२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

पनामा पेपर्सको अन्तर्कथा

'म जोन डो हो। डाटामा इच्छुक हुनुहुन्छ?' जर्मनीको 'जुद्–ड्इच चाइटुंग' पत्रिकाका पत्रकार बास्टियन ओबेरमेयरलाई एक अज्ञात व्यक्तिले सम्पर्क गरे।
'हामी इच्छुक छौं,' उनले भने।
'मेरा केही सर्त छन्। मेरो ज्यान खतरामा छ। हामीले इनक्रिप्टेड फाइलमा मात्र कुरा गर्नेछौं। कहिल्यै भेट्ने छैनौं। कथा छनोटको निर्णय तपाईंको हुनेछ,' सम्पर्क गर्ने मानिसले भने।
'तपाईं किन यसो गर्दै हुनुहुन्छ?' संवाददाताले सोधे।
'म यी अपराधहरुलाई सार्वजनिक गर्न चाहन्छु,' उनले भने।
'हामी कति डाटाको कुरा गर्दैछौं?' संवाददाताले सोधे।
'तपाईंले अहिलेसम्म देखेभन्दा धेरै,' जवाफ आयो। 

माथिको वार्तालाप संसार हल्लाउने पनामा पेपर्सको डाटा खोतल्ने काम सुरु गर्नुअघि डाटा उपलब्ध गराउने व्यक्ति र जर्मनीको पत्रिकाका संवाददाताबीचको हो। गत साता पनामा पेपर्सको स्क्यान्डल प्रकाशित भएपछि संसारभर तहल्का मच्चियो। यसकै कारण आइसल्यान्डका प्रधानमन्त्रीले पद छोडे भने संसारभर नै यसले तहल्का मच्चाइरहेको छ। इन्टरनेसनल कर्सोर्सियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आइसिआइजे) ले सार्वजनिक गरेको यो तथ्यांकबाट विभिन्न देशका राजनीतिक दलका नेता र सार्वजनिक पदमा बसेका मानिससमेत तानिएका छन्।

ती अज्ञात व्यक्तिले मोजाक फोन्सेका नामको पनामाको कानुनी फर्मबाट इन्त्रि्कप्ट गरिएको आन्तरिक कागजात पठाए। यो फर्मले संसारभर बेनामे अफसोर कम्पनी बिक्री गर्ने गर्छ। यी कम्पनीले उनीहरुको मालिकका व्यापारिक कारोबार लुकाउन सहयोग गर्छ।

संसार नै हल्लाउने पनामा पेपर्स त्यति सजिलै आएको हैन। यसरी प्राप्त भएको कागजातमा भएको डाटा माइनिङ प्रक्रियामा चार सय जना पत्रकारले एक वर्षसम्म दुई दशमलव छ टेराबाइट डाटामा काम गरे। उनीहरुले १ करोड १५ लाख वटा कागजात र दुई लाख १४ हजार वटा लेटरबक्स कम्पनीलाई केलाए। उनीहरुले कसरी एउटा पनामाको कानुनी फर्मले संसारका शक्तिशाली मानिसलाई ठूलो मात्रामा रकम लुकाउन सक्ने गरी कम्पनी स्थापना गर्न कसरी सघायो भनेर विवरण निकाले।

'हामी यसमा एकदमै धेरै सावधान थियौं किनभने हामीले यसको पछाडि को छ भनेर कहिल्यै थाहा पाएनौं,' ती संवाददाताले भने, 'यसले भ्लादिमिर पुटिनको भित्री चक्रदेखि लिबियाका पूर्व तानाशाह कर्नेल गद्दाफी र सिरियाका राष्ट्रपति बसार अल–आसादसम्मले कर छलेको स्क्यान्डल सार्वजनिक गर्दै थियो।'

सूचनाको भूकम्पको खानी प्राप्त गरेपछि सबैभन्दा ठूलो चुनौती उनीहरुको स्रोतको रक्षा गर्नुपर्ने थियो। पत्रकारिताको सिद्धान्त र अखण्डताका लागि मात्र होइन, यो जानकारी चुहावट गर्ने व्यक्तिको सुरक्षाका लागि पनि यो स्रोत गोप्य राख्नुपर्ने भयो। त्यसमाथि ध्यानाकर्षण गराउने बेनामे स्रोतले पत्रिकालाई 'मेरो ज्यान खतरामा छ। कहिल्यै भेट्ने छैनौं' भनेका थिए। पत्रिकाले स्रोतलाई सिग्नल, थि्रमा, पिजिपी र एस/एमआइएमई जस्ता इन्त्रि्कप्ट गरिएका माध्यमको प्रस्ताव गर्योर। पत्रिका उनीहरुले प्रयोग गरेको माध्यम खुलासा नगर्ने कुरामा एकदमै सचेत भयो। उनीहरुलाई सूचना उपलब्ध गराउने बेनामे स्रोतको नाम पनि थाहा छैन। ओवरमेयरले पनामा पेपर्सबारे केही पनि प्रकाशित हुनुअघि उनले ल्यापटप र आइफोन पूर्ण रुपमा नष्ट गरिसकेका थिए।

ओबरमेयरले वायर्डसँगको अन्तर्वार्तामा आफूले त्यो स्रोत को थियो भन्ने आफूलाई थाहा नभएको बताएका छन्। 'मलाई त्यो मान्छेको नाम थाहा छैन वा त्यो व्यक्तिको पहिचान पनि थाहा छैन,' उनले भनेका छन्। यद्यपि, आफूले त्यो व्यक्तिसँग निकै विस्तारित वार्तालाप गरेको बताउँछन् उनी।

चार सय जना पत्रकारले लेख्ने, रिपोर्टिङ गर्ने र एक वर्षसम्म काम गर्ने भए पनि यसको स्रोत भन्न सक्दैनन्। अहिलेसम्मको सबैभन्दा धेरै मात्राको सूचना केलाइएको पनामा पेपर्सको विश्लेषण भने चाँडै नै पूरा भएको थियो। यसअघि खुलासा गरिएका लिक्सभन्दा पनामा पेपर्स कैयन गुणा ठूलो हो। सन् २०१० मा आएको विकिलिक्सले एक दशमलब सात जिबी सूचना सार्वजनिक गरेको थियो। सन् २०१३ मा आइसिआइजेले नै सार्वजनिक गरेको अफसोर लिक्स दुई सय ६० जिबीको थियो भने सन् २०१४ को लक्जेमबर्ग लिक्स चार जिबीको थियो। त्यस्तै, गत वर्ष सार्वजनिक गरिएको स्विस लिक्सको आकार तीन दशमलब तीन जिबीको थियो।

ओबरमेयर र उनका सहकर्मीले यसको अनुसन्धानमा महिनौं विबाए। सूचना रुजु गरे। यो आधिकारिक भएको ढुक्क नहुँदासम्म उनीहरुले करोडभन्दा धेरै फाइलको अनुसन्धान गरे। उनीहरुले अन्य प्रकाशन गृहले नगर्ने काम गरे। प्रतिद्वन्द्वी सञ्चार माध्यमलाई सूचना दिने प्रस्ताव गरे, इन्टरनेसनल कन्सोर्सियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टसँग वासिङटनमा बैठक गरे। पनामाको त्यो कानुनी फर्मबाट कागजात प्राप्त गरेको एक वर्षसम्म उनीहरुले गरेको अध्ययनबाट लगभग ४० वर्षदेखिको दुई लाख १४ हजार अफसोर कम्पनीको जानकारी प्राप्त भयो। उनीहरुले गत आइतबार प्रकाशित गरेको पहिलो प्रकाशनमा एक सय ४० जना राजनीतिक व्यक्तिको लुकेको वित्तीय गतिविधिबारे जानकारी समेटिएको थियो।

यसरी गरिएको खुलासाले आइसल्यान्डको प्रधानमन्त्रीले पद त्याग गर्नुपर्योव। त्यसपछि स्विस प्रहरीले युरोपेली फुटबल निकाय युइएफएको मुख्यालयमा छापा मार्योध र रसियाली र चिनियाँ राष्ट्रपतिहरुको भित्री घेराका मान्छेमाथि शंका बढायो।

पनामाको कानुनी फर्म मोज्याकको संस्थापन साझेदार रामोन फोनसेकाले गत साताको सुरुमा फर्म कम्पनीबाहिरबाट ह्याक भएको बताएका थिए। उनले कम्पनीसँग विदेशबाट सर्भर ह्याक भएको प्राविधिक प्रतिवेदन प्राप्त भएको बताएका थिए। ह्याक भएको भने पनि कुन देशबाट भनेर उनले खुलाएनन्।

गत बुधबार, स्विस प्रहरीले फिफाको अध्यक्ष हुनुअघि जियानी इन्फान्टिनोले च्याम्पियन लिग टेलिभिजन अधिकारको कारोबार हस्ताक्षर गर्दाको अनुसन्धानका लागि युइएफएको जेनेभा कार्यालयमा खानतलासी गर्योच। पनामा पेपर्सले च्याम्पियन लिगका लागि टेलिभिजन अधिकार हस्ताक्षर गरेको कम्पनीको नेतृत्व भ्रष्टाचार स्क्यान्डलमा समातिएका दुईजना प्रतिवादीले नेतृत्व गरेको कुरा सार्वजनिक गरेको थियो।

ठूलो डाटा
गत साता प्रकाशन गरिएको पनामा पेपर्स स्क्यान्डलले यसका खेलाडी, आरोपित ठगी र भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायत विषयमा धेरै जानकारी दिएको छ। तथापि, यो सूचनाको चुहावट कसरी भयो भन्ने कुरा रहस्यमै छ। दुई टेराबाइटभन्दा ठूलो आकारको डाटा, यसका कागजातका प्रकार र कसरी आइसिआइजेले यति चाँडै करोडभन्दा धेरै कागजातको विश्लेषण गर्न सक्यो भन्ने कुरा पनि महत्वपूर्ण बनेको छ।

पनामा पेपर्समा करिब १ करोड १५ लाख कागजात समावेश छन्। यो विकिलिक्सको केवलगेट, अफसोर लिक्स, लक्जेमबर्ग लिक्स र स्विस लिक्स सबै जोड्दा आउनेभन्दा अझ धेरै हो। डाटामा खासगरी इमेल, पिडिएफ फाइल, फोटो फाइल र मोज्याक फोन्सेकाको आन्तरिक डाटाबेसको सार समावेश छ। यसले सन् १९७० को दशकदेखि हालसम्मको अवधिलाई समेटेको छ।

यसक्रममा पत्रकारले पासपोर्टको प्रतिलिपिसहित ठूलो संख्यामा कागजातको छड्के जाँच गरेका थिए। दुई वर्षअघि, सूचनादाताले मोज्याक फोन्सेकाको आन्तरिक डाटा जर्मन अधिकारीलाई बिक्री गरेको थियो। त्यसमा धेरै पुराना र थोरै डाटा थियो जसमा केही सयको संख्यामा कम्पनीको जानकारी समावेश थियो। पनामा पेपर्सले दुई लाख १४ हजार कम्पनीको डाटा उपलब्ध गराएको छ।

डाटा सुरक्षा चिन्ता
यससँगै डाटा गोपनीयता, डाटा सुरक्षा, संगठित भएका र नभएका ठूलो संख्यामा डाटाको मात्रा लगायत सुरक्षा विषयमा पनि धेरै प्रश्न उठेका छन्। आइटी सुरक्षाबारे प्रश्नचिह्न उठेको छ।

डाटा पनामाको कानुनी फर्ममा काम गर्ने कर्मचारीले नै डाटा चुहावट गरेको प्रारम्भिक अनुमान भए पनि कम्पनीका सहसंस्थापकले यो बाहिरी ह्याक भएको बताएका छन्। मोज्याक कम्पनीको आइटी सुरक्षाको कमीबारे धेरै चर्चा भएको छ। कानुनी फर्महरुको प्राविधिक सुरक्षाको तह कमजोर भएको र यो धेरै ह्याकरको चासोको विषय भएको विज्ञले बताएका छन्।

पनामा पेपर्सका शक्तिशाली खेलाडी

पनामा पेपर्सले शक्तिशाली खेलाडीको नाम सार्वजनिक गरेको छ। यसमा विभिन्न देशका बहालवाला राष्ट्रपति, राष्ट्रप्रमुख र पूर्व राष्ट्रपति र प्रधानमन्त्री छन्। यससँगै कार्यकारी पदमा रहेका व्यक्तिका आफन्त र प्रभावशाली राजनीतिज्ञ पनि त्यो सूचीमा छन्। पनामा पेपर्सले शक्तिशाली मानेका केही खेलाडीको सूची यस्तो छ :

• अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्री

• जर्जियाका पूर्व प्रधानमन्त्री विड्जिया इभानिस्भिली

• आइसल्यान्डका प्रधानमन्त्री सिग्मुन्डर डाभियो गुनलग्सन

• इराकका पूर्व प्रधानमन्त्री अयाद अलावी

• जोर्डनका पूर्व प्रधानमन्त्री अलि अबु अल–राघेब

• कतारका पूर्व प्रधानमन्त्री हमाद विन जसिम विन जबेल अल थानी

• कतारका पूर्व अमिर हमाद विन खलिफा अल थानी

• साउदी अरबका राजा सल्मान विन अब्दुलाजिज विन अब्दुल रहमान अल साउद

• सुडानका पूर्व राष्ट्रपति अहमद अलि अल–मिर्घानी

• युएईका राष्ट्रपति, अबुधावीका अमिर खलिफा विन जायद विन सुल्तान अल नाह्यान

• युक्रेनका पूर्व प्रधानमन्त्री पल्भो लाजारेन्को

• युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्को

(एजेन्सीको सहयोगमा)

प्रकाशित: २६ चैत्र २०७२ २२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App