'प्रेमको कुनै जात, धर्म र भूगोल हुँदैन।'
'प्रेम नै संसारमा सबैभन्दा सुन्दर कुरा हो।'
प्रेमका यस्ता 'सुन्दर' परिभाषा र 'महानता' ध्रुवसत्य जस्तै आरोपित गरिएका छन्। तर, यी ध्रुवसत्य जस्ता लाग्ने पर्दाहरूभित्र प्रेमले चरम यातना खेपिरहेको छ। प्रेम स्वतन्त्र छैन। यसलाई शासन गरिरहेका छन्– समाजका मूल्यमान्यताहरूले, राज्यका हालहुकुमहरूले, बजारका जाल–जन्जालहरूले, परम्पराका साङ्लाहरू र अन्धविश्वासका पर्खालहरूले।
के आजको समाजले सबै प्रेमीलाई उत्तिकै 'महान्' हुने अवसर दिन्छ? के आजको दुनियाँले सबै मायालुहरूलाई 'सुन्दर' भविष्यको समान 'आजादी' दिन्छ? के अहिलेको देशकाल सबैको प्रेमलाई बराबरी फुल्ने अनुमति दिन तयार छ? के प्रेममा सबैलाई उत्तिकै स्वतन्त्रता र उत्तिकै अधिकार छ? नेपालको लिखित कानुन प्रेमको मौलिक हक सम्बन्धमा नबोलेजस्तो गर्छ, अनि अलिखित कानुनहरूका अन्धनीतिबाट प्रेम शासित हुन्छ। जसको फलस्वरूप समाजमा प्रेमसम्बन्धी झुटहरू सद्वाणी भइरहेका छन्, प्रेमबारेका मनलागी भ्रमहरूको व्यापार चलिरहेको छ।
एउटा त्यस्तै भ्रमपूर्ण सम्बन्धमा छन्– प्रेम र घर। अवधारणाका यी दुई ज्यान दैलाठेलामा खिचातानी गरिरहेका देखिन्छन् युगौँदेखि। प्रेम घरलाई घरबाहिरको संसारमा लैजान चाहन्छ। घर प्रेमलाई घरायसी बनाइराख्न चाहन्छ। बेलाबेला प्रेम झ्यालबाट हाम्फालेर फुक्काफाल दौडन्छ, संसारतिर। बेलाबेला घर परम्परा र विधिको लोरी सुनाएर प्रेमलाई अलमल्याइरहन्छ, घरभित्रै। घर र प्रेमको सम्बन्ध यस्तो छ– दुवैले दुवैको हात समातिरहेका छन्। घरिघरि देखिन्छ यही हो हातेमालो जस्तो, घरिघरि हुन्छ यहीँ छ तानातान जस्तो। प्रेम छ– यही संसारमा, यही समाजमा, यिनै परम्परा र घरबारहरूसँग जुधिरहेको। घर छ– यतै प्रेमीहरूको दायाँबायाँ, यिनै मायालुहरूको अघिपछि, यही प्रेम–दुनियाँलाई आदेश–निर्देश गरिरहेको।
घर शब्दले अनेक घरका अनेक अर्थहरू एक्लै बोकेर हिँडेको छ। मान्छेलाई जंगली ओडार हुँदै घामपानी–बाघभालुबाट सुरक्षित गर्ने सभ्यताको पहिलो घर अर्थात् आवासघर। बाउलाई घरमूली बनाएर अरूलाई काबुमा राख्ने घर अर्थात् पितृघर। चेलीबेटीलाई माइतीबाट थुतेर लग्ने पराई घर अर्थात् पुरुषघर। यस्ता अनेक घर छन् र घरका अनेक छली अनुहारहरू पनि छन्। चुलो, कुचो, गाग्री, थाल–कचौरा, टेबल, ओछ्यान, शौचालय जस्तै महिलालाई पनि 'महत्वपूर्ण घरेलु सामान' ठान्ने घर पनि छ। यो पछिल्लो घरबारे भारतीय कवि कात्यायनीको एउटा कविता छ– 'औरत और घर'। महिलालाई घरभित्रका अरू जिन्सी सामानजस्तै 'महत्वपूर्ण वस्तु' बनाइराख्ने 'घर'का भित्ताभित्तामा कात्यायनीको कविता टुकटुके हान्छ। प्रेमपूर्वक खान, बस्न र जिउनका लागि के घरबाहिर पनि संसार छ? कात्यायनीकी 'औरत'ले एक दिन प्रश्न गर्छे। जसरी घरका अंगहरूमा भान्सा, ओछ्यान वा शौचालय छन्, ठीक त्यसरी नै महिला पनि घरको एक हिस्सा छे, आजको समाजमा। ऊ घर छाडेर श्रमको खोजीमा देश–दुनियाँ पुगिसक्दा पनि सुखपूर्वक प्रेमको सास फेर्न 'घर'ले दिइरहेको हुँदैन। महिला पनि हुनु र घरको अंग पनि नबन्नु परम्परागत समाजका लागि खतरनाक कुरा हो। त्यही खतरा झेल्दै कात्यायनीकी 'औरत' यस्तै 'घर' बिनाको जिन्दगीको खोजीमा निस्कन चाहन्छे।
सन्दर्भवश केही दिनअघि पोखरामा भएको साहित्यिक छलफलमा पनि 'प्रेम' र 'घर'को प्रसंग बहसको सतहमा आइपुगेको थियो। कवि सीमा आभास कथा–लेखनका सन्दर्भमा 'र्याशडिकल' आवाजमा प्रेमको पैरवी गर्दै थिइन् र घरका सीमा सुनाउँदै थिइन्। लेखनसम्बन्धी प्रेम–प्रसंगमा सीमा जोशिलो स्वरमा बोलिन्, 'आजसम्मका धेरै कथा पुरुषले महिलालाई प्रेम गरेर लेखिए। महिला शरीरको एकैखाले सुन्दरताको मात्रै बयान गरेर पुरुषले कथा लेखे। एउटी महिला हुनुका नाताले म पुरुषलाई प्रेम गरेको कथा लेख्न चाहन्छु। तर, जब हामी (महिला) कुनै पुरुषलाई प्रेम गरेको कुरा लेख्छौँ, हाम्रा घरहरू काँप्न थाल्छन्, भित्ताहरू चर्कन थाल्छन्।'
'घरहरू काँप्छन्, भत्कन्छन् त के भो? घरबाहिर पनि प्रेमको संसार छैन र?' सीमालाई सोधियो।
प्रश्नले जब घर र प्रेमको सम्बन्धलाई तानेर सँघारमा ल्याइपुर्याायो, सीमाको जोश पनि काँप्न र धरमराउन खोज्यो। सायद उनलाई अचानक बेलुका फर्कनुपर्ने 'घर'को सम्झना भयो। कोल्टे फर्केर उनी 'घर'का अंगहरूको आवश्यकता र महत्वमथि टर्च बाल्न थालिन्। यो कुनै एकजना कवि वा लेखकको विश्वासको धरमर मात्रै थिएन। यो घरबन्दी समाजको मूल्यको कम्पन थियो। लामो परम्पराले बसालेको मान्यताको खाँबो त्यहाँ हल्लिइरहेको थियो। प्रेमले स्वतन्त्रताको यात्रा सुरु गर्दा 'घर'ले घरभित्रैबाट साँधहरू लगाउन थाल्छ। राज्य–व्यवस्था वा समाज–संरचना जिउँदो राख्ने सबैभन्दा तल्लो व्यवस्थित संस्था घर नै हो। राज्य–व्यवस्था र समाज–संरचनाका थितिबितिहरूलाई पालन गराउने अनौपचारिक निकाय पनि घर हो। र, तिनै थितिबितिलाई चुनौती दिने विद्रोहको आरम्भिक थलो पनि निसन्देह घरै हो। जसरी शोषण सिकाउने नर्सरी कक्षा घरमै सुरु हुन्छ, ठीक त्यसरी नै परम्परा भत्काउने उपद्रवको थालनी पनि घरबाटै हुन्छ।
'मैले प्रेम लेख्दा मेरो घर काँप्छ, भत्कन खोज्छ!' प्रेम नलेख्दा के हुन्छ? सायद घर 'शान्त' हुन्छ र घरभित्र 'अमन–चयन' कायम हुन्छ। एकजना लेखकका लागि यस्तो 'शान्ति' सहनुभन्दा ठूलो सकस के हुन्छ? सीमा आभासको जस्तो भनाइ पुरुष लेखकबाट सुनिएको छैन– 'प्रेम कथा लेख्दा मेरो घर काँप्छ, चर्कन्छ।' तर, महिला लेखकले प्रेम लेख्न कलम उठाउनासाथ घरहरू किन हल्लन्छन्? के ती घरहरूको जग कमजोर जमिनमा उभिएको छ? के ती घरहरूभित्र प्रेमले उडान भर्न सक्ने पर्यावरण छैन? के लेखनमा महिलाको प्रेमाधिकार प्रत्याभूत छैन? के प्रेमको सिर्जनशीलतामा पुरुषहरूको मात्रै एकाधिकार छ? प्रेम लेख्न बस्दा भत्कने घरहरूलाई जोगाउने जिम्मा कसको? अनि कहिले बन्छन् समाजमा प्रेमाधिकारयुक्त घरहरू?
घर एउटा पुरानो व्यवस्थाको नाम हो, तर प्रेम नयाँ व्यवस्थाको आविष्कारक हो। घरलाई प्रेमको सर्वाधिकार छैन। पुराना घरहरूले प्रेमलाई संकुचनमा राखिरहेका छन्। हाम्रो राज्य–व्यवस्था र समाज–व्यवस्थाका नीतिनियम र मूल्यमान्यताहरू प्रेम सम्बन्धलाई निर्देशित र निष्कर्षित गरिरहेका छन्। घर छाडेर दुनियाँ फेर्न निस्केका यात्रीहरूलाई समाजले बाटो छेक्छ। समाजको बाटोलाई नयाँ दिशा दिन हिँडेका योद्धाहरूलाई व्यवस्थाले रोक्छ। प्रेमको कथा लेख्न टाउको उठाउने महिला लेखकलाई धरमर पार्ने त्यही घरमय व्यवस्था हो। तर, विडम्बनाको विषय के छ भने त्यही व्यवस्थामा संस्कारित हुँदाहुँदा विद्रोहका स्वरहरू स्वतः समर्पणका सुस्केरा बन्न पुग्छन्। विद्रोहको प्रेमकथा लेख्न खोज्ने आँट अचानक विद्रोहीको आत्मसमर्पणलाई सही ठहर्यााउने ठाउँमा पुग्छ। अनि, व्यवस्था बदल्न गुडिरहेको गाडीमा रगत–पसिनाको इन्धन थपिरहेका मिस्त्रीहरूलाई कहिलेकाहीँ कविहरूले नै पछाडि तान्छन्।
पोखराको छलफलमा घर र प्रेमका सम्बन्धमा विद्रोही प्रश्नहरू उठाउने कवि सीमा आभास अर्को दिन भएको कार्यक्रममा घर छाडेर निस्केकी एकजना विद्रोही महिलालाई कविताको डोरीले तानेर धर्मकर्म र पूजापाठमा फर्काउँदै थिइन्। अघिल्लो दिन उनको प्रश्न थियो– एउटी महिलाले प्रेमबारे लेख्दा घर किन हल्लन्छ? पछिल्लो दिन उनको निष्कर्ष थियो– एउटी महिला विद्रोहमा घरबाहिर गई भने बेकारमा दुःख पाउँछे, अन्ततः घर फर्कनैपर्छ। कवि तथा कथाकार सीमासँग घर–विकल्पी दुनियाँ देख्ने कोमल दृष्टि त छ, तर महिलाले विद्रोहको त्यो बाटो रोज्नु खराब हो भन्ने कठोर अन्धविश्वास पनि छ। उनी भावुक हुँदा प्रेमका विद्रोही लयहरू सुनाउँछिन्, जब प्रश्नहरू छेउछाउमा आइपुग्छन्, अनि उनको जोशिलो लय काँप्न थाल्छ। उनी 'घर' र 'प्रेम' सम्बन्धमा ढोकाभित्र कतै अलमल–अलमल गर्छिन्। यो हाम्रो समय र समाजको अलमल हो, सीमा आभासको व्यक्तिगत अलमल र दुविधा होइन। यो युगको दुविधा हो। कात्यायनीका शब्दमा भन्ने हो भने यो पुरुषपूर्ण समयमा कविता लेखिरहेकी महिलाका लागि जिउनु नै चानचुन कुरा होइन। आज प्रेमको संसार सिर्जना गर्नमा विद्रोही महिला लेखकहरू नै सबैभन्दा अगाडि छन्।
जसरी प्रेमले युगौँदेखि घरलाई घरबाहिर निकाल्न खोजिरहेको छ, त्यसरी नै घरले कविहरू स्वयम्लाई घर–समर्पणकारी बनाइराख्न चाहेको छ। आज प्रेम एकातिर पुरुषको नेतृत्वमा घरबन्दी भइरहेको छ, अर्कोतिर पुँजीको नेतृत्वमा बजारबन्दी। प्रेमलाई समुदाय–समझ दुनियाँसम्म लैजान जिन्दगीको बाजी लगाएर हिँड्ने प्रेमालु योद्धाहरू युगले खोजिरहेको छ। सबैलाई प्रेमाधिकार प्रत्याभूत हुने साझा संसारतिर जाने नवीन अभियानको आरम्भ प्रेमका विद्यमान 'ध्रुवसत्य'माथि प्रश्न गरेर सुरु हुनुपर्छ। हावामा उडिरहेका प्रेमका परिभाषाहरूलाई समाजको बनोटमा ओराल्ने र घरका संरचनाहरू चिनाउने काम विद्रोही कवि–लेखकहरूकै हो। घरको सन्दर्भमा प्रेमाधिकारको प्रश्न उठिसकेको छ, अब त्यसले विचारका लहरहरूसँग सामना गर्दै जानेछ।
''इस नदी की धार से ठन्डी हवा आती तो है!
नाव जर्जर ही सही, लहरों से टकराती तो है!!''
–दुष्यन्त कुमार
प्रकाशित: २९ माघ २०७२ ०२:१२ शुक्रबार





