मन्दिर क्षेत्रमा पुरुषोत्तममास मेला लागेको छ। सामान्यतया दुई वर्ष आठ महिना १६ दिन चार घडीको अन्तरालमा एकपटक पुरुषोत्तममास पर्छ। यसलाई सर्वसाधारण मलमास भन्छन्। मेला असार ३१ गतेसम्म चल्नेछ।
मच्छेगाउँमा बिहान तीन बजेदेखि साँझ सात बजेसम्मै चहलपहल हुन्छ। मन्दिरमा भक्तजन स्नान, पूजापाठ, कथा तथा पुराण श्रवण, रातभर जाग्राम बसी बत्ती बाल्ने गर्छन्। उनीहरू काँसको थालमा ब्राह्मणलाई ३३ वटा मालपुवा दान गर्छन्।
'मलमासमा मत्स्यनारायण दर्शन गरेमा अश्वमेघ यज्ञ गरेबराबर फल प्राप्त हुन्छ,' मत्स्यनारायण क्षेत्र विकास कोषका अध्यक्ष सुरेन्द्र केसी भन्छन्, 'त्यही विश्वासले दिनमै हजारौं तीर्थालु आइरहेका छन्।'
तलाउबीचमा घन्ट आकारको शिखर शैलीमा बनेको मन्दिर। भित्र मत्स्यनारायण। वरपर महादेव, पार्वती, गणेश, सरस्वतीलगायत। मन्दिर परिसरमा गरुड, ढुंगे धारा र देवदेवीका मूर्ति।
मन्दिर कहिले र कसले निर्माण गरेका हुन् भन्ने प्रामाणिक तथ्य छैन। तर, त्यहाँ लिच्छिविकालीन प्रस्तर मूर्ति छन्। कोषका सचिव देवकुमार देसारका अनुसार मन्दिर परिसरको बौद्ध चैत्यमा नेपाल सम्वत् ४६६ लेखिएको शिलापत्र छ। तुल्सी मोठको मूर्तिपछाडि नेपाल सम्वत् ८५७ र नेपाल सम्वत् ७९४ मा पोखरी तथा ढुंगेधारा जीर्णोद्धार गरिएका शिलापत्र छन्। यसबाट मन्दिर प्राचीन भएको बुझिन्छ।
मेला अवधिभर मान्छेको भिडले खुट्टा टेक्ने ठाउँ हुँदैन। टीका लाउन बसेका बाहुन। फूल–अक्षता बेच्ने पसले। खुवा, टिम्बुर र चिनियाँ सामानका पसल। मालपुवा र सेलको हरर्र बास्ना। चोखोनितो खोज्नेहरू घरबाटै बनाएर ल्याउँछन्।
मत्स्यनारायण मन्दिर नजिकै वैष्णोदेवी मन्दिर छ। प्यागोडा शैलीको तीनतले। माथिल्लो तल्लामा विष्णुदेवी, महेश्वर, कालिका, भैरव, गणेश र आकाश भैरवका मूर्ति छन्। ती मूर्ति मसिर शुक्ल सप्तमीदेखि दशमीसम्म रथमा राखी जात्रा गरिन्छ।
वैशाख १२ को भुइँचालोले वैष्णोदेवी मन्दिरको छाना भत्किएको छ। अरू मन्दिर सुरक्षित छन्। मत्स्यनारायण ०६७ मा जीर्णोद्धार गरिएको थियो। यीबाहेक गाउँमा सत्यनारायण, चुनदेवी, शान्ति वन लगायतका सम्पदा छन्। सूचना अभावमा मेला भर्न जानेहरू सबैतिर पुग्दैनन्।
गाउँको बीचमा निर्वाण बुद्ध बिहार छ। जहाँ छ फिट लम्बाइको सयन अवस्थाको बुद्ध मूर्ति। भित्तामा शाक्यमुनि बुद्धको अर्को मूर्ति छ। बाहिर शाक्यमुनि बुद्ध, चैत्य, मच्छेन्द्रनाथ, मन्जुश्री, गणेश र सरस्वतीका मूर्ति छन्।
त्यहाँ ०२२ सालदेखि बिहार भएको बिहारका अध्यक्ष लक्ष्मीनारायण मानन्धरले बताए। बिहान ज्ञानमाला भजन गरिन्छ। मत्यस्नारायण मन्दिरको सत्तलमा भने दिनभर भजन सुन्न पाइन्छ।
हिन्दु र बौद्धमार्गीको साझा तीर्थका रूपमा मच्छेगाउँको विकास गर्न सकिन्छ। मन्दिर क्षेत्रबाट चन्द्रागिरी हाइकिङ गरिन्छ। गाउँबाट दुई घन्टामा डाँडाको थाप्लोमा पुगिन्छ। त्यहाँबाट कचौरा आकारको काठमाडौं देखिन्छ।
मन्दिर क्षेत्रमा खाना र खाजा बेच्ने रेस्टुरेन्ट छन्। त्यहाँ विशेषतः नेवार परिकार पाक्छ। नेपालका विभिन्न कुना र भारतदेखिका तीर्थालु मेला भरिरहेका छन्। बाहिरबाट आउनेहरू रिर्जभ्ड गाडीमा आउँछन्।
मत्स्यनारायण मन्दिर क्षेत्र संरक्षण, सांस्कृतिक तथा पुराताŒिवक अभिलेखको खोजी र धार्मिक पर्यटन विकास गर्न स्थानीयले मत्स्यनारायण क्षेत्र विकास कोष गठन गरेका छन्। कोषले चन्द्रागिरी उक्लने ठाउँमा सिँढी निर्माण गरेको छ। उसले मच्छेगाउँलाई धार्मिक पर्यटन गन्तव्य बनाउने योजना बनाएको छ।
तीर्थ यात्रा जहिले गर्दा पनि हुन्छ, यसपालि मलमास परेकाले यही मौका सदुपयोग गर्ने कि!
कसरी पुग्ने : काठमाडौंको पुरानो बसपार्कबाट १० किमि दुरीमा मच्छेगाउँ। बसपार्कबाट दुइटा रुट बल्खु, कीर्तिपुर हुँदै र कलंकी–सतुंगलबाट मच्छेगाउँसम्म सार्वजनिक बस चल्छन्। बसबाट ओर्लेर पाँच मिनेट हिँडे मन्दिर।
मनमा शान्ति
सुरेन्द्र केसी
अध्यक्ष, मत्स्यनारायण क्षेत्र विकास कोष
भगवान् विष्णुको दर्शनले मनमा शान्ति मिल्छ। मलमासमा मत्स्यनारायण दर्शन गरेमा अश्वमेघ गरेसरह फल प्राप्त हुन्छ भनेर शास्त्रमा लेखिएको छ। महिना दिनसम्म नित्य पूजा गरेमा सन्तान प्राप्ति हुन्छ। पापबाट मुक्ति मिल्छ।
समस्यै समस्या
रिना देसार
सञ्चालक, ज्वज्वलपा रेस्टुरेन्ट
हाम्रो गाउँमा समस्यै समस्या छ। खानेपानीको समस्या छ। मन्दिर क्षेत्रमा सार्वजनिक चर्पी छैन। फोहोर उठाउन नगरपालिका आउँदैन। भक्तजनलाई बस्न व्यवस्थित शौचालय जरुरी छ। बाटो व्यवस्थित हुनुपर्छ।
अतिक्रमणको चपेटामा
देवकुमार देसार
सचिव, मत्स्यनारायण क्षेत्र विकास कोष
मत्स्यनारायण मन्दिर चारैतिरबाट अतिक्रमणमा परेको छ। अतिक्रमण रोकी मन्दिर क्षेत्र विस्तार गर्न नगरपालिकाले पहल गर्नुपर्छ। सरकारले विश्व सम्पदा सूचिमा परेका मठमन्दिरलाई झैं यसलाई प्राथमिकतामा राख्नुपर्छ।
प्रकाशित: १८ असार २०७२ २१:०५ शुक्रबार





