तिनताका म हङकङबाट प्रकाशित हुने एउटा म्यागेजिनमा पोखराबाट रिपोर्टिङ गर्ने, राजधानीबाट प्रकाशित केही दैनिक तथा साप्ताहिक पत्रिकामा स्तम्भ लेख्ने र बाँकी समय व्यवसायिक काममा थिएँ । ०५७ सालको एउटा घमाइलो दिनमा पत्रकार अमृत भादगाउँले र म सरुभक्त दाइको बागबजारस्थित निवास पुग्यौं । अमृतजी कान्तिपुरमा पोखराबाट रिपोर्टिङ गर्नु हुन्थ्यो । दाई कोठामा केही लेखिरहनु भएको थियो ।
त्यस अघिका दिनमा भेटेको भन्दा अलि बेग्लै थियो हाम्रो भेट । हामी एउटै कोठामा सँगै थियौं । सधैं झैं गम्भीर मुडमा हुनुहुन्थ्यो दाई । त्यस दिन पोखरेली साहित्य, संरक्षण कविता आन्दोलनका विषयमा निकै बेर कुरा गर्यौं हामीले ।
पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा हुने समता काव्य सन्ध्यामा नियमित जान थालेको थिएँ । चिनजान पनि फराकिलो बन्दै थियो । प्रायः तेजनाथ घिमिरे, सरुभक्त दाइ, तीर्थ दाइसँग काव्य सन्ध्यामा भेट हुन्थ्यो । उहाँहरुले साहित्यको विषयमा बोलिहरँदा एक प्रकारको आनन्द लाग्थ्यो । तेजनाथ गुरु छन्दमा लेख्नु हुन्थ्यो । असाध्य परिष्कृत । उहाँको प्रस्तुति मलाई निकै मन पथ्र्यो । तीर्थ दाइका कविता पनि उत्तिकै राम्रा । उहाँ गीत पनि राम्रो लेख्नु हुन्छ । 'मेरै हिमाल जस्तो हेरि रहूँ पोखरा' भन्ने गीत पोखराको ब्राण्ड सङ बनेको छ ।
भरखर ०५८ सालको नयाँ वर्ष सकिएको थियो । शनिवार मध्यान्हमा सरुभक्त दाइको घरमा पुग्यौं अमृतजी र म । उहाँ हँसिलो मुडमा देखिनु भयो । त्यस अघि कतै उहाँको हाँसेको तस्वीर देखेका थिएनौ हामीले । मलाई उहाँसंग तस्बिर खिच्न मन लाग्यो । अमृतजीले तत्कालै क्यामेरा झिकेर खिचि दिनु भयो । फर्कने बेला मैले अमृतजीलाई भने,'भक्तदाइ हाँसेको तस्वीर अरु पत्रकारले खिचेका छैनन् होला ।
केही दिनपछि काठमाडौंबाट पत्रकार साथी संकेत कोइराला आउनु भयो । मैंले सरुभक्त दाइ हाँसेको तस्वीरको कुरा गरें । काठमाडौं फर्केपछि संकेतजीले त एउटा लामै लेख पो लेख्नु भएछ सरुभक्त हाँसेको तस्बीरको प्रसंगमा ।
वास्तवमा पोखरा मेरो दोस्रो घर हो । तीर्थ र सरुभक्त दाइ त अहिले पनि मलाई आधा पोखरेली भन्नु हुन्छ । कतिसम्म नजिक भएछु भने पोखरा बस्न छाडेको दशक नाघि सक्दा समेत दोलखाबासी मित्र मलाई अझै पोखरामै छ भन्ठान्छन् ।
पोखरा बस्नु अघि नै लोककवि अलि मियाँ, तीर्थ श्रेष्ठ, प्रकट पगेनी शिव, विनोद गौचन र रोशन शेरचनका सृजनाबाट प्रभावित भएको थिएँ । पोखरा बस्दा कविता लेख्ने हुटहुटी मात्रै होइन वाचन गर्ने शैलीमा समेत परिवर्तन आयो ममा ।
धेरै युवा लेखकसंग साक्षात्कार हुनु र उनीहरुका कविता सुन्न पाउनु कम्ता आनन्दको क्षण थिएन । त्यतिबेलै राम्रो कविता गजल लेख्ने छाप बनाएका थिए इश्वरमणि अधिकारी, दीपक समीप र सरस्वती प्रतीक्षाले ।
पोखरामा सरुभक्त दाइले सुरु गर्नु भएको संरक्षण कविता आन्दोलनमा सक्रिय बन्ने मौका पाएँ । नेपाली वाङ्मयमा मात्र होइन पर्यावरणीय संरक्षणका क्षेत्रमा समेत संरक्षण कविता आन्दोलनलाई महत्वपूर्ण रुपमा लिइन्छ । सुरुसुरुमा निकै क्लिष्ट कविता लेख्ने भक्तदाइ संरक्षण कविता आन्दोलनमा सक्रिय भएपछि निकै सरलवादी हुनुु भयो । गाउँघर डुलेर कविता लेख्ने र गाउँलेलाई नै कविता सुनाउनु पर्ने भएपछि सरल नलेखी सुखै भएन ।
म जस्तै सरल कविता लेख्ने विनोद गौचन दाइसंग पटक पटक धम्पुस पुगेको सम्झना ताजा भएर आउँछ । धम्पुसमा हामी आ–आफ्ना कविता सुनाउँथ्यौ । कविता साधनाको अखण्ड किर्तन जस्तै हुन्थ्यो हाम्रो साँझ । झमझम पानी परेका बेला देउराली होटलको पिंडीमा बसेर कविता सुन्दै नारेपा लगाउनुकोे मज्जा वेग्लै थियो । असाध्य अनुसाशित र मर्यादित जीवन यापन गर्ने विनोद दाइ धम्पुसमा निकै खुल्नु हुन्थ्यो ।
पोखराका धेरै झम्के साँझ रंगीन भएका थिए । कविताको संकृतनमा कहिलेकाहीँ अबेरसम्म बसिन्थ्यो । ०५८ सालकै एक विहान अमृतजी र म फेवाताल किनारमा टहलिंदै थियौ । त्यही बेला मैले अमृतजीलाई डुंगामा बसेर कविता सुनाउने योजना सुनाएँ । तालै तालको सहरमा तालमाथि कविता कार्यक्रम गर्दा ताल संरक्षण गर्न सचेत गर्नु पनि उदेश्य थियो । पर्यटकीय महत्वले पनि फेवातालको ख्याती सानो थिएन । कविताका माध्यमबाट पर्यटनलाई टेवा पुगोस भन्ने मनसाय थियो मेरो ।
त्यही दिन दिउँसो अमृतजी र म कवि तीर्थ श्रेष्ठसंग सल्लाह गर्न पुग्यौं । उहाँ निकै उत्साही हुनु भयो । तालमाथि बसेर डुंगा सयर गर्दै कविता सुनाउने कार्यक्रम तय भयो । पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा कार्यक्रम गर्ने टुङ्गो भयो । डुंगा व्यवसायीले डुंगा र होटल एशोसिएसनले खाजा सहयोग गर्ने वचन दिए ।
त्यो कार्यक्रम पर्यटनकर्मी र साहित्यकारलाई जोड्ने भावनात्मक पुल बन्यो । १२ जना अट्ने चार वटा ठूला प्याडेल बोटलाई डोरीले बाँधेर मन्च बनाइयो । साउण्ड सिस्टम जोडियो । व्यानर राखियो ।
भदौ महिना । हल्का घाम लागेको । एकै छिनमा सिमसिम पानी पर्यो । कार्यक्रममा सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी शिव, हरिदेवी कोइराला लगायत कवि लेखकको जमघट थियो । मिडियाले पनि निकै प्राथमिकता दिएको थियो । समग्रमा कार्यक्रम भव्य भयो । अहिले पनि त्यो कार्यक्रमको परिकल्पनाले मनमा आनन्द आउँछ । त्यो कार्यक्रमले मलाई पोखराको साहित्यिक क्षेत्रमा घुलमिल गर्न सहयोग पुग्यो । त्यही क्रममा २०५९ साउनमा मेरो पहिलो कविता संग्रह 'आकाशमाथिको देवता' पोखरामै विमोचन गरियो ।
पोखरालाई साँस्कृतिक राजधानी बनाउनु पर्छ भनेर तीर्थ दाइले अगुवाई गर्नु भएको धेरै भएको छैन । तर पोखरा आफैंमा भावनात्मक रुपले साँस्कृतिक राजधानी बनिसकेको छ ।
पोखरामा दिवंगत स्रष्टाको नाममा प्रतिमा राखेर पार्क बनाउन सके पर्यटनमा समेत सकारात्मक सहयोग पुग्ने थियो । यस वाहेक नाटक घर आबश्यक छ । त्यसैगरि विनोद गौचनले परिकल्पना गर्नुभएको लुम्ले कविता गाउँ अभियानलाई व्यवस्थित र सार्थक बनाउन हामी सबै जुट्नु पर्छ । समग्रमा पोखराले तन र मन दुबैमा उर्जा भरिदिन्छ । आइ मिस् यु पोखरा ।
प्रकाशित: १५ माघ २०७२ २२:५२ शुक्रबार





