५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

मरेकालाई बचाउन सम्भव छ ?

मोटरसाइकल सयरमा निस्किएका अमेरिकी राज्य फिलाडेल्फियाका ३५ वर्षीय वित्तीय विश्लेषक जाच कोनरार्डको बाटैमा 'मृत्यु' भयो। जुन ३, २०१२ आइतवार बिहान उनी बाइक राइडमा निस्किएका थिए । हरेक आइतवार उनी यसरी नै घुम्न निस्कन्थे।त्यो दिन बाइक कुदाउँदै गर्दा उनलाई कताकता असहज महसुस भएजस्तो भयो । उनले सडकछेउ बाइक रोके, हेल्मेट फुकाले, भुइँमा अढेस लागेर बिस्तारै पल्टिए । लगत्तै उनको मुटु चल्न बन्द भयो । श्वासप्रश्वास रोकियो । उनलाई 'कार्डिक एरेस्ट (मुटुको धड्कन बन्द हुनु)' ले अचानक हमला गरेको रहेछ ।

अमेरिकामा मात्रै हरेक वर्ष तीन लाख मानिसलाई 'कार्डिक एरेस्ट' हुने गर्छ । त्यसमध्ये अधिकांशको मृत्यु हुन्छ । अस्पताल पु¥याइएकामध्ये ८५–९० प्रतिशतको शव अस्पतालबाहिर निस्किने गर्छ । तर, कोनरार्ड भाग्यमानी साबित भए ।

फिलाडेल्फियाका अस्पतालमा 'मृतक'हरूलाई बौराउने नयाँ प्रविधि र उपचार विधिको अभ्यास हुने गरेको छ । फिलाडेल्फियास्थित युनिभर्सिटी अफ पेन्सिलभानियाको एउटा सुविधासम्पन्न अस्पतालमा उनलाई पु¥याइयो । डाक्टरले उनीमाथि २४ घण्टासम्म लामो 'कुलिङ ट्रिटमेन्ट' गरे । यो विधिअन्तर्गत बिरामीको शरीरमा 'इन्फ्लामेसन' घटाउने र 'मेटाबोलिजम'को तीव्रता कम गर्ने गरिन्छ । यी दुई काम गर्न सकियो भने शरीर बौरिन सक्छ ।

यो चरणको उपचार सफल साबित भयो । केही दिनका लागि कोनरार्ड कोमामा पुगे । त्यस अवधिमा उनीमाथि 'पोस्ट एरेस्ट' उपचार गरियो । यो चरणको उपचारअन्तर्गत उनको शरीरको रक्तचापलाई नियन्त्रित गर्ने, 'कार्डिक क्याथेटिराइजेसन' विधि अपनाउने र 'भेन्टिलेसन'मा राख्ने काम भयो । केही दिनपछि उनको होश आयो । उनी जिउँदै घर फर्किए । यदि अन्त कतै उनलाई त्यसरी 'कार्डिक एरेस्ट'ले गाँज्थ्यो भने उनको मुटुको धड्कन जाँचेर उनलाई मृत घोषणा गरिन्थ्यो ।

०००

'भर्खरै मरेको मानिसको दिमाग पूर्वअवस्थामा आउनै नसक्नेगरी ड्यामेज भइसकेको हुँदैन,' चिकित्सक साम पर्निया भन्छन्, 'पूर्ण रूपले मृत अवस्थामा पुग्न मानिसको दिमाग मरिसकेको हुनुपर्छ ।' उन्नत प्रविधि र निरन्तर संशोधन हुँदै गएको चिकित्सा ज्ञानले मरिसकेको भनिएको व्यक्तिलाई बौराउने क्षमता विकास हुँदै गएको छ ।

व्यक्तिको मृत्यु हठात हुँदैन । क्रमशः हुँदै जान्छ । मुटु धड्किन छोडे पनि शरीर घण्टौँसम्म बाँचिरहेको हुन्छ । मृत्यु भएको कैयौँ दिनसम्म पनि शरीरका कतिपय अंग बाँचिरहेका हुन्छन् ।

मृत्यु भनेको स्विच थिच्दा बत्ती झ्याप्प निभेजस्तो तत्काल हुने कुरा होइन । तर, संसारभरि जारी गरिने ९५ प्रतिशत मृत्यु प्रमाणपत्रमा मुटुको धड्कन रोकिएको क्षणलाई मृत्यु भएको क्षणका रूपमा स्वीकार गर्ने गरिन्छ । धड्कन रोकिसकेपछि व्यक्तिलाई पुनः जीवित गराउने जमर्को कतै गरिँदैन । त्यस्तो व्यक्तिको चोला उठेको निष्कर्ष निकाल्दै अन्तिम संस्कारको तयारी गरिन्छ ।

सन् १९६० को दशकमा अनुसन्धानकर्ताहरूले मुटुको धड्कन बन्द हुँदैमा व्यक्तिको मृत्यु हुन्छ भन्ने मान्यतालाई चुनौती दिएका थिए । छाती थिच्ने (क्लोज चेस्ट कम्प्रेसन्स) र मुखमा मुख जोडेर श्वास दिने विधि अपनाएमा व्यक्ति बौरिने सम्भावना रहने तथ्य त्यतिबेला नै पत्ता लागेको थियो । यति गर्दा मुटु चल्यो र रक्तसञ्चार भयो भने पनि दिमाग ड्यामेज हुँदै जान्छ र व्यक्ति जिउँदो मुर्दाजस्तो प्रतिक्रियाविहीन अवस्था (भेजिटेटिभ)मा पुग्ने डाक्टरहरूको आँकलन छ । मुटु धड्किन छोडेको २० देखि ३० मिनेटमा पनि व्यक्तिलाई बौराउन सकिएन भने आश मार्नुपर्ने मान्यता डाक्टरहरूले राख्ने गरेका छन् । तर, २० मिनेटको यो अवधि भरपर्दो अनुसन्धानबाट प्रमाणित भएको भने होइन । यो अनुभवसिद्ध अनुमानमात्र हो ।

०००

मुटु चल्न छोडेको घण्टौँसम्म पनि शरीर पूर्ण रूपमा मरिनसकेको उदाहरण पनि छन् । सन् २०११ मा जापानमा यस्तै भएको थियो ।

जापानकी एउटी युवती आत्महत्या गर्न भनेर जंगल पसिन् र ओभरडोज औषधि सेवन गरिन् । केही घण्टापछि जंगलको बाटो हुँदै हिँडेका बटुवाले उनलाई अचेत फेला पारे । आपत्कालीन उद्धारमा खटिएका अधिकारी घटनास्थलमा आउँदा उनको शरीरको तापक्रम २० डिग्री सेल्सियस थियो । उनको नाडीमा कम्पन थिएन । न त उनी श्वास फेरिरहेकी थिइन् । उनको मुटु सक्रिय गराउने प्रयास गरियो । तर, सकिएन ।

यति हुँदाहुँदै पनि उनलाई मुर्दाघर नपठाई सुविधासम्पन्न अस्पताल पठाइयो, जहाँ इसीएमओ मेसिनमा राखेर उनालाई जीवित बनाउने प्रयत्न भयो । यस्तो मेसिनमा कृत्रिम मुटु र फोक्सो जडान गरिएको हुन्छ, जसमार्फत शरीरमा रक्तसञ्चार सुचारु गरेर व्यक्तिलाई बौराउने गरिन्छ ।

घण्टौँको अनवरत प्रयासपछि उनको मुटुको सूक्ष्म कम्पन सुरु भयो । मृत्यु भएर ढलेकी उनी 'मरिसकेकी' थिइन् । तर, जंगलको चिस्यानका कारण उनको शरीरका कोषिका काम नलाग्नेगरी मरिसकेका थिएनन् । जंगलबाहिर उनले आत्महत्या प्रयास गरेकी भए त्यहाँको तापले गर्दा उनको शरीरका कोषिकाको पनि मृत्यु भइसकेको हुने थियो र उनलाई बौराउन सकिँदैन थियो ।

जंगलमा चार घण्टासम्म कसैले नदेख्नेगरी उनको शरीर जमिनमा ढल्यो । यात्रुहरूले देखेपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल ल्याउँदा र उनको मुटु धड्किन सुरु गर्दा उनले ओभरडोज औषधि सेवन गरेको आठ घण्टा बितिसकेको थियो । चिसोले गर्दा उनको शरीरका कोषिका पूरै बिग्रिसकेका थिएनन् ।

तीन सातापछि अस्पतालले उनलाई डिस्चार्ज गरिदियो । नयाँ जीवन पाएपछि उनले बिहे गरिन् । हालसालै उनी आमा भएकी छिन् । उनको दाम्पत्य जीवन लोभलाग्दो किसिमको राम्रो छ ।

०००

'इरेजिङ डेथ' किताबका सहलेखक चिकित्सक साम परिना भन्छन्, 'शत्रुलाई जित्नु छ भने उसलाई राम्रोसँग चिन्न सक्नुपर्छ । मृतप्रायः व्यक्तिलाई बौराउनु छ भने सबैभन्दा पहिले उसको मुटुलाई सुचारु गर्नुपर्छ । यसका लागि प्रविधि र सीप उपलब्ध छन् । यस काममा इसीएमओ मेसिन ज्यादै उपयोगी सिद्ध हुनसक्छ ।'

मुटुमा कम्पन पुनः सुरु नभएसम्म यस्तो मेसिनले मृतप्रायः व्यक्तिको शरीरको सिस्टम चलाउने उनी बताउँछन् । यसले बिरामीको शरीरबाट रगत हटाइदिने र अक्सिजनयुक्त रगत शरीरमा हालिदिने उनी बताउँछन् । दक्षिण कोरिया र जापानमा यस्तो मिसिनबाट ९० प्रतिशत केसमा र अमेरिका तथा युरोपमा ५० प्रतिशत केसमा चल्न छोडेको मुटुमा पुनः कम्पन ल्याउन सम्भव भएको तथ्यांक छ ।

बिरामीको मुटुमा कम्पन ल्याउन सकिँदैमा यसलाई पूर्ण सफलता मान्नु भने हुँदैन । सँगसँगै शरीररलाई चिसो र शान्त अवस्थामा राख्नुपर्छ । यसो गर्दा शरीरका कोष तथा कोषिकाहरू ड्यामेज भएर कामै नलाग्ने हुन पाउँदैनन् । यस्तै खालको विधि कोनरार्डलाई पुनःजीवन दिँदा प्रयोग गरिएको थियो । शरीरको तापक्रम घटाउँदा मुटुलगायत शरीरका महŒवपूर्ण अंग सुनिने, थप मर्ने आदि गति रोकिन्छ । यस्तो विधिबाट उपचार गरिएका छमध्ये एउटा केसमा सफलता हात पर्ने गरेको एउटा अध्ययनले देखाएको छ ।

माथि उल्लेख गरिएका सबै विधिलाई एकसाथ प्रयोग गर्ने हो भने बिरामीलाई नयाँ जीवन दिनसकिने सम्भावना २५ प्रतिशतसम्म हुने नर्वेमा गरिएको एउटा अध्ययनले देखाएको छ । यसरी नयाँ जीवन पाएकामध्ये ९० प्रतिशत व्यक्तिमा दूरगामी खालका नसा रोग तथा अन्य खाले शारीरिक 'साइड इफेक्ट' देखिएका छन् ।

०००

व्यक्तिलाई बौराउने विधि चिकित्सा क्षेत्रमा नौलो हो । यो विधिका आफ्नै अप्ठ्यारा छन् । जस्तो कि, कुन खालको बिरामीलाई यो विधिअन्तर्गत कति अवधिसम्म सघन उपचारमा राख्ने भन्ने कुराको विज्ञानसम्मत 'गाइडलाइन' अहिलेसम्म बन्न सकेको छैन । डाक्टरहरूले तजबिजका आधारमा काम गरिरहेका छन् ।

सन् २०१२ मा अमेरिकामा यसबारे अनुसन्धान गरिएको थियो, जहाँ मुटु चल्न छोडेका व्यक्तिलाई बौराउन प्रयास गरिएका ६४ हजार केसबारे अध्ययन गरिएको थियो । प्रायः सबै केसमा डाक्टरहरूले २० मिनेटसम्म मात्रै 'मृतक'लाई बौराउने प्रयास गरेका थिए । त्यतिबेरसम्म 'मृतक'को शरीरले प्रतिक्रिया जनाएन भने माया मारिदिने गरिएको थियो ।

मुटु धड्किन बन्द भएपछि बौरिएकामध्ये अधिकांश १६ मिनेटको प्रयासपछि मृत्युको मुखबाट बाहिर आएका थिए । २५ मिनेटको प्रयासपछि नयाँ जीवन पाउने केही व्यक्ति पनि अध्ययन क्रममा फेला परेका थिए । बौराउन प्रयोग गरिने प्रविधि र विज्ञानसम्मत तरिका पत्ता लगाउन अहिले अनुसन्धानकर्ताहरू सक्रिय छन् ।

०००

मृत्युबाट बौराएपछि प्राथमिकताका साथ गर्नुपर्ने अर्को काम हो– 'रिकभरी प्रोसेस'लाई सुचारु गर्नु । बौराउन र त्यसपछिको अवस्थालाई सुचारु राख्न डाक्टरहरूले अहिले हाइपोथर्मिया (शरीर चिस्याउने विधि)को सन्तुलित प्रयोग गरिरहेका छन् । फिलाडेल्फियाका कोनरार्डलाई पनि २४ घण्टासम्म यही विधिअन्तर्गत बौराउने काम भएको थियो । तर, यो उपचार विधिलाई कति समयसम्म जारी राख्नुपर्छ भन्ने चाहिँ अझै निक्र्योल हुन सकेको छैन ।

अनुसन्धानकर्ताहरूले मुटु चल्न छोडेपछि पनि शरीरका कोषिका र तन्तुलाई मर्न नदिने तरिका पत्ता लगाउने काम पनि गरिरहेका छन् । 'जीवन र मरणको दोसाँधमा मानिसको शरीरमा हुने कोषिकाहरू बीचको अन्तरक्रियाबारे आगामी दिनमा थप पत्ता लाग्ने देखिएको छ,' अमेरिकास्थित पेन्सिलभानिया विश्वविद्यालयको अस्पतालमा कार्यरत चिकित्सक तथा अनुसन्धानकर्ता बेन्जामिन अबेलाले भने ।

कोषिका तथा तन्तुहरूको मृत्यु हुने क्रम रोक्न अहिले औषधि प्रयोग गर्ने गरिएको छ । कोषहरूको ऊर्जाको स्रोत 'माइटोकोन्ड्रिअन' हो । अनुसन्धानकर्ताहरू ऊर्जाको यही स्रोतलाई सक्रिय गराउने औषधि विकास गर्न लागिपरेका छन् । त्यस्तै कोषिकाहरू मार्ने क्याल्पेन नाम गरेको एन्जाइममाथि अवरोध सिर्जना गर्ने औषधि विकासका लागि पनि अनुसन्धान भइरहेको छ ।

०००

मुसामाथि प्रयोग गरेर यस्ता औषधि तयार गर्ने काम भइरहेको छ । ल्याबमा गरिएको एउटा अनुसन्धानमा मुसालाई १० मिनेटसम्म श्वास फेर्न दिइएको थिएन । त्यसपछि श्वास दिएर क्याल्पेन अवरोध गर्ने इन्जेक्सन लगाइएको थियो । यसो गर्दा दिमाग ड्यामेज हुने क्रम सुस्ताएको थियो ।

यस दिशामा अझै थुप्रै काम हुन बाँकी छ । 'शरीरका कोषिका कसरी मर्छन् भन्ने कुराको हामीलाई थोरै मात्र ज्ञान छ । कोषिका मर्ने प्रक्रियालाई रोक्ने तरिकाबारे हामीलाई अहिलेसम्म केही थाहा छैन,' चिकित्सक साम परिना भन्छन् । 'यदि कोषिका मर्ने प्रक्रिया थाहा भएको भए यस्तो प्रक्रिया रोक्ने औषधि बनाउन सकिन्थ्यो । कुनै मृतक मानिस फेला प¥यो भने अस्पताल नपु¥याइन्जेलसम्म उसलाई सो औषधिको इन्जेक्सन लगाइदिन सकिन्थ्यो । यदि यस्तो हुन्थ्यो त मुटुको धड्कन रोकिएको घण्टौँपछि पनि व्यक्तिलाई बौराउन सकिने सम्भावना रहन्थ्योे,' उनी भन्छन् ।

यसरी नयाँ जीवन पाउनेको शारीर तथा स्नायुमा समस्या देखिने सम्भावना पनि रहन्छ । यो प्रक्रियाबाट नयाँ जीवन पाएका केहीको स्मृति गुम्ने गरेको छ । फिलाडेल्फियाका कोनरार्डको स्मृति पनि गुमेको थियो । होशमा आएपछि उनले पाँच वर्षअघि अर्थात् सन् २०१० मा आफू बाँचिरहेको बताएका थिए । 'कार्डिक एरेस्ट' हुनुभन्दा दुई महिनाअघि मात्रै उनको बिहे भएको थियो । होशमा आएपछि उनले श्रीमती चिने । तर, बिहेको कुनै पनि सन्दर्भ अथवा क्षण सम्झिन सकेनन् । दिनहरू बित्दै गएपछि बिस्तारै उनको स्मृति ठीक हँुदै गयो । अहिले उनको अवस्था ठीक छ । दुर्घटना भएको क्षणदेखि दुई सातासम्मका घटना भने उनलाई फिटिक्कै याद छैन । त्यसअघि र पछिका सबै कुरा सम्झिन सकेकोमा उनी आफूलाई भाग्यमानी सम्झिने गर्छन् ।

उन्नत प्रविधि र औषधि अविष्कार भए पनि मृत्युलाई जित्ने सम्भावना भने नरहेको अनुसन्धानकर्ताहरू बताउँछन् । 'मृत्यु भएको १७ दिनपछि कुनै कोषिकालाई बचाउन सकियो भने पनि मानिसलाई बचाउन सकिँदैन,' चिकित्साशास्त्रका प्राध्यापक फेब्राइस क्रेटियन भन्छन् । यसमा डा. बेन्जामिन अबेला थप्छन्, 'केही मिनेट अथवा केही घण्टाअघि मृत्यु भएको व्यक्तिलाई नयाँ जीवन दिने कुरामा मात्र हाम्रो चासो छ । त्योभन्दा अघि मृत्यु भएकालाई ब्युँताउने कुरामा म त्यति आकर्षित छैन । र, यसो गर्न सकिएला जस्तो पनि मलाई लाग्दैन ।'

प्रकाशित: १६ माघ २०७२ ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App