नेपालगन्ज– वडा प्रहरी कार्यालय नेपालगन्जका इन्जार्च, प्रहरी निरीक्षक दीपेन्द्र पालले चेकजाँचका नाममा आफूहरुमाथि 'ज्यादती' गरेको भन्दै कारबाही गर्न होटल व्यवसायीले माग गरेका छन्।

वडा प्रहरी इन्चार्ज दीपेन्द्र पालले गरेको कुटपिट र दुर्व्यवहारबारे जानकारी दिँदै पीडित व्यवसायी गणेश मेदासी ठकुरी। तस्बिरः अर्जुन ओली
दिनहुँ मादक पदार्थ सेवन गरेर प्रहरी निरीक्षक पाल होटलमा प्रवेश गरी व्यवसायीलाई कुटपिट गर्ने, धम्क्याउने र अपशब्द बोल्ने गरेका कारण असुरक्षा अहसुस गरेको उनीहरुको गुनासो छ।
होटल व्यवसायी संघ बाँकेले बुधबार पत्रकार सम्मेलन नै गरेर प्रहरी निरीक्षकको ज्यादतीले सम्पूर्ण होटल व्यवसायीहरु असुरक्षित बन्न पुगेको भन्दै दोषीलाई कानुनी कारबाही गर्न प्रहरी निकायलाई आग्रह गरेको हो। सोमबार राती ११ बजे बसपार्क रोडस्थित पञ्चकोशी लज एण्ड रेष्टुरेन्टका सञ्चालक गणेश मेदासी ठकुरी र उनकी पत्नीलाई 'मदिराले मात्तिएका' पालले कुटपिट गर्दै अपशब्द बोलेको आरोप लगाइएको छ। 'मध्यरातमा रक्सीले मात्तिएर मेरो होटलमा प्रवेश गरी प्रहरी निरीक्षक पालले हामी दुबै जनालाई अनाहकमा कुटपिट गर्दै अपशब्द बोले,' व्यवसायी ठकुरीले भने 'अन्याय गर्ने प्रहरीलाई कारबाही गर्न निवेदन दिएको दुई दिन बितिसक्दा पनि अहिलेसम्म सुनुवाई भएन।'
यसअघि प्रहरी निरीक्षक पालकै नेतृत्वमा खटिएका प्रहरीले बसपार्कस्थित शर्मा होटलका सञ्चालक नुतन शर्मालाई बिना कारण पक्राउ गरी एकदिन गैरकानुनी थुनामा राखेको, स्थानीय गुरुद्धारा रोडस्थित हंगेरी होटलको कोठामा पसेर बास बस्न आएका पाहुनालाई गालीगलौज गर्दै कुटपिट गरेको संघको आरोप छ।
पत्रकार सम्मेलनमा होटल व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले प्रहरीले शान्ति सुरक्षा प्रदान गर्नुको साटो सरकारका बर्दीधारी नै मदिराले मात्तिएर वितण्डा मच्चाउनु प्रहरी प्रशासनको लाचारीपन भएको बताए। 'पटक–पटक घटना दोहो¥याए पनि कारबाही नहुनुमा प्रहरीकै जिम्मेवार अधिकारीको हात छ,' उनले भने, 'कुनै व्यवसायीले अनैतिक काम गर्छ भने उसलाई हामी संरक्षण गर्दैनौं, प्रहरीले सबै व्यवसायीलाई एउटै नजरबाट हेरेर दुव्र्यबहार गरेकोमा हाम्रो आपत्ति भएको हो।'
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष निमबहादुर थापाले प्रहरीबाट भएको अन्याय सहन नसकेर आफुहरु बाध्यताले संघर्षमा उत्रिनु परेको बताए। होटल व्यवसायीले दवाव दिए पनि प्रहरीको कुनै पनि निकायले पाललाई कारबाही गरेको छैन। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) भीमकिरण बोगटीले पीडित होटल व्यवसायीबाट लिखित उजुरी नै आइसकेपछि प्रहरी निरीक्षक पालविरुद्ध अनुसन्धान सुरु गरिएको बताएका छन्।
प्रकाशित: १३ माघ २०७२ ०८:०७ बुधबार





