३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

भालेश्वरमा केबुलकार

हरिया डाँडा बीचमा उपत्यका। माथिबाट देखिए सलाईका बट्टाजस्ता घरहरु। घरैघर, खाली ठाउँको कमी। उपत्यकालाई पहरा दिइरहेका डाँडाहरु! एउटा होइन, दुइटा होइन, दर्जनौं डाँडा। एक माथि अर्को खप्टेर बसेका। त्यहि हरिया डाँडा माथि पूर्वदेखि पश्चिमसम्म १८० डिग्रिमा फैलिएका सेता हिमाल। गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा आदि।

घमाइलो दिन, भालेश्वर टपबाट यस्तै दृश्य देखिन्छ। काठमाडौं उपत्यकालाई पहरा दिइरहेका डाँडा मध्य एक भालेश्वर (२५००मिटर)। खुल्ला आकाशमुनि रुखको छहारीमा छन् भालेश्वर महादेव। महादेवका ढुँगाका दुइटा शिला र त्रिशुल डाँडाको छेवैमा सारिएको छ यतिबेला। तर अचम्मको कुरा हरेक महादेव स्थानमा महादेवको लिँग र महादेवको पवित्र बहान नन्दीको प्रतिमा हुन्थ्यो यहा भने ढँुगाको शिलामात्र देख्यौं।

ती महादेव डाँडाको बीचमा थिए। जुन ठाउँमा अहिले तीन तले प्यागोडा शैलीको मन्दिर बन्दै छ। भालेश्वरमा केबुलकार निर्माण भैरहेको छ। भालेश्वरको धार्मिक महत्व र यहाको प्राकृतिक सुन्दरताको सहायताले भालेश्वरलाई पर्यटकिय गन्तव्य स्थल बनाउन कम्पनीले मन्दिर र केबुलकार बनाएका छन्।

काठमाडौंबाट मात्र १९ किमि दुरीमा दक्षिणमा अबस्थित भालेश्वर प्रख्यात धार्मिक तिर्थ हो। अग्लाइमा रहेकाले चारैतिर राम्रो दृश्य देखिन्छ। पूर्वमा काठमाडौं उपत्यका, पश्चिममा मकवानपुरको चित्लाङ उपत्यका, उत्तरमा हिमाली सृङखला र दक्षिणमा चखेल दामन एवं महाभारत पर्वत छन्।

भालेश्वर आफैंमा भ्यू टावर हो। आकाश खुलेका दिन भालेश्वरमा बसेर काठमाडौं र हिमाल हेर्दा मन पुलकित हुन्छ। प्राकृतिक सौन्दर्यमा हरेक दिन रमाउँछ भालेश्वर।

भालेश्वर एतिहासिक महत्व बोकेको ठाउँ पनि हो। नेपाल एकिकरणको तयारीका बेला बडामहाराज पृथ्वीनारायण शाह मामाघर भएर चन्द्रागिरी भञ्ज्याङ आएका थिए। भञ्ज्याङबाट सुन्दर काठमाडौं उपत्यका देखेपछि उनलाई काठमाडौंलाई जित्ने इच्छा भयो। र, उनले नजिकैको भालेश्वर आएर मनकामना गरे। पछि यहि बाटो भएर काठमाडौं उपत्यकामा आक्रमण गरि जितेको कथा छ।

धार्मिक, प्राकृतिक एवं एतिहासिक महत्वको भालेश्वरमा भ्यू टावर र केबुलकार बन्दै छ। ग्लोबल आइएमइ वैंक र भाटभटेनी सुपर मार्केट सञ्चालकको लगानीमा पुरै भालेश्वर डाँडाले काँचुली फेर्दै छ। नेपालकै दोस्रो ठूलो केबुलकार थानकोटदेखि भालेश्वरसम्म बन्दै छ। डाँडामा धमाधम रिसोर्ट, पार्क र होटल बन्दै छ। नयाँ वर्ष ०७४ देखि केबुलकार सञ्चालनमा आउने छ।

त्यहि रमणिय डाँडामा पुगेका थियौं हामी, प्रकृतिप्रेमी समूहको १०५ औं हाइकिङमा। हामी २३० जना समूहको कार्यालय सातदोबाटोबाट ७ बसमा कलंकी, सतुंगल, गुर्जुधारा हुँदै थानकोट गोदामसम्म गयौं। बिहानको ९ बजे हाम्रो हिँडाई सुरु भयो।

गोदाम (१४५० मिटर)बाट भालेश्वर (२५०० मिटर) चढ्नु थियो हामीलाई। पदयात्रा सुरु गरेदेखि नै उकालै उकालो। माघको चौंथो शनिबार, कलिलो घाम अनि सिर सिर बतास। हरिया रुखले फयाँकेका स्वच्छ हावा लिँदै चढ्यौं। भञ्ज्याङ पुग्ने दुई बाटा छन्, मोटरेबल सडक र ठाडो गोरेटो। मोटर हिँड्ने सडकमा धुलो उड्छ। त्यसैले ठाडै गोरेटो उक्लनु बेस।

माघको जाडोमा पनि शरिरबाट पसिना निस्कियो। ठूल–ठूला ढुँगामा आराम गर्दै, फोटा खिच्दै हिँड्यौं। ठाउँ–ठाउँमा फलफुल र पानी ब्रेक गर्यौंप। चराको चिरबिर सुन्यौं।

गोदामबाट चन्द्रागिरी ठाडो उकालो ३.८ किमि र मोटर बाटो ४.५ किमि। करिब ३ घन्टा ठाडो उकालो चढेपछि मध्यान्ह १२ बजे चन्द्रागिरि भञ्ज्याङ पुग्यौं। काठमाडौं र मकवानपुरको साँधमा भञ्ज्याङ (२२५०मिटर)। बाटोमा हामीले थुप्रै साइकल यात्री भेट्यौ। कुराकानी गर्दै हिँड्यौ हामी।

भञ्ज्याङमा पुगेर माथि हेरेको, आकाश निलो थियो। सफा। भन्ज्या¨मा पुरानोे बौद्ध स्तुपमा छ। नजिकै खाजा पसल । भञ्ज्याङ माथिको चउरमा बसेर हामीले खाना खायौं, तीन बराबर स्वास्थ्यबर्धक आहार।

हाम्रो हाइकिङमा जंक फुड र फास्टफुड निषेध छ। हामी स्वास्थ्यवर्धक खाना खान्छौं। खुवाउँछौं। शरिरलाई चाहिने रेशा (छोक्राबोक्रा) भएका खाना र मौसम अनुसारका फलफुल खान्छौं।

त्यहाँ हामीले च्यूरा, साग, साँधेको आलु र सलादस्वरुप स्याउ खायौं। यसरी खाए शरिरलाई चाहिने सबै तत्व र पाचन क्रियालाई सरल ढंगले अघि बढाउन चाहिने छोक्रा बोक्रा प्रशस्त पाइन्छ। फलस्वरुप कब्जियत हुँदैन। कब्जियत नभएपछि मोटोपन लगायत समस्या आउँदैन। निरोगी भइन्छ।

यस्तै स्व्ाास्थ्य ज्ञान बाँड्दै र व्यवहारिक अभ्यास गर्दै हामी हाइकिङ गर्छौं। वास्तवमा हामीले खाएका खानाबाटै रोग आउँछ। खाना मिलाएर खाएमा रोग लाग्दैन। यसका लागि हामी प्रकृतिको सरल नियम उचित आहार, उचित विहार र उचित विचारको अभ्यास गर्नु पर्छ। त्यसो गरे आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन सकिन्छ।

उचाईमा परेको हुनाले चिसो हावा बढ्दै गयो। हामी खाजा खाइवरी भञ्ज्याङबाट अघि लाग्यौं। हामीले अझै तीन सय मिटर उचाइ लिनु थियो। भञ्ज्याङबाट भालेश्वर मात्र ३ किमिमा छ। खासमा भञ्ज्याङमा चौबाटो छ। सिधा पश्चिम लागे ६ किमिमा पुरातात्विक महत्वको नेवार वस्ती चित्लाङ पुगिन्छ। चित्लाङमा सामुदायिक होमस्टे र केही होटल छन्। ट्राउट माछा पालन, अशोक चैत्य, सातधारा, नारायणहिटि, बाख्रा फाराम, बाख्राको चिज कारखाना लगायत पर्यटकीय सम्पदा छन् चित्लाङमा।

पहिला काठमाडौंबाट तराई हुँदै भारत पस्न चन्द्रागिरी भञ्ज्याङको यहि गौंडो प्रयोग गरिन्थ्यो। चित्लाङमा एक रात बसेर बज्रबाराहि, सेराफाँट, मार्खु हुँदै इन्द्रसरोवरसम्म पदयात्रा गर्न मिल्छ।

भञ्ज्याङबाट दायाँ उत्तर पश्चिम लागे ५ किमि दुरीमा तामाङ बस्ती टोप्लाङ हुँदै नौधारा पुगिन्छ। हामी भने दक्षिण भालेश्वरतिर लाग्यौं। खाजा खाएर भञ्ज्याङ झर्दा त्यहाँको पसलमा साइकलेको टोली खाजा खाँदै थियो। साइक्लिङ समेत फष्टाउँदै छ यतातिर। हाइकिङका साथै साइक्लिङ र बाइकिङका लागि समेत यो बाटो उपयुक्त छ।

भञ्ज्याङको एक मात्र पसल सानो भाई जिम्बाले चलाएका हुन्। उनको टहरोमा आलु, चना, चिउरा, चिया, पानी लगायत खाना पाइन्छ। ध्यान दिनु पर्ने कुरा के हो भने पदयात्रामा जथाभावि खानु हुँदैन। जथाभावि खाएर हिँड्दा शरिरमा भारिपन आई हिँड्न समस्या हुन्छ। त्यसैले स्वास्थ्यवर्धक खानु पर्छ।

अर्को ध्यान दिनु पर्ने कुरा के छ भने खाजा (ठोस आहार) र पानीको अन्तर आधा देखि एक घन्टा अन्तर हुनु पर्छ। हरेक घन्टा फरकमा करिब २५० एमल पानी पिउनाले स्वास्थ्य राम्रो हुन्छ। एकैपटक धेरै पानी पिउनु हुँदैन। एकैचोटी पानी धेरै खाँदा पेट फुल्छ र हिड्न अफठेरो हुन्छ।

उकालो लाग्दा हामीले टाढैबाट हेर्यौंि चित्लाङ उपत्यकालाई। काठमाडौंमा बस्नेहरुका लागि चित्लाङ गर्मी छल्ने गन्तव्य बन्दै छ। चहलपहल बढ्दै छ।

ठाडो उकालो त्यसमाथि झन चर्को घाम, खलखली पसिना चुहियो। जति जति हामी उचाइ चढ्दै गयौं उति उति हिमाल खुल्दै गए। ढुँगा ओच्छाइएको सिंढी चढ्यौं। दायाँबायाँ जंगल छ। केही बेरको उकालो पछि भालेश्वर इन्ट्रान्स प्वाइन्ट पुगियो। त्यहाँ नाम दर्ता गरेर अघि बढ्यौं। करिब आधा घन्टा ठाडो उकालो चढेपछि आउँछ केबुलकार स्टेशन।

हिमाल खुल्दै गए, आँखा रमाउँदै गए। हाम्रा अनुहार चम्किँदै गए। सबैजना हिमाललाई पृष्ठभूमिमा राखेर फोटा खिच्न थाले। थाकेको शरिरमा उर्जा भर्योा हिमालले। हरिया डाँडामाथि सेतो टोपी लगाएर बसेका हिमालले। हिमालमाथि बादल, बादलमाथि निलो आकाश। अनि मुन्तिर काठमाडौं उपत्यकाको रमणिय दृश्य। आँखा झिमिक्कै नगरी हेरिरहुँ झैं लाग्यो।

केबुलकार स्टेशन निर्माणको काम हुँदै छ यहा। त्यहाँबाट ५ मिनेटमा हामी भालेश्वर पुग्यौं। डाँडा छेउमा सारिएका महादेव दर्शन गर्यौं्।

भालेश्वर टप काठमाडौं र मकवानपुरको संगममा पर्छ। विकेन्ड मनाउन उपयुक्त छ। कोलाहल, प्रदुषण र व्यस्त जीवनशैलीबाट उम्केर मनको शान्ति खोज्न चाहनेका लागि भालेश्वरले लोभ्याउँछ। चैत–वैशाखमा उकालिँदा लालीगुराँसले वनै राताम्मे बन्छ। भालेश्वर डाँडा ध्यान र योग गर्न समेत उपयुक्त छ। जहाँ शरिर र मन रिचार्ज हुन्छ। केही गरौं भन्ने भावना जाग्छ। स्फूर्ति बढ्छ।

यहाबाट सूर्योदय र सूर्यास्तको राम्रो दृश्य देखिन्छ। अझ बेलुकि झिलिमिली काठमाडौं सहर हेर्न निकै रमाईलो हुन्छ।

भालेश्वर मन्दिर वरपर भ्यू प्वाइन्ट, होटल, हल आदि पूर्वाधार बन्दै छ। दुई वर्षको बीचमा भालेश्वरमा निकै परिवर्तन भएछ। पहिला हामी आउँदा रुखको छहारीमा थिए भालेश्वर महादेव। अहिले मन्दिर बन्दै छ। मोटर गुड्ने ट्रयाक खुलिसकेको छ।

दुईवर्ष अघि मच्छेगाउँबाट चम्पादेवी डाँडा भएर भस्मेश्वर हुँदै चखेल देउरालीबाट भालेश्वर पुगेका थियौं हामी। देउरालीबाट सपक्क मिलाएर ओछ्याईएका ढुँगाको सिंढी टेक्दै भालेश्वर टप पुगेका थियौं। अहिले त मोटर बाटो खनेर पुरानो बाटो भत्काइएको रहेछ। नयाँ बाटो बनाउनु राम्रो हो तर ं पुरानो बाटो पनि कायमै भएको भए अझ राम्रो हुन्थ्यो। त्यसो हुँदा हिँड्न चाहनेहरु पुरानै सिंढीबाट हिँड्थे। मोटरमा आउनेहरु नयाँ बाटो प्रयोग गर्थे।

भालेश्वरलाई केन्द्र बनाएर थानकोटबाट केबुलकार चल्दैछ। अढाइ किमि लामो केबुलकारमा १० मिनेट लाग्ने छ थानकोटबाट भालेश्वर पुग्न। काठमाडौंको मनकामना मन्दिर बन्नेछ भालेश्वर टप। आन्तरिक र बाह्र पर्यटक बढ्नेछन् त्यहाँ।

भालेश्वरमा हरेक नयाँ वर्षका दिन वैशाख १ गते मेला लाग्छ। झाँक्रिले पुजा गर्छन। केबुलकार चलेपछि भने हरेक दिन मेला लाग्ने छ। जसले गर्दा वरपरका चखेल, चित्लाङ र इन्द्रसरोवरसम्म भिडभाड बढ्ने छ।

ग्लोबल आइएमइ बैंकका चन्द्र ढकाल र भाटभटेनीका मिनबहादुर गुरुङको समूह मिल्दा यति ठूलो विकास भयो। हामी सबै मिलेर विकासमा जुट्नु पर्छ। नेपाल प्राकृतिक छटाले भरिएको छ। भालेश्वर जस्ता धेरै डाँडा र मन्दिर छन्। त्यहाँ विकासको घाम झुल्काउनु पर्छ।

भालेश्वरमा बस्ती छैन। बस्ती पुग्न दुई किमि ओरालो झर्नु पर्छ। हिँड्ने बाटो भत्काइएकाले अलमलमा पर्यौं हामी। जति उचाइ चढिन्छ उति ओरालो झर्नै पर्ने प्रकृतिको नियम। कहिले मोटरबाटो त कहिले गोरेटामा झर्यौं । एक घन्टामा हामी चखेल चउरमा पुग्यौं। त्यहाँ एक छिन अन्तरक्रिया गर्यौं ।

त्यतिबेला साग र हरियो बकुल्ला बेच्न आइपुगे दुइ महिला। हाइकर्सले सागको डोकै रित्याए। पदयात्रीले भाग लगाएर बकुल्ला किने। गाउँ ठाउँमा जाँदा त्यहाँको उत्पादन किन्यो भने गाउँलेलाई सहयोग हुन्छ। अझ गाउँमै पाइने खाजा खान सके राम्रो हुन्छ।

हिँड्नु भनेको अनुशासनमा रहनु पनि हो। सभ्य भएर धैर्यपूर्वक हिँड्नु पर्छ। अघि चन्द्रागिरी भञ्ज्याङमा एक जना दिदीलाई हिँड्न गारो हुँदा साइकले भाइले भनेका थिए, 'हाइकिङ गर्दा ध्यानमा भन्दा बढी एकाग्र हुनु पर्छ। बिस्तारै हिँड्नु पर्छ।'

ध्यान गर्दा स्वास मात्र ख्याल गरिन्छ तर पदयात्रामा सम्पूर्ण शरिरलाई ध्यान दिँदै बिस्तारै हिँड्नु पर्छ। ध्यान गर्दा भन्दा हाइकिङमा आफुलाई चिन्न सकिन्छ। मन एक चित्त हुन्छ। त्यसैले स्वासको तालमा मध्यम गतिमा हिँड्नु पर्छ।

चखेल देउरालीमा राणाकालमै बनेको रोप वे स्टेसन छ। हेटौंडादेखि काठमाडौंसम्म सामान ओर्सान बनाइएको। अचेल प्रयोगमा छैन। बेवारिसे छ।

देउरालीबाट ठाडो उकालो सिधा दक्षिण लागे २ किमिमा छापडाँडा पुगिन्छ। छापडाँडाबाट पनि काठमाडौ राम्रो देखिन्छ। मोटरबाटो पश्चिम लागे कुलेखानी। कुलेखानीमा बोटिङ सुविधा छ। चखेलबाट मातातिर्थ चाहिँ ६ किमि छ। करिब दुई घन्टा लाग्छ झर्न।

बिस्तारै घाम डाँडासँग लुकामारी खेल्ने तरखरमा थियो। चखेल देउराली हुँदै मातातीर्थ झर्दा साँझको ५ बजिसकेको थियो। मातातीर्थ पवित्र धाम। त्यहाँ नारी (आमा)को मूर्ति छ। आमा खुवाउने औंशीका दिन मेला लाग्छ। हामी भने मातातिर्थ मन्दिर नपुगि अलिक माथि शसस्त्रको शैनिक क्याम्पबाटै गाडि चढेर फर्कियौं।

हाइकिङ मातातिर्थबाट सुरु गरेर थानकोटमा अन्त्य गर्न पनि सकिन्छ। जताबाट हिँडे पनि पदयात्रा दुरी १६ किमि।

पदयात्रा अवधिभर हिमालसंग आँखा झिम्क्याउदै र उपत्यकाको मनोरम सुन्दरता हेर्न पाइन्छ। हिमाल हेर्न कतै टाढा जानै पर्दैन, काठमाडौंबाट १९ किमी दुरीको यो रुट निकै उपयुक्त छ। केबुलकार संचालनमा आएपछि फेरी जानेछु प्रकृति, अध्यात्म र इतिहासको त्रिबेणीधाम भालेश्वरमा। तपाईहरु पनि जाने होइन त?

कसरी पुग्ने : काठमाडौं पुरानो बसपार्कबाट कलंकी, गुर्जुधारा हुँदै थानकोट गोदामसम्म गाडिमा। गोदामबाट चन्द्रागिरी भञ्ज्याङ हुँदै भालेश्वर पुग्ने। भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म पदयात्रा। पदयात्रा दुरी : १६ किमि। यात्रामा हजार किमि ठाडो उकालो र हजार किमि नै ठाडै ओरालो पर्छ। बाइक जिप तथा कार भालेश्वरसम्मै पुग्छ।

जन बोली

बत्तीसपुतली काठमाडौंकि सविना श्रेष्ठ पेशाले चिकित्सक हुन्। बाटोमा खाजा खान भनेर उनले व्यागमा काजु लगायत खाना बोकेकि थिइन्। 'हाइकिङमा त फलफुल र साकाहारी खाना पो पाइयो', डा. सविनाले भनिन्, 'डाँडामा हिँड्दा मन र शरिर दुबै फ्रेस भयो। नयाँ साथीहरु पनि बनाउन पाइयो।'

...

सामाजिक काममा सक्रिय छन् सुरेन्द्रबहादुर नापित। धेरैपटक हाइकिङ गरिसके उनले। उनको संस्थाले काठमाडौंकै भिमढुँगामा विद्यार्थीलाई सहयोग गरेको थियो। 'नयाँ ठाउँ चिन्न र सकेको सहयोग गर्न हाइकिङले मद्धत पुर्याढएको छ', सुरेन्द्र भन्छन्, 'प्रकृतिमा रम्दै गाउँले जनजीवन बुझ्न पाइन्छ।'

...

कलंकी काठमाडौंकी रजया सुवेदी स्वास्थ्यकर्मी हुन्। भालेश्वरको ठाडो उकालो चढ्न गारो भयो उनलाई। 'डाँडामा पुगेपछि देखिएको प्राकृतिक सुन्दरता र हिमालले सबै थकान बिर्साइदियो', रजयाले सुनाइन्, 'त्यसैले कम्तिमा महिनाको एक पटक डाँडापाखामा हाइकिङ गर्नै पर्छ।'

...

लगनखेल निबासी अनुप श्रेष्ठ बेला बेला हाइकिङ गर्छन। स्वास्थ्यका लागि सबैले हिँड्नु पर्नेमा उनको जोड छ। 'महिनाको एक पटक मात्र हिँडेर पुग्दैन। हरेक विहान हिँड्ने र व्यायाम गर्नु पर्छ', अनुप भन्छन्, 'खानपान पनि मिलाउनु पर्छ।'

प्रकाशित: १४ फाल्गुन २०७२ २१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App