४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

काँकरभिट्टा र देश

घाम न्यानो खुट्टा टेकेर पश्चिम लागेको देख्थ्यो ऊ
अहिले पहिचानको छाती टेकेर उभिएपछि नाकाबन्दी

तेलको खुट्टा टेकेर लल्याकलुलुक हिँडाइरहेछ देश

उहिल्यै टिष्टामा खुँडाखुकुरी पखालेर

चुहाउँदै रगत हिँडेको बृहत् मान्छेहरूको

ताजा याद छ उसलाई

यहीँबाट सिरिजङ्घा अक्षर यात्रामा निस्केको स्मरण छ उसलाई

थाहा छ उसलाई हजारौं सालदेखि चलेको मान्छेहरूको यात्रा

एउटा हुरीजस्तो शरणार्थीहरूको ओइरो

देश फिर्तीको हारेको जीवित युद्ध

कैरनै कैरन छ हार्डडिस्कमा उसको छाती टेकेर बनिएकाहरू

मुग्लानी कथा

मेघालयको व्यथा

कोइलाखादको आँसु

नक्सलाइट र झापा आन्दोलन

गोर्खाल्यान्ड र जनयुद्ध

लिम्बुवान र मधेस

ऊ कुनै अचम्ममा छैन

दैनिक लालमायाहरूको बम्बई गमन

र राष्ट्रवादीहरूको

पानीटंकीमा एक मुठा साग किनेको संस्मरण

वा डेटएक्स्पायर्ड एक पकेट दालमोठ किनेको किस्सा

वा हाइड्रोसिलको उपचार

वा नांगा साधुले लिंग पड्काको कहानी

र सित्तैमा जाँच फि लिएर पाएको खरानी

वा खाल्पाडा घुमेर फसेको गोप्य कथा

कारण यहीँबाट छुट्छ' टुंगिन्छ

र, फेरि सुरु हुन्छ सुदूर जिन्दगीको यात्रा

मान्छेहरू कर्मको सुरुङबाट कमिलाजस्तै

ह्वारह्वारी गन्तव्य बोकेर हिँडिरहेछन्

यहीँबाट श्रीखण्ड देश दौडाहा गर्छ

यहीँबाट समुद्री घोडा जमिनमा कुद्छ

निकुञ्जका बाघ भालुहरू सहर छिर्छन्

त्यतिखेर कानुन पाँचतारे होटलमा मुजुल्का बुन्दै हुन्छ

आजकल माफियाको चक्रव्युहमा फसेपछि कृषिउपज

जिउभरि सुपारी बेरेर हिँड्दा

कट्टु खसेको हो त्यही मेचीको पानीमा

र बेखुस देखिएको हो अख्तियारको अनुहार

र नसुनेको हो देशले रातारात जंगेपिलर सरिरहने

लालपुर्जाको बेवारिसे कथा

उसलाई थाहा छ हात्ती आतंक

र यसको छायाँमा सप्रेको योजना

जसको सेपले पहेँलिएका मान्छेहरू

देशको जब्बर राष्ट्रवाद दाउराको धुवाँले रतन्धो हुँदा

कूटनीतिको रुमाल पहिचानको अररो आन्दोलनमा खसेपछि

उँभोको किन्ने कि उँधोको पर्खने दोधारमा छ

तर दोधारै सही

उसलाई चढोस् नचढोस् यात्री

ग्यालेन चढे हुन्छ, देस ग्यालेनमा छ

सम्बन्ध फुटे फुटोस्, जर्किन नफुटोस्

देश जर्किनमा छ

यादवले यादव जलाइरहँदा

काँकरभिट्टा देश चलाइरहन्छ

देश वार्ताको बचपनमा हुँदा

ऊ व्यापारको पच्पनमा छ

बेफिक्री छ ऊ

चाहे देश ताकीताकी निधारमा हानोस् गोली

मोर्चा जाँड बनाओस् वा

पारिको दानापानीमा हानोस् ढुंगा वारि

वा हेपाहा छिमेकी आओस् बन्दुकसँगै आँगनमा

वा दिनु परोस् लाख नजराना वा कन्याउनु परोस् ढाड

अहिले ऊ लाखलाख बोकेर हिँड्छ गोजीमा

बाल मतलब छैन उसलाई

भने भनून् तस्करको सहर काँकरभिट्टा

ठट्टा होइन

ऊ अहिले व्यवहारमै राष्ट्रवादी छ

र देश चलाउँछ

त्यसो हो भने

सोच त साँच्चै देश कसले चलाउँछ?

प्रकाशित: १७ पुस २०७२ २३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App