कैलालीको अत्तरियाबाट डडेल्धुरा उकालिँदा बाटोमा साहुँखर्क भन्ने ठाउँ आउँछ। खीर र दहीका लागि प्रख्यात ठाउँ। भीमदत्त राजमार्ग ओहोर–दोहोर गर्नेहरू त्यहीँ खाजा खान्छन्।
हामी पनि ७ वैशाख ०७१ का दिन त्यहीँ रोकियौं। सरासर पसलभित्र पसेनौं। एकछिन बाहिरै भुल्यौं। किनकि पारि डाँडामाथिका सेता हिमालले आँखालाई भुलाए। ती हाँसेको देख्दा हाम्रो मन पनि हाँस्यो। हामीले भटाभट केही तस्बिर खिच्यौं।छनलाई खर्कमा ८ वटा खीर पसल छन्। हामीले खीर बाजे (धनबहादुर देउवा) को पसल रोज्यौं। खर्कको पहिलो खीर पसल तिनै बड्डा (बूढा)को रहेछ। राजमार्ग खन्न सुरु हुँदा उनले ०२४ सालमा चिया पसल चलाएछन्। ०३२ सालदेखि खीर बेच्न थालेका।
‘त्यतिबेला दिनमै सय लिटर दूधको खीर बेच्थेँ,' ७६ वर्षे खीर बाजेले भने, ‘पसल पनि बढे। भैंसी पनि धेरै पाल्न सकिएन। त्यसैले अचेल ५० लिटर दूधको खीर बेच्छु।'
तिनताका उनी प्लेटको ५ रुपैयाँ लिन्थे, अहिले ४० रुपैयाँ। खीर बेचेरै परिवार चलेको छ। पसलमुन्तिर असीग्राम गाविसको रुवाखोलामा उनले ५ वटा भैंसी पालेका छन्।
प्लेटमाथि बाफ उड्दै गरेको खीर चाख्दै साथी मनोज दाहाल बोले, ‘मिठो रैछ।'
हामीले तात्तातो खीर खायौं। हाम्रो गन्तव्य बैतडी। बाटोमा पर्ने डडेल्धुरा बजार, उग्रतारा मन्दिर र अमरगढी किल्ला पनि घुम्नै पर्यो्। डडेल्धुरा सदरमुकाम पुग्दा घाम छिप्पिसकेको थियो। हामी बजारमाथि किल्लामा पुग्यौं।
किल्ला प्रवेशद्वारमै एउटा सालिक रहेछ। त्यसको तल्लो भागमा लेखिएको छ, ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ' –बडाकाजी अमरसिंह।
ढुंगे किल्ला तिनैले बनाएका। इतिहासअनुसार रणबहादुर शाहको शासनकाल तथा अधिराजकुमार नरबहादुर शाहको प्रत्यक्ष नेतृत्वमा सञ्चालित नेपाल एकीकरण अभियानमा १८४७ भदौ ३१ गते सेती नदीमा गोरखाली फौजसँग डोटेली सेनाको हार भयो।
त्यहिबेला युद्ध विस्तार गर्न अमरसिंह थापालाई प्रशासक नियुक्त गरियो। उनले त्यही वर्ष किल्ला बनाए। किल्लालाई आधार मानी उनले अल्मोडा, गढवाल र काँगडासम्म गोर्खा राज्य विस्तार गरे। विडम्बना! पछिल्ला युद्धमा नेपालले ती भूभाग गुमायो।
नेपालीका बहादुर छोरा अमरसिंहलाई मनमनै सलाम गरेर हामी उकालियौं। सेनाको सुरक्षा घेरामा गढी। कचौरा आकारको। भित्र गहिरोमा सेना बस्ने घर। छानामा टिन देख्दा भने आँखा बिझाए।
सदरमुकाम सेरोफेरोमा घुम्नलायक घटाल बाबा, अजयमेरुकोट लगायत सम्पदा छन्। धनगढीबाट निजी सवारी साधनमा ४ घन्टामै सजिलै डडेल्धुरा पुगिन्छ। शीतल हिल स्टेसनमा। धनगढीबाट गर्मी छल्न आइपुग्छन्। पर्यटनकर्मी दीपकराज बोहराका अनुसार बजारमा दर्जन सुविधायुक्त होटल खुलिसके।
गढीबाट फर्केर हामी उग्रतारा मन्दिर गयौं। बजारबाट चार किमि दुरीको शक्ति पीठमा। देवी दर्शनले मनोकांक्षा पूरा हुने विश्वास। कात्तिक शुक्लपक्ष पूर्णिमाका दिन ठूलो मेला लाग्छ। मन्दिर क्षेत्र रमाइलो छ। जहाँबाट अपिशैपाल हिमशृंखला देखिन्छ। किंवदन्तीअनुसार मन्दिर पूर्वतिर बस्ने साकी जातीले गोरु जोत्ने बेला भगवती फेला पारे। अनि पूजा गर्न थाले।
मन्दिर ०३८ सालमा प्यागोडा शैलीमा पुनः निर्माण गरियो। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साकीका अनुसार डोटीको शैलेश्वरी दर्शनपछि उग्रतारा दर्शन गर्नैपर्छ। नत्र फल मिल्दैन। सिलगढी डाँडामा छ शैलेश्वरी।
हामी उग्रतारा पुग्दा पिकनिक खानेहरूको भीड थियो। त्यहाँबाट हामी दशरथचन्द राजमार्गमा सुलुत्त चिप्लियौं। कतिपयलाई नागबेली सडक मन पर्दैन। रिंगटा लाग्छ भन्छन्। मलाई त रमाइलै लाग्छ।
प्रकृतिको सुन्दर सृजना बैतडी। हिमाल, पाखापर्वत, नदीनाला र गाउँले बस्ती हेर्दै यात्रा गर्नुको बेग्लै आनन्द। खोड्पे पुगेर हामीले ‘लन्च' लियौं।
खोड्पे दोबाटो हो। एकातिरबाट दार्चुला र बैतडी पुगिन्छ भने अर्कोतिरबाट बझाङ र बाजुरा। आज हाम्रो बास बैतडी सदरमुकाम गोठालापानीमा हुनेछ। त्यसभन्दा पहिले हामी अचम्मको गुफा घुम्नेछौं।
गोठालापानी पुग्नु २० किलोमिटर वरै सिउडेमाथि गुफा। सिउँडेबाट २० मिनेट हिँडाइमा पुगिन्छ। वासुलिङ र भुवनेश्वर गाविसको बीचमा सिद्धनाथ सामुदायिक वनभित्र गुफा। हामीले सिउँडेमा जीप रोक्यौं। सबैलाई गुफा पुग्न हतार। माथि पुगेपछि फर्केर हेरेको त पर्यटनकर्मी शारदा शाह नांगै खुट्टा उकालो चढिरहेकी। चप्पल चुँडिएछ!
गुफामाथि विश्वनाथ मन्दिर। नजिकै तलाउ। बिहेको सिजन भएकाले मन्दिर हातामा दुई जोडीको सम्बन्धले औपचारिकता पाउँदै थियो। शुभकामना तिनलाई।
प्रकाश भट्ट दाइ, शारदा म्याडम र मनोज पाताल भुवनेश्वर गुफाभित्र पसेनन्। हामी ५ भाइमात्र पस्यौं। म दोस्रोपटक आइपुगेको। पोहोर साथी दीर्घराज उपाध्यायसँगै पसेको थिएँ।
हाम्रो टोलीका कान्छा सदस्य श्रीजल टर्च बालेर अघि लागे। उनलाई पछ्यायौं। गुफाको मुखबाट तलतल गयौं। खोँचमा माथिबाट पानी तप्पतप्प चुहिएको थियो। कहिले उभिएर, कहिले बसेर र कहिले घिसि्रएर चार सय मिटरसम्म पुग्यौं।
त्यहाँभन्दा मुन्तिर ठाडै ओरालो छ। भित्तामा डोरी टाँगिएको रहेछ। गुफाभित्र चुन ढुंगाले बनेका अनौठा आकृति छन्। तिनलाई जुन देवता सम्झेर हेर्यो् त्यस्तै देखिँदो रहेछ।
फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुसी (लक्स) एक्साइटेड भए। निकै मेहनत गरेर फोटा खिचे। इमेज टिभीका सन्दीप पौडेलले आफ्नै धुनमा क्यामेरा घुमाए। योगी भाइ पनि रमाए।
ऐया, अचानक आवाज आयो। सन्दीप चिप्लिएछन्। धन्न ठूलो चोट लागेन। उनको दाहिने हात दर्फरायो। दुर्घटना भएपछि हामी फर्कियौं।
हामी गुफा छिर्नु केही दिनअघि त्यहाँ फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेनको टोली पुगेको थियो। प्रकाश दाइ अध्यक्ष रहेको पर्यटन प्रवर्द्धन केन्द्रको निम्तोमा टोलीले दोस्रोपटक गुफा अध्ययन गरेको हो। इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष दुसेनको टोली ६३० मिटरसम्म पुग्यो। दुसेनले ५७० मिटरसम्मको टोपोग्राफी म्याप बनाएर केन्द्रलाई बुझाइसके।
भुवनेश्वर नेपालकै गहिरो गुफा भएको पत्ता लागेको छ। ६३० मिटरसम्म जाँदा गुफा १९२ मिटर गहिरो पाइयो। तर, गुफा कति लामो छ, भन्न सकिने अवस्था छैन। ६३० मिटरभन्दा पर्तिर निकै साँघुरो भएकाले टोली यसपालि पनि अघि बढ्न सकेन।
हामीले समातेको डोरी टोलीले राखिदिएको रहेछ। दुसेनले त्यहाँ अर्को गुफाको पनि प्रारम्भिक अध्ययन गरेछन्। भुवनेश्वरभन्दा त्यो गुफा झन् अनौठो छ रे। गुफाको विस्तृत अध्ययन गर्न दुसेन ०७१ चैतमा फेरि आउनेछन्।
‘अध्ययन पूरा भएपछि हामी गुफा महोत्सव गर्नेछौं,' भट्ट भन्छन्, ‘०७० चैतमै गर्न खोजेका थियौं। अध्ययन पूरा नभएकाले स्थगित गर्यौंह।'
सिउँडे क्षेत्रमा धेरै गुफा छन्। तिनको अध्ययन जरुरी छ। स्थानीय ८८ वर्षे अगुवा रघुनाथ भट्टका अनुसार वनमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार नामक गुफा छन्। पाताल भुवनेश्वरको स्वस्थानी व्रतकथामा पनि वर्णन छ। महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा पाइताला खसेकाले पाताल भुवनेश्वर भनिएको।
गुफा रौला केदार पहाडसम्म जोडिएको जनविश्वास छ। उहिल्यै गुफाभित्र पाण्डवका साथै ३३ करोड देवगण बास बसेको स्कन्दपुराणमा लेखिएको छ। द्वापरयुगमा पाण्डव यही गुफा भएर स्वर्ग गएका थिए।
गुफा छिर्न रोकतोक छैन। शुद्ध भएर र महादेवलाई धुपबत्ती गरेर जुत्ता/चप्पल नलगाई गाउँले भित्र छिर्छन्। त्यहाँ शिवरात्रिमा मेला लाग्छ। दीपावलीमा गोदान, हवन र वेद पाठ गरिन्छ।
गुफाबाट हामी गोठालापानी सोझियौं। सूर्यास्त हुनुअघि निंगलाशैनी पुग्यौं। देवीको मात्र होइन, राम, कृष्ण आदिका मूर्ति पनि छन् निंगलाशैनी मन्दिर हातामा। मन्दिरका भण्डारी नरसिंह भण्डारीका अनुसार निंगलाशैनी आफैं उत्पत्ति भएकी देवी हुन्। देवीलाई भक्तजनले घन्ट चढाउँछन्। बलि पनि चढ्छ। राँगा र बोका बलि चढाइन्छ।
हामीले सुदूरपश्चिमका सात बहिनी देवीका नाउँ सुनेका छौं। बाजुराको बडिमालिका, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा र बैतडीका डिलाशैनी, निंगलाशैनी, मेलौली, त्रिपुरासुन्दरी। यी दिदी बहिनीको दर्शन गर्न भारतीयसमेत आउँछन्। राम्रो प्याकेज बनाएर मार्केटिङ गर्न सके ७ बहिनीमा भीड लाग्न सक्छ।
बैतडाहरू बैतडीकै ७ देवीलाई दिदीबहिनी मान्छन्। निंगलाशैनी मन्दिर गोठालापानी नपुग्दै सडकको छेवैमा छ। त्यहाँ एकछिन बसेर गोठालापानी पुग्दा झमक्कै साँझ परिसकेको थियो।
गोठालापानीमा सामुराई, जगदम्बा, पञ्चचुली भ्यु, महामाया, चाहना गेस्ट हाउसलगायत सुविधायुक्त होटल छन्। बिहान सामुराई होटलबाटै हामीले अपि–नम्पा हिमालको दर्शन गर्यौंम। छतबाट सूर्योदय हेर्यौं ।
‘बैतडीमा पर्यटनको सम्भावना रहेछ,' कफी सुर्क्याउँदै मनोजले भने, ‘हिमाल, मन्दिर र संस्कृतिको संगम पो रहेछ बैतडी।'
सात समुद्रपारिका विदेशी आउन समय लाग्छ। पहिला हामी आफैंले आफ्नो भूमि चिन्नुपर्छ। टाढाका नेपाली त आएनन् नै, धनगढी, महेन्द्रनगर बस्नेहरूले समेत बैतडी नघुम्नु दुःखको कुरा हो।
त्यहाँबाट धेरै हिमचुली देखिए। भारततिर पञ्चचुली, नेपालतिर अपि–नम्पा चिन्यौं। बाँकी चिन्न सकेनौं। चिनाइदिने कोही भएन।
गोठालापानीमा जगन्नाथ बाबा मन्दिर छ। पत्रकार साथी खगेन्द्र अवस्थीलाई गाइड बनाएर हामी बिहान त्यहाँ उकालियौं। मन्दिर सेनाको रेखदेखमा छ। पुजारी बालकृष्ण शर्माले मनोकांक्षा पूरा होस् भनेर टीका लगाइदिए।
बाबाको दर्शनपछि हामी त्रिपुरा सुन्दरी भगवती मन्दिर गयौं। अग्लो ठाउँको मन्दिर। जहाँबाट पिथौरागढको सुन्दर दृश्य देखिन्छ। साँझ हामीले बिजुलीको प्रकाशमा झलमल्ल पिथौरागढ हेरेका थियौं। मन्दिरमुन्तिर गहिरोमा महाकाली नदी छ।
मन्दिरका भण्डारी जितसिंह थापाका अनुसार त्रिपुरामा मंसिरमा ठूलो मेला लाग्छ। किंवदन्तीअनुसार १४ औं शताब्दीतिर एउटा ढुंगाको मूर्ती कपडाले बेरिएको अवस्थामा फेला पर्यो्। त्यसलाई त्रिपुरा भन्ने ठाउँमा मन्दिर बनाएर पूजा गरेपछि त्रिपुरा सुन्दरी भन्न थालियो।
‘देवीको दर्शन गरेपछि भुइँ छोड्नुपर्छ', साथी दीपक उपाध्यायले त्रिपुराको आँगनमा पिङ खेल्नुस् भने। फलामे काम्रो भएको पिङमा बसेँ। र, मच्चिएँ।
त्यहाँबाट हामी जुलाघाट गयौं। नेपालतिरको भागलाई जुलाघाट र भारततिरको बजारलाई झुलाघाट भनिँदो रहेछ। महाकाली नदीको झोलुंगे पुलले नेपाल र भारतलाई जोडेको छ। झुलाघाटतिर ठूलो बस्ती छ। हाम्रो जुलाघाटतिर केही घर छन्।
गोठालापानी–जुलाघाट १८ किमि। मध्यपहाडी लोकमार्गले जुलाघाट छिचोल्दैछ। तर, महाकालीमा पक्की पुल छैन। मोटरेबल पुल बन्यो भने नेपालीलाई मात्र होइन भारतीयलाई समेत सजिलो हुन्छ। धार्मिक पर्यटनको ढोका खुल्छ। बैतडीका मात्र होइन, सुदूरपश्चिमकै तीर्थमा डुलाउन सजिलो हुन्छ।
सात बहिनीका मन्दिरमा मेला भर्न भारतीय आउँछन्। उनीहरू जुन दिन आउँछन्, त्यही दिन फर्कन्छन्। मन्दिरसम्म सजिलै पुग्ने सडक र बासको व्यवस्था हुनुपर्छ। मन्दिर, गुफा समेटेर प्याकेज बन्नुपर्छ। त्योभन्दा पहिले जुलाघाटमा पक्की पुल बन्नुपर्छ।
भारतले झुलाघाटदेखि महाकाली किनारैकिनार वनबासासम्म करिब ८० किमि सडक बनाउँदैछ। त्यो सडक खुलेपछि हाम्रा पहाडी जिल्लाका बासिन्दालाई धनगढी हुँदै महेन्द्रनगर जानुभन्दा त्यो बाटो जान सजिलो हुनेछ।
पुल बनाउन सरकारले कुटनीतिक पहल नगरेकामा दुःखी हुँदै त्यहाँबाट हामी फर्कियौं। मन त थियो महान सहिद दशरथ चन्दको गाउँ पुग्ने। तर, साथीहरू हतारिए धनगढी पुग्न। त्यसैले दशरथको तस्बिर आँखामा टाँसेर फर्किएँ। फेरि कहिले साइत जुर्ला उनको गाउँसम्म पुग्ने!
प्रकाशित: २० वैशाख २०७१ ००:१३ शनिबार





