पक्राउ पर्नेमा त्रिनपा ११ जलजले बस्ने ३९ वर्षीय टीकाप्रसाद आचार्य, त्रिनपा १० देउरी बस्ने बब्लु भन्ने ३४ वर्षीय प्रेम दोर्जे शेर्पा र सोही ठाउँका ३७ वर्षीय अरविन्द बोगटी छन् । जिल्ला प्रहरी कार्यालयले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। त्रिनपा ८ बगाहाकै बिबेक थापा भने फरार सूचीमा रहेको जानकारी प्रहरीले दिएको छ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले परिसरभित्र रहेको बैंकमा रात्रि सुरक्षा गार्ड रहेका त्रिनपा ८ बगाहाका ५१ वर्षीय बानियाको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर विभत्स हत्या भएको थियो। खुकरीले घाँटी रेटेर हत्या गरी खुकुरी त्यहीँ छाडेर फरार रहेका हत्याराको खोजी जारी राख्ने क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए। घट्नालगत्तै फरार रहेका अभियुक्तहरु कोही विदेश जाने प्रक्रियामा रहेको तथा कोही सामान्य व्यापार व्यवसाय गर्ने गरेको अवस्थामा पक्राउ परेको एसपी केसीले बताए।
घट्नालगत्तै केन्द्रीय अनुसन्धान टोली ल्याएर तालिम प्राप्त कुकुरको सहयोगबाट अनुसन्धान गर्दासम्म अपराधी पत्ता लाग्न नसकेकोमा घटना सेलाईसकेको अवस्थामा उनीहरु पक्राउ पर्न सफल भएको प्रहरीको दावी छ। 'त्यतिखेर पनि अपराधी पत्ता लगाउन गतिलो कसरत गरिएकै हो,' पत्रकार सम्मेलनमा केसीले भने, 'तर, सबै अभियुक्त फरार थिए। अहिले घटना सेलाइसकेको बेला पक्राउ गर्न प्रहरी सफल भएको छ।'
स्थानीयसँगको सोधपुछ, घट्नाको प्रकृति र वैज्ञानिक अनुसन्धान विधिबाट फरार अभियुक्त पक्राउ परेको प्रहरी भनाई छ ।
केहीदिनअघि नै पक्राउ परेका उनीहरुलाई आवश्यक सोधपुछ गर्दा अपराध स्वीकारेपछि प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर रानाले बताए। उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान थालिएको डिएसपी रानाले बताएका छन्।
प्रकाशित: २ चैत्र २०७२ ०६:३४ मंगलबार





