वीरगन्ज-पराललाई मधेसमा ‘पुअरा' भनिन्छ। जाडोयाममा कठ्यांग्रिदो रात काट्न यसलाई सिरकको रुपमा ओढ्ने गरिन्छ। पुअराबाट बुनिएको ‘चटाइ' लाई त्यतिबेला ‘धनरजाइ' भनिन्छ। हरेक वर्ष झन्झन् ‘निर्दयी' बन्दै गएको शीतलहरलाई ग्रामीण भेगका विपन्न र दलित यही ‘धनरजाइ' को सहारामा थेग्छन्।
पर्सा रामगढवा–४ का जोधा हाजरा ६३ वर्ष पुगे। शीलतहर सुरु हुन थालेपछि उनी अहिले परिवारको साझा चिन्ताको विषय बनेका छन्। ‘शीतलहरी बुढे–तुढ के नु खोज के लेजाला,' उनले भोजपुरीमा भने। उनको भनाइको अर्थ ‘शीतलहरले बूढापाकालाई खोजेर लैजान्छ रे' भन्ने हो। त्यसैले शीतलहरको सामना गर्न बेलैमा ‘पोखत इन्तजाम' गरिएको छ। ‘ओछ्याइएको पराल मोटो छ, चटाइ ओढेपछि श्रीमतीले माथिबाट पराल थपिदिन्छिन्,' जाडोका लागि गरिएको भरपर्दो बन्दोबस्तबारे उनले सुनाए, ‘चारजना बच्चाबच्ची, श्रीमती र दुई बहिनी सबैले चटाइ नै ओढ्छन्, घाम झुल्किनासाथ चटाइ सुकाइहालिन्छ।'बाल्यकालदेखि नै उनको हरेक वर्षको जाडो परालले छेक्दै आएको छ। ‘जाडोमा गाई–बाख्रालाई जोगाउन पनि आपत, मेरो मुनुवालाई हेर्नुस्, जाडोमा कति सुस्त भएको छ,' सात हात लामो र छ हात चौडा फुसको घरबाट कठ्यांग्रिँदै उभिएको खसी देखाउँदै उनले भने, ‘कि पराल, कि आगोको सहारा छ।' शीतलहरमा खसीबाख्रा र गाईवस्तुजस्ता ‘अनबोलता धन' लाई ‘ओढनी' लगाइदिने चलन छ। घरअगाडि ‘घुर' वरपर तीनजना केटाकेटी थिए।
शीतलहरबाट जोगिन मानिसहरू थरीथरीको तरिका अपनाउँछन्। नयाँ पुस्ताकाले ज्याकेट लगाएजस्तै पुरानो पुस्ताले कम्बल ओढ्ने र बच्चाबच्चीलाई ‘गाँती' लगाइदिने चलन अझै छ। ‘पुरुषका लागि घरअगाडि धानको पोरसी (परालको मसिनो झुत्रो) को घुर बनाइन्छ, महिलाले घरभित्रै आफ्नो लागि जमिन खनेर घुर बनाउँछन् वा माटोको बोर्सी बनाउँछन्,' मुड्ली–६, तिनडोभियाका रामप्रसाद भेडिहरले भने, ‘आगोबिना बाँच्न सकिन्न।' महिलाले घरभित्र बनाउने एक फिट गहिरो घुरमा गोबरको गुइँठा र धानको भुस राखेर बालिएको आगो तुरुन्तै निभ्दैन। जे गर्दा नि गरिबका लागि जाडो धेरै घातक हुने भेडिहरको बुझाइ छ।
काम गर्नसमेत कठिन हुने गरेको र जाडोले वास्तविक रुपमा गरिबीको अनुभूति गराइदिने गरेको उनले बताए। ‘हुनेखानेले न्यानो कपडा जुटाउँछन्, कम्बल र रजाइ (सिरक) ओढ्छन्, नहुनेलाई पो गाह्रो,' उनले थपे। उनले भनेजस्तो उखानै प्रचलित छ, ‘रुइ, धुई आ दुई।' जाडो काट्ने उत्तम तीनवटा तरिका हुन्छ, ‘रुइ' अर्थात रुवाको ओढ्ने–ओछ्याउने, दाउरा बालेर ‘धुई' (धुनी) ताप्ने र सुत्ने बेलामा ‘दुई' जना भएर सुत्ने। यसबाहेकका उपाय त विवशतामा गरिन्छ।
रामगढवा–९ की ६५ वर्षीया खैरुल नेसाले नजिकै रहेको पोल्ट्रीफार्मबाट जम्मा गरेर ल्याएको कुखुराको दिसा ४/५ दिनमा सुक्छ। जाडोभरि उनी त्यही बालेर आगो ताप्छिन्। ‘अरु कुनै उपाय छैन, यसैले काम चलाएका छौं,' उनले भनिन्, ‘जाडोको कस्ता–कस्ता अनुभव छन् मसँग, यो त सामान्य कुरा हो।' नेसाका श्रीमान ७५ वर्षीय आसमहम्मद मियाँका अनुसार शीतलहर भने बदलिएको छ। ‘पहिले शीतलहर पुसमा सुरु हुन्थ्यो, माघदेखि घट्न थाल्थ्यो, अहिले ठेगान हुँदैन, मंसिरमै दिन अँध्यारो भइसकेको छ,' मियाँले भने।
‘आधा माघे कम्मर कान्हे' भनाइ प्रचलित छ। अर्थात आधा माघपछि जिउमा ओढिएको कम्बल काँधमा हाल्न थालिन्थ्यो। अब माघमा दिउँसो शीतलहर हटेर रापिलो घाम लाग्छ नै भने ठेगान छैन। उनका अनुसार पहिले शीतलहरले सबैलाई एकै प्रकारले सताउँथ्यो, अहिले गरिबलाई धेरै, धनीलाई कम सताउँछ। गरिबका लागि शीतलहर अहिले पनि ठूलो समस्या बनेर आउँछ।
प्रकाशित: २७ मंसिर २०७१ ००:५८ शनिबार




