म यही देव्रे छातीको रातो मुटु टिपेर दिन्छु तिम्रो अन्जुलीमा!
विनय अक्सर यस्ता प्रेमिल हरफहरू लेखेर पठाइरहन्छ भाइवरमा।
ऊ सधैँ एउटै प्रश्न सोधेर हैरान पार्छ– 'इन्द्रेणी किन धनुष्टङ्कार भएको?'
विचरालाई के थाहा, एक जमाना थियो। त्यो जमानाकी नायिका म थिएँ। नायक मेरो प्रिय पात्र अनुरोध थियो। अनुरोध नै इन्द्रेणी भएको थियो। धनुष्टङ्कार इन्द्रेणी। इन्द्रेणीको मोह हुुनुअघि अनुरोध भन्थ्यो, 'तिमी अरू केटीजस्तो नहुनु है।'
'अरू केटीहरू कस्तो हुन्छन्? तिम्रो मतलव....??'
'मतलव केही होइन। मलाई नबिर्स भनेको।'
मैले आँखा चिम्म गरेकी थिएँ, स्वीकृतिमा। मेरो आँखामा चुम्बन गर्दा उसको आँखाको आँसुले मेरो ओठ स्पर्श गरेको थियो। आगोको झिल्कोले च्वास्स पोलेझैँ भएथ्यो मलाई।
मेरो आँखामा तस्वीर बनेर बसेका छन् एकएक पल, अनुरोधसँगका ती अभूतपूर्व कहानी।
नभनेरै सबै कुरा गर्थ्याे। मेरो आवाज निस्कनुअघि उसको मनको कानले सुनिसक्थ्यो। सँगै मर्ने–बाँच्ने कसम नखाएरै माया गरिरह्यो। मैले अनुभूत गरिरहेँ। उसको आफ्नो कुरा नभन्ने बानी थियो। एकदिन नभनेरै टाढा भइदियो। त्यही दिनदेखि शून्यशून्य भएँ म। एकदम रित्तो रित्तो।
'म शून्य शून्य छु।'
'अहो! मलाई शून्य शून्य हुन त महाआनन्द लाग्छ।'
'चर्को कुरा आउदो रैछ तिम्लाई। निदाउनु पर्दैन?'
'खै यार, निद्राले माया मारेजस्तो छ। मनभरि तिमी बसेकी छौ, आँखाभरि तिमी छाएकी छौ।'
'तिमी त जस्ताको तस्तै रैछौ। रत्तिभर चेन्ज देखिनँ, उही स्कुले विनय।'
मेरो म्यासेजको रिप्लाइ नदिई प्रोफाइलमा गएर मेरो सारी लगाएको फोटोमा कमेन्ट गर्न थाल्यो ऊ।
'तिमी सारीमा निकै मायालु देखिन्छयौ नि!'
'तीजको फोटो हो त्यो', मैले स्पष्टीकरण दिएँ।
'मेरा लागि आजै पनि लगाऊ न सारी, तीज नै किन पर्खुपर्योो?'
'सारी र तीजको सम्बन्ध अर्कै छ नि! भो, यी कुरा नगर यार! मन एकदम कमजोर भएको छ। रुन मन लागेको छ मलाई।'
'रोऊ, रोऊ! मन हल्का हुन्छ।'
अनुरोध भए कुनै हालतमा पनि यस्तो भन्ने नै थिएन।
'म रुन्छु। तिमी सुत ल, गुडनाइट!' विनयलाई यस रातका लागि बिदा दिएँ।
±±±
पशुपतिबाट गुह्येश्वरी जाँदा त्यति थोरै उकाली–ओरालीमा मतलव भर्या ङहरूमा मलाई गाह्रो हुन्छ भनेर मेरो ब्याग बोकिदिन्थ्यो, अनुरोध। मलाई बाँदरदेखि डर लाग्छ भनेर हात समाएर हिँडाउँथ्यो, केटाकेटीलाई जस्तै। एकपटक बाँदरले मेरो हातको सुन्तला खोसिदियो। म बेस्सरी चिच्याएछु। उसले के भन्यो थाहा छ? 'तिमी चिच्याएर पशुपतिको सबै बाँदरहरू डरायो' रे ! 'बदमास केटा!' मैले भनेँ। उल्टो मलाई पो 'बदमास कम्पनीको प्रेसिडेन्ट' उपनाम दिएको थियो उसले।
ती सुखका दिनहरूले बदला नै पो लिदो रैछ। आज तिरिरहेकी छु गनी गनी!
'बोल्नै मन छैन मलाई। जाडो यामको बादलजस्तै धुम्म रिसाएर घोरिएर बसिरहन मात्र मन लागेको छ।'
'तिमी मेरो घाम हौ। तिमी उदाउनुपर्छ बादलको घुम्टो च्यातेर। सम्झ त, ती हाम्रा स्कुलका दिनहरू।'
'सम्झनुभन्दा बिर्सनुमा आनन्द छ।'
'म त त्यही याद बोकेर उदाएको छु। यसलाई चाहिँ नबिर्सनु।'
'यो बिर्सने मन छ, म सम्झूँ कसरी... गीत बन्नेछ अब।'
'तिमी त अर्कै भइछौ। एसएलसीपछिको हावापानीले।'
'घनघोर वर्षा भयो साथी, पखालियो त्यो बालापनको रङ्ग...!'
±±±
'आज मौसम पनि कति चिसो है!'
'होला तर मलाई यो मौसमको चिसो–तातोको कुनै प्रभाव छैन।'
'प्रेमको पनि दुःख हुँदो रैछ हगि?'
'अँ प्रेमको जस्तो सुख अरु केहीमा हुन्न पनि, प्रेमको दुःखमा ननिदाउनुमा पनि मज्जा छ।'
'अनुरोधको यादले निदाउन दिएन हो?'
'हो, उसको यादले निदाउनै दिँदैन मलाई।'
'मेरो याद सापटी लगेर उस्को यादको किस्ता बुझाऊ न! अनि ढुक्कले निदाऊ!'
अनुरोधको यादलाई रिप्लेस?
चोभारको मन्जुश्रीले काटेको गल्छी पहिलोपल्ट उसैले देखाइदिएको थियो। खुल्ला चोभारमै सफा नीलो आकाशमुनि पहिलोपल्ट अधरपानको अनुभूति बटुलेकी थिएँ मैले उसैसँग।
चाँगुनारायण मन्दिर जाँदा बाइक बिग्रँदाको रमाइलो कसरी बिर्सन सक्छु म? डोलेश्वर मन्दिर जाँदा बाटोमा अचानक अनुरोधको हजुरआमा पर्ने भेट भएको थियो। उहाँले घामलाई हत्केलाले छेक्दै निधारमाथि हात राखेर 'अहो! बुहारी नानी, कति लच्छिनकी रहिछिन्' भन्दा मलाई एकैपटक दुई किसिमको सुख प्राप्त भएको थियो। दक्षिणकाली मन्दिरमा उसले लगाइदिएको निधारको टीका कति दिनसम्म नपखाली राखेकी हिजै हो जस्तो लाग्छ...।
नगरकोटको टावरबाट जङ्गलको प्रतिध्वनि समेत मिसिएको उसको बोली– 'आइ लभ यु कान्छु' आजसम्म कानमा प्रतिध्वनित भइरहेको छ। स्वप्न बगैँचामा बेप्रवाह गरेको आलिङ्गनलाई अर्को कुनै तत्वले ओगट्न सक्ला के?
'तिमी कति सजिलै भन्छौ, उसको यादको किस्ता तिम्रो यादले मेटाऊ! उफ्, सक्तिनँ म!'
'जानेहरूलाई जान देऊ न! म छु नि! मलाई किनकिन मात्न मन लागेको छ आज। तर सराबको मातले होइन, तिम्रो उन्मादले।'
'ओ कलिको मेरो साथी,
के तिमीलाई मेरो साथी भैरहनु छैन? के तिमीले अलग बनाउन सक्छौ अनुरोधसँग जोडिएको मेरो मुटुलाई? भ्रममा छौ तिमी। अब रत्तिभर बाँकी छैन अर्को प्रेमप्रतिको आकर्षण। बुभ्यौ?'
'बु‰नु छैन मलाई। केवल तिमी भैदियौ भने फूलैफूलको धर्ती म बनुलाँ। तिमी त्यै माथि पाइला राखेर हिँड्नु।'
'चाहिदैन फूलको धर्ती। अनुरोधलाई पिपल ठानेर म त्यही पिपलको काखमा मग्न छु, भइरहनेछु।'
'म चङ्गा बनेर त्यै पिपलभन्दा माथिमाथि उडिरहेको होउँला, त्यसको धागो तिमीसँग हुनु कति आनन्दको कुरा...!'
'आनन्दसाथ उडिरहेको तिम्रो जीवनको चङ्गालाई आफैले चेट गर्ने उद्देश्य नबोक, मेरो प्रिय साथी!' भन्न त भनिदिएँ तर उसले कसरी बु‰यो मलाई यस्तै प्रेम औधी मन पर्छ भन्ने?
आज आँखा बिझाइरहेछ। कि आँखामा विनय बिझायो? उफ्, गाह्रो भैरहेको हो कि सजिलो, मैले मेलोमेसो पाउन सकिरहेकी छैन।
±±±
विनय स्कुल पढ्दादेखि नै माया गर्थ्यो क्यारे मलाई। उतिबेला आफ्नो बारीमा जे फलेको छ, सुटुक्क लेराइदिन्थ्यो। बयर, कागती, अम्बा। म भने लाजले पानीपानी हुन्थेँ। उसले लेराइदिएको घरेलु उपहार सबै साथीलाई बाँडिदिन्थेँ, उसले नदेख्ने गरी।
मान्छेहरू पहिलो प्रेम बिर्सनलाई दोस्रो, तेस्रो प्रेम गर्छन् रे! तर मलाई लाग्दैन, प्रेम पनि पहिलो, दोस्रो हुन्छ भन्ने। प्रेम त जहिले पनि विशेष हुन्छ। जसलाई गरेको हो, उसैप्रति हुन्छ। म यतिखेर भने विनयलाई सम्भि्करहेकी छु। उसका समर्पित प्रेमिल हरफहरू पढ्न मेरा आँखा बेचैन भइरहेका छन्।
प्रकाशित: २९ माघ २०७२ २२:३८ शुक्रबार





