६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

अपहरण र डकैती आरोपमा २ सशस्त्र प्रहरीसहित ५ पक्राउ

चितवन– मकवानपुर प्रहरीले अपहरण र डाका गरेको आरोपमा दुई जना सशस्त्र प्रहरीसहित पाँच जनालाई गिरफ्तार गरेको छ ।मेडिकल सञ्चालकसँग धम्काएर पाँच लाख रुपैयाँ मागेको र त्यसअघि जंगलमा लगेर नगद र गहना लुटेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये प्रहरीले घटनाको मुख्य योजनाकारका रुपमा हेटौंडा–५ का २७ वर्षीय संजोक मोक्तान र हेटौंडा–८ कमानेका २७ वर्षीय नविन बर्तौला रहेको जानकारी दिएको छ। त्यस्तै सहयोगीका रुपमा हेटौंडा कमानेकै २८ वर्षीय अर्चन पुन र सर्लाही हरिवन वडा नं. ८ का २९ वर्षीय ज्योती नेपाली र बर्दिया सानीश्री गाविस वडा नं. २ का २७ वर्षीय तेजबहादुर सुनार रहेका छन्।

ज्याती नेपाली सशस्त्र प्रहरी बलका प्रहरी सहायक हवल्दार र तेजबहादुर सुनार सशस्त्र प्रहरीका जवान रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ। उनीहरु दुवैजना औद्योगिक सुरक्षा बेस क्याम्प हेटौंडा पशुपतिनगरमा कार्यारत थिए। प्रहरीले सशस्त्र प्रहरीका सहायक हवल्दार ज्योती नेपालीलाई पनि मुख्य योजनाकार भनेको छ।

उनीहरु पाँचै जनाले शनिबार साँझ साढे छ बजे हेटौंडा–२४ फुर्केचौरका मेडिकल सञ्चालक मधुरेन्द्रप्रसाद जयसवाललाई मोटरसाइकल बिग्रियो सहयोग गर्नु प¥यो भन्दै जंगलभित्रको बाटोमा लगेका थिए। जयसवाललाई संजोक मोक्तानले पहिल्यैदेखि चिनेका कारणसँगै गएका थिए। जंगलभित्र लगेपछि एकजनाले प्रहरीको असइ हो भन्दै पेस्तोल ताकेर पाँच लाख रुपैयाँ नगद माग गरेको मकवानपुर कार्यालयले दिएको विवरणमा उल्लेख छ।

मेडिकल सञ्चालकको हातमा लागू औषधको ट्याब्लेट राखेर फोटो खिचेको र पाँच लाख रुपैयाँ नदिए फसाइ दिने धम्की दिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। भोलिसम्म पाँच लाख रुपैयाँ बुझाउन भन्दै उनीहरुले जयसवालसँग रहेको नगद ८५ हजार र पौने तोलाको सुनको औठी खोसेका थिए। भोलिपल्ट अर्थात आइतबार बिहान पैसा लिन मेडिकल आउँदा प्रहरीले समाएको हो। आरोपितहरुबाट प्रहरीले प्लाष्टिकको एक थान नक्कली पेस्तोल पनि बरामद गरेको छ।

प्रकाशित: १८ माघ २०७२ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App