९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

परिवार जोड्दै मदिरा

'रहरै–रहरमा पिएँ, विवश भएर पिएँ
सुखमा पिएँ, दुःखमा पिएँ
पिउँदिनँ, पिउँदिनँ भन्दै पिएँ...
मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँ
नाचेर पिएँ, हाँसेर पिएँ
एकान्तमा कहिलेकाहीँ रुँदै पिएँ...'

नारायणगोपालले गाएको यो गीतजस्तै दुःख होस् वा सुख। एक्लोपन होस् वा मन मिल्नेसँगको जमघट। सफलता होस् वा निराशा। तन्नेरीहरूको हरपलको साथी बनेको छ, मदिरा। उनीहरूलाई बहाना मात्र चाहिन्छ, मदिरालयतिर दौडिहाल्छन्। युवा मात्र होइन, वयष्कका लागि पनि भेटघाट वा अवसरमा नभई नहुने पेय बनेको छ मदिरा।

सम्भवतः मदिरा नपुगेको कुनै गाउँ छैन। बोटलमा 'प्याक' गरिएका मदिरा हुन् या स्थानीय स्तरमै बनाइएका 'लोकल ठर्रा', गाउँगाउँमा पाइन्छ। मदिरारहित समारोह वा भोज अहिले सायदै देख्न सकिन्छ। गाउँदेखि सहरसम्म यो क्रम फैलिसकेको छ। राजधानीमा ठमेल, दरबारमार्ग, लाजिम्पाट, झम्सीखेललगायत त्यस्ता स्थान हुन् जहाँ 'गुड फ्राइडे' भन्दै शुक्रबारको साँझ वा कुनै विशेष अवसरमा पबमा बसेर वाइन र टकिला सट लिइरहेका युवायुवती घरी मूर्च्छा पर्ने गरी हाँसिरहेका हुन्छन् त घरी नेपाली–अंग्रेजी मिसाउँदै कलेजका साथी र सरहरूको क्यारिकेचर गरिरहेका भेटिन्छन्।

कहिले कुन साथीलाई गफको तालमा उडाइरहेका हुन्छन् त कहिले देशमा भविष्य छैन भन्दै बिदेसिने योजना बनाइरहेका हुन्छन्। यस्तो दृश्य देशका अन्य सहरमा पनि छ्यापछ्याप्ती देख्न सकिन्छ।

त्यसो त मदिरा अब पब वा बारमा सीमित साथीबीच मात्र पिउने पदार्थ रहेन। घरमै परिवारका सबै सदस्य बसेर आआफ्नो रुचिका मदिरा पिउनेको संख्या पनि बढिरहेछ। काठमाडौं, डल्लुकी २७ वर्षीया रोशनी शाही कहिले साथीहरूसँग पिउँछिन् त कहिले परिवारसँग बसेर। कुनै खुसीको अवसरमा उनका परिवार सदस्य सँगै वाइन, ह्विस्की र बियर पिउँछन्। 'मेरो घरमा पिउन कुनै बन्देज छैन, सँगै बसेर निर्धक्कसाथ पिउँछौं,' स्नातकोत्तर सकेकी फाइनान्स जागिरे उनी भन्छिन्। बियर मन पराउने उनी सामाजिक अवसरहरूमा मदिरा अत्यावश्यक पेय पदार्थ भइसकेको ठान्छिन्।

सामाखुसी बस्ने २८ वर्षीय राजीव कर्माचार्य पनि शाहीको भनाइसँग सहमत छन्। स्टेसनरी व्यवसायी उनलाई पनि अहिलेका हरेक अवसर अथवा जमघटमा मदिरा अत्यावश्यक पेय बनिसकेझैं लाग्छ। मनपर्दो 'स्न्याक्स' सँग हल्का मदिरा पिउँदै गफिनुको मजा बेग्लै हुने अनुभूति सुनाउँछन् उनी । 'ड्रिंक गर्नाले त्यो समयलाई अझ अविस्मरणीय र रमाइलो बनाइदिन्छ,' उनी भन्छन्। त्यसबाहेक, मदिराले मानिसमा हल्का 'कन्पि्कडेन्स' थप्ने उनी दाबी गर्छन्।

सामाजिकीकरणको माध्यम

नेपालमा मदिरा बिस्तारै 'सोसलाइजेसन' को माध्यम बन्दै छ। अम्मली नै नबने पनि 'सोसल ड्रिंकर' भनेर विशेष जमघट, समारोह वा अवसरमा मात्र पिउने जमात बढेको छ। यसले नयाँ मानिससँग सम्बन्ध विस्तार गर्न मात्र नभई परिचित 'सर्कल' मा अझ घुलमिल हुन सघाउने 'सोसल ड्रिंकर'हरू बताउँछन्। मदिरा नपिउने मानिस जमघटमा 'कवाबमा हड्डी' हुने गरेका छन्।

स्वयम्भूका २७ वर्षीय व्यापारी कृष्ण मुडभरी आफू मदिरा पिउँदैनन्। तर, जमघटमा पिउने साथीहरूलाई साथ दिन उनी जुस वा हल्का पेय पदार्थको गिलास लिएर बसिदिन्छन्। 'मलाई पिउन मन पर्दैन तर मेरो सर्कलमा पिउने साथी टन्नै छन्,' उनी भन्छन्। पहिलेपहिले साथीहरू उनलाई पनि पिलाउन जोडबल गर्थे तर अहिले गर्दैनन्। 'म सँगै छु भनेपछि साथीहरू झन् ढुक्क भएर पिउँछन्। हामी माते पनि यो छँदैछ नि सम्हाल्ने भनेर निर्धक्क हुन्छन्,' उनी भन्छन्।

व्यक्तिलाई सामाजिकीकरणमा सघाउने भएकैले मदिरा संस्कृति विस्तार हुँदै गएको सोल्टी क्राउन प्लाजाका फुड एन्ड बेभरेज निर्देशक बलराम पाठक बताउँछन्। कुनै अवसरमा सुझबुझपूर्वक पिउने, सुखद समय बिताउन मदिरा नै चाहिन्छ भन्ने मान्यता पनि नराख्ने, मदिराकै कारण कहिल्यै समस्यामा नपरेको र पिएको बेला संयम अपनाउन सक्ने मानिस सोसल ड्रिंकर भएको उनी बताउँछन्। 'अम्मलीले जस्तो उनीहरू जति बेलै मदिराकै बारेमा सोचेर बस्दैनन्,' उनले भने।

बढ्दो व्यापार

नेपालमा मदिराको व्यापार ठूलो छ। बर्सेनि अर्बौं रुपैयाँको मदिरा यहाँ खपत हुन्छ। स्थानीय उत्पादनबाहेक आयातित मदिराको व्यापार पनि झाँगिँदो छ। ठूल्ठूला कार्यक्रमदेखि छापा सञ्चारमाध्यममा समेत विभिन्न ब्रान्डका मदिराको विज्ञापन देख्न पाइन्छ। समयसमयमा मदिराको ब्रान्ड प्रवर्द्धनका लागि विदेशबाट सेलेब्रिटीसमेत आउने गरेका छन्। वैदेशिक रोजगारीमा जाने नेपालीले पनि स्वदेश फर्किने बेला 'ड्युटी फ्री' पसलबाट विभिन्न ब्रान्डका विदेशी मदिरा ल्याउने चलन बढ्दैछ।

काठमाडौं, चपलीस्थित अपटाउन लिक्योर्स स्टोर सञ्चालक सुशील थापा आफूले मदिरा व्यापार सुरु गर्दाको समयदेखि अहिले निकै परिवर्तन भएको बताउँछन्। व्यापार बढ्दै गएको मात्र नभई व्यवस्थित हुँदै गइरहेको उनको अनुभव छ। 'पहिले तरकारी पसलमा पनि मदिरा किन्न पाइन्थ्यो, अहिले निश्चित पसलमा मात्र पाइन्छ,' उनी भन्छन्। नेपालमा बिस्तारै मदिरा संस्कार विकास हुँदै गइरहेको पनि उनले महसुस गरेका छन्।

थापाको पसलमा प्रतिबोतल ६० रुपैयाँदेखि २६ हजार रुपैयाँसम्म पर्ने मदिरा पाइन्छन्। काठमाडौंमा प्रतिबोतल ३ लाख रुपैयाँसम्म पर्ने मदिरा उपलब्ध छन्। आर्थिक रूपमा निम्नदेखि उच्च वर्गले आआफ्नो गच्छेअनुसार मदिरा पिउने भएकाले विभिन्न मूल्यका मदिरा बिक्रीमा राखेको उनी बताउँछन्।

उनको पसलमा मदिरा किन्न आउने धेरै युवा हुन्छन्। 'अहिलेका युवावर्गमा नयाँ कुराको अनुभव लिने बानी र विदेशबाट आएको वा सिकेको प्रभावले गर्दा महँगा र विदेशी मदिरामा आकर्षण छ,' थापा भन्छन्। उच्च आर्थिक हैसियत हुनेहरूको रुचि आयातित मदिरामा भए पनि मध्यमवर्ग भने नेपाली ब्रान्डमै आकर्षित रहेको उनी बताउँछन्।

अहिले रेस्टुरेन्ट वा 'हस्पिटालिटी' व्यापारमा मदिरा अभिन्न वस्तु बनेको छ। गल्लीमा खुलेका साना हरियो पर्दाधारी रेस्टुरेन्ट हुन् वा पाँचतारे होटल, मदिराविनाको मेनु अपूरो हुने गरेको छ। मदिराको अत्यधिक व्यापार हुने बार, पब हुन् वा अन्य 'सितन' सँग मदिरा बेच्ने पसल, साँझ परेपछि भिड बढ्ने गर्छ। तारे होटल, ठमेल, झम्सीखेल, दरबारमार्गजस्ता जमघट केन्द्रमा मदिरा पिउने ठाउँ आकर्षक ढंगले सजाइएका हुन्छन्। नेपाल प्रहरीले 'ड्रिंक एन्ड ड्राइभ' कम गर्न मादकपदार्थ सेवन जाँच गर्न थालेपछि घटेको व्यापार फेरि उकालो लागिसकेको व्यवसायी बताउँछन्।

बालुवाटार बस्ने अशोक महर्जनलाई नयाँ खुलेका पबमा जान मन पर्छ। सहरमा कतै नयाँ पब खुल्यो कि साथीहरूसँग गएर नयाँ ड्रिंक 'ट्राई' गरिहाल्छन्। 'साथीहरूसँग रातको समयमा पब जानु, हल्ला गर्नु, नाच्नुको मजै बेग्लै हुन्छ,' उनी भन्छन्। ककटेल पिउन मन पराउने उनीसँगै उनको ग्रुपका साथीहरू पिउनका लागि बहाना खोजिरहन्छन्। 'कुनै बहाना भेट्यो कि पबतिर लागिहाल्छौं,' महर्जन हाँस्दै भन्छन्।

जिम्मेवारीपूर्वक पिउनुस्

त्यसो त मदिरा पिउने पनि 'केमिस्ट्री' छ। ठिक्क मात्रामा पिउनाले शरीर स्वस्थ राख्न मद्दत गर्छ, सामाजिक प्रतिष्ठा कायम गर्न पनि सघाउँछ। 'सोसल ड्रिंकिङ' संसारका धेरैजसो समुदायमा स्वीकार्य छ। हजारौं वर्षौंदेखि अन्न, फलफूलको रस र मह मदिरा बनाउन प्रयोग हुँदै आएको छ।

केही निश्चित मदिराका प्रकार निश्चित देशको पहिचान बनेका छन्। आइरिसका लागि गिनिज, मेक्सिकनका लागि टकिला, स्कटका लागि ह्विस्की, ग्रिकका लागि ओजो देशको पहिचानसँग जोडिएका पेयपदार्थ हुन्। पाठक देश, क्षेत्र र धर्मका आधारमा वाइन, स्याम्पेन, बियर वा हल्का पेय पदार्थ प्रयोग हुने बताउँछन्। नेपालमा भने ठूलो उमेरका मानिसले 'हार्ड ड्रिंक' र युवायुवतीले रम, भोड्का, जिन र बियर अनि टकिला पिउने गरेको उनको अनुभव छ। 'तर, कहिले कोसँग कसरी पिउने भन्ने विषयमा समाजअनुसार आआफ्नै मापदण्ड छ,' उनी भन्छन्। मदिरालाई परम्परागत संस्कार स्विकारिसकेका युरोपका इटली, स्पेन, फ्रान्स र ग्रिसजस्ता मुलुकमा धेरै पिउने सुविधा भएको उनी बताउँछन्।

मदिराले समाजका विभिन्न तह र तप्काबीच सञ्चारको राम्रो अवसर सिर्जना गरिदिने पाठकको दाबी छ। इन्टरनेट र सामाजिक सञ्जाल विकासले अहिले पिउने शैली पनि परिवर्तन हुँदै गरेको उनी बताउँछन्। 'अहिलेका अधिकांश युवा जिम्मेवारीपूर्वक पिउँछन्, करियरतर्फ लम्किरहेका धेरै मानिसले सामाजिकीकरणका लागि मात्र वाइन वा बियर पिउने गरेका छन्,' उनी भन्छन्। नेपालमा मदिरा सेवन गर्ने बढीजसो युवा भए पनि उनीहरूले लिने परिमाण भने कम रहेको उनको अनुभव छ। युवाहरू स्वास्थ्यप्रति संवेदनशील भएकाले पनि उनीहरूले पिउने मात्रा कम गरेको पाठक बताउँछन्।

मदिराको प्रकार समय, मौसम, कार्यक्रम वा समारोहको प्रकृति र खानाको प्रकारअनुसार छनोट गर्न सकिने उनी बताउँछन्। मदिरा पिउने विषयमा पाठकको सुझाव छ, 'एक पेग वा एक गिलास २० देखि २५ मिनेटभित्रको समयमा पिउनु राम्रो हुन्छ। यसलाई एउटा समारोहमा दुईदेखि तीन पेग वा गिलासमा सीमित गर्नुपर्छ।'

प्रकाशित: ३ वैशाख २०७३ २१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App