नेपाली कांग्रेस अहिले निकै संकटमा देखिन्छ। आन्तरिक व्यवस्थापनमा देखिएको अलमलका कारण पार्टीले यो संकटको सामना गर्न परिरहेको छ। पार्टीले जतिसुकै ठुलो लक्ष्य र दायित्व बोकेको भए तापनि आन्तरिक एकता र लक्ष्यप्राप्तिका लागि सहयात्रालाई सुनिश्चित गर्न सकिएन भने दायित्व निर्वाहको सम्भावना रहँदैन । नेपालमा लोकतन्त्र स्थापना र त्यसको सुनिश्चितताका लागि एउटा बलियो शक्तिका रूपमा नेपाली कांग्रेससँग अपेक्षा गरिन्छ । तर वर्तमान अवस्थामा कांग्रेससँगको त्यो अपेक्षा पूरा हुँदैन कि भन्ने चिन्ता समस्त लोकतन्त्रवादीहरूमा देखिएको छ । पार्टीका नेताले समानान्तर भेलाबाट सुरु गरेको अभियानले समानान्तर संरचना नै निर्माण गर्छन् कि भन्ने चिन्ता जागेको छ । यो अवस्थाबाट पार्टी मुक्त भएर अहिलेको अवस्थाको विश्लेषण गर्दै आफ्नो राष्ट्रिय दायित्व निर्वाह गर्ने सन्दर्भमा अग्रसर होस् भन्ने अपेक्षा यो पार्टीसँग रहेको छ।
अहिले बलियो जनमतबाट बनेको सरकार भएको अवस्था हो । यो अवस्था आफैंमा नेपालका लागि एउटा ठुलो अवसर पनि हो । तर यो अवस्थालाई अवसरमा बदल्नका लागि राजनीतिक रूपमा बृहत्तर समन्वय आवश्यक पर्छ । विशाल जनमतका आधारमा निर्माण भएको सरकारले बृहत्तर समन्वयभन्दा आफू एकलौटी हिँड्ने चाहना व्यक्त गर्छ। अहिलेको राजनीतिमा बलियो सत्ताको यस्तै आकांक्षा प्रकट भइरहेको छ। २०१७ सालमा दुईतिहाइलाई राजाले ‘कू’ गरे । २०४६ सालपछिका सरकारहरू प्रधानमन्त्रीको एक्लै हिँड्ने चाहनाका कारण दुर्घटनामा परेका छन् । २०५१ सालमा तत्कालीन प्रधानमन्त्रीले संसद् भंग गरे, २०५२ सालको सरकारका प्रधानमन्त्रीले पनि संसद् भंगको सिफारिस गरे, त्यसपछिका सबै प्रधानमन्त्रीहरूले त्यही बाटो रोजे । बाबुराम भट्टराईदेखि केपी शर्मा ओलीले समेत एक्लै हिँड्ने चाहना पूरा नहुँदा संसद् भंगको सिफारिस गरे। सत्ताको मत्ततामा आएर संसद्लाई समेत कठपुतली ठान्ने र उपयोग गर्न नसके भंग गरिदिने प्रवृत्ति नेपाली राजनीतिको ठुलो समस्या हो । अहिलेको सरकारलाई संसद्प्रति उत्तरदायी हुन, संसद्को सम्मान गर्न अप्ठ्यारो महसुस भइरहेको देखिएको छ । संसद्सँग कुनै पनि साइनो नराखेर एक्लै हिँड्ने बाटोमा अहिलेको सरकार हिँड्दै छ । प्रधानमन्त्री त्यसो गर्दै छन्, मन्त्रीहरू मौन छन् । सत्तारुढ सांसदहरू अलमलबिच सत्ताको कमजोरीलाई चर्को आवाजमा रफ्फु भर्दै छन् । संसद्लाई बेवास्ता गर्ने सरकारले पार्टीलाई पनि वास्ता गर्छ भन्ने छैन, गरेको पनि देखिँदैन । पार्टी र सरकारको सम्बन्धबारे बिपी कोइरालाले भनेका छन्, ‘अन्तिम समयसम्म पार्टी आफ्नो नेतृत्वको पक्षमा उभिनुपर्छ तर लोकतन्त्रको मूल्यमाथि प्रहार भयो र जनताका सन्तुष्टि सम्बोधन हुन सकेनन् भने त्यतिबेला पार्टीले सरकारको बचाउ गरेर मात्र बस्न सक्दैन।’
यो कुरा अहिलेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा पनि लागु हुन्छ किनभने मनमत्त सत्ताको बचाउ गरेर कसैले पनि आफ्नो पहिचान र भविष्यलाई नकारात्मक छवि दिन चाहँदैन ।
यो अवस्थामा नेपाली कांग्रेसजस्तो लोकतन्त्रको पक्षधर शक्तिले सत्ताको कमजोरीको आधारमा ऊ असफल हुन्छ र त्यसको लाभ हामीले पाउँछौं भनेर कुरेर बस्नुहुँदैन। यस्तो प्रवृत्तिलाई राजनीति शास्त्रमा ‘नकारात्मक अवसरवाद’ वा ‘सत्ताविरोधी पुँजीकरण’ भनिन्छ। यो बाटोमा नलागेर जिम्मेवार प्रतिपक्षका रूपमा उसले सत्तालाई हाम्रा विगतका अभ्यासको स्मरण गराउँदै त्यो बाटोमा नगई लोकतन्त्रको सुदृढीकरणका आधारमा त्यसको लाभ राष्ट्रले पाउने कुराको सुनिश्चितताको बाटो सुझाउनुपर्ने हो।
लोकप्रियतावादको जगमा बनेको शक्तिले जनताको मतको अपार साथ पाएर सरकार बनाएको छ । त्यस्तो जगबाट उठेको सरकारको सबैभन्दा ठुलो कमजोरी भनेको परिपक्वताको अभाव अनि ‘म नै सर्वेसर्वा हो’ भन्ने मनोविज्ञान हो। यी कमजोरीबाट जोगाएर सही बाटोमा हिँड्नका लागि अभिभावकत्व प्रदान गर्ने भनेको अनुभवको भुंग्रोमा खारिएर आएको शक्तिले हो । त्यो शक्ति भनेको नेपालको सन्दर्भमा नेपाली कांग्रेस नै हो । यसो गर्दा सरकार सफल हुने र आफू कमजोर हुने हानिभावना राख्न जरुरी छैन किनभने सरकार असफल हुनु भनेको देश नै पराजित हुने हो । यत्तिको जनमत प्राप्त सरकार असफल हुँदा त हाम्रो लोकतान्त्रिक पद्धति नै कमजोर हुनेछ । फेरि हामीले लोकतन्त्रका लागि नै लडाइँ लड्नुपर्ने अवस्था आउँछ।
नेपाली कांग्रेसको एउटा मौलिक चरित्र के हो भने उसले समयअनुसारका समस्याको पहिचान गर्दै त्यसको सम्बोधनलाई आफ्नो राष्ट्रिय दायित्व ठानेर रणनीति तयार गर्ने र काम गर्ने । नेपाल राष्ट्रिय कांग्रेसको स्थापना घोषणापत्र (२००३ सालतिर) मा राणा शासन अन्त्य गर्नु, जनतालाई राजनीतिक अधिकार दिलाउनु, राष्ट्रिय स्वतन्त्रता जोगाउनु प्रमुख दायित्वका रूपमा राखियो।
त्यसैगरी जनताको चेतना जागृत गर्ने र लोकतान्त्रिक शासन स्थापना गर्ने कुरालाई राष्ट्रिय कर्तव्यका रूपमा प्रस्तुत गरियो । नेपाली कांग्रेस गठनपछिको घोषणापत्रमा प्रजातन्त्र स्थापना, सामन्तवाद अन्त्य, राष्ट्रिय एकता, संवैधानिक शासनलाई राष्ट्रिय दायित्वका रूपमा जोड दिइयो ।
त्यसैगरी २०१२ सालको समाजवादसम्बन्धी नीति दस्ताबेजमा नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादलाई आधिकारिक विचार बनायो । त्यसमा राष्ट्रिय दायित्वका रूपमा आर्थिक समानता, सामाजिक न्याय, ग्रामीण विकास, राष्ट्रिय स्वाधीनतालाई प्राथमिकतामा राखियो। बिपी कोइरालाले राष्ट्रिय दायित्वलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको त्रिकोणमा व्याख्या गरेका थिए । राष्ट्रियता भनेको केवल भूगोल नभई जनताको स्वतन्त्रता र सम्मान पनि हो भन्ने धारणा अघि सारिएको थियो।
त्यसैगरी पञ्चायतविरुद्धको संघर्षलाई पनि कांग्रेसले राष्ट्रिय जिम्मेवारीकै रूपमा लियो । २०४६ सालको जनआन्दोलनमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना, मानव अधिकार, प्रेस स्वतन्त्रता, संवैधानिक शासन, राष्ट्रिय मेलमिलापलाई राष्ट्रिय दायित्वका रूपमा ग्रहण गरेको पाइयो। २०४८ सालपछिका महाधिवेशन दस्ताबेजहरूमा कांग्रेसले आफ्नो राष्ट्रिय दायित्वका रूपमा संविधानवाद, संसदीय लोकतन्त्र, उदार अर्थनीति, राष्ट्रिय अखण्डता, समावेशी विकासलाई प्राथमिकतामा राख्यो । त्यस्तै नेपाली कांग्रेसका आधुनिक दस्ताबेजहरूमा राष्ट्रिय दायित्वलाई संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, सामाजिक न्याय, आर्थिक समृद्धि, राष्ट्रिय एकता, परराष्ट्र सन्तुलनलाई प्राथमिकतामा राखेको देखिन्छ।
अब समय फेरिएको छ । झन्डै दुईतिहाइको सरकार छ । सरकार ढाल्ने र बनाउने खेल अब कसैको प्राथमिकतामा पर्नुहुँदैन । यदि त्यसो गरियो भने त्यो अराजनीतिक र राष्ट्रिय दायित्वबोध नगरेको ठहरिनेछ । यो बेला अब नेपाली कांग्रेसले आफ्नो दायित्व पहिचान गरेर प्रतिपक्षको बेन्चबाट सरकार र सत्तालाई कसरी राष्ट्रिय हितमा केन्द्रित गर्न सकिन्छ भन्ने कुरामा पार्टीले गम्भीर मनन गर्न सक्नुपर्छ । तीन पुस्ता सँगसँगै क्रियाशील रहेको र चौथो पुस्तालाई आकर्षित गर्नुपर्ने दायित्व कांग्रेसको आन्तरिक जीवनको सुन्दर पक्ष हो । यो सुन्दरतालाई जोगाउँदै चार पुस्तालाई सँगसँगै लैजानुपर्ने दायित्वबाट ओतप्रोत हुँदै त्यो पुस्तागत सहकार्यले लोकतान्त्रिक मार्गलाई कसरी सबै पुस्ताको सन्तुष्टि र चाहनाको मार्ग बनाउने भन्ने विषयमा कांग्रेसले आन्तरिक गृहकार्य गर्नुपर्ने अवस्था छ । एकताबद्ध पार्टी निर्माण गरेर आफ्नो मूल दायित्व निर्वाहमा समय खेर नफाली क्रियाशील हुनुपर्ने अवस्था छ।
लोकतन्त्रको रक्षा, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षधरता, लोकतान्त्रिक समाजवाद, सामाजिक न्याय र समावेशिताको बाटोमा अग्रसर हुनु, राष्ट्रिय मेलमिलापका साथमा संविधानवाद र लोकतान्त्रिक संस्थाको संरक्षण गर्नु कांग्रेसको मूल चरित्र हो। अब यिनै कुराहरूमा किंचित आँच आउन नदिई वर्तमान सरकारलाई लोकतन्त्रको बाटोमा हिँडाउन, जनताका समस्या सम्बोधन गर्न दबाब दिन, विधि र प्रक्रियाको निरन्तरताका लागि प्रेरित गर्न, अधिनायकवादको गन्ध आउनै नदिने गरी शासकलाई खबरदारी गर्ने कुरालाई व्यवस्थित रूपमा रणनीति बनाएर सक्रिय हुन जरुरी छ। जब प्रतिपक्ष आफ्नो वैकल्पिक राजनीतिक कार्यक्रमभन्दा सत्ताको विफलतामाथि निर्भर हुन थाल्छ, तब लोकतन्त्र प्रतिस्पर्धात्मक नीति–बहसबाट हटेर संकट–प्रतीक्षाको राजनीतिमा रूपान्तरित हुन्छ। यस्तो प्रवृत्तिले राज्यका संस्थाहरू कमजोर हुँदा पनि सुधारको साझा राष्ट्रिय दायित्वभन्दा दलगत लाभलाई प्राथमिकता दिने मनोविज्ञान हाबी हुन्छ। जब असफलता नै राजनीतिक पुँजी बन्छ, तब संकट समाधानभन्दा असन्तोष विस्तार गर्ने राजनीति हाबी हुन सक्छ। यसले अतिवाद, लोकप्रियतावाद वा संस्थाविरोधी भावनालाई बल दिन सक्छ।
नेपाली कांग्रेसले यो कुरालाई पक्कै पनि महसुस गर्न सक्छ किनभने उसभित्रको संस्थागत अभिलेखले इतिहासका कस्ता कालखण्डमा कस्ता अभ्यास भए र त्यसले कस्ता परिणामहरू दिए भन्ने देखाउँछ । यही आधारमा कांग्रेसले आफ्नो राष्ट्रिय दायित्व महसुस गर्ने र कार्यक्रम वा रणनीतिको रूपमा त्यसलाई सम्पादन गर्ने बाटोमा आफूलाई उभ्याउन जरुरी छ। त्यसका लागि प्राथमिक सर्त हो– पार्टीभित्र सबैलाई अटाउँदै सबल कांग्रेस निर्माण गर्नु । राष्ट्रिय दायित्वका अगाडि सबै कुरा गौण हुन्छन्, हुनु पनि पर्छ तर दायित्व निर्वाहको क्रममा सहभागी हुने अवसरबाट कसैलाई पनि अलग नराख्ने कुरामा पार्टी नेतृत्व गम्भीर र जिम्मेवार हुन जरुरी छ ।
प्रकाशित: १४ जेष्ठ २०८३ ०९:४१ बिहीबार

