१८ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

मकवानपुर गढीमा एक बिहान

चारैतिर नजर घुमाउँदा हरियोपरियो मात्रै देखिन्छ, साउनमा। मकवानपुर गढीबाट त झन् हरिया पहाडको महाभारत शृंखला पनि देखिँदो रहेछ। हेटौंडालाई पहरा दिइरहेका चुरे पहाड र बस्ती पनि देखिन्छन्। डाँडाको थाप्लोमा दरबार र गढीका भग्नावशेष छन्।त्यही भग्नावशेष हेर्न २०७२ साउन ११ को बिहानी हामी त्यहाँ पुग्यौं। देवेन्द्र बस्न्यात दाइले हुइँक्याएको जीपमा रञ्जन राजभण्डारी, सुदीप पौडेल, पवन शाक्य र म। हेटौंडाबाट १७ किमि पूर्वमा ठिंग उभिएको गढीको फेदीसम्मै सडक छ। कच्ची बाटोमा जीप, बस र मोटरबाइक कुद्न सक्छन्। बसबाट ओर्लेर १० मिनेट हिँडे थाप्लैमा पुगिन्छ।

निलो आकाशमुनिको थुम्को मोहक देखियो। गाडीबाट ओर्लेर उकालियौं हामी। सिँढी सकिनेबित्तिकै देवेन्द्र दाइले भीर देखाए। 'गंगाजमुना भीर यही हो,' उनले भने 'कुनै सेन वंशी राजाका गंगा र जमुना नाउँका छोरी यहीँबाट फाल हानेका थिए रे!'

त्यहाँबाट अघि बढ्यौं। गढीको पर्खाल देखियो, हरियो घाँसले छपक्कै ढाकिएको अवस्थामा। चारैतिर अग्लो पर्खाल बनाइएको। बीचमा दरबार। पर्खाल ठाउँ–ठाउँमा भत्केको। दरबार भग्नावशेषमा सीमित। गढी प्रवेशद्वारबाट पस्नेबित्तिकै देब्रेपट्टि वंश गोपाल मन्दिर। मन्दिर भित्र मूर्ति ।

हेटौंडाभन्दा शीतल गढी। हिँडेर जाँदा ४ घन्टा लाग्छ। मन्दिर हातामा भेटिए पाल्तेन लो। विसं २०६३ देखि गढी रेखदेख गर्दै आएका उनी। 'भक्तजनले मन्दिरमा चढाएको भेटीमात्रै हो आम्दानी,' उनले माग गरे, 'सरकारले तलब व्यवस्था गर्नुपर्छ।'

वरपर तामाङ र मगर बस्ती छन्। गढीबाट देखिने हरियालीले आँखा शीतल बन्छन्। तर, दरबारको बिजोग देख्दा मन रुन्छ। खण्डहर बनिसक्यो दरबार। जसको इतिहास लामो छ। एक समय मकवानपुर स्वतन्त्र राज्य थियो। त्यसको राजधानी मकवानपुर गढी। त्यहाँ इसं १२५८ तिरै मुकुन्द सेनले गढी बनाउन लगाएका थिए। पछि मुकुन्द सेन द्वितीयका छोरा लोहाङ सेन मकवानपुरका राजा भए।

गढीलाई राजधानी बनाएर सेन वंशका सात पुस्ताले शासन गरेको इतिहास छ। अन्तिम राजा दिग्बन्धन सेन हुन्। उनलाई नेपाल एकीकरण नायक पृथ्वीनारायण शाहले पराजित गरेका थिए। 'मकवानपुर परिचय' पुस्तकका लेखक केदारप्रसाद न्यौपानेका अनुसार राजा हेमकर्ण सेनले छोरी इन्द्रकुमारीलाई गोर्खाका पृथ्वीनारायण शाहसँग विवाह गराइदिएका थिए। विवाहमा दाइजोस्वरूप एकदन्ते हात्ती, नौलखा हार, मणि–माणिक्य, जवारत, सुनचाँदी आदि दिएका थिए।

ज्वाइँ (पृथ्वीनारायण) लाई दाइजो दिएर पठाउन लाग्दा हेमकर्णका छोरा दिग्बन्धनले विरोध जनाए। दाइजो नपाएपछि पृथ्वीनारायण दुलही नलिई फर्के। चिन्तामा डुबेका हेमकर्णले देहत्याग गरेपछि संवत् १८१६ मा दिग्बन्धन मकवानपुरका राजा भए। अनि बहिनी इन्द्रकुमारीलाई सताए। इन्द्रकुमारीले पति पृथ्वीनारायणलाई दुखेसो पोखेर पत्र लेखिन्। पृथ्वीनारायणले इन्द्रकुमारीलाई लिन कान्छो भाइ पठाए। उनी आइन्।

पृथ्वीनारायणको फौजले २१ अगस्ट १७६२ मा गढीमा आक्रमण गर्योन। धमाधम सेना मारिन थालेपछि राजा दिग्बन्धन आत्तिए। भागेर हरिहरपुर गढीतर्फ गए। गोर्खाली फौजले अक्टुबर ४ का दिन हरिहरपुर गढी आक्रमण गरी जित्यो।

'मकवानपुर गढी उत्खनन् गर्नु जरुरी छ,' अध्येता न्यौपाने भन्छन्, 'गढी विकासका लागि पर्यटकीय गुरुयोजना बन्नुपर्छ।'

सरकार संरक्षण गर्न सक्दैन भने निजी क्षेत्रलाई भाडामा दिए हुन्छ। संरक्षण सँगै होटल/रिसोर्ट खोलेर आम्दानी गर्न। 'पुरातत्व विभागले वर्षको ५–१० लाख खर्च गर्छ। जिविसले पनि सकेको गर्दै आएको छ,' जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापा भन्छन्, 'गढीमा पुरातत्व विभाग र पर्यटन मन्त्रालयले ठूलो लगानी गर्नुपर्छ।

गढी क्षेत्रमा सामान्य जानकारीसहितको सूचना बोर्ड राख्न जिविस मकवानपुरले किन सोचेको छैन? पुराताटत्विक महत्वको सम्पदा संरक्षणको दायित्व सरकारको हो। सरकार किन यसमा चुकेको छ?

गढी मुन्तिर सडक छेउमा सामान्य पसल छन्। अर्डर गरे तिनले ढिँडो, भात र लोकल कुखुरा पकाइदिन्छन्। गाउँमा सुरु भएको होमस्टेले गति लिन सकेको छैन। त्यसलाई पुनर्ताजगी गराउन अबेला भइसक्यो।

दुःखको कुरा गढीको इतिहास झल्काउने त्यहाँ कुनै लिखित सूचना छैन। पाल्तेनका अनुसार पिकनिकको मौसममा धेरै नेपाली गढीमा आइपुग्छन्। उनीहरू नाचगान गर्छन्। खाना खान्छन्, फर्कन्छन्। अरू बेला आइपुग्नेहरू एकै छिन घुमेर फर्कन्छन्।

'गढीको इतिहास बताउने मान्छेसमेत छैन त्यहाँ,' मकवानपुर होटल एसोसिएसनका कोषाध्यक्ष शंकरलाल श्रेष्ठले योजना सुनाए, 'त्यसैले गढीलगायत सेरोफेरोका पर्यटकीय गन्तव्य समेटेर गाइड बुक प्रकाशन गर्ने प्रयासमा छु।' श्रेष्ठले त्यति गरे भने धन्यवाद पाउनेछन्।

वंश गोपाल मन्दिरका भगवान्लाई फलामे साङ्लोले बाँधेर राखिएको छ। त्यसबारे रोचक किंवदन्ती छ। भएछ के भने भक्तजनले एक बिहान भगवान्को पाउभरि तोरीका फूल टाँसिएको देखे। पुजारी सशंकित भए। उनले चियोचर्चो गरे। भगवान् कृष्ण त्यहाँबाट राति बाहिर जाने र बिहानमात्रै फर्कने गर्दा रहेछन्। भगवान् मन्दिर छाडेर जाँदा अनिष्ट आइपर्ला भनेर उनलाई बाँधेर राखिएछ। मन्दिर मुन्तिर गुफा छन्। त्यही गुफाबाट वंश गोपाल जान्थे। तिनताका चितवनमा तोरी खेती हुन्थ्यो। उनी त्यहाँसम्म पुग्थे रे।

गढी घुम्ने नेपाली नै हुन्। हेटौंडा क्षेत्रका त्यही दिन आ–आफ्नै घरमा फर्कन्छन्। बाहिरबाट जानेहरू हेटौंडाका होटलमा बास बस्छन्। हेटौंडा बजारमा सय हाराहारीमा होटल तथा लज छन्। पर्यटकीय सुविधाका राम्रा होटल पनि छन्।

माल पाएर पनि चाल पाएका छैनांै हामीले। भएका सम्पदाबाट फाइदा उठाउन सकेका छैनौं। गढीसम्मै सडक पिच भइदियोस्। डाँडामै तातो/चिसो खाने चमेनागृह हुन्। दरबार पुरानै स्वरूपमा निर्माण गरियोस्। त्यहाँ अध्ययन केन्द्र होस्। अनि पो घन्टांै बिताउन सकिन्छ।

बुद्धचोकबाट १७ किमि दुरीमा अवस्थित गुम्बा डाँडामा ढुंगैढुंगाको मूर्ति बगैंचा हेर्नलायक छ। त्यहाँ नेपाली र विदेशीले बनाएका किसिम किसिमका मूर्ति छन्। मकवानपुर गढीको योजना बनाउँदा हेटौंडा बजारमा रहेका सहिद स्मारक, कुस्माण्ड सरोवर, हर्नामाडीको मूर्तिकला बगैंचा छुटाउनु हुँदैन। हेटौंडालाई केन्द्रमा राखेर सबैतिर घुम्न दुई दिन छुट्याउनुपर्छ।

कसरी पुग्ने : काठमाडौंको बल्खुबाट कुलेखानी हुँदै हेटौंडासम्म ८० किमि। बल्खुमा जीप पाइन्छ। जीपमा ४ घन्टा। हेटौंडाबाट १७ किमिमा गढी। हिँडेर जाँदा ४ घन्टा। बसमा ४५ मिनेट।

खाना फाले जरिवाना

खाना फाल्ने कतिपयको बानी हुन्छ। रेस्टुरेन्ट गयो, दालभात थप्यो। तर, प्लेट तथा कचौरामा त्यत्तिकै छाडिदियो। खाना फाल्नु अपराधै हो। हेटौंडामा एउटा होटलले खाना फाल्नेलाई जरिवाना तिराउँछ। नगरपालिका रोडको शान्ति टोलमा रहेको 'ओशिन रेस्ट हाउस'को डाइनिङबाहिर जरिवानाको सूचना टाँगिएको छ।

त्यहाँ सादा खानाको १३० रुपैयाँ तिर्नुपर्छ। ग्राहकले खाना फयाँके ६५ रुपैयाँ जरिवाना लाग्छ। यस्तो नियमले ठूलै काम गरेको छ। होटल सञ्चालक दीपा श्रेष्ठका अनुसार अचेल ग्राहक सचेत छन्। उनीहरू खाना फाल्दैनन्। 'वर्ष दिनयता जरिवाना तिराउनुपर्ने अवस्था छैन,' श्रेष्ठले भनिन्, 'हामी सबैले खानाको महŒव बु‰नुपर्छ। एक सिता भात पनि खेर फाल्नु हुँदैन।'

दीपा र शरदकृष्णको जोडीले ८ वर्ष भयो होटल चलाएको। त्यही बेलादेखि जरिवानाको नियम राखिएको। उनीहरूको होटल सेलिब्रिटीहरूको रोजाइमा परेको छ। कवि, कलाकार, नेता, उद्योगपति तथा खेलाडीले हात चाटीचाटी त्यहाँ खाना खाइसकेका छन्। तिनका तस्बिर होटलको पुरानो भवनमा टाँगिएका छन्।

खाना पकाउन दीपा आफैं कस्सिन्छिन्। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म र साँझ ७ देखि साढे ९ बजेसम्म खाना पाइन्छ। ग्राहकहरू दोहोरिएर आउँछन्।

ओशिनमा सादा खानादेखि माछा, खसी र कुखुराको मासुका परिकार पाक्छ। दीपा दम्पत्तीबाहेक ५ जनाले रोजगार पाएका छन्। त्यहाँ पाहुनालाई बास बस्न १५ वटा कोठा पनि छन्।

खुवा मिठो चुच्चेखोलाको

मकवानपुर गढी जाने बाटोमै छ, चुच्चेखोला। हेटौंडाको बुद्धचोकबाट साढे ७ किमि दुरीमा त्यहाँ मध्याह्नसम्म ज्यादै मिठो दृश्य देखिन्छ। मगमग बास्न आउँछ। सडक दायाँबायाँ पसलमा खुवा घोटिरहेको देखिन्छ। चुलोमा दाउरा बालेर कराइमा दुध घोट्दा उड्ने बाफ गज्जब हुन्छ।

स्वादिलो खुवाका लागि प्रख्यात भइसक्यो चुच्चेखोला। त्यहाँ दर्जन खुवा पसल छन्। 'लक्ष्मीनारायण खुवा बिक्री केन्द्र'मा भेटिन्छन्, सोमनाथ तिमल्सिना। उनले चुच्चेखोलामा खुवा बेच्न थालेको वर्षौं भइसक्यो। एक किलो खुवाको मूल्य ४ सय रुपैयाँ, गुँदपाकको ४५० रुपैयाँ।

सिजन (भदौ–कात्तिक) मा दैनिक ५० केजी खुवा बेच्छन्, उनी। अफ सिजनमा दैनिक २० किलो। सिजनमा पेडा र लालमोहन पनि बनाउँछन्। घुम्न आउनेहरू, घर फर्कने कर्मचारी र हेंटौंडा बजारमा बस्नेहरू आफन्तीलाई खुवा कोसेली लैजान्छन्। वीरगन्ज, नारायणगढ र जनकपुरसम्मका मिठाइ पसलले उनकोमा खुवा अर्डर गर्दा रहेछन्।

कमाइबाट सन्तुष्ट छन्, तिमल्सिना। उनको परिवार यसमै व्यस्त छ। भैंसीको दूधबाट खुवा बनाइन्छ। 'युवाजति विदेश गए। बुढापाका दूध खान गाई पाल्छन्,' उनले गुनासो पोखे, 'भैंसी पाल्ने कम हुँदै जाँदा दूधको समस्या पर्दै छ।'

चुच्चेखोलामा खुवा बेच्ने आफू पहिलो व्यापारी भएको उनले गर्वसाथ सुनाए। त्यसअघि उनी चिया र पाउरोटी बेच्थे। जन्मथलो ढुंखर्क (काभ्रेपलाञ्चोक जिल्ला) मा घाँस दाउरा गर्नाका दुःखले उनी हेटौंडा हानिएका रहेछन्। 'गाउँ छोड्दा १८ वर्षको थिएँ,' उनले सुनाए, 'यता आइयो, यतै रमाइयो।'

प्रकाशित: १५ श्रावण २०७२ २२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App