३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

हँसाउँदै नचाउँदै कलाकार

गोरखा- 'भूकम्पले घर भत्कियो, चर्पी पनि भत्कियो, 'माग्नेबूढा'ले जस्तै तपाईंहरु खुल्ला ठाउँमा दिसापिसाब गर्नुहुन्छ होला,' अस्थायी भए पनि चर्पी बनाएर दिसापिसाब गर्नुपर्छ,' कलाकार जितु नेपाल 'मुन्द्रे'ले भने। अर्का कलाकार केदार घिमिरे (माग्नेबूढा)लाई व्यङ्ग्य गरेझैँ गरी उनले थपे, 'खाना खानु अघि र चर्पी गएर फर्केपछि साबुनपानीले हात धनुस् है।'गोरखाका विभिन्न ठाउँमा राष्ट्रियस्तरका कलाकारहरु भूकम्पपछि आउनसक्ने खतराबारे जनचेतना जगाउन आइपुगेका छन्। हाँस्य कलाकारदेखि गायका गायिक सम्मले गोरखाका विद्यार्थीलाई हँसाउनुका साथै नचाउनसमेत भ्याए। पहिलो दिन सिम्जुङको बालुवामा कार्यक्रम गरेका कालाकारले बुधबार गोरखा सदरमुकामको मोर्डन इङलिस बोर्डिङ स्कुलमा कार्यक्रम गरेका हुन्।

गायिका आनीछोइङ डोल्माले 'फूलको आँखामा फूलै संसार' भन्ने गीत गाउँदा कार्यक्रम हेर्न भेला भएका विद्यार्थी र अविभावकले पनि सँगै गाए। 'हाँसको चल्ला' लगायतका गीत उनले आफूसँगै साना–साना स्कुले विद्यार्थीलाई पनि सँगै गाउन सिकाइन्।

करिब चार घन्टा चलेको कार्यक्रममा कलाकार 'माग्नेबूढा'ले सुत्केरी आमाले अहिलेको भूकम्पपछि विपतमा हेरचाह गर्नुपर्ने तरिकादेखि सुरक्षित कसरी हुने, भूकम्पको धक्काले कमजोर बनेको मनलाई कसरी बलियो बनाउने भन्ने सन्देश हँसाउँदै दिन भ्याए।

गायिका कोमल वलीले भूकम्पबाट नआत्तिन अनुरोध गरिन्। १५ सयभन्दा बढी विद्यार्थी र अभिभावक कार्यक्रममा सहभागी थिए। प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले समेत कोमलसँग कुम जोडेर नाच्न भ्याए। स्थानीय विकास अधिकारीदेखि अन्य थुप्रैले कलाकारसँग रमाएर भूकम्पको पीडा केहीबेर भुल्ने कोसिस गरे। जादुगर शेरबहादुर गुरुङको जादू हेरेर दर्शक आधा घन्टा चकित परे। कलाकार निरज नेपालको 'कमेडी डान्स'ले छुट्टै चर्चा पायो। गायिका सीमा संग्रौलाले आधुनिक गीतमै दर्शकलाई नचाइन्।

यु्निसेफको सहयोगमा कलाकारको टिम विभिन्न भूकम्प प्रभावित जिल्लामा हँसाउने, नचाउने कार्यक्रम गर्दै हिँडेका हुन्। सहभागी कलाकार जितु नेपालले भने, 'भूकम्पपछिको त्रास कम गराउन गाउँगाउँ र विद्यालयहरुमा यो अभियान लिएर हिँडेका हौँ।' बालबालिकादेखि वृद्धवृद्धासम्म जम्मा हुने कार्यक्रममा यस्ता प्रस्तुति प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए।

प्रकाशित: २३ असार २०७२ २१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App