाउँकी सन्तोलीले भनिन्, 'बस्तीका सबै बसेर पनि चराचुरुंगी नमार्ने र मार्न नदिने भनेर छलफल गर्ने गरेका छम्।'

साकाहारी अभियान 'जय गुरुदेव' कुनै एकै जात विशेषका लागिमात्रै नभई हरेक जातजातिका नागरिक सामेल गराउने लक्ष्य हो। तर, यहाँ यो अभियानमा थारूहरूकै बाहुल्य छ। दाङसहित बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, पर्सा, बारा, सर्लाही लगायतका दर्जन बढी जिल्लामा अभियानले गति लिइरहेको रामबहादुर चौधरी बताउँछन्। तराई क्षेत्रमा गति लिइरहेको दाबी गरिएको अभियानलाई पहाडी जिल्लामा सञ्चालन गर्ने योजना छ। केही दिनअघि मात्रै जय गुरुदेवका मुख्य अभियन्ताले भारतमा गरेको प्रशिक्षण कार्यक्रममा अभियानलाई पहाडी जिल्लामा समेत विस्तार गर्न निर्देशन दिएको रामबहादुर सुनाउँछन्।


प्रकाशित: २२ श्रावण २०७२ २१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App