५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

यस्तो होस् कांग्रेस

नेपाली कांग्रेसको १३ औँ महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा चल्दै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । देशभर तथा शुभेच्छुक संगठनबाट समेत गरी ३ हजार १ सय ८८ जना प्रतिनिधिले निर्वाचनमा भाग लिँदै छन्। व्यक्तिवाद हाबी हुने गरेको भनिएको कांग्रेसमा यसपटकको महाधिवेशनले विचार र सिद्धान्तका आधारमा नेतृत्व चयन गर्ने आशा धेरैको छ । देशकै पुरानो र ठूलो पार्टीको महाधिवेशन भएकाले पनि यसले चुन्ने नेतृत्व कस्तो होला ?यो सबैको चासोको विषय बनेको छ । केन्द्रीय समितिको जिम्मेवार पदमा युवाहरूको संख्या बढ्ने अपेक्षासमेत भइरहेको छ । कम्तीमा तीनवटा प्यानल बनाएर चुनाव लड्ने तयारी नेताहरूले गरिरहेका छन् । रामचन्द्र पौडेल नेतृत्वको संस्थापनबाट असन्तुष्ट हुँदै कृष्ण सिटौलाले गगन थापाको साथ लिएर छुट्टै प्यानल बनाएका छन् । गिरिजापुत्री सुजाता कोइराला पनि सभापतिको दौडमा छिन् । यसै सन्दर्भमा कांग्रेस अब कस्तो बन्नुपर्छ ? भन्ने सवालमा केही राजनीतिक विश्लेषकले शुक्रवारमार्फत आफ्ना विचार यसरी प्रस्तुत गरेका छन् ।


सनातनी मान्यता त्यागोस्

प्रा. कृष्ण खनाल
पार्टीहरूको अधिवेशन भनेको आन्तरिक कुरामात्र होइन । नेता वा कार्यकर्ताका लागि पो 'रेगुलर बिजनेस' मात्र होला । तर, जनताका लागि त व्यापक सरोकारको विषय हो । यसले हरेकलाई कुनै न कुनै ढंगले प्रभावित गर्छ । यहाँका कुनै पनि पार्टीले आफ्नो 'पब्लिक फेस'का बारे चिन्ता गर्दैनन् । यस्तो पब्लिक फेसको चिन्ता गर्ने अभ्यास कांग्रेसले सुरु गर्न सक्नुपथ्र्यो ।

पब्लिक फेस भनेको त्यो पार्टी र त्यसले बोक्ने विचारप्रति आम जनताको बुझाइ हो । जस्तोः कांग्रेस पार्टीलाई जनताले कुन रूपमा बुझेका छन् ? लोकतन्त्रलाई कसरी लिएका छन् ? पार्टीलाई जनताको सुझाव के छ ? अब कसरी अगाडि बढोस् भन्ने चाहन्छन् ? यस्तै कुराको चिन्ता महŒवपूर्ण मुद्दा बन्नुपथ्र्यो । तर, यहाँ त कसको उतराधिकारी को ? भन्ने फगत घोषणाबाजीमात्र चल्ने गर्छन् । पार्टीहरूलाई जनता र राज्यसत्ताबीचको पुल भन्ने गरिन्छ । तर, म पार्टीहरूलाई पुल मात्र नभएर जनताको भाग्य र भविष्य बोक्ने 'ह्विल' अर्थात् चक्काको रूपमा बुझ्छु । यस्तो महŒवपूर्ण अंगको सञ्चालन चुस्त होओस् भन्ने चाहना कसको हुँदैन ?

यसपटक कांग्रेसका लागि नयाँ इतिहास रच्ने अवसर जुटेको छ । यो अधिवेशनले पारिवारिक विरासतबाट स्वतन्त्र पार्टी संगठन र नेतृत्व निर्माण गर्दै छ । परिवारको नाम जपेर पार्टी र सत्तामा हाबी हुने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने आम अपेक्षाअनुसार पार्टी अघि बढ्न खोज्दै छ । यसको सन्देश हो– अब व्यक्तिभन्दा नीतिमा आधारित भएर पार्टीहरू चल्नुपर्छ । यसो भए मात्र जनताले पार्टीप्रति साँच्चैको अपनत्व महसुस गर्नेछन् ।

यहाँ संस्थापन र गैरसंस्थापन भन्ने शब्दावलीको प्रयोग गलत ढंगले भइरहेको छ । नेतृत्वमा जित्ने पक्ष संस्थापन ठानिन्छ । हार्ने गैरसंस्थापन । यो सरासर गलत अभ्यास र प्रयोग हो । समग्र पार्टी नै संस्थापन पक्ष हो । यसमा हार्ने जित्ने सबै अट्छन् । गुट, उपगुट, फरक विचार, दृष्टिकोण सबै हुन्छन् । पार्टी व्यवस्थापनका लागि विभिन्न समूहबीच लेनदेन वा भागबण्डा पनि हुन सक्छ । तर, कुरा नमिल्दैमा पार्टीबाट अलग भइहाल्ने भन्ने हुँदैन । पार्टीभित्रै संघर्ष चल्नु स्वाभाविक हुन्छ । पार्टी फुटेपछि मात्र संस्थापन र गैरसंस्थापन भन्नुपर्छ । कांग्रेस दुई पार्टी हुँदा एउटा संस्थापन थियो । अर्को छुट्टै पक्ष । एमाओवादी संस्थापन हो । अलग भएर गएका समूहहरू गैरसंस्थापन । अब कांग्रेसको नयाँ नेतृत्वले यो गलत बुझाइलाई तोड्न सक्नुपर्छ । ६०–४० को गलत अभ्यासलाई त्याग्न सक्नुपर्छ । हुन त तलैबाट संस्थापन र गैरसंस्थापन भन्दै चुनाव सम्पन्न हुँदै छ । हरेक प्रतिनिधि व्यक्तिकेन्द्रित मानसिकता बोकेर महाधिवेशनसम्म आइपुगेका छन् । त्यसैले कांग्रेसले अहिले नै स्वस्थ पार्टी परम्परा बसाउने अभ्यासको थालनी गरिहाल्ला भन्न सकिन्न । यद्यपि, सनातनी मान्यता त्याग्न सक्ने, बदलिँदो समयको चुनौती सामना गर्न सक्ने, नीतिमा अलग पहिचान दिन सक्ने, पार्टीभित्र मात्र नभएर समग्र राजनीतिमै उदाहरण बन्न सक्ने नेतृत्वको चाहना धेरैमा छ ।

यो बेलासम्म आइपुग्दा कांग्रेसको नेतृत्व दाबी गर्नेहरूले स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम बनाउन नसक्नु ठूलो कमजोरी हो । केही युवा नेताहरूले सार्वजनिक गरेका अपिलहरू पनि अपेक्षाकृत भएनन् । पार्टीहरूभित्र राजनीतिक शुद्धता अहिलेको खाँचो हो । यसका लागि युवाहरूले नै पार्टीहरूभित्र संघर्ष चलाउनुपथ्र्यो । यस्तो अपरिहार्य आवश्यकता बिर्सन लाग्ने हो भने युवा भनिएका नेताहरूबाट पनि जनताले के अपेक्षा गर्ने ? जोखिम मोल्ने आँट र क्षमता नहुनेहरूबाट सबल नेतृत्व आश नगर्दा हुन्छ । चुनौतीसँग भाग्ने र वैचारिक आधारमा भन्दा कुनै व्यक्तिकै आडमा राजनीतिमा टिक्ने मानसिकता बोक्ने उही पुरानै शैलीको व्यक्तिलाई युवा नेताको सम्मान दिन जनता तयार छैनन् ।

आदर्श लोकतान्त्रिक पार्टी बनोस्

अच्युत वाग्ले
अब कांग्रेसले आदर्श लोकतान्त्रिक पार्टीको आकार ग्रहण गर्नुपर्छ । यसका लागि आवश्यक केही अवयव यस्ता छन् ।

पहिलो, आन्तरिक लोकतन्त्र सुदृढ हुनुप¥यो । लोकतन्त्रका लागि दशकौँ लडेको पार्टीभित्र नै अलोकतान्त्रिक वा सामन्ती शैली कायम रह्यो भने त्यसले पार्टीको मात्र नभएर देशकै हित गर्दैन । देखाउनका लागि मात्र वा बाध्यताले गरिने वा कर्मकाण्डी चुनाव हुनु हुँदैन । भोट हाल्नुमात्र चुनाव होइन । अभिमतको आधारमा मत विभाजन हुनुपर्छ । स्थानीय तहदेखिका समग्र समस्या समाधान गर्न सक्ने क्षमता भएको नेता आत्मनिर्णयका साथ चुन्न पाउनुपर्छ । परिवर्तित राज्यको संरचनालाई सुहाउँदो नेतृत्व कोबाट सम्भव छ ? हरेक कार्यकर्ताले यसको निर्णय गर्ने अधिकार राख्छ ।

अर्को, पुरातनवादी सोचमा परिमार्जन आवश्यक छ । बीपीले कल्पना गरेको समाजवाद अहिलेको युगमा कत्तिको सान्दर्भिक छ ? २०४८ सालको आठौँ महाधिवेशनबाटै असान्दर्भिक बनिसकेको राज्य नियन्त्रित उत्पादन–वितरण प्रणालीयुक्त समाजवादी रूढाग्रहलाई अहिलेसम्म नेताहरूले किन रटान लाइरहेका छन् ? कार्यकर्ताले प्रश्न गर्न पाउनुपर्छ । अहिलेको समयका लागि पूरै अमूर्त बनिसकेको यो समाजवादी सिद्धान्तलाई सैद्धान्तिक प्रस्ट्याइँका साथ समयानुकूल परिमार्जन गर्न सार्थक बहस आवश्यक छ ।

विश्व कहाँबाट कहाँ पुगिसक्यो । चर्को प्रतिस्पर्धाको बेला छ । नेताहरूले आधुनिक परिवर्तित विश्व परिवेशअनुसार आफूलाई प्रशिक्षित गर्नुको साटो अझै पनि कर्मकाण्डी समाजवादको अवसानमाथि व्यर्थ रोइकराइमात्र गरिरहेका छन् । बीपीलाई सम्मान गर्ने आडम्बरले पार्टीलाई रूढाग्रही बनाइरहनु उसकै लागि अहित हुनेछ । युगसापेक्ष आर्थिक उन्नतिको बाटोमा लम्किन सक्ने नेतृत्व चुनिनुपर्छ । पुरानो र ठूलो पार्टी कांग्रेसले नै अग्रगामी आर्थिक दृष्टिकोण निर्माण नगरी मुलुकको आर्थिक रूपान्तरण सम्भव छैन ।

अहिलेको ६० प्रतिशत प्रतिनिधि २०४६ साल नदेखेको वा नभोगेको पुस्ता हो । यसले पार्टी संगठन र नेता कार्यकर्ताको सम्बन्धमा ताŒिवक फेरबदल ल्याउनेछ । किनभने, यो पुस्ता आदर्शवादीभन्दा पनि पूर्णतः उपभोक्तावादी संस्कृतिमा हुर्केको छ । उनीहरूका लागि नेता बन्न पाको हुनैपर्ने वा जेलनेल खानैपर्ने भन्ने हुँदैन । जेलनेल खाएका वा पार्टीलाई यहाँ पु¥याउन जवानी खर्चेका नेताहरूले त्यसको मूल्य लिइसकेको हुनाले अब सम्मानस्वरूप पद सुम्पिन आवश्यक ठान्दैनन् युवाहरू । उनीहरू त पुरानो शैलीको गन्थने र कर्मकाण्डी नेतृत्वभन्दा आधुनिक व्यावहारिक चिन्तन एवं रूपान्तरणको पक्षमा उभिने प्रकृतिको नेतृत्व चुन्न अग्रसर देखिन्छन् । त्यसैले यो बेला नेतृत्वका लागि कस्तो चरित्र आवश्यक भन्ने मानक बन्नुपर्छ । चारित्रिक शुद्धता वा सैद्धान्तिक प्रस्टता वा लाभहानिको आकलन गर्ने ? कस्तो खाले नेताले नेतृत्व गर्ने ? मानक बने पार्टी चलायमान बन्नेछ ।

राज्य पुनर्संरचनाको बेला जति आन्दोलन चर्किरहेका छन्, ती सबैको नेतृत्व गर्ने नेताहरू कांग्रेसकै उत्पादन हुन् । उनीहरू अन्त कतैबाट उचालेर ल्याइएका नेता होइनन् । यिनै नेताहरूमध्ये केहीबाट राष्ट्र विखण्डनको समेत स्वर सुनिन्छ । यो तनावलाई कांग्रेसले व्यवस्थापन गर्न वा सम्हाल्न किन सकेन ? समावेशी राजनीतिको मियो बन्न सक्ने अवसरबाट कांग्रेस किन चुक्यो ? ती नेताहरू पार्टीभित्रै रहन किन सकेनन् ? वा, पार्टी बाहिर रहँदा पनि किन सम्हाल्न सकिएन ? यसको स्पष्ट जवाफ चाहिन्छ ।

आश गरिएका भनिएका युवा नेताको कुरा गरौँ । राज्यसत्ता उपभोग गर्दै चाँडो नाफा कमाउने भित्री उद्देश्यसाथ लागेका हुन् भने राजनीतिमा उनीहरूको भूमिका खुम्च्याउनु नै उचित हुन्छ । यदि पार्टीको माध्यमबाट सेवाभावले जनताको मनमा बस्न नयाँ सोचका साथ लागेका छन् भने उनीहरूलाई विपरीत विचार बोक्नेहरूले समेत साथ दिँदा सबैको भलाइ हुनेछ । व्यक्तिभन्दा नीति केन्द्रित हुनुपर्छ भनेजस्तो उमेरमात्र भन्दा विचार, प्रवृत्ति र गतिविधि हेरेर उसको युवापनलाई मापन गर्नुपर्छ । आफ्नो अपिल सार्वजनिक गरिरसकेका युवा नेताहरू जनताको अपेक्षाअनुसार प्रस्तुत हुन सकेनन् । मुलुकको संकटोन्मुख राष्ट्रियता, धराशायी बनेको अर्थतन्त्र, नयाँ संविधान कार्यान्वयन, संघीयतालाई अन्तिम रूप दिने चुनौतीलगायत मुद्दामा केन्द्रित भएर भविष्यका लागि मार्गदर्शन गर्नुको साटो आश गरिएका ती युवा नेताहरू किनारकिनारै उम्किन खोजेको देखियो । हुन त यस्ता मुद्दामा नेतृत्व दाबी गर्ने वरिष्ठ भनिएकै नेताहरू स्पष्ट छैनन् । उनीहरू आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने गरी दृष्टिकोण बनाउनै चुकेका देखिन्छन् ।

आफूलाई सुधार्ने कल्चर थालोस्

राजेन्द्र महर्जन
अधिवेशन गर्नु भनेको नेता परिवर्तन हुनुमात्र होइन । पहिलेको भन्दा सुधारिएको नीति अवलम्बन गर्दै त्यसैअनुरूप पार्टी हाँक्न सक्ने नेतृत्व चयन गर्नुपर्छ । यहाँ त नेतृत्वमा कुन व्यक्ति आउने भन्ने मात्र चिन्ता गरिन्छ । प्रवृत्तिको चिन्ता गरेको भए पार्टीहरू व्यक्तिवादी मानसिकताबाट ग्रसित भइरहने थिएनन् । त्यसैले कांग्रेसले यो समयलाई चिनेर पार्टीको सिद्धान्त तय गर्नतिर लाग्नुपर्छ । बीपीको प्रजातान्त्रिक समाजवाद भाषणमा मात्र सीमित हुनु हुँदैन । यसलाई कसरी समयसापेक्ष ढंगले कार्यान्वयन गर्न सकिन्छ ? बहस छेड्नुपर्छ ।

आफ्नै पार्टी व्यवस्थापन गर्न नसक्ने नेतृत्वले आम जनताको मर्म बुझ्ने क्षमता राख्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । नेपालका पार्टीहरूमा देखिएको समस्यै यही हो । आफ्नै पार्टी पंक्तिको मनमा बस्न नसकेको नेतृत्वले समग्र देशवासीको मन जित्न सक्ला भन्ने कल्पना नगर्दा हुन्छ । पार्टीहरू आफूले आफैँलाई शुद्धीकरणको चिन्ता कहिले गर्लान् ? राजनीतिक शुद्धीकरण भाषण गरेर हुने होइन । आफूले आफैँलाई सुधार्ने 'कल्चर'को विकास गर्न पुरानो र ठूलो पार्टीबाटै सुरुवात हुनुपर्छ । फेरि आफ्नो गुटका कार्यकर्ताको मात्र चित्त बुझाउँदैमा आफू सफल राजनीतिज्ञ भएको दाबी नगर्दा हुन्छ । आफ्नाको चित्त त जसले पनि बुझाउन सक्छ । अर्को गुट वा अर्को विचार वा कार्यकर्ताबाहेक आम जनताको मन जित्न सक्नु पो राजनीतिक सफलता हो ।

नयाँ सोचका साथ अघि बढ्दै गरेका देखिएका युवा नेताहरू पनि अहिले व्यक्तिकेन्द्रित राजनीतिकै भासमा फसेका छन् । उहिले गणतन्त्रको बहस छेड्दा झण्डै पार्टीबाट निष्कासित भएका गगन थापाहरू अहिले मौनजस्तै देखिन्छन् । उनीहरू त अहिलेको समयमा पार्टीमा हाबी हुनुपर्ने बेला हो । तर, जसरी कांग्रेस पार्टी अन्य पार्टीहरूबाट घिसारिँदै छ, त्यसै गरी गगन थापाहरू सनातनी मानसिकता बोकेकै वरिष्ठहरूको नियन्त्रणमा लतारिँदै छन् । युवाहरूले जनताको अपेक्षाअनुसार अघि बढ्न सकेनन् भने कांग्रेसमा अब पनि नयाँपन आउला भन्ने नसोच्दा हुन्छ ।

नेताहरूको नियत नै व्यक्तिकेन्द्रित छ । आफैँवरिपरि घुमिरहनेहरूलाई मात्र पालनपोषण गर्ने चिन्ता हुन्छ उनीहरूलाई । फराकिलो नीति लिएर समाजमुखी बन्न उनीहरू तयार छैनन् । कांग्रेसभित्र 'दाइ' भनेर सम्बोधन गर्ने एउटा परम्परा छ । यसले सम्मान वा सम्बन्धको न्यानोपनमात्र संकेत गर्दैन । यसभित्र लोभलालच व्याप्त छ । 'दाइ'भित्र लेनदेनको लालसा लुकेको हुन्छ । यही लालसाले नेताहरूलाई लोभी बनाउँछ । पार्टी वा जनताको चिन्ताभन्दा आफ्नै सर्कलको चिन्ता गर्न उत्प्रेरित गर्छ । दाइभित्र लुकेको लालसा अन्त्य नभएसम्म राजनीति सेवामुखी बन्न सक्दैन । यो सबै भन्नुको मतलब व्यक्तिवादी मानसिकताको चंगुलमा कांग्रेस यसरी फसेको छ कि उसले चाहेर पनि सहजै यसको भासबाट उम्कन मुस्किल छ । सबैले आश गरेका युवा नेताहरूले ठूलै जोखिम मोलेर सैद्धान्तिक बहस थाल्नसके मात्र व्यक्ति केन्द्रित राजनीतिबाट पार पाउन सकिएला ।

व्यक्तिवादी खिचातानीको अन्त्य होस्

विनोद सिजापती
कांग्रेस हरेक कांग्रेसजनको पार्टी बनोस् । कोही व्यक्तिको मात्र वा कुनै समूहको मात्र पार्टी बनिरह्यो भने बदलिँदो जुगले कांग्रेसलाई स्विकार्न मुश्किल छ । जसले जितोस्, कार्यकर्ता, शुभेच्छुकहरूले पार्टीलाई एक ढिक्का भएको महसुस गर्न सक्नुपर्छ ।

कांग्रेसमा ४६ सालपछि संस्थापन र गैरसंस्थापन भन्ने गलत अभ्यास उग्र बनेको देखिन्छ । यसले पार्टी एउटै हुँदा पनि भावनात्मक एकता छैन भन्ने बुझाउँछ । सैद्धान्तिक आधारमा आन्तरिक वा बाह्य प्रतिस्पर्धा हुनु लोकतन्त्रको मिठास हो । तर, व्यक्तिवादी खिचातानी अहिलेको समयले रुचाउँदैन । यसको अन्त्य हुनु पहिलो आवश्यता हो । फलानो र ढिस्कानोको उत्तराधिकारी भन्दै जसरी नेताहरू प्रस्तुत भइरहेका छन्, यो लोकतान्त्रिक पार्टीका लागि लज्जा हो । कोही भन्दै छन्, मलाई फलानोले उठ् भन्यो ! यो जस्तो जोक त राजनीतिमा अरू के हुन सक्छ ? 'यी एजेन्डाका कारण मेरो यो पदमा दाबी रह्यो' भन्न कसैले सकेका छैनन् ।

भाषण बीपीको समाजवादको गर्छन् । अनि आफू चाहिँ घोर पुँजीवादी अभ्यासमा लिप्त रहने दोहोरो चरित्रबाट मुक्त हुन सकेनन् भने कांग्रेसका नेताहरू अहिले मात्र होइन, कहिल्यै पनि जनताको प्यारो बन्न सक्ने छैनन् । बरु बीपीको सिद्धान्तलाई युगले रुचाउने गरी परिमार्जन गरेर त्यसै अनुरूप उनीहरू हिँड्न सके भने मात्र जनताले कांग्रेसलाई राम्रो ठान्नेछन् । अझ कांग्रेसले राष्ट्रियताबारे पनि स्पष्ट व्याख्या गरेर अघि बढ्नुपर्छ । बदलिँदो राज्यको संरचनामा अभ्यस्त हुन सक्ने नीति अंगीकार गर्नुपर्छ ।

राजनीतिमा थाकिसकेको पुस्तालाई अब ससम्मान बिदाइ गर्नुपर्छ । दोस्रो वा तेस्रो भनिएको पुस्ताले मात्र पार्टीलाई जीवन्तता दिन सक्छ । जेलनेलको योगदानस्वरूप कुर्सीमा पु¥याउने बेला रहेन अब । सिद्धान्तलाई समयसापेक्ष फेरबदल गर्दै पुस्तान्तरण र हस्तान्तरणको थालनी गर्नुपर्छ । युवाहरूप्रति धेरै आशावादी छौँ हामी । यो आशा र विश्वासमाथि कुठाराघात नहुने गरी युवा नेताहरू सञ्चालित हुनुपर्छ । जोखिमदेखि डराउनेलाई युवा भन्न सकिँदैन । पार्टीभित्र र बाहिरका तमाम चुनौतीलाई सहज व्यवस्थापन गर्ने आँट उनीहरूमा हुनुपर्छ ।

जुनसुकै गुट वा खेमाले जिते पनि नेतृत्वले हरेक कार्यकर्तालाई आफ्नो महसुस गर्न सक्ने गतिविधि सञ्चालन गर्नुपर्छ । कांग्रेस पार्टी अभ्यासमा उदाहरण बन्यो भने अन्य पार्टीले पनि त्यसको सिको गर्छन् । यसको समग्र प्रभाव त देशको उन्नतिमै पर्ने हो । पार्टीहरूले बिर्सन नहुने कुरा, कार्यकर्ता मात्रै पनि छैनन् देशमा । हरेक जनताका समस्याबारे चिन्ता गर्न तत्पर रहनुपर्छ । पार्टी सञ्चालन नै चुस्त बनाउन नसक्ने नेतृत्वबाट देशको सञ्चालन चुस्त हुने अपेक्षा गर्नु उचित हुँदैन । त्यसैले पार्टी सञ्चालन पनि एउटा कला हो । यो कला हुने नेतृत्वले राज्य व्यवस्थाकै व्यवस्थित सञ्चालन गर्ने क्षमता राख्छ । अब कांग्रेसले पहिला देशभित्रै र त्यसपछि देशबाहिर कुन रूपमा प्रस्तुत हुने भन्ने मार्ग निक्र्योल गर्न सक्नुपर्छ ।

प्रस्तुतिः अम्मर जिसी

प्रकाशित: २१ फाल्गुन २०७२ ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App