यो इलामको झट्ट देखिने सौन्दर्यमात्र हो। असली इलामको 'अर्गानिक स्वाद' लिन त इलामे गाउँका घरभित्रै पस्नुपर्छ। पाहुनाका रूपमा। इलामका जाँगरिला गाउँले घर–घरमा पाहुना स्वागत गर्न तम्सेका छन्, घरलाई होमस्टेका रूपमा विकास गरेर। घरमै अमेरिकी, बेलायती, जर्मन, बंगाली र नेपाली पाहुना स्वागत गर्न पाउँदा गाउँ त हौसिन्छन् नै, पाहुना पनि दंग।
यस्तै, घर–घरमा होमस्टे व्यवस्था गरिएको इलामको बालन गाउँ पुग्दा हामीलाई सहर नजिकैको बस्तीमा होमस्टे कसरी सम्भव होला र भन्ने नलागेको होइन। केही दिन अघि बालनगाउँ पुगेका हामी स्थानीयको जाँगर, उत्साह र सत्कारमा दंग पर्योभ। हाम्रो टोलीमा थिए, संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङ, इलाम उद्योग वाणिज्य संघ अध्यक्ष सुशीला सापकोटा, महासचिव विजय खाकी र जिल्लाका गन्यमान्यहरु।
हुनत, नेम्बाङले दिउँसैदेखि बालनगाउँको होमस्टेको प्रशंसा गरिरहेकै थिए। सदरमुकाममा आयोजित कार्यक्रमहरूमा उनी भन्दैथिए, 'अब म तपाइँहरूको धेरै समय लिन्नँ, बालनगाउँको लिम्बू र नेवार बस्तीमा पुगेर होमस्टेको स्वाद चाख्नुछ।' नभन्दै साँझ ४ बजेतिर लागियो बालनगाउँ। इलाम बजारबाट जीपमा करिब आधा घण्टा बाटो।
साँझको पहेंलो घाम। हामीलाई स्वागत गर्न जातीय पहिरनमा सजिएका थिए, लिम्बू र नेवार समुदायका युवती। बूढापाका र बालबालिका पनि उस्तै उत्सुक। पुग्नेबित्तिकै फूलमाला पहिर्या,एर सामुदायिक भवनमा स्वागत गरे। र, थाले ढोल र च्याब्रुङ बजाउन। करिब आधा घण्टा उनीहरूले च्याब्रुङ घन्काएर नाचेपछि पाहुनालाई पनि जोस चढेछ। जीवनमै पहिलोचोटी होला, हाम्रा साथी नवराज शंकर पनि काँधमा च्याबु्रङ भिरेर हातले बजाउँदै खुट्टालाई तालमा मिलाउन थाले। महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्राध्यापक मोहनसिंह थेवेलाई पनि उहिले जन्मगाउँ प्याङमा च्याबु्रङ बजाएर धान नाचेको याद आएछ, त्यहीबेला एककुन्द्रो मेटाइहाले। पाँचथरे लिम्बूकै छोरा नेम्बाङलाई चाहिँ अन्य कार्यक्रममा भुल्लिएकाले च्याब्रुङ बजाउने रहर भएर पनि पूरा भएन।
एकछिन यहाँको पर्यटन र होमस्टेबारे चर्चा भयो। त्यतिमात्र भएन, इलामको पर्यटन, होमस्टे, गाउँ–गाउँसम्म पुग्ने पदमार्ग निर्माणलगायतबारे नेम्बाङले धेरै अवधारणा सुनाए। 'इलाम, पाँचथरको लब्रेकुटी, छिन्टापु, सन्दकपुर, फालोट, तिम्बुङपोखरी हुँदै ताप्लेजुङ कञ्चनजंघा हिमालको फेदी पुग्ने पदमार्ग निर्माण गर्नुपर्छ,' नेम्वाङले सुझाए, 'त्यहाँ पुगेपछि यो मार्गले जुम्लाबाट सुरु हुने ग्रेट हिमालय टे्रल जोड्ने छ। अनि, पूर्वका गाउँमा पर्यटक ओइरिन्छन्।'
पर्यटन विकास गर्न सकेसम्म प्रयास भइरहेको र गरिरहने संघ अध्यक्ष सापकोटाले प्रतिबद्धता गरिन्। लिम्बूको जातीय पोसाकमै रहेकी बालनगाउँ होमस्टे अध्यक्ष बसन्त लिम्बूले भनिन्, 'खानेपानी, सडक र अरू पूर्वाधार विकास गर्न आवश्यक छ। यहाँ आउने पर्यटकलाई नजिकैको भालुढंुगा, सेतीदेवी मन्दिरलगायतसम्म पुर्यागउने सडक विस्तार गर्न सके इलामले नयाँ पर्यटन गन्तव्य विस्तार गर्न सक्छ। थप केही दिन यहाँ पर्यटक भुल्याउन सकिन्छ।'
कार्यक्रमका वक्ता करिब यत्तिमात्रै भन्न भ्याउँदै थिए, बसन्तले 'लोकल चिया–नास्ता'को अफर गरिहालिन्।। अनि, स्थानीय युवक–युवती आ–आफ्ना जातीय परिहनमा ठाँटिएर हामीलाई लोकल चिया–नास्ता दिन तयार भए। नास्तामा थियो, साँधेको गुन्द्रुक, भटमास र भुटेको मकै। सँगै थियो, नुन हालेको अर्गानिक चिया। त्यहीबेला बुद्धि खनालले सोधे, 'सेन्थेरेम छैन?' उनको मुखमा हेरेर नेवार युवती झस्किए, र भने, 'लिनुहुन्छ?' बुद्धि पनि के कम थिए र! भन्दिए, 'आज चाहिँ नखाउँ होला।' होमस्टेमा बिताएको साँझलाई रमाइलो बनाउन सघाएका बुद्धि सेन्थेरेम लिन्छन् लिँदैनन् उनै जानून् तर उनले सेन्थेरेम लिएको मैले देखेको छैन।
बालनगाउँ होमस्टे सञ्चालन गरिएको इलामको एउटा गाउँमात्र हो। यहाँ करिब २० पर्यटकलाई घर–घरमा पाहुनाका रूपमा राख्ने व्यवस्था छ। सदरमुकाम आएका कतिपय पर्यटक बजारका महँगा होटलमा बस्नु साटो बालनगाउँको होमस्टे पुग्छन्। होमस्टेमा कम मूल्यमा खान र सुत्न पाइन्छ। स्थानीय संस्कृति, वेशभूषासमेत अवलोकन गर्न पाइन्छ। इलाम बजारबाट नजिकै रहेको यो होमस्टे केही महिनाअघिमात्रै सुरु भएको हो।
पछिल्लो समय इलामका विभिन्न गाउँमा होमस्टे सञ्चालन गरिएको छ। जिल्लाका प्रायः सबै गाउँ कुनै न कुनै फरक विशेषताले पर्यटकीय छन्। यी गाउँ पुग्ने पर्यटकका लागि होमस्टे राम्रो 'सेवाकेन्द्र' बनेको छ। परिवारसँगै बसेर भलाकुसारी गर्दै स्थानीय स्वाद लिन पाउँदा पर्यटक खुब रमाउँछन्। र, गाउँ बस्ने अवधि लम्ब्याउँछन्।
इलामको पर्यटन अब चियाबारीमा मात्र सीमित छैन। उत्तरी जमुना गाउँको इङ्लासिथत चोयाटार सामुदायिक वनमा विश्वकै दुर्लभ रेडपान्डा देखिन्छ। सँगै रहेका माबु, माइझुवा र जोगमाईले पनि जंगलमा दुर्लभ रेडपान्डा देखाएर देश–विदेशका पर्यटक लोभ्याइरहेका छन्। इलाम आउने धेरैजसो पर्यटक बंगाली र नेपाली पर्यटक नै हुन्। जिल्लामै अध्यागमन कार्यालय र उनीहरूको सुविधाअनुसार पूर्वाधार नहुँदा तेस्रो मुलुकका पर्यटक भने यहाँ कमै आउँछन्।
करिब १० दिनअघि माबुको दोबाटे पुगेका युकेका पर्यटक माइल्स त्यतिबेला दंग परे, जतिबेला उनले पहिलोचोटी होमस्टेमा बस्नुपर्ने थाहा पाए। स्थानीय एक घरमा उनीसहित ६ जनालाई बास बस्ने व्यवस्था मिलाइएको थियो। लोकल आलु, तोङ्बा र बंगुरको मासु पाउँदा उनी खुसीमात्रै भएनन्, फेरि पनि आउने भए। दुर्लभ रेडपान्डा हेर्न गएका उनी र युकेकै एन्थोनी 'संस्थापक इको टि्रप'का क्रममा रेडपान्डा संरक्षक ब्रायनसहित यहाँ पुगेका थिए।
२ दिन बस्दा यहाँको जंगलमा रेडपान्डा देखेपछि वाइल्डलाइफ फोटोग्राफर उनले धेरै स्न्याप खिच्न भ्याए। रेडपान्डा नेटवर्कका सोनाम टासी लामाका अनुसार उनीहरूले यहाँबाट फर्किएर रेडपान्डा संरक्षणका लागि सहयोग गर्ने मनसाय राखेका छन्। विदेशी नागरिक ब्रायन धेरै वर्षयता जिल्लाका रेडपान्डा हुने क्षेत्रमा आइरहन्छन्। उनी नेपाली राम्रोसँग बोल्न सक्ने भएका छन्। उनी होमस्टेका रैथाने नै भएका छन्।
इङ्लाको चोयाटार सामुदायिक वन समितिले करिब छ वर्षयता गाउँमा रेडपान्डा पर्यटन र होमस्टे सुरु गरेको हो। अहिले यहाँका ६ घरमा होमस्टे सुविधा छ। यहाँ आउने पाहुनाले सय रुपैयाँमा सादा खाना पाउँछन्। २ खाट भएको कोठामा एक रात सुतेको पनि सय रुपैयाँमात्रै लाग्छ। असोजदेखि वैशाखसम्म चोयाटार वनमा रेडपान्डा हेर्न आउनेको घुइँचो लाग्छ। पर्यटकले रेडपान्डा देखेको खुसीमा वन समितिलाई 'बक्सिस्'समेत दिने गरेको अध्यक्ष मनोज तिवारीले बताए। यो वन समिति केही वर्षपहिले देशकै सर्वाेत्कृष्ट भएको थियो। सरकारले समितिलाई १ लाख रुपैयाँ पुरस्कार दिएको थियो।
जिल्लाकै समालबुङ गाउँमा पनि होमस्टे व्यवस्थित गरिएको छ। चियाबारी हेर्न, लोपोन्मुख लाप्चा समुदायको संस्कृति अवलोकन गर्न र अन्तुडाँडाबाट सूर्याेदय हेर्न आउने पर्यटक यहाँका होमस्टेमा रात बिताउँछन्। यहाँका घरमा एक रात सुतेको डेढ सय र सादा खानाको १ सय २० रुपैयाँ लाग्छ। मासु–खानाको २ सय २० रुपैयाँ। चिसो ठाउँ र सिरेटो चल्ने भएकाले गर्मी मौसममा यहाँ आउँदा पर्यटक आनन्दित हुन्छन्। अन्तु र समालबुङका ३६ घर होमस्टेका लागि दर्ता भएकामा अहिले करिब २० घरमा पर्यटकले यसको सेवा पाउँछन्।
१ घरमा ८ देखि ३० जनासम्म अटाउने नेपाल होमस्टे एसोसिएसनका केन्द्रीय सदस्य धनकुमार आले बताउँछन्। उनी भन्छन्, 'यहाँ झापा, मोरङ, सुनसरीलगायत नेपालका विभिन्न जिल्ला अनि भारत पश्चिम बंगालका पर्यटक आइरहेका छन्। पहिलेभन्दा अहिले पर्यटकको संख्या निकै बढेको छ।' अन्य मनमोहक दृश्यावलोकनका साथे होमस्टेमा रमाउन इलामका गाउँ–गाउँ पर्यटकले खचाखच हुने गरेको उनले सुनाए।
जेठदेखि भदौसम्म चियामा बैंस पलाउँछ। चियाका झुरुप्प मुनाले इलामका डाँडापाखा हरियै देखिन्छन्। चिया प्रशोधनको समय पनि यही हो। झापाबाट नागबेली मेची राजमार्गको उकालो चढेपछि सुर हुन्छ चिसो बतास। कोलबुङदेखि कन्याम, फिक्कल, गोदकसम्म आइपुग्दा चियाको मगमग बासना चल्छ। असोजदेखि पुससम्म र चैतदेखि वैशाखसम्म चाहिँ झुल्केघामको सिजन। अन्तुडाँडा, सन्दकपुर, माइपोखरी, कन्याम, जौबारीलगायत स्थानमा पर्यटक ओइरो लाग्छन्।
यहाँ आउने पाहुनाका लागि होटल पर्याप्त नहुँदा घर–घरमा बनाइएका होमस्टेले बजार पाएका छन्। पाहुनालाई घरमा जे पाक्छ त्यही दिइन्छ। पाहुनाले चाहेअनुसारका खाना पनि स्थानीयले उपलब्ध गराइदिन्छन्। चिया टिपेको, प्रशोधन गरेको, गाई दुहेको, डेरीमा दूध पेलेकोजस्ता काम हेर्न पैसा तिर्नु पर्दैन। प्रायः पर्यटकीय क्षेत्रका घरका कोठाले बिहान उठ्नेबित्तिकै पाहुनालाई झ्यालैबाट सूर्याेदय र पहेंलपुर हिमाल देखाउन कञ्जुस्याइँ गर्दैनन्।
अहिले इलाम नगरपालिकाको बालनगाउँ, बरबोटे, श्रीअन्तु, समालबुङ र फिक्कलमा पर्यटन कार्यालयमा दर्ता गरेरै होमस्टे सञ्चालन भइरहेको छ। यिनीहरू होमस्टे सञ्चालन कार्यविधिअनुसार मापदण्ड पुर्यामएरै सञ्चालनमा रहेको झापा काँकडभिट्टास्थित मेची पर्यटन कार्यालयले जनाएको छ।
पर्यटन क्षेत्रको प्रतिफल गाउँमा पुर्यालउने, गाउँका नागरिकलाई पर्यटन क्षेत्रमा सहभागी गराउने, ग्रामीण क्षेत्रको आयस्रोत वृद्धि गर्नेलगायत लक्ष्यसहित सरकारले पनि होमस्टे विस्तार गरिहेको छ। गाउँलेलाई स्वरोजगार बन्न सघाउने, स्थानीय संस्कृतिबारे जानकारी गराउने र सहरभन्दा सहज वातावरणमा पर्यटकलाई राख्न सहयोग गर्ने ग्रामीण होमस्टे पर्यटनका लागि सरकारले २०६७ सालमा कार्यविधि ल्याएको थियो।
अहिले इलामका इङ्ला, गोर्खेको थुम्की र माबुको दोबाटेमा सामुदायिक होमस्टे सञ्चालनका लागि दर्ता प्रक्रिया चलिरहेको मेची पहाडी पर्यटन प्रवर्धन समितिका कार्यकारी निर्देशक केशव धौरालीले बताए। उनले भने, 'जिल्लाका विभिन्न गाउँमा होमस्टे सञ्चालकका लागि तालिम दिएका छौं। उनीहरूलाई होमस्टेको मापदण्ड र पाहुनालाई गर्नुपर्ने सत्कारबारे जानकारी गराइएको छ।' उनले इलामका बाँझोस्थित किराँत धार्मिकस्थल लारुम्बा, माइमझुवा, जमुना, जौबारी, नयाँबजार, सिद्धिथुम्का र रक्सेलगायत स्थानमा पनि होमस्टेको सम्भावना रहेको बताए। कार्यविधिअनुसार होमस्टेमा दर्ता हुन घर, सुत्ने कोठा, शैया, शौचालय, स्नानघर, भान्छाकोठा, खाना खाने व्यवस्था, स्वास्थ्य, सरसफाइ तथा सुरक्षामा निश्चित मापदण्ड पूरा गर्नुपर्छ।
प्रकाशित: ५ चैत्र २०७२ २१:४८ शुक्रबार





