
कुनै समय खुला डान्सपार्टी धेरै हुने धरानमा केही समययता त्यस्ता पार्टीको संख्या घटेको छ । तर, त्यसको ठाउँ धमाधम खुल्दै गएका नाइट क्लबहरूले लिदैछन् । धरानमा काठमाडौँ वा पोखराजस्तो बाह्य पर्यटकको चाप छैन । त्यसैले पनि पहिला नाइट कल्चर फस्टाएको थिएन । तर, पछिल्लो समय देशविदेश घुमेका धरानेहरू नै नाइट कल्चरको खोजीमा लागेपछि धमाधम क्लब, बार, दोहोरी खुल्न थालेका छन् । पहिला नाइट कल्चर फस्टाउने आशामा खुलेका केही क्लब र दोहोरी देशको राजनीतिक कारण चल्न नसकेर बन्द भएका थिए । तर, देश शान्ति मार्गमा लागेपछि अहिले धमाधम क्लब, डान्स बार, दोहोरी साँझ, नाइट रेस्टुरेन्ट खुल्न थालेका छन् अनि त्यहाँ युवायुवतीको चाप पनि बढ्दो छ ।
धरानमा हालै खुलेको क्लब डोमले हरेक साता युवायुवतीलाई नचाउन कार्यक्रम आयोजना गर्दै आएको छ । डिजे डबल बीले सञ्चालनमा ल्याएको यो क्लबले पछिल्लो समय युवायुवतीलाई लक्षित गर्दै हरेक हप्ता पार्टी गर्ने गरेको छ भने केही वर्षअघिदेखि डिजे ललितले सञ्चालन गरिरहेको क्लबमा पनि युवायुवतीको पार्टी जम्ने गरेको छ । धराने युवापुस्ताबीच नाइट कल्चरको माग बढिरहेको बेला धरानमा केही समयअघि डान्सबार खुलेको छ । धरान ९मा खुलेको डान्सबारमा पनि युवायुवतीको राम्रै उपस्थिति देखिन्छ । धरान ९मै खुलेको दोहोरी साँझमा पनि नाच्ने गाउनेको हरेक रात भीड लाग्छ भने ब्यान्डहरूको लाइभ प्रस्तुति हुने मालिङ्गोलगायत रेस्टुरेन्टमा पनि संगीतप्रेमीको बाक्लै भीड लाग्छ । धरानको नाइट कल्चर विकास गर्न सक्रिय डिजे डबल बी धरानमा बल्ल नाइट कल्चरको महत्व युवापुस्ताले बुझ्न थालेको बताउँछन् । भन्छन्, 'अहिलेको पुस्ता नाइट लाइ्फमा रमाउन चाहन्छ । अब धरानका लागि पहिलाजस्तो समय छैन ।'

लामो समयदेखि नाइट क्लब चलाउँदै आएका ललित राईको अनुभवमा सुरुका दिनमा नाइट कल्चरप्रति समाजको पनि खासै सहयोग थिएन । प्रहरी प्रशासनले पनि गलत नजरले मात्र हेर्ने ग¥थ्यो । तर, अहिले दिनभरिको थकान मेटाउन पनि नाइट कल्चरमा रमाउन चाहन्छ शहरिया युवापुस्ता । ललित भन्छन्, 'पहिलाभन्दा समाजले पनि नाइट लाइफको महत्व बुझ्न थालेको छ । युवापुस्ताले समाजलाई गलत असर नपर्ने हिसाबले अगाडि बढाए नाइट कल्चरले व्यावसायिक रूप लिन सक्छ । यसले युवापुस्तालाई रमाउन सहज हुन्छ ।'
प्रकाशित: २२ फाल्गुन २०७२ ००:४२ शनिबार





