२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

न्यायाधीश बम हत्या प्रकरणः चौथो राउन्ड फायर गर्दा बाबुले जीप रोक्यो

दाङ–शनिबार बेलुका बाबु थापा पक्राउ परेको समाचार सुनेपछि राप्ती अञ्चल प्रहरी कार्यालयका डिएसपी कृष्णप्रसाद शर्मालाई ठूलो विजय प्राप्त गरेको अनुभूति भयो। यतिसम्मकी थापा पक्राउ परेको खुसियालीमा दीपावली गर्नेसम्मको सोच उनीमा पलायो। तर आकाशे झरीले दीपावली गर्ने सोच पूरा भएन। 'साह्रै खुसी लाग्यो,' उनले नागरिकन्युजसँग भने, 'यो घटनालाई मैले आफ्नो विजय ठानेको छु।'

बाबु थापा पक्राउ पर्नुलाई डिएसपी शर्माले किन आफ्नो विजय ठाने त ? यसको कारण हो, डिएसपी शर्मा बाबुलाई २०६६ मै हदैसम्मको सजाय दिलाउन खोजेका प्रहरी अधिकृत हुन्। तर राजनीतिक दबाबले उनी सफल भएका थिएनन्। 'राजनीतिक आवरणले मलाई अप्ठेरो पारेको थियो,' उनले भने, 'पक्राउ गरेर खोरमा हाल्दा समेत ऊ (बाबु) राजनीतिक दबाबका कारण सजिलै उम्कन्थ्यो।'
खोटाङको ऐंसेलुखर्कबाट सरुवा भएर २०६६ फागुन ४ मा शर्मा सर्लाहीको हरिवनस्थित ईलाका प्रहरी कार्यालयमा कार्यालय प्रमुखको रुपमा हाजिर भए। तत्कालीन प्रहरी निरीक्षक शर्माले हाजिरी भएलगत्तै फाइल हेरे, अनि सर्वसाधारणहरुसँग अन्तर्क्रिया गरे। दुवै स्रोतबाट उनी निष्कर्षमा पुगे– बाबु इज डन। बाबु नामले चिनिएका उनको बास्तविक नाम मेघबहादुर थापा हो।
चन्दाआतंक, लागूऔषध ओसारपसार, हप्ता असुलीलगायत थुप्रै मुद्दामा बाबु सम्मिलित भएको उनले पाए। बाबुबारे उनले अप्रेसन थाले। कार्यालयमा हाजिर भएको झन्डै ४८ घन्टा नबित्दै (फागुन ६ गते) साँझ गोली चल्यो। प्रहरी टोली लिएर शर्मा आफैँ घटनास्थल पुगे। चुरेभावर एकता पार्टीका अध्यक्ष केशव मैनालीका छोरा समिरमाथि गोली हानिएको रहेछ। (पेटमा एउटा र कुममा तीन वटा गोली लागेका समिर झन्डै ६ महिनापछि निको भएका थिए।)
समिरमाथि गोली चलाउने तिनै व्यक्ति थिए, जुन व्यक्तिबारे शर्माले अप्रेशन थालेका थिए। तत्काल उनको खोजतलास सुरु भयो। शर्मा नेतृत्वको प्रहरी टोलीले गोली चलाएर जीपमा भागेको बाबुसहितको सात जनाको समूहको पिछा छोडेन। गोली चलाउने गिरोह अघिअघि प्रहरी पछिपछि। झन्डै सात किलोमिटर यो क्रम चलिरह्यो ।
सात किलोमिटरको दुरीमा पर्ने फूलजोर जंगलमा पुगेपछि उक्त फरार समूहलाई लक्षित गरेर प्रहरी निरीक्षक शर्मा आफैँले गोली प्रहार गरे। तेस्रो राउन्ड गोली प्रहार गर्दासम्म बाबुको टोली रोकिएन। चौथो राउन्ड पछि जीप रोकियो। प्रहरीले बाबुसहित जीपमा रहेका सातजना (रोहन थापा, बमबहादुर लामिछाने, सोमबहादुर भण्डारी, सोम लामा, दिव्यमान लोप्चन र ढकबहादुर थापा)लाई खुँडा, तरबारसहित नियन्त्रणमा लियो। प्रहरीले उनीहरुमाथि ४ वटा मुद्दा दर्ता गर्‍यो- १– ज्यान मार्ने उद्योग, २– हातहतियार खरखजाना,¬ ३–फिरौती चन्दा आतंक र ४– जबर्जस्ती करणी।
मुद्दा नम्बर ४ प्रहरीले यसकारण दर्ता गर्‍यो कि बाबुको गाडीमा महिलाले पहिरिने चुरा फुटेका टुक्रा अत्यधिक भेटिएका थिए। प्रहरीले उक्त चुराका टुक्रालाई जबर्जस्ती करणीका क्रममा फुटेको हुनसक्ने भन्दै यो मुद्दा पनि दर्ता गरायो। त्यसो त जबर्जस्ती करणीको आरोप पनि उनीमाथि पहिलेदेखि नै थियो। यी ४ मुद्दासहित उनीहरु अदालतमा पेश भए। अदालतले पुर्पक्षका लागि थुनामा पठायो। उनीहरुले कानुन अनुसार यी सबै मुद्दाको सजाय भुक्तान गर्न १५-२० बर्ष जेल बस्नु पर्थ्यो। शर्मा अफसोच मान्दै भन्छन् 'नेपालको राजनीतिको परिणाम उनीहरु ११ महिनामै छुटे।'
शर्माका अनुसार चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्ष केशव मैनालीका छोरा समिरमाथि गोली चलाएका बाबुले छोराको हत्या गरेर केशव मैनालीमाथिको रिस पोख्न चाहन्थे। चुरे भावर पार्टीका अध्यक्ष मैनाली र तत्कालीन उपाध्यक्ष बाबुबीच पार्टी आधिकारिकताको विषयमा लडाई थियो। बाबु आफू नेतृत्वको चुरेभावर पार्टीलाई आधिकारिक बनाउन चाहन्थे। यसै बिषयमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले केशव मैनालीकै पक्षमा फैसला गरिदिएपछि बाबु झनै आक्रोशित बने। अदालतको त्यही फैसलाकै कारण सर्वोच्च अदालतका न्यायाधीश रणवहादुर बममाथि गोली चलाएको अभियोगमा बाबु समातिएका छन् ।
२०६६ मा रंगेहात पक्राउ परेका बाबु छाटो समयमै छुटे। ‘बाबु जे बोल्थे सर्लाहीमा त्यही हुन्थ्यो,’ शर्मा भन्छन्, 'उनको विरोधमा जानु भनेको मृत्युको मुखमा जानु हो भन्ने डरले स्थानीयले बाबुको जवाफ फर्काउन सक्दैनथे।' विभिन्न अपराधमा संलग्न बाबु पक्राउ परेपछि गाउँलेहरुले उनको कारबाहीको माग गर्दै सडक बन्द गरेको शर्मा अहिले पनि सम्झन्छन् । 'पक्राउ गरेपछि कडा कारबाही गरियोस् भन्दै सारा जनता सडकमा ओर्लिए, तीन घन्टासम्म सडक जाम नै भएको थियो,' शर्माले सम्झिए, 'कडा कारबाही गर्छु भनेर सम्झाएको थिएँ।'
किन सर्वसाधारणले उनको कारबाहीको लागि सडकै बन्द गरे त ? शर्माले थपे 'बाबुदेखि पुरै सर्लाही त्रसित थियो।' बाबुलाई प्रहरी प्रशासनको एकरती डर थिएन। उनी प्रशासनकै संरक्षणमा एकछत्र राज गरेका डन थिए। बाबुबाट सताइएका सर्वसाधारणहरुका लागि उनी पक्राउ पर्नु ठूलो न्याय थियो । पुर्पपक्षका लागि बाबु जेल चलान भएपछि उनलाई कडा कारबाही हुने र उनको त्रासबाट जोगिने आशा सर्वसाधारणको थियो। तर उनलाई सजाय दिनुपर्ने राज्यकै अधिकारीले उनलाई संरक्षण गरेर ११ महिनामै जेलबाट छुटाए । बाबुलाई त्यो बेला संरक्षण थियो- तत्कालीन गृह राज्यमन्त्री रिजवान अन्सारीको। डिएसपी शर्मा भन्छन्- मन्त्रीकै संरक्षणमा आपराधिक धन्दामा संलग्न भएका उनी त्यही संरक्षणमा ११ महिनामै छुटेका हुन्। उनीसहित पक्राउ परेका सात महिनामै छुटेका थिए तर उनको गिरोहसँग संलग्न रहेका थप ४ जनामध्येका बद्री न्यौपाने झनै उक्त घटनापछि महिला तथा बालबालिका मन्त्री भएका थिए। न्यौपाने मन्त्री हुनेबेला उनी प्रहरीको मोष्टवान्टेड सूचीमा थिए। शर्माले भने- मैले खोजी गरिरहेका बद्री एकाएक तत्कालीन एनेकपा माओवादी नेतृत्वको सरकारको मन्त्री बनेको खबरले म चकित परेको थिएँ।

प्रकाशित: २० पुस २०७१ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App