२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

मोटरसाइकलबाटै सिक्री लुट्ने पक्राउ

धरान–बीपी प्रतिष्ठानमा स्वास्थ्य जाँच गराएर गएको मंगलबार सविना राई घर फर्कदै थिइन् । धरान ११ स्थित सिंहदेवी रोडमा पुगेपछि उनको आँखा रोकिराखेको एक मोटरसाइकलमा पर्यो । सडक किनारमा रोकिएको मोटरसाइकलमा चालक पनि थिए,तर उनलाई वास्तै भएन।

जब उनी मोटरसाइकल चालकबीच आमनेसामने हुदै 'क्रस' भइन्, तब उनको घाटीको सुनको सिक्री तानियो । हत्तपत्त ती युवाले मोटरसाइकल कल्याण चोक हुदै मंगलबारेतिर हुइकाए । साथमा रहेकी दिदीसँग चोर चोर भन्दै दुवै दौडिए, तर भेटिएन । उनको डेढ तोलाको सुनको सिक्री लुटियो । तत्काल उनले इलाका प्रहरी कार्यालय धरानमा गएर उजुरी गरे । मोटरसाइकल चालकबाट लुटिने क्रम यतिमै रोकिएन । लगातार एक पछि अर्को पीडित महिला लुटिएको भन्दै प्रहरीमा पुगे । सविनापछि सैनिक भवनलाइन र मुनामदन पथबाट पनि दृष्टि लिम्बू र रोजिना लिम्बू त्यसै गरि लुटिइन् । दुई दिनमा तीन जना महिलाको सिक्री लुटिएको घटनाले प्रहरी गम्भीर भयो र खोजतलासमा लाग्यो ।
lutera

पक्राउ परेका सिक्री लुटेरा, कट्टी आतंक मच्चाउने र लागुऔषध कारोबारीलाई सार्वजनिक गर्दै प्रहरी ।


तीन वटै घटनाको प्रकृत्ति एकै किसिमको थियो । अन्ततः अनुसन्धानमा जुटेको प्रहरीले एउटा यस्तो 'क्लु' फेला पार्यो, जसले लुटेरालाई प्रहरी हिरासतमा पुर्यायो । डिएसपी सुदमकुमार सिजापतिका अनुसार फेसबुकमा राख्नको लागि मोवाइलबाट कसैले तस्बिर लिएको रहेछ, ती व्यक्ति तिनै लुटेरा थिए । लुटपाटमा प्रयोग हुने मोटरसाइकल र कपडा हुबहु मिलेपछि प्रहरीले शुक्रबार धरान १७ स्थित रेटिङ्गबाट पक्राउ गर्न सफल भयो । श्रृर्खलावद्ध लुटपाट गर्ने धरान १७ का २५ बर्षीय योगेन वर्देवा थिए । प्रहरीले उनका शरीर तलासी गर्दा लुटेर लगेको ३ थान सुनको सिक्री पनि प्रहरीले बरामद गर्यो । उनको को १२ प ५५५७ नम्बरको मोटरसाइकल पनि प्रहरीले पक्राउ गरेको छ ।

'मोटरसाइकलबाट श्रृंखलावद्ध चोरी भएको रिपोर्ट आएपछि हामी गम्भीर भएर खोजतलासमा लाग्यौं, त्यसैक्रममा एक जनाले फोटो खिचेका रहेछ, त्यो पत्ता लगायौं र पक्राउ गर्न पनि सफल भयांै,' डिएसपी सिजापतिले भने, 'यसको अरु सहयोगी पनि हुनसक्छ, त्यसबारेमा थप अनुसन्धान गरिरहेका छौं ।' यसअघि पनि धरानमा मोटरसाइकलबाटै सिक्री लुटेर फरार हुने गरेको घटनाहरु भएको थियो । तर, घटनामा संलग्न पक्राउ परेको थिएन । मौका हेरेर गुडिरहेको मोटरसाइकलबाट सिक्री थुतेर भाग्ने गरेका थिए । पक्राउ परेका वर्देवालाई जर्बजस्ती चोरीमा मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी सिजापतिले बताए ।

प्रकाशित: २७ असार २०७२ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App