७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

अपराध अभिलेख खोज्न सबै जिल्लामा पत्र

काठमाडौं- एमाओवादी सभासद् ल्हारक्याल लामाको आपराधिक पृष्ठभूमि र घटनाबारे जानकारी गराउन महानगरीय प्रहरीले सबै जिल्ला प्रहरी कार्यालयहरूलाई पत्र पठाएको छ। बैंक लकरमा गोली फेला परेपछि अनुसन्धानमा तानिएका लामाको अन्य अपराधमा समेत संलग्नता हुनसक्ने देखिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार सबै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको हो।

लामाको बैंक लकरमा १४ राउन्ड गोली फेला परे पनि प्रहरीले सो गोली प्रयोग हुने हतियार भने फेला पार्न सकेको छैन। प्रारम्भिक बयानमा लामाले ती गोली परिचित एक भारतीयले दिएको दाबी गरे पनि उनले भनेका ती व्यक्ति फेला नपरेपछि प्रहरी उनका अन्य आपराधिक गतिविधिको अनुसन्धानमा केन्द्रित भएको हो। परिसरले बुधबार 'लामाविरुद्ध कुनै उजुरी छ या छैन सोको जानकारी माग' गर्दै जिल्ला प्रहरी कार्यालयहरूलाई पत्र पठाएको हो।

अवैध गोलीको अनुसन्धानमा प्रहरी हिरासतमा रहेका उनी वैदेशिक रोजगार विभागको सूचीमा ठगीका फरारसमेत हुन्। परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीका अनुसार लामाको पृष्ठभूमि र सक्रियता हेर्दा अन्य जिल्लामा समेत उनीविरुद्ध उजुरी हुनसक्ने देखिएपछि सबै प्रहरी कार्यालयसँग जानकारी माग गर्दै पत्र पठाइएको हो।

'उनको पक्राउपछि वैदेशिक रोजगारी ठगीमा फरार भन्ने खुल्यो, उनी यो मुद्दामा छुटेको अवस्थामा वैदेशिक रोजगारसँग समन्वय गरेर बुझाउँछौँ,' कार्कीले भने, 'योसँगै उनीविरुद्ध अन्य जिल्लामा समेत उजुरी हुनसक्ने देखिएपछि सबैतिर पत्र पठाएर अनुसन्धान अगाडि बढाइरहेका छौँ।'

लामा स्वतन्त्र तिब्बत अभियानसँगै जडिबुटीको अवैध कारोबार र विभिन्न नाममा एकभन्दा बढी नागरिकता र अन्य मुलुकको समेत राहदानी लिएको विवादमा मुछिएका थिए। उनले भारतबाट समेत राहदानी लिएको, नेपालकै विभिन्न जिल्लाबाट भिन्न–भिन्न नाममा नागरिकता लिएको र तिब्बती शरणार्थीसम्बन्धी परिचयपत्रसमेत लिएको सार्वजनिक भएपछि सरकारले उनको विषयमा छानबिन गर्न न्यायिक आयोग गठन गरेको थियो।

चार वर्षअघि गठन भएको सो आयोगले अनुसन्धानपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा न उनलाई दोषी ठहर गरियो न आरोपबाट सफाइ नै दिइयो। स्रोतका अनुसार प्रहरीले पछिल्लो समय उनको नागरिकता विषयबारे फेरि अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।

एसपी कार्कीले गोलीबाहेक प्रहरी उनको अन्य कुनकुन पाटोको अनुसन्धानमा केन्द्रित भएको छ भन्ने खुलाउन चाहेनन्। उनले 'सबै पाटो अनुसन्धानको दायरामा रहेको' मात्र बताए। विश्वस्तस्रोतका अनुसार प्रहरीले उनको नागरिकताको विषयलाई पुनः अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय सुरु गरेको छ।

के थियो विवाद
२०६८ सालमा झलनाथ खनालको मन्त्रिमन्डलमा अर्थराज्यमन्त्री नियुक्त भएसँगै लामा भिन्न–भिन्न नाममा नागरिकता र भारतबाट समेत राहदानी लिएको विवादमा तानिएका थिए। विवाद बढ्दै गएपछि सरकारले उनलाई राजीनामा गराएर भोलाप्रसाद खरेललको अध्यक्षतामा छानबिन आयोग गठन गरेको थियो।

लामामाथि काठमाडौंं महानगरपालिकाका– ६ बौद्ध ठेगाना राखी सन् २००० मा मिस्टर वाङचुक रिम्पोछेको नाममा नेपाली राहदानी (नम्बर ११२१५८८ ) लिएको, सन् १९९८ मा गुवाहाटी कुलिगल भारत ठेगाना राखी खेम्पो छिमे छिरिङको नाममा राहदानी (नम्बर ए२१२९८१२) लिएको, त्यसैगरी सन् १९६९ मा लामा छिमे छिरिङ नामबाट तिब्बती शरणार्थी परिचयपत्र लिएको आरोप लागेको थियो।

आयोगले सबै विषयमा जाँचबुझ गरेर सरकारलाई प्रतिवेदन बुझायो। जसमा सिन्धुपाल्चोकबाट जारी राहदानी र नागरिकताको विषय मात्रै समेटियो। लामाका नाममा काठमाडौंबाट फरक नाममा जारी राहदानीको विवरण फेलानपरेको, सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौं, ललितपुर र दोलखाबाहेक अन्य जिल्लाबाट जबाफ नआएको, परराष्ट्र मन्त्रालयबाटै अनुसन्धानमा असहयोग भएको र भारतीय राहदानी र तिब्बती शरणार्थी परिचयपत्रबारे कुनै जानकारी नआएको भन्दै आयोगले अपूरो प्रतिवेदन बुझाएको थियो।

प्रकाशित: ३ चैत्र २०७२ २०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App