पहलाद रैदासले आफ्ना तीन छोरीलाई स्कुल पठाएनन्, १०/१२ वर्षमै विवाह गरिदिए। अहिले ती छोरीबाट जन्मिएका नातिनातिना हुर्किरहेका छन्। उनलाई नातिको कुनै पीर छैन। महिनावारी हुनुअघि नै नातिनीहरूलाई कन्यादान गरेर जल खाने धोको भने छँदै छ। त्यही धोको पूरा गर्न १२ वर्षकी नातिनीको तिलक गरिसके। १० वर्षीया नातिनीको बिहेको चिन्ताले छोप्दै छ।
यो रैदासको मात्र समस्या होइन। होलिया गाविस– ९ को दलितबस्तीका आम बाबुआमाको चिन्ता हो। उनीहरू छोरीलाई सानैमा विवाह गरिदिन पाए आनन्दको सास फेर्न सक्छन्। महिनावारी नहुँदै कन्यादान दिन पाए ‘स्वर्ग जान पाइने' विश्वास छ, उनीहरूमा। छोराहरूको खुट्टा लागेपछि कमाउन थाल्छन् भनेर ढुक्क हुने यी बाबुआमा बालखा छोरीलाई विवाहका लागि एकपटक पनि सोध्ने कष्ट गर्दैनन्।
नजिकैको स्कुल पठाउनु त टाढाको कुरा, बरु टाढाको पराईघरमा सुम्पनै हतारिन्छन्, उनीहरू।
शारदा चमारले १२ वर्षे छोरीको बिहेकै लागि नेपालगन्जको एक सहकारीबाट ६० हजार कर्जा लिइन्। ‘छोरी पढाएर के काम? पढे पनि घरकै काम गर्ने हो,' उनी समस्या दर्शाउँछिन्, ‘छोरीको विवाह गर्न जति ढिलो गर्योर, केटापक्षले उति नै बढी दाइजो माग्ने चलन छ।' छोरीलाई पढाएर खर्च गर्नुभन्दा चाँडै बिहे गरिदिए उनीहरूको भविष्य सुरक्षित हुन्छ भन्ने सोचाइ शारदाजस्ता धेरै आमाहरूको छ। उनलाई सानैमा छोरीलाई पराईघर पठाउने रहर थिएन। तर, गाउँ–समाजले उठाउने प्रश्नको सामना गर्नुअघि नै उनी ढुक्क हुन चाहन्छिन्। ‘कुनै पनि छोरीको १६ वर्षभित्रै बिहे भएन भने,' उनले सुनाइन्, ‘फलानाकी छोरीको त अझै विवाह भएन, कतै केही खोट त छैन भनेर कुरा काट्न थाल्छन्।'
सुरसता रैदासले छोरा नजन्मिउन्जेल छोरी जन्माइरहिन्। छोरा नभए मृत्युसंस्कारमा जलाउने कोही हुन्न भन्ने धारणा चमार बस्तीमा व्याप्त छ। ‘छोरीहरू पराईघर गइहाल्छन्,' तीन छोरीकी आमा उनी प्रश्न गर्छिन्, ‘तुमार कोई नही' भन्छन्। छोरा नजन्माए मरेपछि जलाउने कसले?'
कधैयापुरकी लीलावती खटिकले आठ महिनाअघि १३ वर्षीया छोरीको विवाह गरिदिइन्। छोरीलाई सानै उमेरमा विवाह गरिदिने मन थिएन, उनको। तर, बर्सेनि बाढीले बगाउने, छाप्रो भत्कने असुरक्षित घरमा हुर्केकी छोरीलाई राखिरहन सकिनन्। छोरीको सुरक्षा र आफ्नो जिम्मेवारी पूरा गर्न २० वर्षे भारतीय ज्वाइँलाई कन्यादान गरिदिइन्। ‘यहाँ भइन्जेल के खुवाउने, बसरी जोगाउने चिन्ता हुन्थ्यो। अहिले ढुक्क छ,' उनी भन्छिन्। गतिलो घरबासको ठेगान नहुँदा होलिया ५, ८ र ९ नम्बर वडाका अभिभावकहरूले सानै उमेरमा छोरीहरूको विवाह गरिदिएका छन्। चमार बस्तीमा छोरीको परिवारले केटा खोज्नुपर्ने चलन छ।
बाँकेमा बालविवाह विरूद्ध आवाज उठाउँदै आएका संघसंस्थाको संख्या एक दर्जनजति छ। जिल्ला प्रहरी कार्यालयमा रहेको महिला सेल, महिला तथा बालबालिका परिवार, जिल्ला बाल कल्याण समिति, बाल अधिकार सञ्जाल, किशोरी सञ्जाल लगायतका सरकारी तथा गैरसरकारी संघसंस्था भएकै ठाउँमा बालविवाह भइरहेका छन्। उजुरी आएमात्रै बालविवाह घटनामाथि कारबाही हुने ती संस्था बताउँछन्, तर परिवारले आफ्नो संस्कार, परम्पराअनुसार सुटुक्क गरिदिने विवाहबारे उनीहरू सुइँको नै पाउँदैनन्।
बालविवाहलाई कानुनले बन्देज गरेको छ। यसका लागि थुप्रै जनचेतनाका कार्यक्रम नभएका होइनन्। तर पनि दलित, मधेसी र मुस्लिम बस्तीमा छोरीहरूको सानै उमेरमा विवाह गर्ने चलन रोकिएको छैन।

चमारबस्तीकी भवगती चमार १३ वर्षीया छोरी केरिनाको कन्यादान गर्ने तरखरमा छिन्। ‘हुर्केकी छोरी घरमा राखिरहनु हुन्न,' उनले योजना बुनिसकेकी रहिछन्, ‘छोरीको विवाहका ऋण खोजिसकेँ।'
छोरीका लागि १०–१२ वर्षमै तिलक छिनिन्छ। छोरी जन्मेदेखि तिलक नदिँदासम्म चिन्तामै रहन्छन्, बाबुआमाहरू। सानै उमेरदेखि विवाहको सोच बनाउने उनीहरू छोरीलाई स्कुल पठाउने विषयमा त सोच्नसम्म भ्याउँदैनन्।
होलिया, गंगापुर, फत्तेपुर, मटैहियाका अधिकांश बस्तीमा छोरीहरूको बालविवाह हुने गरेको छ। सानैमा तिलकपछि कन्यादान गर्ने, दुईदेखि पाँच वर्षसम्म गौना ठेउना (केटी पक्का गर्ने) को चलन छ। केहीले कन्यादानको पाँच वर्षपछि छोरीलाई केटाको घरमा पठाउँछन्। केहीले कन्यादानलगत्तै केटाको घरमा पठाउने चलन पनि छ।
लीलावती खटिकले भनेझैं धेरैले छोरीलाई ‘अर्काको नासो'कै रूपमा लिने गरेका छन्। त्यहाँका महिला साक्षर छैनन्। ‘अर्काको घर जानेलाई किन पढाउने झन्झट व्यहोर्नु!' साक्षर हुन नसकेका आमाहरूको जवाफ यही हुन्छ। ‘छोरा हो भने ज्यामी, ज्यालादारी गरेरै पनि कमाउन हिँडिहाल्छ,' लीलावती भन्छिन्, ‘छोरीलाई बाहिर पठायो भने बिग्रिन्छन्, बरु सानैमा बिहे गर्योी भने घर सम्हालेर खान्छन्।'
टायल र परालले छाएका दलित बस्तीका १ सय १० घर शौचालयविहीन छन्। साक्षरहरूको संख्या लगभग शून्य छ। दलितका लागि काम गर्ने संघसंस्थाको आँखा अहिलेसम्म त्यहाँ पर्न सकेको छैन।
मुलुकी ऐन २०२० को बिहेवारी महलले १८ वर्षमुनिको बालविवाहलाई दण्डनीय मानेको छ। तर, बाढी प्रभावित तराईका बस्तीमा यो बालविवाहको क्रम रोकिएको छैन। ‘घरमा गतिलो चर्पी हुँदैन, गाँसबास र कपासकै समस्या छ,' रामसागर धोबी भन्छन्, ‘यही समस्याले १४ वर्षभित्रै छोरीहरूको बिहे गरेर पठाउन यहाँका अभिभावक बाध्य छन्।'
ऐनले १० वर्षमुनिका बालिकाको विवाह गर्ने/गराउनेलाई छ महिनादेखि तीन वर्षसम्म कैद र एक हजारदेखि १० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ। यस्तै १० देखि १४ वर्षको उमेरका बालिकाको विवाह गर्ने/गराउनेलाई तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। १८ वर्षमुनिका बालिकाको विवाह गर्ने/गराउनेलाई छ महिना कैद र १० हजार जरिवाना दुवै सजायको व्यवस्था छ।
प्रकाशित: ११ असार २०७२ २२:४७ शुक्रबार





