७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

यौन सम्पर्क गर्न नदिँदा ६५ वर्षमा सम्बन्ध विच्छेद

चितवन— एउटी महिलाले विवाह गरेपछि श्रीमान्‌सँग सामाजिक सुरक्षासँगै अगाध मायाको आशा गर्छिन्। सात फेरा लिएर गरिने हिन्दू धार्मिक विवाहले त श्रीमानसँग सात जुनीको सम्बन्ध जोडिदिएका हुन्छ। विवाहपछि यौनसम्बन्ध राख्नु, छोराछोरी जन्माएर गृहस्थ सुखको भोग गर्नु सामान्य कुरा हुन्। त्यो बाहेक दुखबिमार र अप्ठेरो पर्दा एकअर्काको साहरा बनेर आत्मिय सम्बन्धलाई मृत्युसम्म पुर्‍याएका धेरै उदाहरण छन्।

 

६५ वर्षे जानकी पौडेलको जीवनमा त्यस्ता दिनहरुको अनुभव थोरै रह्यो। २०२४ सालमा हरिप्रसाद घिमिरेसँग मागी विवाह भएपछि उनलाई विवाहको रमझम जत्तिकै सुन्दर जीवन हुन्छ भन्ने लागेको थियो। चार छोराछोरी जन्मुन्जेलसम्म श्रीमान्‌को बानी सम्झेर उनले दिएका यौन हिंसा झेल्दै आइन्। प्रहरी सेवा अन्तर्गत ललितपुरको साँगा स्थित दिपेन्द्र प्रहरी स्कुलमा पढाउने श्रीमान्मा भने त्यही जागिरको दम्भ भरिदै गयो। अहिले उनी रिटायर प्रहरी हुन्। आफूलाई निकै इज्जतदार भएको ठान्ने उनले घरकी श्रीमतीलाई यौन खेलौनामात्र सम्झे।


हुर्किदै गरेका छोराछोरीको माया र आफन्तको लोकलाजले श्रीमान्ले दिएको पीडा सहेपनि जब क्यान्सरले पौडेललाई छोयो तब दोहोरो पीडा उनले खेपिन्। श्रीमानको माया र साहरा पाउनुपर्ने बेला उनले पाउन सकिनन्। बिरामी स्याहानुपर्ने बेला पनि उनका श्रीमानले जबरजस्ती यौनसम्पर्क गर्ने लान्छना र प्रताडना दिन थालेपछि दाम्पत्य सम्बन्धबाट उनको मन मर्दै गयो।

मलाई छातीको क्यान्सर भएको छ उनले भनिन् क्यान्सर र अरु रोगको दिनकै नौथरी औषधी खान्छु ।' थाईराईड ,मुटुको रोग लगायत विभिन्न रोगले उनलाई च्याप्दै लगेको छ । माइती र आफन्तको सहयोगले उनी उपचार गराउदै छिन् ।

श्रीमान्को हिंसाले त्यसै थिलथिलो भएकी उनी २०६९ सालमा क्यान्सरको चपेटामा परिन्। २०६९ साल चैतमा छातीको क्यान्सरको अप्रेसन गरि दाया छाती काटिएपछि उनी पीडाले विच्छिप्त थिइन्। जीवन मृत्युको दोसाँधमा रहेकी उनलाई श्रीमान्को यौनसम्पर्कको मागले अझ पीडित बनाउँथ्यो। 'म बिरामी छु सकेको बेला त सेवा गरिहाले अहिले सक्दिनँ भन्दा पनि सुख पाइनँ', भरतपुरमा राष्ट्रिय महिला आयोगको सार्वजनिक सुनुवाइमा रुँदै भनिन्, 'पल्लो कोठामा चुकुल लाएर सुत्दा पनि सुख पाइनँ।'

माईती पक्षले थाहा पाएपछि मिलाउने प्रयास पनि भयो। हुर्केर राम्र्रै कमाई र घरजम गरिसकेका दुईछोरा दुईछोरीकी आमा उनले बुढेसकालमा श्रीमान्सँग छुट्टिने निर्णय गरिन्। 'कि त एउटै खाट एउटै ओच्छ्यान कि त डिभोर्स', श्रीमानको सर्त सुनाउँदै उनले थपिन, 'म बिमार मान्छेले कसरी दिनु त्यस्तो सेवा।'

आमा बिरामी छिन अहिले त्यस्ता नगर्नुस बरु श्रीमती चाहिए अर्को बिहे गर्नु भनेर आफन्त, कान्छा छोरा दिनेश, बुहारी र सपना र दुर्गा छोरीहरुले खुबै सम्झाए बाबुलाई । जेठो छोरा भने आमाले अंश लिएको भन्दै उनीसँग चिढिएका छन्। श्रीमान्ले अर्कोसँग लागेको भनेर नानाथरी गाली बेईज्जती गरेपछि पौडेल सम्बन्ध विच्छेदको लागि राजी भइन्।

त्यस अघि नै अंशबण्डामा पाएको र माईतीको सहयोगले भरतपुरको रमाईलोचोकमा चारतल्ले घर बनाएर भाडामा लगाएकी थिइन्। 'श्रीमानको किचलोले गएको चैतमा डिभोर्स नै भयो पौडेलकी भाउजु रमा पौडेलले नागरिकन्युजसँग भनिन्, 'बिरामीले थलिएको र बुढेसकाल लागेको श्रीमतीलाई माया दिनुकोसाटो यौन हिंसाको चोट दिएपछि के गर्नु त ?'श्रीमानको भने गंगानगरमा पुख्र्यौली सगोलको अर्को घर पनि छ।

सम्बन्ध विच्छेद र अंशबण्डा भएपनि उनै श्रीमानको ताडनाले घरमा बस्न नसकी अहिले पौडेल डेरामा बस्छिन्। आफन्तले दिए खान्छिन् नत्र भोकै सुत्छिन्।

उनको मुद्धा लडेकी अधिवक्ता फूलमाया रानाभाट पनि यौन सम्पर्क गर्न नदिएकै कारण घिमिरेले पौडेललाई प्रताडित गरेको बताउँछिन्। श्रीमान र श्रीमतीबिच हुने जबरजस्ती यौनसम्पर्कलार्ई कानुनले बलात्कार मानेको छ। पौडेलको दाबीको बिरोध गर्दै चितवन अदालतमा पौडेलका श्रीमानले आफु कमजोर भएकाले त्यस्ता नगरेको भन्दै बचाउ गरे। तर पौडेलकै हितमा सम्बन्ध बिच्छेदको फैसला अदालतले गरेको छ।

अदालतको फैसला बमोजिम अंश भोगचलनको पत्र पाउनासाथै पौडेलको घर कब्जा गरेर बसेका श्रीमानलाई निकालेर खाली गराईने चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले आश्वासन दिए। पौडेलका श्रीमानले भने आफ्नो पनि घरमा पैसा परेको दाबी गर्दै फेरि अर्को मुद्धा हालेका छन् ।

पम्फाको पनि उस्तै कथा

पौडेलको भन्दा केही फरक भरतपुरमा बस्दै आईरहेकी पम्फा परियारको व्यथा छ । पाँचवर्ष अघि प्रेम बिबाह गरेका उनका श्रीमान राम सिवा परियार तेह्र दिनअघि अर्को श्रीमती लिएर फरार छन्। सवारी चालक सिवाको पम्फा अघिकी जेठी श्रीमतीबाट नौ वर्षको एक छोरा र पम्फाको दुर्ईवर्षको काखे बालक छ । अभावमा दुई लालाबाला सम्हालेर बस्न उनलाई निकै कठिन भएको छ । छोरा पेटमा भएदेखि नै श्रीमान नवलपरासीकी परस्त्रीसँग लागेको उनले बताईन । गर्भवती भएका बेला मैले उनलाई सन्तुष्टी दिन सकिन होला त्यसैले अर्की खोजे परियार भन्छिन् । श्रीमानको अर्को सम्बन्धपछि उनी अहिले बिचल्लीमा छिन् । महिनाको तीनहजार भाडा छ । तीन महिना भो भाडा नतिरेको । जेठो छोरा स्कुल पठाउन र खुवाउन मुस्किल छ । म कहाँ जाउँ के गरु भैसके मोरंगको घरमा पनि जायजेथा केही छैन उनले दुखेसो पोखिन यस्तो दुख दिनुथियो त किन बिहे गरे ।

प्रहरी प्रमुखले छिटोभन्दा छिटो उनको श्रीमान खोजिदिने भनेपनि उनले अझै केही खबर नपाएको गुनासो गरिन ।

राष्ट्रिय महिला आयोगकी सदस्य भगवती घिमीरेले पौडेल र परियार जस्ता महिलालाई हिंसाबाट मुक्ति दिलाउन अभियानमुलक कार्यक्रम संचालन गरिरहेको उल्लेख गरिन । आयोग संवैधानिक आयोग बन्ने प्रकृयामा छ । संवैधानिक आयोगको रुपमा मान्यतता पाएपछि महिलाका मुद्धा अघि बढाउन अझ सहज हुने दाबी उनले गरिन । हिंसा विरुद्ध महिला सशक्तिकरण बढेकाले त्यस्ता हिंसा खुलेर समाजका आउन थालेको भन्दै महिला हिंसाका दुईबढी उजुरी आयोगमा परेको जानकारी उनले दिईन।


प्रकाशित: २३ असार २०७२ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App