६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

झापामा पेट्रोल पम्पको खुलेआम ठगी

झापा– पैसा तिरेपछि मूल्य बराबरको सामान पाउनु उपभोक्ताको अधिकार हो। तर, झापाका पेट्रोलपम्पहरुमा उपभोक्ता अधिकारको खुलेआम हुर्मत लिइन्छ।बाइक होस् या अन्य साधन, पैसा बराबरको तेल कसैले पाउँदैनन्। यसरी तौलमै उपभोक्ता ठगेर पेट्रोलपम्प सञ्चालकहरुले दादागिरी देखाइरहँदा नियमनकारी निकायहरु भने मौन छन्।

सरकारी पक्षले कहिलेकाँही अनुगमन गरिहाल्दा पनि अनुगमनकारीहरु ठगहरुको सिण्डिकेटको फन्दामा पर्ने गरेका छन्। यसपटक झापामा त्यस्तै भयो। तौलमा ठग्ने पम्पलाई कारवाही गरेको विरोधमा व्यापारीहरुले बन्द गर्ने धम्कीसमेत दिइरहेका छन्। पेट्रोलपम्पहरुले तौलमा ठगेको गुनासो उच्च भएपछि अनुमगनमा निस्केको नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको टोलीले केही दिनअघि झापाका तीन वटा पेट्रोलपम्पमा तौलमा ठगी गरेको भन्दै सिलबन्दी गरेको थियो। कार्यालयले गरेको सिलबन्दीको विरोध गर्दै उद्योग वाणिज्य संघले 'अनुगमन गर्दा जानकारी नदिएको' हास्यास्पद तर्क गर्दै टोलीमाथि दुव्र्यवहार गरेको छ।

गएको आइतबार र सोमबार मेची अञ्चलका पम्पहरुको अनुगमन गरेको नापतौलको टोलीले सुरुङ्गाका दुई र चन्द्रगढीको एउटा पम्पमा सिलबन्दी गरेको थियो। तर, त्यसको विरोधमा बुधबार सुरुङ्गामा तनाव भयो। नापतौल कार्यालयका क्षेत्रीय प्रमुख मनिषकुमार दासलाई व्यापारीले दिनभर बन्धक बनाए। बिहीबार पनि व्यापारीहरुको टोली बन्द गर्ने, राजमार्ग ठप्प पार्ने धम्की दिँदै प्रशासन, नापतौल, आयल निगमलाई धम्क्याउन व्यस्त रहे। 'आयल निगमले पम्प चलाउन अनुमति दिने नापतौलले चाहिँ बन्द गर्ने काम गरेकोमा हाम्रो असन्तोष हो,' कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष युवराज संग्रौलाले भने, 'कम्तीमा अनुगमन गर्दा हामीलाई जानकारी हुनुपथ्र्यो।'

ठगीधन्दा चलाउँदै आएका झापाका तीन वटा पेट्रोलपम्प बल्ल कारबाहीमा परे पनि अरु कयौं पम्प कारवाहीको दायरामा अझै आउन सकेका छैनन्। सुरुङ्गाको पवित्रा पेट्रोल पम्प र मातृ आयल र चन्द्रगढीको आर्या ट्रेड इन्टरनेशनलसहितको तीन वटा पम्पमा सिलबन्दी गरेको हो। तर, अन्यत्र अनुगमन नै हुन सकेको छैन।

झापाका अधिकांश पेट्रोलपम्पहरुले ग्राहकलाई तौलमा ठगिरहेका छन्। यसबारे सबै जानकार छन्। तेल बिक्री गर्दा प्राप्त हुने नाफामा मात्रै चित्त नबुझाएका पेट्रोलपम्पहरुले तेलको तौलमै ठगीधन्दा चलाइरहेका छन्। कुनै एउटामा मात्रै यो समस्या छैन बरु झापाका अधिकांश पेट्रोलपम्पहरु यस्तै गोरखधन्दा चलाइरहेका छन्।

झापाका अधिकांश पेट्रोलपम्प अझै पनि डिजिटल प्रणालीमा गएका छैनन्। धेरै खर्च पनि नपर्ने उक्त प्रणालीमा जाँदा तौल बराबरकै तेल दिनुपर्ने र त्यसो गर्दा ठगी गर्न नपाइने भएपछि धेरैले पुरानै मेसिनबाट तेल बेचिरहेका छन्। यदि आफ्नो बाइक वा अरु कुनै साधन लिएर झापाका जुनसुकै पेट्रोलपम्पमा तेल भर्न जाने हो भने त्यहाँ पैसाभरीको तेल कहिल्यै पाइन्न। १ हजार रुपैयाँको तेल किन्दा ९ सय ९९ को मात्रै दिन्छन्। कम्तीमा १० पैसादेखि १ रुपैयाँसम्म एक जनाबाट ठग्ने पम्पहरुले हरेक दिन लाखौं रकम देखादेखि ठगिरहेका छन्। 'पम्पमा मेरो सधैँ झगडा पर्छ,' ज्यामिरगढी माविका प्रधानाध्यापक सन्तप्रसाद चम्लागाँई भन्छन् 'पैसा भरीको तेल कहिल्यै दिँदैनन् । सधैँ ठग्छन् । उपभोक्ता पनि सहेर बसेका छन् ।' उनका अनुसार ३ सय रुपैयाँको लगाए २ सय ९९ को, ४ सयको किने ३ सय ९९ को तेल हाल्दिन्छन्। यसरी हरेक ग्राहकबाट एक रुपैयाँसम्म ठग्ने पम्पहरुले जिल्लाभरी सिण्डिकेट लादेका छन्।

पेट्रोलपम्पहरुले सिण्डिकेटकै आडमा जिल्लामा इन्धनको कृत्रिम अभाव खडा गरेका छन्। भारतीय नाकाबन्दी खुलेर इन्धन आयात सहज भएको लामो समय बितिसक्दा पनि झापामा पेट्रोलियम पदार्थको अभाव यथावत छ। आश्चर्य त के छ भने नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय, पेट्रोलपम्प व्यवसायी सबैले यसबारे आश्चर्य व्यक्त गरेका छन्। 'यस्तो अभाव नहुनु पर्ने,' उनीहरु सबैको एउटै स्वर छ, 'कहाँ जाँदैछ थाहा छैन।' जानकारहरु चाहिँ पेट्रोलपम्पले सिण्डिकेटको आडमा जिल्लाभरी एकै दिन तेल बाँड्ने, त्यसो गर्दा अरु बेला पम्पमा कर्मचारी खटाउनु नपर्ने, बाँकी बिक्री गर्न नपर्ने लगायतका कारणले यसो गरिएको बताउँछन्। किनभने बजारमा पुग्दो तेल वितरण भएको छ। यद्यपि अभाव चाहिँ उत्तिकै छ, जति नाकाबन्दी ताका थियो।

नेपाल आयल निगम शाखा चारआलीका निमित्त प्रमुख लोकमणि पौडेलका अनुसार नाकाबन्दी अघि भारतीय आयल कर्पाेरेशन सिलिगुढी डिपोबाट १ सय ५० केएल पेट्रोलियम पदार्थ आउने गरेको थियो। नाकाबन्दीमा तेलमा कमी आए पनि माघ देखि यता १ सय ५० देखि १ सय ८० केएल तेल दिन थालेको छ। माघसम्म बाहिरका जिल्लामा वितरण गरे। पनि फागुनमा तेल मेची अञ्चलका ४ वटा जिल्ला बाहेक अन्यत्र वितरण नगरेको पौडेलले जानकारी दिएका छन्। तैपनि सहज रुपमा तेल कतै पाइन्न।

मेची अञ्चलको ४५ वटा पेट्रोल पम्पमा शाखाले तेल विरतण गर्छ। जसमा ताप्लेजुङको २ वटा, पाँचथरको २ वटा इलामको ३ वटा र झापाको ३८ वटा पेट्रोल पम्पमा तेल वितरण गरिने शाखा कार्यालयले जनाएको छ। सिलिगुढी डिपोबाट सहज रुपमा मागे जति आएको तेल निगम चारआली शाखाले पम्पहरुलाई वितरण गर्ने गरेको छ। तर, झापामा पेट्रोलियम पदार्थ सहज रुपमा वितरण भएको छैन। अहिले पनि जिल्लाका पेट्रोल पम्पमा मोटरसाइकल, ट्रक, बस, ट्याक्टरको लाइन बसेको देख्न सकिन्छ।

प्रकाशित: १३ फाल्गुन २०७२ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App